हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

अभिनयको नशा १२ कक्षा पढ्दापढ्दै बुटवलकी स्मृति स्वर्णकार कलाकारिताको नशा लागेर राजधानी छिरेकी छिन्। ०५७ सालदेखि अभिनय थालेकी उनमा एक सेल्युलाइड, तीन भिडियो चलचित्र र चार वटा म्युजिक भिडियोमा अभिनयको अनुभव छ। मोफसलमा राम्रो 'स्कोप' नभएरै काठमाडौँ आउनु परेको बताउने स्मृति “ममा कलाकारिताको भूत चढेको छ, त्यसैले यसै क्षेत्रमा भविष्य बनाउन आएकी छु” भन्छिन्। डेढ वर्ष बुटवलकै तिनाउ एफ.एम.मा आरजे बने पनि उनको अभिनयको प्यास मेटिएन। नेपाल वान को खुल्ला इजलास कार्यक्रममा सहप्रस्तोताको रूपमा देखिने स्मृति अलग्गै परिचयका लागि मरिमेटेर लागेकी छिन्। भन्छिन्, “अलग्गै परिचय बनोस् र सबैमाझ् राम्रो कलाकारको रूपमा चिनिन पाइयोस् भन्ने चाहना छ।”

स्मृति स्वर्णकार तस्बिरः अनुपप्रकाश शृङ्गारः चाहना ब्युटिपार्लर, बागबजार मोडल स्रोतः द र्‍याम्प, पुतली सडक


रिपोर्ट

थारु चलचित्रको लहर

पूर्वी तराईका शहर–बजारमा भोजपुरी चलचित्रले जस्तै पश्चिम तराईमा थारूभाषी चलचित्रले राम्रो बजार लिन थालेको छ। पश्चिम तराईको स्थानीय सबैभन्दा प्रचलित भाषा भएकाले यसले भारतीय चलचित्रलाई विस्थापित समेत गर्न थालेका छन्।

थारूभाषी चलचित्र बौछार गतवर्ष धनगढीस्थित जोशी टाकिजमा ४९ दिन प्रदर्शन मात्र भएन, त्यही हलबाट मात्रै रु.४ लाख पनि कमायो। करीब आठ लाखको लगानीमा बनेको बौछार नेपालगन्जको सृष्टि चलचित्र मन्दिरमा पनि पूरै एकमहिना चल्यो। बाँके र कैलालीबाहेक बर्दिया र दाङका एकदर्जन सिनेमा हलमा प्रदर्शन भएको बौछार ले लगानीभन्दा दोब्बर बढी नाफा कमाइसकेको छ। परशुराम चौधरीको निर्माण रहेको बौछार थारुभाषीको सबैभन्दा सफल चलचित्र पनि बनेको छ।

अर्को जीवन एक लदिया ले बर्दियाको पार्वती चलचित्र मन्दिरमा प्रदर्शनको ३२ दिन पार गर्दै रु.२ लाखभन्दा बढीको व्यापार गर्‍यो। थोरै लगानी र कमसल प्रविधिमै निर्माण भएपनि राम्रो बजार लिएपछि निर्माता–निर्देशकहरू यस्ता चलचित्र निर्माणमा उत्साहित बनेका छन्।

थारू मौलिकता समेटिएकाले पनि यी चलचित्र लोकप्रिय बन्दैछन्। पार्वती चलचित्र मन्दिरमा रेशम चौधरीको कमैया एक महिनासम्म चल्यो। त्यसैगरी उमेश थापा र रमेश थापाको प्रस्तुति जाली संसार १६ दिन प्रदर्शन भयो। गोनियाक गागल ले बर्दिया–तारातालको चौधरी चलचित्र मन्दिरमा प्रदर्शनको एकमहिना पार गरेको छ।

२०५९ मा कैलालीको टीकापुरबाट लालवीर चौधरीले थारूभाषाको पहिलो चलचित्र हटाइ कुहिरा को निर्माण गरेका थिए। त्यसपछि थारूभाषी चलचित्रले व्यावसायिकताकै रुप लिन थालेका छन्। तीन वर्षको अवधिमा मात्रै पश्चिम तराईमा यी बाहेक केरनी, फुटल करम, संघरिया, अभागन वनल सुहागन लगायत डेढदर्जन चलचित्र निर्माण भई प्रदर्शन थालिएका छन् भने निर्माताहरूको उत्साहका कारण पगला, भुईंचाल, न्यौछार लगायतका एकदर्जनजति निर्माणाधीन छन्। कैलालीका दुइटा सिनेमा हलका सञ्चालक रमेश थापाको ध्यान अहिले चलचित्र प्रदर्शनभन्दा निर्माणमा केन्द्रित छ। जाली संसार का निर्माता थापा भन्छन् “सानो लगानीमा पनि राम्रो बजार लिनाले उत्साह थपेको छ।”

