हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | टिप्पणी

कर्मचारीलाई भ्रष्ट र उद्यमीलाई तस्कर बन्ने प्रेरणा

डा. भोलानाथ चालिसे


किरण पाण्डे

सरकारीस्तरमा ठेक्कापट्टा, प्रोजेक्ट स्वीकृति, संस्थानहरूमा कार्यकारी प्रमुखहरूको नियुक्ति आदिमा भ्रष्टाचार हुने गरेको सबैलाई थाहा भएको कुरा हो । तर सरकारले आफूमा भएको अधिकार प्रयोग गरी नीतिगत रूपमा गर्ने भ्रष्टाचारबारे भने विरलै चर्चा-परिचर्चा हुने गर्छ ।

नीतिगत तहमा हुने भ्रष्टाचारलाई 'सफेद भ्रष्टाचार' पनि भन्न सकिन्छ, किनभने यस्तोखाले भ्रष्टाचारमा प्रायः सफेद लुगा लगाउने, राजनीतिज्ञ एवं कर्मचारीतन्त्रका उच्च अधिकृतहरू संलग्न हुन्छन् । 'नीतिगत भ्रष्टाचार'को प्रमुख माध्यम भने जुन देशमा पनि प्रायः बजेट नै हुन्छ । उदाहरणका लागि, 'जनतालाई सस्तो गाडी उपलब्ध गराउने' नाउँमा केही वर्षघि एउटा बजेट वक्तव्यमार्फ् १००० सीसीभन्दा कम क्षमताका गाडीमा भन्सार छुट दिने घोषणा गरियो । यसभित्रको तथ्य पछि प्रकट भयो- सस्तो गाडी भनेको मूलतः भारतमा निर्मित 'मारुति' रहेछ । यो छुटबाट नेपालका लागि मारुतिको एकमात्र डिलर लाभान्वित भयो । कतिपय अर्थमन्त्रीहरूले 'देशमा उद्योगहरूलाई फस्टाउन मद्दत पुर्‍याउन' भन्दै कुनै खास उद्योगले उपयोग गर्ने कच्चा पदार्थ, मेसिनरी आदिमा कर-भन्सार छूट दिने गर्छन्  । एमालेका अर्थमन्त्रीले ठीक यस्तै तर्क गरी देशको एउटा मात्र उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ -इन्गट)मा लागिआएको पाँच प्रतिशत भन्सार छूट दिएका थिए ।

यस्ता भ्रष्टाचारहरू धेरै चर्चामा नआउनुको कारण त्यसबाट र्सवसाधारणलाई सोझै असर नपर्नु र थाहा नहुनु हो । धेरै खाले दरका भन्सार दरबन्दीहरू रहेको नेपालजस्तो देशमा विभिन्न आर्थिक-सामाजिक कारणहरू देखाई अर्थमन्त्रीहरूले विगतमा आ-आफ्ना वा आफूलाई र्समर्थन गर्ने व्यवसायीका उद्यम-व्यापारलाई फाइदा पुर्‍याएका छन् । त्यसैले देशको उद्यम-व्यवसायमा यथेष्ट संलग्न रहेका हालका अर्थ राज्यमन्त्रीले पनि आफूले सञ्चालन गरेका व्यवसायहरूलाई फाइदा पुग्नेगरी भन्सार दरबन्दीहरूमा हेरफेर गरे भन्ने आक्षेप लाग्नु कुनै अनौठो होइन । अझ अनौठो त, बजेट सम्बन्धी पछिल्लो अध्यादेशमार्फ् देशलाई नै तस्करीको थलोमा परिणत गर्न खोज्ने प्रयास भएको छ । यस्तो शङ्काको आधार- भारतमा तस्करी भएर जानसक्ने तेस्रो मुलुकका उत्पादनहरूको आयातमा छानीछानी भन्सार घटाउनु हो । यसमा देशका प्रबुद्ध अर्थशास्त्रीहरू पनि मौन देखिन्छन् । शायद उदारवादी सोचअर्न्तर्गत पर्ने भन्सार दरबन्दी घटाउने कार्यको विरोध गर्दा आफू अनुदारवादी ठहरिइएला भनेर हुनसक्छ । तर सुधार भनेको व्यक्तिगत स्वतन्त्रतालाई संस्थागत रूपमा बलियो तुल्याउनु हो । हो, एउटा उदार समाजमा भन्सार दरबन्दीहरू उच्च हुँदैनन्, उद्यम-व्यवसायमा नियन्त्रणहरू हटाइन्छन् । तर तस्करी बढाउने गरी घटाइएका भन्सार दरबन्दीहरू कदापि सुधार कार्य हुन सक्दैनन्  ।

