| •
ऋतुराज |
 |
ऋतुविचार
लिकमा आउँदैछ प्रजातन्त्र
ढिलै भए
पनि यो अकिञ्चन देशभरका नगरपालिकाका २० प्रतिशत ती बालिग नेपाली मतदाताहरूलाई
बधाई ज्ञापन गर्न चाहन्छ जसले आफ्नो अमूल्य मताधिकारको प्रयोग गरेर
नेपाली प्रजातन्त्रको मूल्य र मान्यतालाई जोगाए।
यसपटकको चुनावमा पहिलेपहिलेजस्तो खर्चिलो प्रचारबाजी
भएन। कुनै होहल्ला भएन। टीभी, रेडियो वा पत्रपत्रिकामा मलाई भोट दिनुहोस्
भन्ने विज्ञापन पनि आएन। कतै तुल र व्यानर टाँगिएको पनि देखिएन। माइकिङ
पनि भएन। घरघरमा आई कुनै उम्मेदवारले भोट पनि मागेनन्। पर्चा र घोषणापत्र
पनि छरेनन्। पोस्टर पनि थोरैले टाँसे त्यो पनि भोट हाल्ने एकदुई दिन
अगाडि मात्र। भोट खसाल्ने बुथ कहाँ हो भन्ने पनि धेरैलाई थाहा थिएन।
त्यति हुँदाहुँदै पनि निर्वाचन निर्धारित तिथिमा सम्पन्न
भयो। कुनै झ्ै–झ्गडा बिना शान्तिपूर्वक चुनाव भयो र त्यसमा बीस प्रतिशत
मतदाताको विशाल सङ्ख्याको सहभागिता रह्यो। प्रजातन्त्रको चारित्रिक
विशेषता नै हो प्रत्येक व्यक्तिले आफूले चाहेको काम गर्न पाउने। जसले
भोट दिएनन् र आफ्नो अधिकार प्रयोग गर्न चाहेनन्, त्यो तिनको खुशी हो।
जसले भोट दिएर आफ्नो अधिकार प्रयोग गरे त्यो तिनको खुशी हो। भोट नदिनेलाई
देउ भनेर कर गर्ने चलन प्रजातन्त्रमा हुँदैन। यति जनाले भोट दिनैपर्छ
भनेर कतै लेखिएको छैन– न संयुक्त राष्ट्रको बडापत्रमा न अन्तर्राष्ट्रिय
कानूनका पोकाहरूमा। बीस प्रतिशत मतदाताले भोट दिए त्यो नै काफी छ ।
बरु मान्नुपर्छ हाम्रा बीस प्रतिशत मतदाताहरूको चेतनाको
स्तरलाई। नगन्य प्रचार थियो, चिनिएका उम्मेदवारहरू थिएनन्, निर्वाचन
चिन्हबारे पनि कसैलाई पत्तो थिएन। तैपनि मतदाताहरूको तीक्ष्ण चेतनशीलतालाई
हेर्नोस् उनीहरूले भोट दिइछाडे। भलै उनीहरूले भोट हालेको वडाध्यक्ष,
मेयर वा उपमेयरका नाम उनीहरूलाई थाहा नहोस्।
प्रजातन्त्रप्रतिको यत्रो प्रखर चेतनशीलता पोहोर साल
राजाले देशको प्रत्यक्ष शासन आफ्नो हातमा लिई मन्त्रिपरिषदको अध्यक्ष
सम्हालिबक्सेपछि आएको हो। नत्र बीस प्रतिशत मतदाता पनि भोट हाल्न शायद
आउने थिएनन्। प्रजातन्त्रले पूरै लिक छाडिसकेको थियो। त्यसलाई फेरि
लिकमा ल्याउन नै राजाबाट ऐतिहासिक कदम चालिबक्सेको थियो। राजाबाट तीन
वर्षको अवधि मागिबक्सेको छ। एकै वर्षभित्र नगरपालिकाको चुनाव भयो र
बीस प्रतिशत मतदाताले भोट हाले। अब हुनेछ गाउँ विकास समितिको निर्वाचन
अनि जिल्ला विकास समितिको। त्यसपछि हुनेछ प्रतिनिधिसभाको चुनाव। त्यति
हुँदासम्ममा बीस प्रतिशतका दरले भोट हाल्ने मतदाताहरूको सङ्ख्या बढेर
पूरै ८० प्रतिशत पुग्नेछ।
यसप्रकार मौसुफबाट माग भएको समयभित्र प्रजातन्त्रलाई
ठीक ठाउँमा ल्याएर ठेगान लगाई बक्सनेछ। अनि प्रजातन्त्रले लिकमा नआई
सुख पाउला र?