अहिलेसम्म निर्माण भएका सबै थारू चलचित्र भिडियो डिजिटल फर्मेटका हुन्। ठूला हलमा प्रदर्शन गर्न मिल्ने भएकाले दर्शकले सेल्युलाइड चलचित्रसँगको अन्तर थाहा पाउँदैनन्। नेपालगञ्ज स्थित सृष्टि चलचित्र मन्दिरका प्रबन्धक चन्द्र श्रेष्ठ थारू चलचित्र चर्चित कलाकार लिएर ठूलो पर्दामै बनेमा भारतीय चलचित्रको माग घट्ने बताउँछन्।

थारूहरूकै संस्कृति, जमिन्दारको थिचोमिचो सहिरहेका कमैया र जमिन्दार–शोषकका विरुद्ध थारूको विद्रोहसँगै थारू समाजमा आएको आधुनिकपनलाई यी चलचित्रले समेट्ने गरेको छ। संघरिया मा जमिन्दारको शोषणमा परेको थारू समुदायले पछि जमिन्दारकै विरुद्ध सङ्घर्ष गरेको र त्यसको नेतृत्व नारीले गरेको कथावस्तु समेटिएको छ। नारीको त्यो भूमिका थारूभाषी चलचित्रकी आशलाग्दी नायिका देवी चौधरीले निभाएकी छिन्।

काठमाडौँबाट निर्मित कमैया र कपिलवस्तुमा बनेको फुटल करम बाहेक अरू सबै थारूभाषी चलचित्र कैलाली र बर्दियामै निर्माण भएका छन्। छायाङ्कनको काम यहीँ भएपनि गीत, सङ्गीत र अन्य प्राविधिक काम भने काठमाडौँमै हुने गरेको छ। अहिले स्थानीय रूपमा धेरै कलाकारहरू उत्पादन समेत हुन थालेका छन्। कम लगानीमा बनेका यी चलचित्रले सजिलै लगानी उठाए पनि निर्माताहरूले गुणस्तरमा पर्याप्त ध्यान दिन सकिरहेका छैनन्। यद्यपि तराईमा आशलाग्दो व्यापार गर्नु थारूभाषी चलचित्रको सुन्दर भविष्यको सङ्केत हो।

रामेश्वर बोहरा/सम थापा, नेपालगञ्जमा


वार्ता

र्‍याप र रक गाउँदिन

- क्रान्ति आले, युवा गायक


अनुप प्रकाश

च्याङ्वा होई, च्याङ्वा..., ए होई भनी बोलाको..., सरकारी जागिर... जस्ता गीतका युवा गायक 'डक्टर पाइलटस् ब्याण्ड'का क्रान्ति आले नेपाली गायन क्षेत्रमा छाउन सफल भएका छन्। केही अघिसम्म व्यस्त उनी देशको परिस्थितिले गर्दा अहिले कन्सर्टहरू नभइरहेकोले आफ्नो समूहको नयाँ अल्बमको तयारीमा लागिरहेको बताउँछन्।

च्याङ्वा होई, च्याङ्वा... गीत त निक्कै चर्चित भयो नि?
एकदम मज्जा लागिरहेछ। फरक समूहसँग काम गरियो पहिल्यै हिट भएको गीत फरक तरिकाले प्रस्तुत हुँदा फेरि हिट हुनु स्वाभाविक हो र यो सफलतामा आफ्नो पनि भूमिका रहेकोमा खुशी लागेको छ। यो गीतकै कारणले अचेल धेरैले मलाई च्याङ्वा भन्न थालेका छन्।

आमा कविता आलेसँग लोकगीत समेत गाइसक्नुभयो अब के गर्न बाँकी छ?
ब्याण्डमा हुँदा लोक पप, लोक रक पनि गाइयो। अहिले त दोहोरी र चलचित्रमा पनि गीत गाइसकेँ। अब र्‍याप हान्न र रक गाउन बाँकी छ, तर शायद यी गीत गाउन कोशिश पनि गर्दिनँ होला। अङ्ग्रेजी गीत गाउन मन लाग्छ तर व्यावसायिक रूपमा नगाए पनि आफ्नै चित्त बुझ्ाउन गाउनुपर्ला।

