हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

तन्नेरीका कुरा

सेवा गरे मेवा पाइन्छ

फुर्सदको समयलाई स्वयंसेवाद्वारा उत्पादनशील बनाउन सकिन्छ। स्वयंसेवाबाट सन्तुष्टि पाइन्छ, अझ् यसरी बिताएको समय कतिपयको 'करिअर' का लागि राम्रो लगानी पनि सिद्ध भएको छ।

शैली बस्नेत


कान्ति बाल अस्पतालका क्यान्सर पीडित बालबालिका खेलाउँदै युवा स्वयंसेवकहरू।

बिहान चार–पाँच घण्टा कलेज, त्यसपछि दिनभर खायो, सुत्यो, टीभी हेर्‍यो, डुल्यो। यतिमै प्लस टुको दुई वर्ष र स्नातकको एक वर्ष गरी जिन्दगीको तीन वर्ष बिताइन् सगरमाथा मल्टिपल कलेजमा बीए तेस्रो वर्षमा अध्ययनरत सञ्जु नेपालीले। तर युथ इनिसियटिभ नामक संस्थामा स्वयंसेवकको रूपमा संलग्न भएयताको एक वर्षमा उनले श्रीलङ्कामा नेपाली युवाको प्रतिनिधित्व समेत गरिसकेकी छिन्। आत्मविश्वासले भरिएको आवाजमा उनी भन्छिन्, “विदेश त के आफ्नै कक्षामा पनि म बोल्दै नबोल्ने, शिक्षकसँगै बोल्न पनि डराउने मान्छे थिएँ, तर यता स्वयंसेविका भएपछि मलाई थाहा भएको छ राम्रो कुरा गर्न डराउनुपर्दैन।”

सञ्जु जस्तै प्लस टु र स्नातकमा अध्ययन गरिरहेका, कलेजपछि फुर्सदको समय हुने विद्यार्थी थुप्रै छन्। यी युवाहरूका लागि कुरा छनौटको हो– ऊर्जा र जोशले भरिएका जवानीका दिन व्यक्तिगत रमाइलोमा बिताउने अथवा केही अर्थपूर्ण काममा व्यतित गर्ने। दोस्रो विकल्प छान्ने हो भने सीप वा व्यक्तित्व विकासको तालिम लिन सकिन्छ, पार्टटाइम जागिर खान सकिन्छ अथवा स्वयंसेवाबाट समाज साथसाथै आफ्नै विकासमा लाग्न सकिन्छ। गरीबीको चपेटामा बेरिएको देश नेपालमा गरीबी, रोग, असहाय, अशिक्षा जस्ता अभावहरू दुर्गम गाउँदेखि राजधानी शहरसम्म व्यापक छन्। यस्ता समस्याहरूलाई युवाको सानो सहयोग पनि महत्ववपूर्ण हुन्छ।

देशभित्र सामाजिक कार्यका लागि युवा परिचालन गर्ने संस्था थुप्रै छन्। आर्थिक सहयोग नभएपनि युवा उपस्थिति नै कतिपयका लागि पर्याप्त सहयोग हुनसक्छ। उदाहरणका लागि कान्ति अस्पतालको क्यान्सर 'वार्ड' चहार्न सकिन्छ। क्यान्सर रोगले पीडित बालबालिकाहरूलाई खेलाएर, कथा सुनाएर चुलबुले उमेरका केटाकेटीलाई अस्पतालको वातावरणमा वाक्क लाग्न नदिन 'चिरञ्जीवी' नामक संस्थाले स्वयंसेवकको सहयोग लिने गरेको छ। चिरञ्जीवीका पदम महर्जन भन्छन्, “केटाकेटीले साथी र अभिभावकले आफ्नो व्यथा सुन्ने मान्छे पाउँदा पनि ठूलो मद्दत हुन्छ। तर यहाँ सेवा गर्न मन बलियो हुनुपर्छ, किनकि आज देखेको बिरामी भोलि नहुन पनि सक्छ।” चार वर्षदेखि चिरञ्जीवीमा स्वयंसेवा गर्दै आएकी महालक्ष्मी श्रेष्ठ भन्छिन्, “यहाँ काम गरेपछि जस्तोसुकै विपत्ति पनि सहनुपर्दोरहेछ भन्ने कुरा सिकेँ।” लगनखेलस्थित हस्पिश नेपालले पनि बाँच्ने सम्भावना नभएका क्यान्सर रोगीलाई दैनिक जीवनमा चाहिने सहयोग गर्न स्वयंसेवक परिचालन गर्ने गर्छ।

