हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

टिप्पणी | सञ्चार अध्यादेश

अन्धकारमा राख्ने अभिलाषा

हरिहर विरही

सञ्चार अध्यादेशभित्र देशलाई राजाको निरङ्कुश शासनको जाँतोमा पिस्ने र जनतालाई अन्धकारमा राखी सधैँ दास बनाइरहने कुटिल अभिलाषा लुकेको देखिन्छ ।

जनताका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता सबै आवश्यकता पूरा गर्ने ग्यारेन्टी गर्दै अभिव्यक्ति स्वतन्त्रता सीमित गर्न खोज्दा साम्यवादी व्यवस्था र दर्शन आफैँ असफल एवं अस्वीकार्य ठहरिएको एक दशकभन्दा बढी भइसकेको छ । तर संसारका कैयौँ मुलुकका जनता अहिले पनि त्यस्तै शासनको जाँतोमा पिसिएका छन्, जसले नागरिकलाई न बोल्ने अधिकार दिन्छ, न काम र मामको प्रत्याभूति गर्छ । यस्तो तानाशाहीको नेतृत्व कतै राजाले र कतै फौजी जर्नेलहरूले गर्ने गरेका छन् । तिनीहरू जनताको मत र र्समर्थनबाट नभएर बन्दुकको बलमा आएका र टिकेका हुन्छन्  । जनता जागृत र सुसूचित भएमा आफ्नो एकतन्त्री शासन नटिक्ने भयले उनीहरू सबैभन्दा पहिले अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्छन् । यतिखेर नेपाल यस्तै राष्ट्रको सूचीमा दर्ता भएको छ । राजा ज्ञानेन्द्रले मुलुकलाई फेरि पुरानै युगमा फर्काएका छन् ।

प्रजातन्त्रको स्थापना र विकास तथा जनअधिकारको रक्षाका लागि ठूलो मूल्य चुकाएबापत जनताबाट विश्वास र सम्मान हासिल गरेको नेपाली प्रेसले समाजको रुपान्तरण र लोकतन्त्रीकरणको यात्रामा साहसी सारथिको भूमिका निर्वाह गरिरहेको छ । 'असोजतन्त्र', 'मकरतन्त्र' तथा यसका सम्पर्ूण्ा मन्त्र र संयन्त्रहरूको निरन्तर प्रयोगपछि पनि प्रेसजगत उही गति र शैलीमा निरंकुशता र यसका नाइकेहरूको नियतलाई छरपस्ट पार्दै अझ दृढतापर्ूवक अगाडि बढेकाले सरकारले अध्यादेश रुपी 'एम्बुस' थापेको हो । यो एम्बुसभित्र कुनै एक व्यक्ति वा संस्थालाई हैन, समग्र सञ्चारजगत र त्यस माध्यमबाट आम नागरिकका नैर्सर्गिक अधिकारलाई सखाप पार्ने घातक तत्व लुकाइएको छ ।

देशभक्तिको नारा दिएर जनअधिकारको हरण र जनताको दमन गरी हुकुमी शासन चलाउन खोज्नेहरूको आदर्श र प्रेरणाको एउटा स्रोत हो- एडोल्फ हिटलर । हिटलरका प्रचार -सञ्चार) मन्त्री जोसेफ गोएबल्स भन्थे- धेरैपल्ट दोहोर्‍याउने हो भने झूठोलाई पनि सही र सहीलाई झूठो पार्न सकिन्छ । गोएबल्सले हिटलर र उनको शासनको विरोध गर्नेहरू राष्ट्रद्रोही, अराष्ट्रिय र आतङ्ककारी हुन् भनी व्यापक प्रचार गराए । गोएबल्सले गराएको प्रचारलाई नै सत्य ठानी हिटलर यसरी अगाडि बढ्दै गयो कि अन्ततः जर्मनी ध्वस्त भयो र ऊ स्वयंले आत्महत्या गर्नुपर्‍यो !

यस्तो लाग्छ, अहिलेको नेपालका सञ्चारनीति निर्माताहरू गोएवल्सबाट निक्कै प्रेरित छन् । भ्रमको खेती गर्ने काममा सरकारी सञ्चारमाध्यमहरूलाई प्रयोग गरेर मात्र नपुगेपछि, निजी क्षेत्रका सम्पर्ूण्ा सञ्चारमाध्यमहरूलाई राजा, राजपरिवारका चार पुस्तासम्मका सदस्य र '१९ माघ'को अशोभनीय, आपत्तिजनक र अवाञ्छित क्रियाकलाप उजागर नगर्न तथा जनताका लोकतान्त्रिक आकांक्षा र अग्रगामी भावनालाई लुकाउन विवश पार्न बनाइएको रणनीतिको एउटा अङ्ग र आधिकारिक अभिलेख हो यो अध्यादेश । पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउनका लागि ल्याएको भनी प्रचार गरिएको यो अध्यादेशले सञ्चार क्षेत्रलाई न कुनै सुविधा थपेको छ, न स्वतन्त्रता । पत्रकारहरूले सामना गर्नु परेका कुनै पनि समस्यालाई यसले र्स्पर्श गरेको छैन र प्रेस जगतलाई प्रभावकारी, सक्षम र लोकप्रिय बनाउनका लागि सरकारले चाल्नुपर्ने कदमतर्फध्यान दिइएको छैन । बरु प्रेसले उपभोग गरिरहेको स्वतन्त्रतालाई संविधानको भावना समेत कुल्चेर खोस्ने काम भएको छ ।