अरु नयाँ योजना के छ?
अप्रिलमा हङकङ जान्छु। जून, जुलाईमा अमेरिका जाने योजना बनेको छ।

अहिलेको राजनीतिक अवस्थाको बारेमा के धारणा छ?
देशको अवस्था खत्तम छ, सबै क्षेत्र तहसनहस छ। सङ्गीतलाई पनि यसले धेरै बाधा पुर्‍याएको छ। समस्याको समाधान चाँडै होस् भन्ने लाग्छ।

सुवेल


टेलिशृङ्खला

द्वन्द्वको कथा मह चौतारी


कहिले एचआईभी एड्स, कहिले पोलियो, कालाज्वार अनि कहिले समसामयिक हास्य–व्यङ्यात्मक टेलिशृङ्खला लिएर देखा पर्ने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) यसपटक द्वन्द्वग्रस्त समाजको चित्रण लिएर आएका छन्। द्वन्द्वरत अवस्थामा समाजमा उत्पन्न भएका विभिन्न समस्याहरू पहिल्याउँदै त्यसको छिनोफानो समेत गरिने मह चौतारी ले नेेपाली टेभिजनका दर्शकको ध्यान तानिरहेको छ।

४२ भागको यो टेलिशृङ्खला विभिन्न चरणमा अलगअलग कथा लिएर आउने भएकाले यसले सामाजिक चेतना र समस्याको निराकरणमा समेत भूमिका खेल्ने मह बताउँछन्। मह चौतारी अन्तर्गत बेली चमेली को पहिलो पाँच भागको शृङ्खला अहिले प्रसारणमा छ। पहिलो चरणमा द्वन्द्वका कारण समाजमा बढेका एकल महिलाहरूको मार्मिक कथा समेटिएको छ।

हिंसात्मक द्वन्द्वमा मारिएका नेपालीमध्ये ठूलो सङ्ख्या पुरुषको नै भएकाले समाजमा एकल (विधवा) महिलाको सङ्ख्या ठूलो छ। कलिलै उमेरमा श्रीमान गुमाएका महिलाहरूको सङ्ख्या झ्नै बढी छ। मह चौतारी ले समाजको यो समस्यालाई प्रस्तुत गर्दै विधवाहरूले राजीखुशी पुनर्विवाह गर्न पाउनुपर्छ भन्ने सन्देश दिएको छ। टेलिशृङ्खलमा छुट्टाछुट्टै समस्याहरू प्रस्तुत गरेर त्यसको समाधानका उपाय समेत दिइने मह बताउँछन्। भन्छन्, “मह चौतारी द्वन्द्वबाट पीडितहरूको समस्या मात्र हैन अन्य सामाजिक समस्या र सरोकारका विषयमा केन्द्रित छ।”

एण्टेना फाउण्डेशन नेपाल र महसञ्चारको संयुक्त पहलमा नेपाल टेलिभिजनबाट साप्ताहिक रूपमा प्रसारण हुने यो टेलिशृङ्खलाको प्रसारण २९ माघदेखि हरेक शनिबार हुँदै आएको छ। एण्टेनाले यसअघि विगत तीन वर्षदेखि नै रेडियो नेपाल तथा विभिन्न एफएमहरूबाट छिनोफानो कार्यक्रम प्रसारण गर्दै आएको छ। सो कार्यक्रमको मह अदालत मा प्रस्तुत समस्याहरूलाई नै टेलिभिजनको पर्दामा प्रस्तुत गर्न मह चौतारी निर्माण गरिएको फाउण्डेशनकी निर्देशक मनिषा अर्याल बताउँछिन्। अर्यालका अनुसार एसिया फाउण्डेशनको आंशिक आर्थिक तथा प्राविधिक सहयोग तथा मिडिया हबको संलग्नतामा यो टेलिशृङ्खला तयार गरिएको हो।

मह चौतारी मा महसँगै सावित्री शर्मा, किरण केसी, उज्वल भण्डारी, सौजन्य सुब्बा, सविता गुरुङ, सुनिता सापकोटा, यानिक श्रेष्ठ, सुदिप सापकोटा, श्रीकृष्ण सिंखडा, श्याम घिमिरे आदिले अभिनय गरेका छन् भने सुरेश किरणको कथा, गौरी शंकर धुजुको छायाङ्कन र सङ्गीत संयोजक मनोज राजभण्डारीको रहेको छ।

