अनुभव | समीक्षा
भूतकालको पुनर्संरचना
प्रख्यात कवि दाँते अलिगेयरीको एउटा मर्मस्पर्शी
पंक्ति छः "सबभन्दा ठूलो अवसादः दयनीय अवस्थामा सम्झिएका आनन्ददायी
क्षणहरू ।"

किताबः राजनीति कुसुमाकर
लेखकः रेवतीरमण खनाल
प्रकाशिकाः श्रीमती सरस्वती खनाल, २०६२
पृष्ठः ४६२, मूल्यः रु.३५० |
भव्य जीवन
बाँचेकाहरूका लागि संस्मरणको पीडा धेरै तीव्र हुन्छ । दुःखदायी हुन्छन्,
फर्ुसदका बेला सम्झिएका शक्ति र सत्तासुखका दिनहरू । बिहान-बेलुका
अगाडि-पछाडि लाग्नेहरूको यादले सताउँछ । दिउँसो अगाडि-पछाडि गर्नु
परेकाहरूको सम्झना आउँछ । ओछ्यानमा पल्टिँदा आफैँले कुनै बेला रछ्यानमा
पुर्याएकाहरूको स्मृतिले पिरोल्छ । सन्तापको त्यस्तो पीडादायी अवस्थाबाट
उम्किन केही अवकाशप्राप्त व्यक्तिहरू पश्चाताप गर्छन् र समाजसेवामार्फ्
उद्धार खोज्छन् । अलि अल्छे स्वभावका व्यक्तिहरूको अन्तिम आश्रयस्थल
कर्मकाण्डी धर्म र पाखण्ड हो । तर आफ्ना कमि-कमजोरीहरूलाई पश्चातापको
आँखाबाट नभएर दोषमोचन दृष्टिकोणले पुनरावलोकन गर्न चाहने टाठाबाठाहरू
भने कि त आफैँ संस्मरण लेख्छन् वा अरू कसैलाई आफ्नाबारे महिमामण्डित
व्याख्यान लेख्न लगाउँछन् ।
हालसालै प्रकाशित र्सर्ूयबहादुर सेन ओली वा कुवेर शर्माका
बोक्न वजनदार तर निर्रथक लाग्ने कृतिहरू आ-आफ्नो सफाइमा इतिहासको इजलासमा
पेश गरिएका बयानहरू हुन् । सामान्यतः त्यस्ता पुस्तकहरू स्वभावैले
एकपक्षीय हुन्छन् । तिनको चर्चा-परिचर्चाले परिस्थिति बुझने प्रयासलाई
सघाउँछ । तर विगतको पर्ुनर्संरचना विधा अर्न्तर्गतकै एउटा उपविधा हो
मिथ्यालेखन अर्थात् 'फल्सिफिकेशन' । मिथ्यालेखनलाई उपेक्षा गरेर मात्र
पुग्दैन, तिनको तार्किक तिरस्कारद्वारा सम्बन्धित लेखकको निहितार्थलाई
पर्दाफास गरिनर्ुपर्दछ । कुनैबेला राजाका प्रमुख सचिव भएर काम गरिसकेका
र अहिले अत्यन्त विवादास्पद राजपरिषद्सँग सम्बद्ध रेवतीरमण खनालको
राजनीति कुसुमाकर लाई मिथ्यालेखन विधाको नमूनाको रूपमा लिन सकिन्छ
।
मिथ्यालेखनको प्रस्तुतिशैली समेत मौलिकताविहीन हुन्छ
। कलाविहीन छ खनालको कुसुमाकर । पण्डित विष्णु शर्मा तथा विद्वान्
म्याकेभेलीले बनाएको "राम्रो बाटो" पछ्याउन भूमिकाबाटै कम्मर
कसेर लागेका लेखक ३४ अध्याय सङ्कलन तथा लेखन गरिसकेपछि पुनः "राजतन्त्रात्मक
प्रजातन्त्र" कै खोरभित्र फर्केका छन् । घुमिफिरी 'पर्ुनर्मुसीको
भवः' वा 'ब्याक टू मंगलमान'मध्ये जुन उपमा दिइए पनि लेखक स्वयंले उद्धृत
गरेको संस्कृतको एउटा श्लोक "नीचो विद्यां पापकर्मणि योजयति"
दरबारसँग सम्बद्ध अधिकांश "विद्वान्" को हकमा लागू हुन्छ
भन्ने कुरा यो पुस्तक पढ्दा पटकपटक महसूस हुन्छ । कथा-पुराण तथा प्रसिद्ध
पुस्तकहरूबाट उद्धरण गरिएका श्लोकहरूकै शैलीमा मनोगत उल्था तथा व्याख्याद्वारा
समसामयिक नेपालका पाठकहरूलाई मर्ूख बनाउन सकिँदैन भन्ने कुरा "विद्वान्"
लेखकले किन बुझन नसकेका हुन् ?