आजभोलि नेपालबाट भारतमा तस्करी हुनसक्ने वस्तुहरूको पहिचान गर्न त्यति कठिन छैन । सम्पन्न भारतीयले डिपार्टमेन्टल स्टोरहरू र औसत भारतीयले गौशालाका पसलहरूमा कुन कुन सामान किन्छ भनेर हेरे पुग्छ  । साविकको भन्सार दर २५ प्रतिशतबाट १० प्रतिशतमा झारिएका वस्तुहरूमा चीन, दक्षिणकोरिया, थाइल्याण्ड, मलेसिया आदि मुलुकमा निर्मित ब्ल्याङ्केट, पाइन्ट, र्सट, ओभरकोट, ज्याकेट, टिर्सट र बच्चाका तयारी लुगाहरू परेका छन् । फोटोफिल्म, फोटोपेपर, पेटी र सहायक सामग्री, छालाका लुगाफाटा, क्यानभास जुत्ता, छाता, नक्कली गहना, बहुमूल्य पत्थरबाट बनेका सामान, ताल्चा, भ्याकुमक्लिनर, ग्राइन्डर, मिक्र्स्चर्स, क्यासेट प्लेयर र रर्ेकर्डर, रेडियो र प्रिन्टेड र्सर्किटमा १५ प्रतिशतको सट्टा १० प्रतिशत मात्र भन्सार लाग्ने बनाइएको छ । यस्तै शृङ्गारका सामान, प्रिसेभ तथा आफ्टर सेभ, सिल्क कपडा, चस्मा तथा घडीका सिसाहरू, दाह्री काट्ने यन्त्र तथा ब्लेड, कैँची, कटलरी सामान, नेलकटर, मोटर तथा मोटरसाइकलका पार्टस्, र्टचलाइट, माइक्रोफोन र स्पिकर, क्यामरा, थर्मस आदिलाई १५ प्रतिशतबाट ५ प्रतिशतमा झारिएको छ । क्यालकुलेटर, कम्प्युटर र कम्प्युटरका पार्टस्, सेलुलर मोबाइलफोन, घडी तथा घडीका मुभमेन्ट पार्टहरूमा आइन्दा १ प्रतिशत मात्र भन्सार लाग्नेछ । भारतीय पर्यटकहरूले आजभोलि नेपालबाट 'कोसेली' लैजाने वस्तुहरू पनि यिनै हुन् । यसको अर्थ, यस्ता वस्तु नै तस्करी भएर भारत जान सक्छन् । तर यसरी भारतीय बजारमा पुग्ने तेस्रो देशमा निर्मित वस्तु पैठारी गर्न नेपालीहरूले विदेशमा काम गरी पठाएको 'रेमिटेन्स'को डलर खर्च भइरहेको हुन्छ ।

नेपालबाट भारतमा हुने तस्करीमा नेपालको मात्र नभई स्वयं भारतको आर्थिक नीति पनि कारकतत्व बन्दछ । तस्करी हुने वस्तुहरू बेलाबेलामा फेरिन्छन् । ६० को दशकमा स्टेनलेस स्टिलका भाँडाकुँडा र सेन्थेटिक टेक्सटायल प्रमुख थिए, ७० को दशकमा आइपुग्दा यो सूचीमा घडी र घडीका पार्टपर्ुजा, अटोमेटिक फोल्डिङ्ग छाता, क्यामरा, ८० को दशकमा पोलिथिन ग्य्रानुयल्स र त्यसबाट निर्मित प्लास्टिकका सामान एवं वनस्पति घ्यू तथा ९० को दशकमा कम्प्युटर र कम्प्युटरका पार्टस् आदि थपिए ।

