हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रभाव फिचर | शिक्षा विकासको पहल

द्वन्द्वको छायाँमा उज्यालो

द्वन्द्वले थिलथिलिएर निराश भएको अवस्थामा पनि कर्णालीमा शिक्षाका उज्याला किरणहरू देखापर्न थालेका छन्।

दिलीप चापागाइँ र धनबहादुर गौतम


तस्विरहरु: मोहन मैनाली

द्वन्द्वको तीब्र चपेटामा परेको एउटा प्रमुख क्षेत्र हो, शिक्षा। द्वन्द्वले त्यत्तिकै पनि बढी थिल्थिल्याएको कर्णाली अपवाद हुने कुरै भएन। तर यस्तो निराशाजनक अवस्थाका बीच पनि कर्णालीमा शिक्षाका उज्याला किरणहरू देखापर्न थालेका छन्। ती हुन्– अवसरबाट वञ्चित बालबालिकाका लागि सञ्चालित प्रारम्भिक बालविकास कार्यक्रम, विद्यालय शिक्षा र वैकल्पिक शिक्षण प्रयासहरू।

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले तीन वर्षदेखि अञ्चलका बालबालिकाहरूको शैक्षिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले 'कर्णाली गुणस्तरीय शिक्षा परियोजना' सञ्चालन गरिरहेको छ। सेभ द चिल्ड्रेन नर्वेसँगको साझ्ेदारीमा अति गरीब र पिछडिएका परिवारका बालबालिकाहरूलाई लक्ष्य गरेर सञ्चालित यो परियोजना कर्णालीका २९ वटा गाविसमा कार्यान्वयन भइरहेको छ। परियोजनाको सहयोगबाट हालसम्म १४१ विद्यालय, ५६४ शिक्षक–शिक्षिका र तीन हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइरहेका छन्। यसअन्तर्गत स्थापित ८७ वटा प्रारम्भिक बालविकास केन्द्रहरूले २६ सयभन्दा बढी कलिला बालबालिकालाई सहयोग पुर्‍याएका छन्। यसले कर्णाली क्षेत्रका बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गर्नुका साथै यहाँको आर्थिक–सामाजिक विकासमा समेत सहयोग पुर्‍याउने 'किर्डाक'का कार्यकारी निर्देशक कुशेन्द्र महत बताउँछन्।

प्रारम्भिक बालविकास, विद्यालय तथा वैकल्पिक शिक्षा– परियोजनाका प्रमुख कार्यक्रम हुन्, जसले गुणस्तरीय शिक्षामा समावेशीकरणको अवधारणालाई अँगालेका छन्। कार्यक्रमहरूलाई प्रभावकारी बनाउन, पारदर्शी ढङ्गबाट चलाउन र तिनमा समुदायको भूमिका सुनिश्चित गर्न बालअधिकार प्रबर्द्धन, बाल सहभागिता, सरोकारवालाहरूको परिचालन, अनुगमन र समीक्षा जस्ता कुराहरू अगाडि सारिएको छ। परियोजनाको सहयोगमा यस वर्षको विद्यालय भर्ना अभियान र स्वागत कार्यक्रम कर्णालीमा निकै प्रभावकारी रह्यो। यसले बालबालिकाको पढ्न पाउने अधिकारप्रति समुदायलाई सचेत बनाउनुका साथै स्कूल जाने उमेर भएका, तर नगएका २५ प्रतिशतभन्दा बढी बालबालिकाहरूलाई विद्यालय भर्ना हुन प्रेरित गर्‍यो।

सन् २००३ मा जुम्लाबाट शुरु भएको कर्णाली गुणस्तरीय शिक्षा परियोजना त्यसपछि क्रमशः मुगु र कालीकोट अनि डोल्पा र हुम्ला हुँदै अञ्चलका पाँचवटै जिल्लामा विस्तार भइसकेको छ। परियोजना लागू भएका ठाउँका विद्यालयहरूमा प्रारम्भिक बालविकास केन्द्र स्थापना, भौतिक पूर्वाधार निर्माण, जिल्ला शिक्षा कार्यालयसँग समन्वय, विद्यालय अनुगमन, सहजकर्ताहरूको मासिक बैठक, अभिभावक, विद्यार्थी र शिक्षक अन्तरक्रिया जस्ता कामहरू भएका छन्।

