जनता
अनुकरणीय छन्: मुक्ति 'सर'
नेपाली, हिन्दी,
अङ्ग्रेजी, असामी, बङ्गाली र साद्री गरी पाँच भाषाका ज्ञाता मुक्तिनाथ
उपाध्याय (५४) लाई भेट्दा कुनै विशिष्ट व्यक्तिजस्ता लाग्दैनन्। तर
जब साहित्य, सङ्गीत, भाषा, संस्कृति र समाजसेवामा उनको दक्षता र योगदान
थाहा हुन्छ, अनि 'बहु प्रतिभा र जाँगर'का धनी नभनी सुखै पाइँदैन। हुनपनि,
भारतको सिलीगुडीस्थित कृष्णमाया मेमोरियल नेपाली विद्यालयका शिक्षक
उपाध्यायले जागिरबाट उब्रिएको समयलाई लोभलाग्दो ढङ्गबाट सदुपयोग गरेका
छन्।
३५ वर्षअघि गाउन र समाचार पढ्न गुहाटी रेडियो छिरेका
यी शिक्षक अहिले खर्साङ रेडियोमा परिचर्चा कार्यक्रम चलाउँछन्। सङ्गीत
सर्जकको रूपमा नेपालका चर्चित गायक/गायिकाहरूको स्वरमा उनका तीन गीति
अल्बम निस्किएका छन्। दर्जनौँ नाटकलेखनसँगै भुल, माझ्ीदाइ, आमाको काख,
हाम्रो जिन्दगी लगायतका एक दर्जन नेपाली र साद्री भाषाका चलचित्रमा
अभिनय सँगै कथा, पटकथा लेख्न उनले भ्याएका छन्। हिमाली उपन्यास प्रकाशोन्मुख
छ।
मानविकीमा स्नातकोत्तर र विज्ञान तथा शिक्षामा स्नातक
गरेका उपाध्याय भन्छन्, “प्रकृति माथिको अतिक्रमणबाट मानवसभ्यतालाई
विलुप्त हुनबाट कसरी बचाउने भन्दै मैले उपन्यासमा अर्को सृष्टिको कल्पना
गरेको छु।”
गुहाटीमा जन्मिएका उपाध्याय सिलीगुडी–स्थित भानुभक्त
समितिका संस्थापक पनि हुन्। हरेक वर्ष भानुजयन्ती, बडादशैँ र विविध
नेपाली चाडपर्व सामूहिक रूपमा मनाउनेदेखि नेपाली स्रष्टाहरूको सम्झ्नामा
विविध कार्यक्रम गर्न उनी सधैँ अग्रसर रहन्छन्। भन्छन्, “हामी भारतीय
भए पनि नेपाली हौँ र नेपाली भाषा, संस्कृति, संस्कार नै हाम्रा लागि
सबैभन्दा ठूलो कुरा हो।”
सही सल्लाह
दिने सत्यवती
बिहे भएको
छ महिनामै लोग्ने बित्दाको शोकमा मात्रै डुबेकी भए उनी अहिलेकी सत्यवती
कुर्मी भनेर चिनिने थिइनन्। उनले आफूलाई सम्हालिन्। अनि शुरु भयो उनको
व्यावसायिक र राजनीतिक जीवन।
६६ वर्षीय सत्यवतीले एक्लै आफ्नो व्यवसाय मात्र
सम्हालेकी छैनन्, आफूलाई देशको लोकतान्त्रिक आन्दोलनको अभिन्न पात्र
पनि बनाएकी छन्। नेपालगञ्जमा हुने त्यस्ता हरेक आन्दोलनमा उनी अग्रपङ्क्तिमा
जोशिलो रूपमा देखिन्छिन्। उनको ग्रील उद्योगले उनलाई जीवन धान्न र
राजनीति अघि बढाउन आर्थिक आधार प्रदान गर्यो।
पञ्चायतकालमा राजनीतिमा लागेकी सत्यवती नेपाल
सद्भावना पार्टी स्थापनापछि तीनपल्ट जिल्ल्ाा अध्यक्ष, त्यसपछि लगातार
केन्द्रीय सदस्य र पार्टी विभाजनपछि सो पार्टीको आन्दोलनरत् धार 'आनन्दीदेवी'
समूहमा केन्द्रीय सदस्य छिन्। २०५१ र ०५४ सालमा बाँके क्षेत्र नम्बर
३ बाट संसदीय चुनाव लड्दा धेरै पैसा सकिएपछि डेराको वास छ। अवस्था
देखेर खिसी गर्नेहरूलाई उनको जवाफ हुन्छ “राजनीति गर्नेले जनताको हित
हेर्नुपर्छ, आफ्नो होइन।”
सत्यवतीको एउटै ध्येय पूर्ण प्रजातन्त्र स्थापना
हो। भन्छिन् “सबैभन्दा पहिला देश, जनताका लागि प्रजातन्त्र जोगाउनुपर्छ,
यो नरहे केही रहन्न। व्यवसाय बन्द गरेर भए पनि पूरै समय लोकतन्त्रका
लागि दिन्छु।” एक्लो जिन्दगी बिताउन नसकेर निराश हुने महिलालाई उनको
सल्लाह छ “धैर्य र आँट गर्नुपर्छ, दुःखमा आत्तिनु हुन्न, एक्ली महिलाले
पनि केही गरी देखाउन सक्छे।”
हुनपनि, सत्यवतीको सल्लाह अनुसरण गर्ने हो भने धेरै एक्ली वा विधवा
नेपाली महिलाहरूको जीवन बाँच्न योग्य हुने कुरामा दुईमत नहोला।
|