नेपालबाट भारतमा हुने वस्तुको तस्करीको कारण पत्ता लगाउन सेन्थेटिक टेक्सटाइलको एउटा उदाहरण प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ  । भारतले आफू स्वतन्त्र भएपछि जुनसुकै मूल्यमा पनि देशमा औद्योगिकीकरण गर्नुपर्छ भन्दै संरक्षणवादी नीतिहरू अवलम्बन गर्‍यो र त्यस क्रममा सेन्थेटिक कपडालाई विलासीहरूले प्रयोग गर्ने भनी त्यसको आयातमा १५० प्रतिशतभन्दा बढी भन्सार तथा परिमाणात्मक बन्देज समेत लगायो । परिमाणात्मक बन्देजका कारण कपडा आयातको कोटा तोक्ने र त्यसअर्न्तर्गत इजाजत लिनुपर्ने व्यवस्था गरियो । स्वदेशी उद्योगलाई संरक्षण दिन सेन्थेटिक धागोमा पनि ८० देखि ९० प्रतिशतको हाराहारीमा भन्सार र अन्तशुल्क लगाइयो । भारतको यही कठोर र अव्यावहारिक नीतिका कारण नेपालमा सेन्थेटिक उद्योगहरू स्थापना हुने क्रम शुरु भयो । तिनलाई चाहिने औद्योगिक कच्चा पदार्थ आयात गर्दा १ प्रतिशत मात्र भन्सार लगाइयो । यति थोरै भन्सार लाग्ने सेन्थेटिक धागो नेपालमा ल्याएर कपडा बुनी भारत पठाउनु एकदमै लाभदायक उद्यम भयो । तर नेपाली उद्यमी-व्यवसायीले त्यति पनि गर्नु जरुरी ठानेनन्  र कपडा उत्पादन गर्नुको साटो धागो नै भारतमा बेचिदिए । यसरी तस्करी भएर प्राप्त धागोबाट निर्मित कपडा स्वतः अन्तशुल्कको दायराभन्दा बाहिर पर्छ । ८० प्रतिशत भन्सार शुल्ककै हाराहारीमा लाग्ने अन्तशुल्क नतिरेपछि भारतीय उद्यमीलाई कति फाइदा पुग्यो होला भनेर हिसाब निकालिरहनु नपर्ला  । यस्तो अवस्थामा नेपालमा प्रजातन्त्र पुनःस्थापनापछिको सरकारले आयातमा ओजिएल -ओपन जनरल लाइसेन्स) प्रथा लागू गरी उद्योगी, व्यापारी जो-कोहीले सेन्थेटिक कपडा र सेन्थेटिक धागो बिना परिमाणात्मक बन्देज आयात गर्न पाउने नीति प्रस्तावित गर्दा चित्त दुःखाउने र कर्मचारीलाई धम्क्याउने साहुमहाजनहरू अहिले पनि नेपाल उद्योग बाणिज्य महासंघ भित्र छन् ।

यो प्रसङ्गमा एउटा गलत धारणा मेट्नु पनि जरुरी छ- भारतीय अधिकारी र सञ्चारमाध्यमले नेपालले तस्करीलाई बढावा दियो भन्ने आरोप लगाउनु र नेपाली उद्यमी-व्यवसायीले आफूहरू त्यस्तो कार्यमा संलग्न भएका छैनौँ भन्नु दुवै गलत हो । नेपाल र भारतबीचको तस्करी-व्यापार काठमाडौँ र दिल्ली शक्तिकेन्द्रहरूसँग समन्वय नगरी सम्भव छैन । आजको दिनमा यस्तो तस्करी दरबारसँग निकट रहेका व्यापारीहरूले गरिरहेका छन्  । यसको प्रमाणका लागि गत वर्ष१९ माघको राजाको कदमलाई विज्ञापन दिई हार्दिक र्समर्थन गर्नेहरूको सूची हेरे यथेष्ट हुन्छ ।

यहाँनेर एउटा प्रश्न उठ्न सक्छ- नेपालमा जम्मा भएको डलर उपयोग गरेर देशले केही फाइदा उठाउँछ भने किन कसैको टाउको दुख्ने  - तर, टाउको दुख्नुको कारण स्पष्ट छ- सरकारले अनैतिक व्यवसाय गर्न उद्यमी-व्यवसायीलाई उक्साउनु आत्मघाती-राष्ट्रघाती कार्य हो । यस्ता अनैतिक कार्यले उद्यम-व्यवसायको विकासमा संलग्न व्यवसायीसँगै सरकारको नीति कार्यान्वयन गर्ने कर्मचारीहरूलाई समेत क्रमशः भ्रष्ट तुल्याउँदै जान्छन् । त्यसरी तलदेखि माथिसम्म अनैतिकता र भ्रष्टाचार फैलिँदा देश र समाजको निम्ति अनिष्ट मात्र निम्तिन्छ । चिन्ताको कुरा यही हो ।