स्वर्गीय फादर वाट्रिनद्वारा स्थापित एसएभी (सोसियल एक्सन भोलिन्टियर्स) नामक संस्थाको लक्षित समूह नै फुर्सदको समय भएका विद्यार्थी हुन् भन्छन् कार्यक्रम व्यवस्थापक तेजप्रसाद गिरी। यहाँ काठमाडौँ, भक्तपुर, पाटन, मकवानपुर र नुवाकोट जिल्लामा सञ्चालन गरिने सामुदायिक स्वास्थ्य र लघु ऋण कार्यक्रममा स््वयंसेवकले कम्तीमा हप्ताको एकपटक, संस्थाका कर्मचारीसँगै सहयोग गर्न सक्छन्। गिरीका अनुसार बिहान एघार बजेतिर निक्लेर साँझ् चार बजे नै काठमाडौँ फर्कने हुनाले पढाइमा कुनै बाधा पुग्दैन भने गाउँले जीवनसँगको साक्षात्कारका क्रममा देश, संस्कृति र परिवेशको राम्रो अनुभवका साथै नेतृत्व र व्यक्तित्व विकास गर्ने मौका पनि पाइन्छ।
(स्टुडेन्ट पार्टनसीप वल्डवाइड) एस.पी.डब्ल्यूले भने विदेशी तथा स्वदेशी स्वयंसेवकलाई एकमहिने तालिमपछि ग्रामीण क्षेत्रमै छ सात महिनाका लागि पठाउने गर्छ। हाल सुनसरीमा गैरसरकारी संस्था खोलेर बसेका पूर्व एसपीडब्ल्यू स्वयंसेवक रविन कुमार घिमिरे भन्छन्, “सन् १९९७ मा मसँग दुई विकल्प थिए, जागिर खाने वा विदेश जाने। तर यो कार्यक्रम पछि मेरो सोचाइ नै फेरियो। मैले ज्ञानप्राप्तिको महसूस गरेर सेवा क्षेत्रमै लागिरहेँ।” सन् २००२–०३ मा सेवा गर्ने रुपन्देहीकी निर्मला तिवारी भन्छिन्, “आफू रुपन्देहीकै भए पनि मलाई यही जिल्लामा यस्तो अभाव छ भन्ने थाहै थिएन। मैले यो कार्यक्रमबाट आफ्नै जिल्लाको वास्तविकता थाहा पाएँ।”


एक अन्तर्राष्ट्रिय कार्यक्रममा पूर्वी नेपालका ग्रामीण क्षेत्रका विद्यार्थीहरूका साथ स्वयंसेवीका रूपमा पूर्व मिस नेपाल श्वेता सिंह अष्ट्रियामा।

चेलीबेटी बेचबिखन, एड्स, अन्य जनचेतनाका विषयका साथै कार्यालयमा सघाउनका लागि माइती नेपालले पनि स्वयंसेवकको सहयोग लिनेगर्छ। रेष्टुरेन्टमा काम गर्ने महिलामा बेचबिखन देखिन थालेकोले यस क्षेत्रमा शिक्षा र चेतना दिने कार्यक्रममा स्वयंसेवा गरिरहेकी, समाजसेवामा स्नातक विद्यार्थी कमु पोखरेल भन्छिन्, “म आफँै एउटा चेतनाको कार्यक्रम तयार गर्दैछु। कार्यक्रमको तयारी, मूल्याङ्कन, रिपोर्टिङ र कार्यान्वयन गर्ने आत्मविश्वास माइती नेपालले मलाई दिएको छ।” यसरी स्वयंसेवाबाट संघसंस्थाको प्रशासनिक ज्ञान पनि बटुल्न सकिन्छ। त्यस्तै अनुभव छ स्पाइनी ब्याबलर नामक कला संस्थाको कार्यक्रममा संलग्न स्वयंसेविका क्रिस्टिना पौडेलको। भन्छिन्, “आफ्नै ज्ञान र आत्मविश्वास त बढ्छ नै, आयोजनाहरू र कार्यालय कसरी चल्छ भन्ने पनि थाहा हुन्छ।” सङ्गीत, नृत्य, चित्रकला, अभिनय, साहित्य जस्ता कलाका विविध क्षेत्रमा रुचि भएका युवाहरूको प्रतिभालाई सामाजिक कार्यमा सिर्जनात्मक ढङ्गले प्रयोग गर्छ स्पाइनी ब्याबलरले।

