हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद

अब जित्नुपर्छ सिनियरले

६ फागुनमा श्रीलङ्कामा सम्पन्न न्युजिल्याण्ड विरुद्ध एक विकेटको विजयसँगै नेपाली युवा क्रिकेटरहरूले अर्को एउटा सुनौलो इतिहास रचेका छन्। छैटौँ अण्डर–१९ क्रिकेट विश्वकपको प्लेट च्याम्पिअनसीप फाइनलमा हात पारेको यो सफलता नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म पाएको उच्च सफलता हो।

उक्त खेलमा न्युजिल्याण्डले बनाएको २०४ रनको लक्ष्यलाई नेपाली युवाहरूले ९ विकेटको क्षतिमा २ बल बाँकी छँदै पूरा गरेका थिए। फाइनल खेलका 'म्यान अफ द म्याच' वसन्त रेग्मीले ६६ रन बटुल्नुका साथै न्युजिल्याण्डका मह140वपूर्ण तीन खेलाडीलाई 'पेभेलियन'मा फर्काए। प्रतियोगितामा उनी लगायत कनिष्क चौगाई, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, पारस खड्का, शशी केसरी, अमृत भट्टराई जस्ता नेपाली खेलाडीहरूको खेलको प्रशंसा नगर्ने शायदै कोही थियो। नेपालीहरूको प्रदर्शनले प्रायः विदेशी प्रशिक्षकहरूलाई समेत मन्त्रमुग्ध तुल्याएको थियो।

फाइनल पुग्नुअघि नेपालले क्रिकेट हस्ती दक्षिण अफ्रिकालाई पराजित गरेको थियो। सेमिफाइनलमा नेपालले बनाएको २१४ रनको लक्ष्यलाई पछ्याउने क्रममा दक्षिण अफ्रिकी टीमले २१२ रन मात्र गर्न सकेको थियो। केबल दुई रनको नेपालको यो सनसनीपूर्ण विजयले श्रीलङ्काली दर्शकका साथै अन्तर्राष्ट्रिय क्रिकेटका दिग्गजहरूलाई समेत आश्चर्यचकित तुल्यायो। यसअघि पाचौँ विश्वकपमा पनि नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो। प्रतियोगितामा नेपालको सुरुआत भने त्यति जम्न सकेको थिएन। पहिलो खेलमा इङ्गल्याण्डसँग पराजित नेपालको जिम्बाबेसँग पनि दुई रनको पराजयले 'सुपर लिग'मा प्रवेश नै धरमराएको थियो। त्यसपछि नेपाली युवाहरूले आयरल्याण्ड, दक्षिण अफ्रिका र अन्त्यमा न्युजिल्याण्डलाई पराजित गरेर प्लेट च्याम्पियनसीप नै हात पारे।

विश्व कप क्रिकेटका कहलिएका राष्ट्रहरूलाई पराजित गर्नु नेपालका लागि कुनै नौलो कुरा हुन छोडिसकेको छ। श्रीलङ्कामा सन् २००० मा खेलिएको अण्डर–१९ तेस्रो विश्वकपमा पहिलो पटक सहभागी नेपालले केन्यालाई पराजित गरेर सुपर लिगको इतिहास बनाउन शुरु गरेको थियो। त्यसपछि न्युजिल्याण्डमा सम्पन्न चौथो विश्वकपको प्लेट च्याम्पियनसीप फाइनलमा जिम्बाबेसँग पराजित हुनुअघि पाकिस्तान र बङ्गलादेशलाई जितेर आफ्नो दह्रो उपस्थिति देखायो। सन् २००४ मा बङ्गलादेशमा सम्पन्न पाचौँ विश्व कप प्रतियोगितामा दक्षिण अफ्रिकालाई पराजित गरेर आफ्नो क्रिकेट यात्रालाई थप गतिशील बनायो।