प्रारम्भिक बालविकास केन्द्र बालबालिकाहरूको शिक्षाको पहिलो खुड्किलो हो। यसलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार, सहजकर्ता तालिम, स्थानीय र जिल्लास्तरीय सरोकारवालाहरूको बैठक तथा बालबालिकाका लागि प्राथमिक उपचारलगायतका क्रियाकलापहरू सञ्चालन भइरहेका छन्। यस्तै केन्द्रमार्फत् बालबालिकाहरूको शारीरिक, मानसिक र संवेगात्मक विकासमा ध्यान दिँदै उनीहरूप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्नेबारे समुदायका मानिसहरूलाई सचेत गराउने काम भएको छ। सहजकर्ताहरूको प्रयासबाट बालबालिकाप्रति समाजको धारणा र व्यवहारमा परिवर्तन आएको छ। विद्यार्थीलाई पढ्न प्रेरित गर्ने र अतिरिक्त क्रियाकलापहरूमा समावेश गर्ने हिसाबले बालसमूह गठन भएका छन्, जसमार्फत् शिक्षामा बालबालिकाको अधिकार प्रबर्द्धन गर्ने र विद्यालयका क्रियाकलापमा सहभागिता बढाउने काम भएको छ। बालसमूहको गठन र क्रियाशीलताले अतिरिक्त क्रियाकलापमा बालबालिकाको संलग्नता बढेको छ र उनीहरू सिर्जनात्मक बन्दै गएका छन्।

सरोकारवालाहरूको सक्रिय सहभागिता र शिक्षाप्रति निरन्तर संवेदनशीलता परियोजनाको एउटा प्रमुख पक्ष नै हो। यसैकारण शिक्षणका समस्या र समाधानका उपायमा केन्द्रित भएर उनीहरूबीच बरोबर छलफल हुने गरेको छ। परियोजनाले सरोकारवालाहरूबीच सहकार्य र समन्वय गर्नुका साथै उनीहरूको सञ्जाल निर्माण गर्ने तथा कर्णाली क्षेत्रका शिक्षा सम्बन्धी विशेष मुद्दाहरूमाथि समय–समयमा स्थानीय, जिल्ला, क्षेत्रीय र राष्ट्रियस्तरका सम्बन्धित निकायहरूमा छलफल गरेर समाधानको लागि कार्ययोजना बनाउने कामहरू पनि गरेको छ।

कार्यक्षेत्र कार्यक्रम
प्रारम्भिक बालविकास सहजकर्ता तालिम, व्यवस्थापन समिति तालिम, सामग्री सहयोग, भौतिक पूर्वाधार सहयोग
विद्यालय शिक्षा (प्राथमिक, निम्न–माध्यमिक र माध्यमिक) सक्रिय शिक्षण/नमूना विद्यालय, शिक्षक तालिम, आधारभूत शैक्षिक सामग्री तालिम, शैक्षिक सामग्री सहयोग, आधारभूत भौतिक पूर्वाधार, अतिरिक्त/कोचिङ्ग कक्षा, अन्य विशेष सहयोग
वैकल्पिक/अनौपचारिक शिक्षा स्कूल नजानेका लागि विशेष कक्षा र 'दिदीबहिनी' कक्षा, १५ देखि २५ वर्षका लागि वयस्क कक्षा, सीपमूलक तालिम, रोजगारमूलक अवसर