यो अध्यादेश कसैको सिफारिस वा सम्मतिमा नभई श्री ५ बाट आफ्नै इच्छा अनुसार जारी गरिएको कुरा अध्यादेशले नै स्पष्ट गरेको छ  । यसबाट 'राजाले अधिकार र मौका पाएमा जनता र प्रेसले संविधानप्रदत्त स्वतन्त्रता गुमाउनुपर्नेछ' भनी उठिरहेको आशङ्काले पुष्टि भएको छ । कदाचित राजाले संविधान बनाउन पाएमा अहिले पनि पञ्चायतकालको जस्तो अर्थात् निरंकुश राजतन्त्रलाई स्थायित्व दिने संविधान बनाउने एउटा साक्षी भएको छ यो अध्यादेश । संविधानले स्पष्ट शब्दमा रोक नलगाएको भए छापाखाना जफत र पत्रिकाको दर्ता खारेजीका प्रावधान पनि थोपर्न राजाले बाँकी नराख्ने रहेछन् !

सञ्चार क्षेत्रलाई अझ प्रभावकारी र सक्षम तथा नागरिकका वैयक्तिक स्वतन्त्रतालाई संरक्षित गर्नका लागि सूचनाको हक जस्ता विभिन्न पक्षलाई समेट्ने ऐनको निर्माण तथा संशोधनको आवश्यकता पहिलेदेखि नै महसूस गरिएको भए तापनि संसद नभएको अवस्थामा असंवैधानिक र अनुत्तरदायी सरकारले बनाउने कानून- जनता र प्रेस जगतको हित विपरीत हुने पक्कै थियो  । वस्तुतः यतिखेर कुनै नयाँ कानून हैन, जनमतमा आधारित नयाँ लोकतान्त्रिक संविधानको खाँचो थियो । तर आफ्नो सम्पर्ूण्ा शक्तिको प्रयोग र साम-दाम-दण्ड-भेदको नीति अख्तियार गरी मुलुकलाई पछाडि धकेलिरहेका राजाले 'राष्ट्रको स्वामित्व जनतामा र राजसंस्था जनताको अधीनमा' रहनर्ुपर्छ भन्ने मान्यतालाई बल पुर्‍याइरहेको प्रेस जगतको मुखमा भोटेताल्चा लगाउने अर्को घोर प्रतिगामी कदम चाले ।

प्रेस जगतसँग हाम्रा राजाहरू कहिल्यै सन्तुष्ट र विश्वस्त भएनन् । नेपाली प्रेसले सधैँ जनतालाई सर्वोपरि मान्दै राजा र राजसंस्था पारदर्शी र जनताप्रति उत्तरदायी हुनुपर्ने कुरामा जोड दिइआएको छ भने राजाहरूले प्रेसले सधैँ उनीहरूको भजनकर्ीतन र प्रशस्तिगान मात्र गरोस् तथा राजपरिवारका सदस्यहरूले जस्तोसुकै काम गरे पनि मौन बसोस् भन्ने चाहना राख्ने गरेका छन् । यही कारणले मौका पाउनासाथ उनीहरू स्वतन्त्र प्रेसमाथि अनेक निषेध र नियन्त्रण लगाउँछन् । तर यसले अन्ततः राजा, राजसंस्था र राजपरिवारकै क्षति हुने गरेको छ । सत्य कुरा सही रूपमा र समयमै प्रकाशमा आउन नसक्दा देशका अन्य अङ्गहरूमा मात्र हैन राजदरबारभित्र पनि अनेक प्रकारका विकृतिले जरो गाड्ने मौका पाएका हुन् । राजा ज्ञानेन्द्रको छोटो कार्यकाल नै प्रेस जगतको लागि र्सवाधिक कालो कालखण्डको रूपमा इतिहासमा उल्लेख हुन सक्छ ।

