हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
किशोर नेपाल

डेटलाइन पाल्पा

बाबुरामलाई आदर नगर्ने जिल्ला

 

सामान्यतः पाल्पाले कुनै परिचय खोज्दैन । पश्चिम नेपालको एक महत्त्वपर्ूण्ा गौंडाका रूपमा स्थापित पाल्पाको पहिचानले गुल्मी, अर्घर्ााँची र स्याङ्जाजस्ता जिल्लाहरूलाई समेत ओझेलमा पार्ने गरेको छ । नेपालीहरूको पवित्र तर्ीथस्थल रिडी पाल्पा र गुल्मीको साँधमा पर्दछ । भगवान हृषीकेशको मन्दिरबाहेक धार्मिक महत्त्वका अन्य पीठहरू र रिडी बजार गुल्मीमा परे पनि आर्थिक र पर्यटकीय हिसाबले रिडी पाल्पाको प्रभाव क्षेत्रका रूपमा चिनिन्छ । पाल्पालीहरू रानीमहल, अर्गेलीमा रहेको जुद्ध शमशेरको दरबार, १४०० मिटरको उचाइमा रहेको कोलडाँडास्थित सत्यवती ताल र कालीगण्डकीको राम्दी घाटको नाम निकै गर्वका साथ लिने गर्दछन् । सधैँ चीसो हावा चल्ने श्रीनगर डाँडा पाल्पाको अर्को आकर्षा हो ।

तर, पाल्पाको प्रभाव यति मात्रैमा सीमित छैन । नेपालको एउटा उच्च शिक्षित जिल्लाका रूपमा पाल्पाले आफ्नो साखको निर्माण पहिल्यै गरिसकेको हो । तीन वटा संसदीय निर्वाचन क्षेत्रमा बाँडिएको यो जिल्ला प्रजातन्त्रको पुनर्स्थापनापछि चेतना विस्तारको तहमा अरू माथि उक्लिएको छ । खास गरेर, तानसेनका पाल्पालीहरू नेपालको नीतिनिर्माणका क्षेत्रमा निकै पहिलेदेखि स्थापित छन् । पाल्पाको सदरमुकाम तानसेन शहरको मानसिकता पनि यही हिसाबले विकसित भएको छ । शहरका मुख्य भागहरूको नामकरण काठमाडौँका प्रसिद्ध टोल र बजारहरूसँग मेल खाने गरी गरिएको छ । पाल्पा मोफसलको मानसिकताबाट पनि मुक्त देखिन्छ । तर, यो उन्मुक्ति सदरमुकामका शिक्षित र हुनेखाने वर्गसम्म मात्र सीमित रहेको छ । तानसेन बजारले पाल्पा जिल्लाको समग्र प्रतिनिधित्व गर्न सक्दैन ।

तानसेन बजार पनि हिंसात्मक द्वन्द्वको प्रभावबाट मुक्त छैन । बरु, द्वन्द्वका विभिन्न बिन्दुहरूद्वारा यो घेरिएको छ । समग्र पाल्पामा हिंसाको उपस्थिति निकै बाक्लो रहेको छ । वर्तुङ्गदेखि बुटवल नजिक सिद्धबाबासम्म, राजमार्ग छेउछाउका बस्तीहरू पटकपटक हिंसात्मक द्वन्द्वको शिकार बनेका छन् । नेपालकै पहिलो ग्रामीण सामुदायिक रेडियो स्टेशन रहेको मदनपोखरा र कुनैवेला तामा, टुसा जस्ता पारम्परिक तरकारीका लागि प्रसिद्ध रहेको दोभान क्षेत्रमा हिंसाको प्रभाव बढिरहेको स्पष्टै अनुभव हुन्छ । राजमार्ग छेउछाउ गोली चल्ने, कुटपिट हुने र सुरक्षाकर्मीहरू एम्बुसमा पर्ने घटनाहरू स्थानीय बासिन्दाका लागि सामान्य भइसकेका छन्  । २०६१ चैत महिनाको लामो बन्दमा एउटा सुरक्षावाहन एम्बुसमा परेको र १० चैतका दिन फागु खेल्न चन्दा जम्मा गरिरहेका तीन जना छात्रहरू माओवादीको आशङ्कामा मारिएको घटनाले पाल्पाको नागरिक जीवनलाई अत्यन्त तनावग्रस्त र दुःखी बनाएको छ । सुरक्षाफौजसँग प्रत्यक्ष मूठभेड नगर्ने तर धराप थाप्न नछाड्ने माओवादीको रणनीतिका कारण स्थानीय परिस्थितिमा खासै सुधार आउन सकेको छैन ।