अहिलेको अवस्था
सन् २००३ मा किर्डाकले प्रारम्भिक बालविकास केन्द्र र आधारभूत प्राथमिक शिक्षालाई शैक्षिक अभियानको रूपमा शुरु गर्दा कर्णालीका शैक्षिक केन्द्रहरूको अवस्था छरपष्ट थियो। प्राथमिक विद्यालयहरूमा शिक्षक–विद्यार्थीको व्यापक अनुपस्थिति, नगण्य भर्नादर, विद्यालय जाने बालिका, दलित तथा जनजातिको सङ्ख्या अत्यन्त कम हुन्थ्यो। अहिले शिक्षकहरूलाई आधारभूत तथा पुनर्ताजगी तालिम, अभिभावकहरूको निश्चित भूमिका, विद्यालयमा बालबालिकाको पहँुच जस्ता कुरामा ध्यान दिएर शिक्षामा सुधार ल्याउने प्रयत्नहरू भएका छन्। तालिमप्राप्त शिक्षकहरूले सक्रिय शिक्षणविधिद्वारा समुदायका बढीभन्दा बढी बालबालिकाहरूलाई बालसुलभ वातावरणमा सक्रिय शिक्षा प्रदान गरिरहेका छन्।

बालविकास केन्द्रकै कुरा गर्ने हो भने, जिल्ला शिक्षा कार्यालयहरूले कर्णालीका पाँचै वटा जिल्लामा गठन गरेको भनिएका प्रारम्भिक बालविकास केन्द्रहरूको अत्तोपत्तो थिएन। किर्डाकले सम्बन्धित शिक्षा कार्यालयहरूबाट तथ्याङ्क लिएर समुदायको सहयोगमा ती केन्द्रहरूको खोजी गर्‍यो र शिक्षण सामग्रीको अभावले दयनीय अवस्थाबाट गुजि्ररहेका नाम मात्रका ती केन्द्रहरूलाई तालिम तथा शिक्षण सामग्रीहरू सहयोग गरी ब्यूँतायो। हाल २९ गाविसमा ८७ वटा प्रारम्भिक बालविकास केन्द्रहरू सञ्चालन भइरहेका छन्। अभिभावकहरूलाई यसको मह140वबारे तालिमहरू दिइएका छन्। केन्द्रहरूलाई सामुदायिक रूपमा सञ्चालन र व्यवस्थापन गर्नको लागि सबै केन्द्रहरूको व्यवस्थापन समिति गठन गरिएको छ। समुदायहरूमा आजभोलि चार–पाँच वर्षका बालबालिकाहरूका लागि सञ्चालित यस्ता बालविकास केन्द्रहरूको ठूलो माग छ।

किर्डाकले आफ्नो कार्यक्षेत्रका हरेक गाविसमा सामुदायिक शैक्षिक व्यवस्थापन सूचना प्रणाली स्थापना गरेको छ। त्यसैको माध्यमबाट समुदायले आफ्नो लागि बालविकास केन्द्रको आवश्यकता पहिचान गरेका छन्। त्यसको आधारमा थप बालविकास केन्द्रहरू खोल्नको लागि सम्बन्धित सरकारी र गैरसरकारी निकायमा पहल गरिएको छ। जुम्ला, कार्तिकस्वामीका रामबहादुर भन्छन्, ”प्रारम्भिक बालविकास केन्द्रमा एक वर्ष रहेका बालबालिका अरूको दाँजोमा फरक देखिँदा रहेछन्। उनीहरूको बोल्ने शैली र अभिभावक र शिक्षकहरूसँग गर्ने व्यवहार नै फरक छ। केन्द्रमा बसेका केटाकेटीहरूको कक्षा १ मा प्रवेश निकै उत्साहजनक हुँदो रहेछ। उनीहरू एकदमै आनन्द मानेर स्कूल जाने गर्छन्।”