२३ असोज २०६२ मा जारी यो अध्यादेशले सञ्चार सम्बन्धी ६ वटा ऐनलाई छोएको छ । हरेक ऐनको संशोधन प्रेस जगतले हाल उपभोग गरिरहेको स्वतन्त्रता खोस्ने तथा पत्रकारलाई दण्ड जरिवाना बढाएर भयभीत बनाउने ध्येयबाट प्रेरित छ । अध्यादेशमा उच्च प्राथमिकता दिइएको छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा गरिएको मुख्य संशोधन, राजपरिवारसित सम्बन्धित छ । विद्यमान ऐनमा 'श्री ५ को प्रतिष्ठामा आँच आउने कुराहरू पुस्तक र पत्रपत्रिकामा प्रकाशन गर्न पाइने छैन' भनिएकोमा अध्यादेशमा यो दायरा बढाएर 'राजपरिवारका सदस्यहरू' समेतलाई थपिएको छ । यसको पछाडि निहित ध्येय स्पष्टै छ । संविधानले राजालाई अत्यधिक महत्त्व र सम्मान दिएको छ । राजाले 'संविधानको पालना र संरक्षण' दायित्व -धारा २७-३) स्वीकार गरेपछि राजा र राजपरिवारलाई विशेष सुविधा र सम्मान दिइएको हो । तर अहिले एकातिर राजाबाट आफ्नो संवैधानिक कर्तव्यको निर्वाह नभएको अवस्था छ भने अर्कोतिर राजपरिवारका कतिपय सदस्यहरूबाट अशोभनीय, आपत्तिजनक र आलोचनायोग्य क्रियाकलाप हुने गरेको जनगुनासो व्याप्त छ । हाल प्रचलनमा रहेको ऐनले राजासहित चार पुस्तासम्मका सदस्यलाई राजपरिवार मान्नुपर्ने तोकेको छ । सरकारले राजा, रानी, युवराजाधिराज, मुमा बडामहारानी, युवराज्ञी, नवयुवराज, नवयुवराज्ञी, राजाका छोरा, छोरी, छोरा बुहारी, राजाका छोरापट्टकिा छोराछोरी -नातिनातिनी) लाई भत्ता-सुविधा उपलब्ध गराउने कानूनी व्यवस्था छ । तर राजपरिवारका सदस्यहरू पनि मान्छे हुन् र उनीहरूमा पनि कतिपय मानवीय कमजोरी हुनु अस्वाभाविक होइन । कमजोरीहरूको जानकारी भएमा त्यसलाई सच्याइ भविष्यमा हुनसक्ने ठूलो क्षतिबाट जोगिन सकिन्छ । राज्यबाट भत्ता र सुविधा प्राप्त गर्नेहरूका गतिविधि र आचरणबारे जानकारी राख्न चाहनु नागरिकको अधिकार पनि हो । त्यसकारण राजाबाट वर्तमान पर्रि्रेक्ष्यमा राजासंस्थाको प्रतिष्ठाका लागि राजपरिवारका सदस्यहरूको दायरा घटाउनुका साथै पारदर्शी बन्न र बनाउन प्रेरित गर्नुपर्नेमा झन् उल्टो काम भएको छ । भएका र देखेका कुरा पनि पत्रिकाले लेख्न नपाउने स्थिति बनेपछि भण्डाफोर जस्ता गैरजिम्मेवार सामग्री प्रकाशित हुन थाल्छन् र जनताले त्यसमाथि बढी विश्वास गर्छन् । साँचो कुरा छाप्न कानूनले नै छेकेपछि गैर कानूनी नारा लाग्न थाल्छ, भित्तेलेखन शुरु हुन्छ, जुन राजा र राजतन्त्रको पक्षमा हुँदैन ।

राजाको हातमा सत्ता जानासाथ यस्तो कानून बनाउने तयारी भएको थियो र यसको मस्यौदा पाँच महिना पहिले नै प्रकाशमा आइसकेको थियो  । सञ्चारजगत र नागरिक समाजबाट यसको तीब्र विरोध हुनुका साथै यस्तो अध्यादेश जारी नगर्न राजामा प्रत्यक्ष नै विन्ती चढाइएको पनि थियो  । तर राजाबाट सबैको भावनालाई लत्याई, समाजको आँखा छलेर, दशैँको मौका छोपेर अध्यादेश यथावत् जारी गरियो । सरकारले 'सामान्य संशोधन' भनेको यो अध्यादेशभित्र देशलाई राजाको जहानियाँ स्वेच्छाचारिताको जाँतोमा पिस्ने तथा जनतालाई अन्धकारमा राखी सधैँ दास बनाइरहने कुटिल अभिलाषा रहेको देखिन्छ । अकल्पनीय परिस्थितिमा सिंहासनारुढ भएका र संविधानको मर्म एवं मान्यता विपरीत शासन चलाइरहेका एक्काइसौँ शताब्दीका राजाले यस्तो आकांक्षा राख्नु न सामयिक हुन्छ, न स्वीकार्य ।