युवा परिचालन मात्र नभएर युवाले नै सञ्चालन गर्ने संस्था हो– युवा अभियान (युथ इनिसिएटिभ)। युवा संलग्नताबाट युवाहरूलाई सुसूचित गराउने, विभिन्न सीपबाट सशक्त बनाउने र व्यवसायका लागि सक्षम बनाउने काम यसले गर्छ। उनन्तीस वर्ष मुनिका सदस्य लिने यस संस्थाका सभापति राजेन्द्र मुल्मी भन्छन्, “नेपालमा स्वयंसेवा गर्न न नीतिनिर्माताहरूले प्रेरणा दिएका छन् न त अरू कसैले। यसका लागि अवसर र प्रेरणा दुवै बढ्नुपर्छ।”

माथि उल्लिखित संस्थाहरू थोरै उदाहरण मात्र हुन्। आफ्नै टोल छिमेक वरपरका अनाथाश्रम, युवा क्लब, कलेजहरूको काउन्सिल, लायन्स क्लब, जेसिस, रोटरी क्लब जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था तथा विभिन्न माध्यमबाट समाजसेवाको अवसर प्रदान गर्ने अन्य थुप्रै संस्थाहरू छन्।

समाजसेवाको महत्वव बुझेर नै पश्चिमी शैक्षिक संस्थाहरूले स्वयंसेवामा संलग्न विद्यार्थीहरूलाई छात्रवृत्तिमा विशेष ग्राह्यता दिने गरेको छ। एसएभीका गिरीका अनुसार वास्तवमा सिफारिस पत्रका लागि नै स्वयंसेवामा लाग्ने युवाहरू प्रशस्तै छन्। भन्छन्, “यता काम गर्नेमा हालसालै मात्र २५ जना जति बाहिर गइसके।“ यसैकारणले अधिकांश संघसंस्थामा तोकिएको न्यूनतम अवधि भन्दा कम काम गर्नेलाई सिफारिस पत्र दिइँदैन। यस्ता संस्थाहरूमा कार्यक्रम अनुसार न्यूनतम अवधि धेरैजसो तीनदेखि छ महिना हुने गरेको पाइन्छ।

स्वयंसेवाबाट जागिर पाउन पनि सजिलो हुने कुरा यस क्षेत्रमा अनुभव बटुलेकाहरू भन्छन्। कतिपय संस्थाले कर्मचारी चाहिँदा आफ्नै स्वयंसेवकबाट पनि छनौट गर्ने गर्छन्। एसपीडब्ल्यूमा स्वयंसेवा गरेपछि दुई वर्ष त्यहीँ जागिर गरेका राजेन्द्र मुल्मी, हाल युथ इनिसिएटिभमा पनि विभिन्न संस्थाले मान्छे चाहिँदा सम्पर्क गर्ने गरेको बताउँछन्। सञ्जु भन्छिन्, “उस्तै उमेर र विषयका बारेमा ज्ञान हुने साथीहरूसँग भन्दा स्वयंसेवा क्षेत्रमा अनेकथरी रुचि, विचार, दक्षता हुनेसँग सम्पर्क हुनाले ज्ञानको परिधि फराकिलो बनाउन पनि पाइन्छ।”

रोजगारीको प्रतिस्पर्धात्मक बजारमा अनुभव नभएकाहरूले राम्रो काम पाउने सम्भावना कमै छ। सम्बन्धित क्षेत्रमा गरेको स्वयंसेवाको पनि पेशागत अनुभव सरह मान्यता हुने कुरा गिरी बताउँछन्। यसर्थ आफ्नो रुचिको क्षेत्रमा विद्यार्थी जीवनमै स्वयंसेवाको अनुभव बटुलेर जागिर पाउने सम्भावना बढाउन सकिन्छ।

सेवा गरेर पाइने सबैभन्दा महत्ववपूर्ण मेवा हो सन्तुष्टि, तर आजको दिनमा सेवाबाट अन्य अवसर पाइने सम्भावना पनि उत्तिकै छन्। न लगानी चाहिने न पठनपाठनमा सम्झौता गर्नुपर्ने, जताबाट पनि फाइदैफाइदा निहित स्वयंसेवाका लागि सेवाको हात बढाए मात्र पुग्छ। जीवनको उर्वर समय मात्र होहल्ला र मनोरञ्जनमा नबिताऔं, केही गरौँ!