डम्बरकृष्ण श्रेष


कला

दृश्यचित्रमा गतिशीलता


किरण पाण्डे

यसैबाट हौसिएर उनले वाटर कलरबाटै गल्ली कलामा 'एन्टी लाइट' र 'डिटेल फर्म'का कुरामा समेत धेरै जोड दिन थाले। आयल र एक्रोलिकमा समेत काम गरे पनि जोजुको चित्रमा 'वाटर कलर'को प्रभाव आउँछ। भन्छन्, “वाटर कलरमा नै चित्र बनाउन आनन्द लाग्छ।”

छोकरा नाचमा प्रख्यात बुबा गणेशलालले सङ्कलन गरेका सुन्दर तस्बिरहरू हेरेर दुरुस्तै चित्र बनाउँथे उनी। छोराको रुचि देखेर बुबाले प्रोत्साहन दिन्थे। २०३३ सालमा कलाकार दुर्गा बरालले पोखरामा आर्ट स्टुडियो खोलेपछि हरेरामले त्यहीँबाट चित्रकलाका आधारभूत कुराहरू सिके र नाफा (पोखरा शाखा) को कला गतिविधिमा पनि भाग लिन थाले। २०३५ सालमा 'नाफा' हटाइएपछि पोखरेली कलाकारहरूले खोलेको 'पुरानी शिल्पी समूह' मा रहेर हरेरामले कला प्रदर्शनी पनि गरे।

आधा दर्जन एकल तथा सामूहिक प्रदर्शनी गरिसकेका उनी कुपन्डोलमा आर्ट स्डुडियो तथा ग्यालरी खोल्ने तयारीमा छन्। यसअघि ग्यालरी मिला (२०४४) र ग्यालरी एटलिएर टु (२०५२) केही समय खोलेर अनुभव सँगालेका कलाकार जोजु भन्छन्, “अब दीर्घकालीन रूपमा काम गर्ने सोचाइ छ। कलाको वैचारिक अन्तरक्रिया गर्ने थलोको रूपमा पनि यसलाई विकास गर्ने सोचाइ छ।”

कृष्णशाह यात्री


चलचित्र

आजका युवा र रंग दे वसन्ती


कतिपय आधुनिक तन्नेरीका लागि आफ्नो देश, राजनीति, सामाजिक अधिकार र दायित्वका कुरा छलफलको विषय बन्दैन। देशको सङ्घर्षपूर्ण इतिहास, शहीदका गाथा उसलाई पट्यार लाग्छन्। भन्छन्, “तिनीहरू शहीद भएर देशले के पायो र? यो देशमा केही हुनेवाला छैन, आफू त पढ्ने, अनि लाग्ने हो विदेशतिर।” पश्चिमा जीवनशैलीमा रमेको पुस्ताले जानेको कुरा– मोज, मस्ती र ऐस–आराम! हाम्रै समाजमा समेत देख्न सकिने यो पुस्ताको सिङ्गो चरित्र अहिले चलचित्रको पर्दामा आएको छ। हिन्दी चलचित्र रंग दे वसन्ती मा युवाहरूको यो निराशपनलाई मात्र देखाएको छैन, उसलाई घच्घच्याएर युवाशक्तिको अनुभूति समेत गराएको छ। एकै सूत्रका धेरै चलचित्रको भीडमा आजका 'रक' पुस्तालाई उनीहरूकै शैलीमा सहज ढङ्गले देश प्रेम अनि सामाजिक दायित्व बोध गराउने यो पृथक् चलचित्र बनेको छ।