दराजमा जस्तोसुकै र जति नै पुस्तक राखे पनि काठ वा
फलामको त्यो बलियो तर निर्जिव वस्तु कदापि "विद्वान्" बन्न
सक्दैन भन्ने उदाहरण बुझनलाई जम्मैजसो नीतिशास्त्र पल्टाएको दाबी गर्ने
लेखकको दर्ुइ वाक्य पढे पुग्छ, पहिलो; "यस धर्तीमा राजा महेन्द्रले
र्स्वर्गका अर्का इन्द्र महाराज यहाँ आएको जनाए, अनुभव गराए । आफ्ना
जनतालाई स्नेहपर्ूवक पालना गरेर नेपाललाई उन्नत गराए र देशको शिर उच्चा
गराए ।" तै शहीद दर्ुगानन्द झा जस्ता लोकतन्त्रका लागि प्राणको
आहूति दिनेहरूले यस्ता वाक्यहरू पढ्नु परेन । दोस्रो; "डा. तुलसी
गिरीले आफ्नो नामको नम्बरी सुनलाई अझ टल्काउन पछि अग्निपरीक्षामा आफूलाई
पारे ।"
तर कुरो त्यत्तिकै टुङ्ग्याउन सकिँदैन, किनभने खनाल
एउटा व्यक्ति मात्र नभएर दरबारिया प्रवृत्तिका प्रतिनिधि पात्र हुन्-
उनका 'आदर्श पुरुष' तुलसी गिरी जस्तै राजाको परावर्तनमा मात्र टल्किने
औँसीको रातका चम्किला ताराहरू जस्ता मुलुकका ग्रह र दरबारका नक्षत्र
। जब पात्रता योग्यताबाट नभएर वफादारीबाट जाँचिन्छ, अनि स्वभावतः मेरुदण्डरहित
आत्मसम्मानविहीन चाटुकारहरू राजाका छेउछाउ पुग्छन्, प्रशस्ति वाचन
गर्छन् र विद्वान्मा दरिन्छन् । यस्तो प्रवृत्तिको बेलैमा निराकरण
हुन नसकेकोले नै जिन्दगीमा कहिल्यै चुनाव नलडेका तुलसी गिरी प्रजातन्त्रको
कुरा गर्छन्, चुनाव लडेपिच्छै जमानत जोगाउन अर्समर्थ कर्ीर्तिनिधि
विष्ट जनमतको महत्त्वबारे व्याख्यान दिन्छन् तथा 'मुसा प्रवृत्ति'
एवं छेपारे चालचलनका राजनीतिकर्मीहरू नैतिकताका बारेमा बोल्न पटक्कै
लाज मान्दैनन् ।
विवादास्पद विगतलाई विद्वत्ताको गोबरले लिपेर चोख्याउने
वा कुटिलताको कमेरोले पोतेर लुकाउने जस्ता कार्यहरूको आलोचना लोकतान्त्रिक
अभ्यासको अभिन्न अङ्ग हो । खनाल पञ्चायतकालीन इतिहासका निर्विकार साक्षी
होइनन्, तिनताकका सबै ज्यादतीहरूका दोषभागी यान्त्रिक पात्र पनि हुन्
। विभिन्न परिस्थितिजन्य बाध्यता एवं राजनीतिक दलका नेताहरूमा आत्मविश्वासको
अभावले गर्दा फलभागी हुनबाट जोगिएका बढी खरानी घस्ने जोगीहरूको विगतलाई
तिनका कृतिबाट नभएर कृत्यहरूबाट सम्झिने वातावरण बनाउनका लागि समेत
यस्ता सामान्य पुस्तकको चर्चा जरुरी देखिएको हो ।
के आगत-विमर्शलाई ओझेलमा पार्ने गरी विगतको विषद विवेचना
गर्नु आफैमा प्रत्युत्पादक गतिविधि होइन र - यस प्रश्नको उत्तर इतिहासको
पानाबाट पुनर्जीवित भएर सिंहदरबारमा सजिन पुगेका पर्ूवपञ्चहरूले दिइरहेका
छन् । इतिहास भोग्नेले कटु यथार्थ जति नै बिर्सन खोजे पनि इतिहास बनाउने
र लेख्नेले तिनलाई घरीघरी पछाडि धकेलिरहेका हुन्छन् । शोषित अतीत एवं
अभिशप्त वर्तमानबाट उम्किन आगतको रेखा कोर्न स्वयं उद्यत हुनर्ुपर्छः
किनभने एक किसिमको नियति नै हो इतिहास- विजेताहरूको कर्ीर्तिगाथा ।
भूतकालको पर्ुनर्संरचनाबारे चेखवको एउटा नाटकका पात्रले
भन्छन्, "कठै, यो जिन्दगी पनि एउटा खेस्रा-मस्यौदा भइदिएको भए
म फेरि फेरि साफी गर्थे !" भनिन्छ, उक्तपंक्तिलाई लिएर कुनै प|mान्सेली
नाटककारले अर्को एउटा नाटक लेखे जसको प्रमुख पात्रले आफ्नो विगतलाई
खेस्रा मानेर सच्याउने उपक्रम गर्छ तर विवश भएर सच्याउने एउटै ठाउँ
भेट्टाउँदैन । व्यक्तिको विगतका सबै 'बाध्यताहरू' परिस्थितिजन्य मात्र
हुँदैनन् तिनमा उसको स्वतन्त्र छनौटले पनि प्रशस्त खेल्ने ठाउँ पाएको
हुन्छ । तुलसी गिरीले ०१७ सालमा जे गरे त्यो उनले किन गरे वा केशर
बिष्ट किन पञ्च भए भन्ने कुरा केलाउने हो भने विगतको निरन्तर समीक्षाको
महत्त्व स्वतः स्पष्ट हुन्छ । इतिहास पढ्ने तर नअर्थ्याउनेको भविष्य
पनि भूत जस्तै अभिशप्त हुन्छ । दरबारियाहरूमा इतिहास-विमर्शको महत्त्वबोध
अलि बढी नै छ । वैकल्पिक अर्थ-विमर्श लोकतान्त्रिक चिन्तकहरूका लागि
अहिले झन् ठूलो चुनौती बन्न पुगेको छ । अँ साँच्चै, कहिले प्रकाशित
हुन्छ कृष्णप्रसाद भट्टर्राईको बहुचर्चित तर चिरप्रतीक्षित "सेन्सर
सुब्बाको भ्रम -" कथा अरू पनि छन्, व्यथा अन्त पनि छ । सबै सुनिनु-सुनाइनर्ुपर्दछ
।
•
सीके लाल
|