नेपाली युवाहरूको पछिल्लो सफलताको श्रेय खेलाडी, प्रशिक्षक र सम्बन्धित खेल पदाधिकारीहरूलाई जान्छ। यो सफलताले नेपाली क्रिकेटमा नयाँ आशा र जोश भरिदिएको र नेपाली खेलाडीहरू विश्वका कुनै पनि स्तरको टीमसँग खेल्न सक्षम छन् भन्ने देखाएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले अब सानातिना कमीकमजोरीहरूलाई सुधार्दै सफलताको यो श्रृङ्खलालाई अण्डर–१९ मा मात्र सीमित नराखी त्योभन्दा माथि सिनियर तहमा पनि पुर्‍याउनु पर्दछ।

सुरेशराज न्यौपाने


एमएमसीलाई उपाधि, उपेन्द्रलाई गाडी


किरण पाण्डे

अफ्रिकी खेलाडीको भीड, मिलेमतो (म्याच फिक्सिङ्)को चर्चा, रङ्गशालामा लाठी चार्ज अनि उत्कृष्ट खेलाडीलाई कार उपहार! यस्तै दृश्यबीच १० भदौमा शुरु भई नेपाली फूटबल इतिहासको सबैभन्दा लामो र खर्चिलो बन्न पुगेको शहीद स्मारक राष्ट्रिय ए डिभिजन लिग फूटबल प्रतियोगिता ९ फागुनमा सकियो। खेलमा पूर्व विजेता नबिल थ्रीस्टार क्लबलाई हराउँदै मनाङमर्स्याङ्दी क्लब (एमएमसी)ले यस वर्षको उपाधि हासिल गर्‍यो।

अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थ्रीस्टारका उपेन्द्रमान सिंहले लिगको उत्कृष्ट खेलाडी घोषित हुँदै टोयटा कार पुरष्कार पाए भनेमहेन्द्र पुलिस क्लब (एमपीसी)का रितेश थापा शीर्ष गोलकर्ता तथा एमएमसी का सागर थापा उत्कृष्ट रक्षक घोषित भए। यसैगरी थ्रीस्टार क्लबका विषेन गौचन उत्कृष्ट मिडफिल्डर तथा एमपीसीका रमेश बुढाथोकी उत्कृष्ट फरवार्ड भए। यो वर्ष त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हात पार्‍यो भने गत वर्षको उपविजेता एमपीसीले चौथो स्थानमा चित्त बुझ्ाउनु पर्‍यो। महाबीर क्लब र बौद्ध फूटबल क्लब ए डिभिजनको हैसियत गुमाएर बी डिभिजनमा झ्रेका छन्।

अफ्रिकी खेलाडीको दबदबा
मैदानमा अफ्रिकी, खासगरी नाइजेरियाली खेलाडीको दबदबा सबैभन्दा चर्चाको विषय बन्यो। ब्रिगेड ब्वाइज क्लबका ओमाग बेमीरो जुनियर हाई स्कोरर नै भए। एमएमसीको विजय यात्रामा नुरुद्दिन ओलावाले तथा अन्तिम समयमा झ्िकाइएका फलिक्सको महत्ववपूर्ण योगदान रह्यो। यसैगरी रेलिगेसनको खतरामा रहेको ब्वाइज युनियनले दोस्रो लेगको सुरुआतमा कोलकाताबाट अफ्रिकी मूलका तीन खेलाडी झिकाएर आफूलाई ए डिभिजन क्लबमा कायम राख्यो। पछिल्लो समयमा मच्छिन्द्र क्लब र फ्रेन्ड्स क्लबले पनि रेलिगेसनको संघारमा पुगेपछि अफ्रिकी मूलकै खेलाडीको सहारा लिए। जावलाखेल युथ क्लबका जुड र अब्दुल घानी आफ्नो टोलीका मह140वपूर्ण खेलाडीको रूपमा रहे। भारतमा राष्ट्रिय लिग भइरहेको समयमा प्रायः त्यहाँ अवसर नपाएर नेपाल छिरेका यी विदेशी खेलाडीले नेपाली क्लबको 'उद्धार' गर्नुले नेपाली फूटबल स्तरमाथि पनि प्रश्न उठाएको छ।