२३ असोजः "सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश- २०६२" राजपत्रमा प्रकाशित ।
· एफएम रेडियोहरूले समाचार प्रसारण र 'अपलिङ्क/इन्टरलिङ्क' गर्न अनि छापालगायत सबै सञ्चारमाध्यमले राजाका अतिरिक्त राजपरिवारका सदस्यहरूको पनि आलोचना गर्न नपाउने प्रावधान लागू ।

२४ असोजः अध्यादेशको कार्यान्वयन निम्ति सञ्चार मन्त्रालयद्वारा सूचना जारी  । · एक ठाउँब्ााट प्रसारण भइरहेको कार्यक्रम एकैपटक अन्य ठाउँबाट प्रसारण नगर्न, नगराउन र समाचारमूलक कार्यक्रमको सट्टा सूचनामूलक कार्यक्रम प्रसारण गर्न एफएम रेडियोलाई आग्रह ।
· ७ पार्टर्ीीनेपाल पत्रकार महासंघ, नेपाल बार, स्वतन्त्र रेडियो बचाऊ आन्दोलन, विभिन्न पेशेवार संघ/ सङ्गठनहरूद्वारा अध्यादेशको विरोध । साथै कमिटि टु प्रोटेक्ट जर्नालिष्ट -सीपीजे) र अन्तर्रर्ााट्रय पत्रकार महासंघ -आईएफजे) द्वारा अध्यादेशको भर्त्सना ।

२८ असोजः प्रेसमाथि नियन्त्रण गर्न जारी अध्यादेश प्रत्युत्पादक हुने भारतको प्रतिक्रिया ।

२९ असोजः अध्यादेशप्रति भारतको टिप्पणी नाङ्गो हस्तक्षेपः शिक्षा मन्त्री राधाकृष्ण मैनाली  ।

१ कात्तिकः अध्यादेश प्रजातन्त्रका लागि खतराः बेलायती राजदूत किथ ब्लुमफिल्ड ।
· अध्यादेश खेदपर्ूण्ा छः युनेस्को । · अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट ।

२ कात्तिकः अध्यादेश लागू गर्न सूचना तथा संचार मन्त्रालयद्वारा पुनः सूचना प्रकाशित । · सर्वोच्च अदालतले सरकारलाई अध्यादेश जारी गर्नु पर्नाको कारण पेश गर्न माग ।

४ कात्तिकः सञ्चार अध्यादेशको विरोधमा पत्रकार महासंघलगायत पेशागत संघ/ संस्थाहरूको सङ्गठन (पापड) को अगुवाईमा विरोध जुलुस ।
· अध्यादेश अन्तर्रर्ााट्रय अभिव्यक्ति स्वतन्त्रताको मापदण्ड विपरीत छः राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त इयान मार्टिन । · राति ११ः१५ बजे सरकारद्वारा कान्तिपुर एफएम् कार्यालयबाट 'अपलिङ्क' उपकरण कब्जा  ।

५ कात्तिकः एफएम रेडियोहरूको अनुगमनको निम्ति सरकारी टोलीलाई सक्रिय पारिएको सरकारको जनाउ ।

६ कात्तिकः सरकारले लगेका उपकरण फिर्ता गर्राई समाचार भन्न दिन कान्तिपुर एफएम्द्वारा सर्वोच्चमा रिट दायर ।
· सबैजसो एफएम्का पदाधिकारीहरूलाई सञ्चार मन्त्रालयमा बोलाई समाचार प्रसारण नगर्न निर्देशन ।

७ कात्तिकः कान्तिपुर एफएम्माथिको आक्रमणको सर्वोच्च अदालतद्वारा कारण माग ।

८ कात्तिकः कान्तिपुर एफएममा सरकारद्वारा गरिएको कारबाहीप्रति अमेरिका असन्तुष्ट र चिन्तित छः अमेरिकी विदेश मन्त्रालय ।

९ कात्तिकः अध्यादेश विपरीत समाचारमूलक कार्यक्रम प्रसारण गरेको भन्दै कान्तिपुर एफएम्लाई इजाजतपत्र रद्द गर्ने चेतावनीसहित २४ घण्टे पर्ुर्जी ।

१० कात्तिकः कान्तिपुर एफएम्को इजाजतपत्र रद्द नगर्न सर्वोच्च अदालतद्वारा सरकारका नाममा अन्तरिम आदेश ।
· सूचना तथा संचारमन्त्री टंक ढकालसँग राष्ट्रिय मानवअधिकार आयोगले अध्यादेशबारे आयोग कार्यकक्षमा बोलाई सोधपुछ ।

११ कात्तिकः सात दलद्वारा अध्यादेशको विरोधमा उपत्यका बन्द ।
· राष्ट्रिय मानवअधिकार आयोगद्वारा कान्तिपुर एफएमको उपकरण फिर्ता गर्न सरकारलाई सिफारिस ।