भावी लक्ष्य र योजना
सन् २००९ सम्म सञ्चालन हुने कर्णाली गुणस्तरीय शिक्षा परियोजनाले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका ४० प्रतिशत शिक्षक–शिक्षिका, निरीक्षक र व्यवस्थापन लगायत अन्य निकायमा काम गर्ने पदाधिकारी–कर्मचारीहरूलाई गुणस्तरीय शिक्षा र बालशिक्षणप्रति सचेत पार्ने लक्ष्य राखेको छ। यसैगरी २० प्रतिशत विद्यालयमा शिक्षकहरूलाई आधारभूत भौतिक पूर्वाधार र आवश्यक शैक्षिक सामग्रीसहित बालमैत्री वातावरणमा पठनपाठन गर्ने अवस्था सिर्जना गर्ने अठोट गरिएको छ। प्राथमिक तहको हालको भर्नादरमा कम्तीमा २० प्रतिशत थप वृद्धि हुने अपेक्षा राखिएको छ। हाल न्यून रहेको भर्नादर र कक्षा दोहोर्‍याउने एवं पढाइ छाड्ने प्रवृत्तिमा सुधार गर्ने तथा लैङ्गिक एवं जातीय आधारमा समावेशी शैक्षिक वातावरण बनाउने कुरामा पनि परियोजनाले जोड दिएको छ।

बालविकासका संवेदनशील पक्षप्रति सचेत असल अभिभावकको सङ्ख्या उल्लेख्य रूपमा बढाउने पनि परियोजनाको सोच रहेको छ। त्यसैले परियोजनाको सफल कार्यान्वयनपछि कर्णालीका ७० प्रतिशत विद्यालयमा सक्रिय वाल संरक्षण नीति लागु हुने र त्यसबाट स्कूलमा बालबालिकामाथि हुने शारीरिक सजाय र दुर्व्यवहारमा यथेष्ट कमी आउने अपेक्षा गरिएको छ। विद्यालय व्यवस्थापन समितिमा समेत बालबालिकाको सहभागिताको परिकल्पना गरेको यस परियोजनाले अनौपचारिक शिक्षामा पनि उनीहरूको उल्लेख्य सहभागिताको आशा राखेको छ।

परियोजनाले हिंसाको मारमा परेका कर्णाली क्षेत्रका बालबालिकाका लागि थोरै भए पनि सहयोगी वातावरण तयार पार्न पहल गरेको छ। परियोजनामा सबै पक्षको सकारात्मक दृष्टि र सहयोगले यसको सफलताप्रति आशा जगाएको छ। सबैभन्दा महत्ववपूर्ण कुरा त, ग्रामीण समुदायका मानिसहरूले कार्यक्रमको ढाँचा र कार्यशैलीलाई मन पराएका तथा यसलाई आफ्नै कार्यक्रम मान्ने गरेका छन्।


विद्यालय जाउँ–जाउँ लाग्ने वातावरण

कर्णालीका स्कूलहरूमा पढाइ–गुनाइको स्थितिमा विस्तारै सुधार भइरहेको अनुभव हुन थालेको छ। जुम्लाका अभिभावक उपेन्द्रबहादुर शाही भन्छन्, “मैले त विद्यालयहरूको वातावरण र पढाइ राम्रै हुँदै गएको पाएको छु। जस्तै, वारकोटेको जनज्योति निम्न–माध्यमिक विद्यालयकै कुरा गरौँ। यहाँको शैक्षिक वातावरण र पढाउने तरिका धेरै फेरिएको छ।”