वरिष्ठको बोझ
हालै भएको एउटा छलफल कार्यक्रममा डायसमा बसेका व्यक्तिहरूको
परिचय गराउने सिलसिलामा उद्घोषकले पत्रकार विनोद भट्टराईलाई 'वरिष्ठ
पत्रकार' भनेर चिनाएका थिए। पत्रकार अघिल्तिर थपिएको त्यो 'वरिष्ठ'
विशेषणले भेलाका सहभागीहरूलाई त हँसायो हँसायो स्वयं विनोद भट्टराईलाई
पनि हँसायो। सहभागीहरू त्यसरी हाँस्ने कारण के थियो भने तिनमध्ये धेरैजसो
विनोदकै दामलका दौँतरीहरू थिए। विनोद आफैँलाई पनि त्यो विशेषण पचेनछ
र उनले 'म वरिष्ठ सरिष्ट केही होइन, पत्रकारचाहिँ हुँ' भनेर सफाइ दिएका
थिए।
हुन पनि वरिष्ठ भन्ने वित्तिकै कपाल भए सेतै फूलेको
अथवा (पुरुषको हकमा) खल्वाट शिर भएको, बत्तीस दन्तमा थोरै मात्र दाँत
बाँकी रहेको, बोल्नलाई माइकसम्म पुग्न पनि कसैको भर चाहिने कुनै अशक्त
बृद्ध वा बृद्धा व्यक्तिको चित्र दिमागमा आउँछ। चालीस नटेकेका विनोदले
त्यस्तो सफाइ दिँदा र त्यसअघि श्रोता हाँस्दा त्यही चित्रले काम गरेको
हुनुपर्छ।
वरिष्ठ शब्दको शाब्दिक अर्थ बृद्ध वा बृद्धा भन्ने
लाग्दैन। शब्दकोशले त्यसो भन्दैन। तर बोल्ने बेलामा कसले पो शब्दकोश
पल्टाउँछ र! तथापि बोल्ने बेलामा मात्र होइन लेख्ने बेलामा पनि हिजोआज
यो वरिष्ठ शब्दको प्रयोग हदैसम्म बढेको छ। वरिष्ठ कलाकार, वरिष्ठ नेता,
वरिष्ठ गायक, वरिष्ठ गीतकार, वरिष्ठ सङ्गीतकार, वरिष्ठ समाजसेवी, वरिष्ठ
कवि, वरिष्ठ लेखक, वरिष्ठ चिकित्सक आदि आदि।
शायद अङ्ग्रेजी भाषाको 'सिनियर' भन्ने शब्दबाट प्रभावित
भएर यसो भएको होला। 'सिनियर'ले पाको वा जेठो भन्ने बुझ्ाउँछ। कसैलाई
पाको वा जेठो भन्नुसट्टा नेपालीहरूले 'वरिष्ठ' शब्दको सहारा लिएका
होलान्।
'वरिष्ठ' शब्दप्रतिको यो आशक्तिमा अदालती परम्पराले
पनि काम गरेको छ। किनभने कुनैकुनै अधिवक्तालाई वरिष्ठ अधिवक्ता भनेको
सुनिन्छ। कानूनको स्नातक भएर वकालत गर्ने प्रमाणपत्र लिनेहरू सबै अधिवक्ता
हुन्। तर उमेरले पाको हुँदैमा कुनै अधिवक्ता वरिष्ठ कहलिदैन। वरिष्ठ
हुनलाई सर्वोच्च अदालतमा निश्चित समय वकालत गरेर अन्य निर्धारित शर्तहरू
पूरा गर्नुपर्दछ। यसलाई सम्बन्धित निकायबाट प्राप्त हुने एउटा पद नै
माने हुन्छ। जस्तो विश्वविद्यालयमा पढाउने सबै 'प्राध्यापक' हुँदैनन्।
अब अरूले सोचे होलान्, वरिष्ठ अधिवक्ता हुन्छ भने वरिष्ठ
चिकित्सक, इञ्जिनियर वा प्रशासक किन हुँदैन? बस! चल्यो वरिष्ठ भन्ने
र भनिने लहर। 'वरिष्ठ'को फुँदा जोडिदिएपछि सबै गजक्क, सबै फुरुक्क!!
तरुनो होस् वा बूढो– कलाकार कलाकार हो, साहित्यकार
साहित्यकार हो, गायक गायक हो, सङ्गीतकार सङ्गीतकार हो। कवि, लेखक,
गायक आदि स्वयंमा एउटा पूर्ण परिचय हो। त्यसमाथि वरिष्ठको अतिरिक्त
बोझ् थप्नुपर्ने यो चलन किन?
यो पनि

|