विदेशी खेलाडीको प्रवेशका आधारबारे प्रश्न गर्दा एन्फाका उपाध्यक्ष तथा प्रवक्ता ललितकृष्ण श्रेष्ठ भन्छन्, “क्लबहरुलाई अप्ठेरो नपरोस् भनेर एक पटकलाई लचकता अपनाएका हौँ। खेलको स्तर बृद्धी होस् भन्ने पनि हाम्रो उद्धेश्य हो।” विदेशी खेलाडीको उपस्थितिले खेलको स्तर केही त बढाउला, तर तिनलाई नेपालमा आउन अन्तर्राष्ट्रिय स्थानान्तरण पत्र (आइटीस)को जरुरत नपर्नु, खेलाडीको अनुबन्ध समय निश्चित नगरिनु र राम्रो खेल प्रदर्शन गरे पनि विदेशीलाई उत्कृष्ट खेलाडीको पुरस्कार नदिइनुले यस लिगमा विश्व फ्ूटबलका केही आधारभूत मान्यतालाई नेपालले तोडेको छ।

एमपीसी र एमएमसी तथा त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब बीच भएको खेलमा प्रहरीले दर्शक माथि गरेको आक्रमण यस वर्षको लिगको दुःखद् पक्ष बन्न पुग्यो। नेपाली फूटबलमा बारम्बार हुने यस्ता घटनाले दर्शकहरूलाई रङ्गशाला भित्र पनि असुरक्षित अनुभूति गराएको छ।

'म्याच फिक्सिङ!'
सदाझैँ यस प्रतियोगितामा पनि खेलमा मिलेमतो चर्चाको विषय बन्यो। आरसीटी र मच्छिन्द्रबीचको खेलमा आरसीटीले मछिन्द्रलाई ९–८ को नतिजा सुम्पिएको ठहर भएपछि एन्फाले एक्लै आठ गोल गर्ने आरसीटीका ऋषि राइलाई दिइएको सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपाधि नै रद्द गर्‍यो। आरसीटीका प्रशिक्षक बैजु कपालीले मिलेमतो अन्य खेलमा पनि भएको दावी गर्दै एन्फाले आफ्नो टोलीलाई मात्र तारो बनाएको आरोप लगाएका छन्। उनले यस क्रममा बौद्ध र आर्मीबीचको खेलमा आर्मी फरवार्डले प्राप्त मौकाको उपयोग नगरी तीन गोल मात्र गरेको उदाहरण दिएका छन्।

एन्फाका कतिपय असङ्गत निर्णयबाट सबैभन्दा बढी पीडित चाहिँ ब्रिगेड ब्वाइज क्लब (बीबीसी)का ओमाग बेमिरो जुनियर हुनपुगे। अन्तिम खेलमा चार गोल गर्दै राईसँगै २७ गोल पुर्‍याएर शीर्ष गोलकर्ताको सूचीमा रहेका ओमागले कुनै पुरस्कार पाएनन्। यसलाई ओमागले “फूटबलमा कतै नहुने कुरा नेपालमा हुँदो रहेछ” भनी व्यङ्ग्य गरेका छन्।

नेपाली फूटबलमा मिलेमतो यसअघि पनि हुनेगरेका थिए। २०५७ सालको लिगमा सङ्कटालाई रेलिगेसनबाट बचाउन एनआरटीले खेल छाड्नु, २०५९ सालको खुकुरी कपमा थ्रीस्टार क्लब र आरसीटीले ३–३ गोलको बराबरी गर्दै धरान फूटबल क्लबलाई बाहिर पठाउनु र एमएमसीले सङ्कटा स्पोर्टस् क्लबसँग बराबरी गर्दै फ्रेन्ड्स क्लबलाई बाहिर पठाउनु केही पछिल्ला उदाहरण हुन्।

मनोज घिमिरे