विद्यालयले चार कक्षामा पढ्ने शाहीका छोरा विजयकुमारको बानी सुधार्न निकै मद्दत पुर्‍याएको छ। विजयकी आमाको अनुभव पनि यस्तै छ। भन्छिन्, “पहिले धेरै बद्मास थियो। विद्यालय जान मान्दैनथ्यो। गए पनि पढाइमा ध्यान दिँदैनथ्यो। स्कूलबाट भागी–भागी हिँड्थ्यो। तर हिजोआज विद्यालय जाने भनेपछि अरूतिर मनै नलाई खुशी हुँदै जान्छ। यति चाँडै उसको बानी कसरी फेरियो,म आफूलाई नै अचम्म लागेको छ।” बाबुआमाका कुरामा सही थाप्दै विजय भन्छन्, “मलाई त सधैँ विद्यालयमै बसिरहुँ जस्तो लाग्छ। शिक्षकहरूले हामीलाई खेलाउँदै राम्रा–राम्रा कुरा सिकाउनुहुन्छ। स्कूलमा हामी गीत गाउँछौँ, नाच्छौँ।” गाउँका मानबहादुर शाही पनि विजयमा आएको अकस्मात् परिवर्तन देखेर छक्क परेका छन्। भन्छन्, “मलाई त मेरो बोर्डिङ्गमा पढिरहेको छोरालाई पनि यही विद्यालयमा भर्ना गर्नुपर्ला जस्तो लागेको छ। मैले छोरालाई बोर्डिङ्गमा राम्रोसँग पढाउँछन् भन्ने सोचेर पठाएको हुँ। सरकारी विद्यालयले पनि खेलेर, रमाइलो गरेर पढ्ने वातावरण बनाइदिँदा रहेछन्।”

जनज्योति विद्यालयकी कक्षा शिक्षक वेदमाया शर्मा आफ्नो विद्यालयको वातावरण कसरी यस्तो बन्यो भन्ने जानकारी दिँदै भन्छिन्, “विद्यालयमा बालमैत्री वातावरण र गुणस्तरीय शिक्षाको लागि विद्यालयको प्रभावकारी व्यवस्थापन, विद्यालय व्यवस्थापन समितिको सक्रिय सहभागिता र जिल्ला शिक्षा कार्यालयबाट निरन्तर सुपरीवेक्षण हुनुपर्दो रहेछ।” प्रधानाध्यापक नरबहादुर खत्री थप्छन्, “अभिभावकहरूबाट विद्यालयको काममा अलि बढी सहभागिता र सहयोग भयो भने मात्रै पनि धेरै गर्न सकिन्छ।” विगतका दिनहरूको विद्यालयको अवस्था सम्झिँदै जगुमन बूढा भन्छन्, “दशैँको विदामा गएका शिक्षकहरू एकैचोटि चैतको अन्तिम परीक्षातिर मात्रै फर्किन्थे। त्यस्तो अवस्थामा कसरी विद्यार्थीहरूले पढ्नु र एसएलसी पास हुनु?” तर अहिले यस्तो अवस्था छैन, धेरै अभिभावकहरू विद्यालयले राम्रो शिक्षा दिइरहेको र यसबाट कर्णाली क्षेत्रमा शिक्षा र अन्य कुराको विकासमा पक्कै सहयोग पुग्ने कुरामा आशावादी देखिन्छन्।



'हामी सबै सन्तुष्ट र उत्साहित छौँ'


खेम थापा

सहायक आवासीय प्रतिनिधि
सेभ द चिल्ड्रेन नर्वे
सेभ द चिल्ड्रेन नर्वे कर्णालीको शिक्षामा सहयोग गर्न किन अग्रसर भएको हो?
मानवीय विकास सूचकाङ्कमा ज्यादै पछाडि परेको र विशेषगरी प्राथमिक शिक्षाको अवस्था दयनीय रहेकोले कर्णाली क्षेत्रमा हाम्रो चासो रहेको हो। औसत साक्षरता दर २० प्रतिशत र त्यसमा पनि महिला साक्षरता तीन प्रतिशत मात्र हुनुले त्यहाँ गहिरो सामाजिक विभेद औँल्याउँछ। विद्यालय जाने उमेरका बालबालिकाको भर्नादर ज्यादै न्यून छ र भएका मध्ये पनि १० प्रतिशतले मात्र प्राथमिक शिक्षा पूरा गर्छन्। कक्षा १० मा पढ्ने विद्यार्थीमध्ये १० प्रतिशत मात्र प्रवेशिका उत्तीर्ण गर्दछन्। यी तथ्यांकले सरकारको वर्षौँदेखिको उदासीनता र उपेक्षालाई प्रतिबिम्बित गर्दछन्। यस्तो अवस्थामा हामीहरू कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रसँग हातेमालो गरेर स्थानीय सबल र सक्षम पक्षहरूको आडमा शिक्षा विकास गर्ने ध्येयले सहयोग गर्न अग्रसर भएका हौँ।