तर, हिंसाले साँच्चिकै आक्रान्त बनेको छ पर्ूर्वी पाल्पा  । मगर जातिको बाहुल्य रहेको नगरोन्मुख रामपुर गाविस पर्ूर्वी पाल्पाको केन्द्र हो । पाल्पाको सबभन्दा विकट र सबभन्दा उत्पादनमुखी यो क्षेत्रमा हिंसाको प्रवेशबिन्दु नवलपरासी जिल्लाको पहाडी भूखण्ड हो । "मानिसहरू रोल्पा र रुकुमको कुरा गर्दछन्, तर पाल्पाको रामपुर क्षेत्रमा के भइरहेको छ कसैले अन्दाज गर्न सकेका छैनन् । म एकपटक पनि मारिएको छैन । तपाईँ देख्दै हुनुहुन्छ, मेरो शरीर साबुत नै छ । तर, म पटकपटक मारिइसकेको छु" आर्यभञ्ज्याङमा एकजना चौहत्तर वषर्ीय वृद्धले आँखाभरि आँसु पार्दै बताए, "गाईभैंसी, गोरुबाख्रा, छोरानाति केही भन्न पाउने अवस्था छैन । हामी बूढाहरूको त कुरै छाडौँ, गाउँमा बस्न नसकेर आश्रयको खोजीमा भौंतारिने युवकहरू कति छन् कति ।"

गैरसरकारी संस्थाका एकजना कार्यकर्ताका अनुसार, १९ माघपछि माओवादीको चन्दा आतङ्क केही शिथिल भएको छ । तर, तिनका अन्य गतिविधिहरू रोकिएका छैनन् । १३, १४ र १५ फागुन पाल्पा र नवलपरासीको सीमामा पर्ने डेढगाउँमा माओवादीहरूले ठूलै सम्मेलन गरेका थिए र त्यसमा रामबहादुर बादलको पनि उपस्थिति रहेको थियो । त्यहाँ बाबुराम भट्टर्राईको पनि उपस्थिति थियो र त्यसपछि मात्र बाबुराम विवाद चर्केको भन्नेहरू पनि भेटिन्छन् । तर, सत्य कसैलाई पनि थाह छैन । रामपुर क्षेत्रका माओवादीहरूबीच डा. बाबुराम लोकप्रिय छैनन् । सरकारले माओवादीहरूको कुरा पनि गम्भीरतापर्ूवक सुन्नर्ुपर्दछ भन्ने एकजना स्थानीय बुद्धिजीवीले बताए, "यतातिरका माओवादीहरूमा डा. भट्टर्राईका प्रति आदरभाव पाइँदैन । बरु, यहाँ उनी बाहेकका अरू नेताहरूको प्रभाव बढी देखिएको छ ।"

मुलुकमा जे भइरहेको छ त्यससँग सहमत छैनन् पाल्पाका बुद्धिजीवीहरू । स्थानीय राजनीतिक दलहरू त अन्योलमा छन् छन्, राजनीतिक दलहरूका आलोचकका रूपमा देखिँदैआएका नागरिक समाजका सदस्यहरू पनि यतिखेर रनभुल्ल परेका छन् । जिल्लाका प्रबुद्ध व्यक्तिहरूमा नयाँ परिस्थित्रि्रति र्समर्पणको भाव त छैन नै र नयाँ परिस्थिति निर्माणका लागि सङ्र्घष्ाको मनस्थिति पनि छैन । दलहरूले नियमित विरोध पर््रदर्शन जारी राख्न पनि कठिनाई महसूस गरिरहेका छन् । राजनीतिक दलका भ्रातृ सङ्गठनका सदस्यहरू पर््रदर्शनमा सहभागी हुन आनाकानी गर्दछन् । दलहरूको विरोधप्रति जनताको निरपेक्ष भावलाई कसरी सापेक्ष बनाउने हो कसैले केही सोच्न सकेका छैनन्  । सुरक्षा निकायप्रति बढ्दो प्रशासनिक निर्भरताले नागरिक शासनको मर्ममा प्रहार गर्दै लगेको छ । शिक्षा, स्वास्थ्य, कृषि, संचारलगायतका हरेक विषयमा सुरक्षाको अनुमति वा राय खोज्ने प्रशासनिक प्रवृत्ति देखेर जनता मात्र होइन, सुरक्षा अधिकारीहरू समेत छक्क परेका छन् । एकजना सुरक्षा अधिकारी भन्छन्, "जनताको काम छिटोछरितो ढङ्गले होस् भन्ने हाम्रो मनसाय हो । हाम्रो भूमिका हस्तक्षेपमुखी छैन । उता, यहाँका प्रशासकहरूको प्रवृत्ति त्यस्तै देखिएको छ ।" तर, प्रशासकहरूको गुनासो भने बेग्लै छ । "छिटोछरितोका नाममा प्रशासनिक प्रक्रियाहरू नै पूरा गर्न नपाउने किसिमको मानसिक दबाब र आदेशात्मक व्यवहारका कारण सबै आजित भएका छन् र आत्तिएका छन् । आफ्नो कार्य सीमामा बसेर काम गर्ने वातावरण हराउँदै गएको छ" एकजना प्रशासक बताउँछन् ।