चलचित्रमा एक बेलायती युवती सुई (एलिश पाटेन) भारतीय स्वतन्त्रता सङ्ग्रामका युवा आन्दोलनकारीहरू भगतसिंह, चन्द्रशेखर आजादहरूको कथामा चलचित्र बनाउन आएकी हुन्छिन्। कलाकार छनौटका क्रममा दिल्ली विश्व विद्यालयका विद्यार्थीहरू डीजे (अमिर खान), करन (सिद्धार्थ), सुखी (शर्मन जोशी), अश्लम (कुनाल कपुर), सोनिया (सोहा अली खान) र लक्ष्मण पाण्डे (अतुल कुलकर्नी) उनको रोजाइमा पर्छन्। राजनीति र देशप्रतिको दायित्वबारे कहिल्यै नसोच्ने यी युवाहरूलाई उनले चलचित्र निर्माणका क्रममा ऐतिहासिक पात्रका जीवनीमा डुबाउँछिन्। समाज परिवर्तन गर्न पाँच चेतनशील जुझारु युवा नै काफी हुन्छ भन्ने चलचित्रमा देखाइएको छ। तीन दशकअघिदेखिको भारतीय वायुसेनाको मीग लडाकु विमान खरीदको भ्रष्टाचार र दुर्घटना प्रकरण समेटेर कथा रोचक बनाइएको छ।
सबै कलाकारलाई सशक्त अभिनय गराउन सफल निर्देशक राकेश ओमप्रकाश मेहराले युवाहरूलाई सोच्न बाध्य पारेका छन्। विनोद प्रधानको छायाङ्कन उत्कृष्ट छ। एआर रहमानको सङ्गीतले भगत सिंहदेखि आजका रक पुस्ता सम्मलाई समेटेको छ। चलचित्रले युवाहरूलाई देशको भविष्य बनाउने शक्तिको रूपमा प्रस्टसँग चित्रण गरेको छ। हलमा चलचित्र हेरिरहेका युवा दर्शकलाई मुख्य पात्रहरूमध्ये कुनै पात्रमा आफ्नै छवि देखाउन सक्नु चलचित्रको सफल पक्ष हो।

अनुशील


डायरी

खोसिएको आवाज पर्दामा


मान्छेको स्वतन्त्र अभिव्यक्ति दबाउन खोजिँदा र व्यक्त गर्न नपाउँदाको पीडा समेटेर लोकतान्त्रिककर्मी मञ्चले निर्माण गरेको चलचित्र आवाज को प्रदर्शन शुरु गरिएको छ। ४ फागुनमा नेपाल बार एशोशिएसनको हलमा प्रदर्शन गरिएको डिजिटल भिडियो प्रविधिमा बनेको आवाज को निर्देशन के.पी. पाठक र नीलहरि काफ्लेले गरेका छन्। २४ मिनेटको यस चलचित्रमा देशभक्त खनाल, सोमनाथ भट्टराई, पल्लवी भट्ट, के.पी. पाठक आदिले अभिनय गरेका छन्। निर्देशक पाठक शाही कदमपछि जनताका खोसिएका अधिकारहरू पुनर्वहालीका लागि जनचेतना जगाउन आवाज को निर्माण गरिएको बताउँछन्।

वृत्तचित्रमा वादी समुदाय


च्यानल नेपालका पूर्व छायाँकार राजेन्द्र केसीले पश्चिमी नेपालमा छरिएर रहेका वादी समुदायको दिनचर्या समेटेर विवशतामा जन्मिएका वादी छोराछोरीहरू वृत्तचित्र बनाएका छन्। नागरिकता समस्या, देहव्यापारमा लाग्नुको कारण, एचआईभी सङ्क्रमणको जोखिम, बिहे गरेपछि तिरस्कृत जीवन– आधा घण्टाको वृत्तचित्रमा समेटिएको छ। यसका कथाकार, निर्माता तथा निर्देशक केसी वादी महिलालाई देहव्यापारको विकल्पमा सम्मानजनक पेशाको व्यवस्था हुनुपर्छ भन्ने चेतना जगाउनु यसको उद्देश्य रहेको बताउँछन्।

जनकपुरमा फेशन स्कूल


जनकपुरको रमदैया भवाडीमा रहेको जानकी मेडिकल कलेजका छात्राहरूले नेपाली लोकगीतमा नाच्न शहरभरी गुन्यूँ–चोलो खोज्दा पाइएन। गत साता कलेजको स्थापना दिवसमा गुन्यँू–चोलो नभेटेकै कारण उनीहरू साडी लगाएर नाचे। तर, अब नेपालकै पहिलो फेशन र इन्टेरियर स्कूल आइईसीले राजधानी र पोखरापछि जनकपुरमा पनि ८ फागुन देखि आफ्नो सेवा शुरु गरेपछि जुनसुकै पहिरन बनाउन सकिने भएको छ। आइईसीका प्रबन्ध निर्देशक शैलजा अधिकारीले यस स्कूलले मैथिली भेषभुषा र पोशाकलाई समेत अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन मद्दत पुर्‍याउने बताइन्।

अजित