कर्णालीमा भइरहेका गुणस्तरीय शिक्षा विकासका कामहरूबारे के भन्नुहुन्छ?
कर्णालीमा गुणस्तरीय शिक्षा विकास गर्न शिक्षामा सम्पूर्ण बालबालिकाको पहुँच सुनिश्चित गर्ने, विद्यमान शिक्षण–सिकाईको गुणस्तर सुधार्ने र विद्यालयमा बालकालिकाको अधिकार संरक्षण गर्ने लक्ष्य लिएर कार्यक्रमहरू शुरु गरिएको छ। प्रारम्भिक बालविकास र प्राथमिक तहमा शिक्षकहरूमा व्यावहारिक र बालमैत्री शिक्षण सीप बृद्धि गर्ने, विद्यालयको शैक्षिक वातावरण बनाउन एवं शिक्षाको स्थानीय तहदेखि जिल्ला तहसम्मको विभिन्न संरचना, प्रक्रिया र व्यवस्थापनमा प्रभावकारिता वृद्धि गर्ने क्रियाकलापमा हामी केन्द्रित छौँ। यसले सबै सरोकारवाला पक्षहरूलाई जिम्मेवार बनाउने र गुणस्तरीय शिक्षा विकासमा टेवा पुर्‍याउने छ।

चुनौतीहरू के छन् नि?
द्वन्द्वबाट सिर्जित असहज परिस्थितिले गर्दा विद्यालय बन्द हुने र विद्यार्थीहरू पढ्न आउन नमान्ने वातावरण छ। विद्यालयलाई राजनीतिक क्रियाकलापमा प्रयोग गरेर घरिघरि बन्द गरिने हुनाले पाठ्यक्रम सिद्ध्याउनुपर्ने अवस्था छ। यस्तो अवस्थामा द्वन्द्वरत पक्षहरूलाई बालबालिका शान्ति क्षेत्र हुन् भन्ने मान्यता पालना गर्न जिम्मेवार बनाउनु कम चुनौतीपूर्ण काम होइन। यसबाहेक द्वन्द्वको परिप्रेक्ष्यमा शिक्षा क्षेत्रका सेवा संरचनाहरूको कार्यकुशलता वृद्धि गर्नुपर्ने अवस्था छँदैछ। कर्णालीमा दिइने शिक्षा समयसापेक्ष र व्यावहारिक नभएकोले बहुसङ्ख्यक अभिभावकलाई हालको शिक्षाले बालबालिकाको जीवन निर्वाहमा मद्दत गर्छ भन्ने कुरामा विश्वास छैन र विद्यालय व्यवस्थापनमा उनीहरूको सहभागिता एकदम न्यून छ।

कार्यक्रमको उपलब्धि र भविष्यप्रति कत्तिको आशावादी हुनुहुन्छ?
प्रारम्भिक परिणामहरूबाट हामी लगायत समुदाय र अन्य सरोकारवाला पक्षहरू सबै सन्तुष्ट र उत्साहित छौँ। कार्यक्रमले सही बाटो समाएको छ भन्ने लागेको छ। विद्यालयमा बालबालिकाको अपर्याप्त र तयारी बिनाको प्रवेश, विद्यालयहरूको अपर्याप्त तयारी, शिक्षकहरूको न्यून शैक्षिक सीप, अभिभावक र समुदायको न्यून सहभागिता, शिक्षा निकायको कमजोर अनुगमन आदिमा क्रमिक परिवर्तन आएको छ। बालबालिकालाई विद्यालय पठाउने र कक्षा नछाड्ने प्रवृत्तिमा वृद्धि, समुदायमा विद्यालयप्रति चासो वृद्धि, शैक्षिक निकायहरूसँग आवश्यक स्रोत र साधनको उपलब्धता भविष्यमा कार्यक्रमको दिगोपनाका लागि आधारशिला हुन्।