जनजाति | खोज
लिम्बूका 'संपृति' र 'निति' समूह
गोर्खा शासनको देन
गोर्खाली शासकहरूले आफ्नो शासन र धर्म–संस्कृति
स्वीकार्ने जतिलाई आफू समान रीतिस्थिति मान्ने अर्थात् 'समरीति' र
लिम्बू धर्म–संस्कृति नछोडी 'आफ्नै नीति'मा अडिग रही गोर्खाको शासन
नमान्ने, विद्रोही लिम्बूहरूलाई 'निति' समूहको रूपमा चिन्ने/चिनाउने
चलन चलाइदिए।
•
डा. रमेश ढुङ्गेल

'संपृति' र 'निति' लिम्बूका विषयमा खरिदार
जीतमोहनका हस्ताक्षरको सन् १८४६ ताकाको लेखोट। |
परिचय
ऐतिहासिक कालक्रममा कुनै ठाउँ, जाति, समूह वा राज्य समेतको पहिचान
तथा नाम परिवर्तन भएका वा विविधता थपिएका उदाहरण पाइन्छन्। कुनै जाति
वा मानव समुदायको पहिचानलाई भूगोल, सभ्यता–संस्कृति र चालचलन आदिबाहेक
शासनव्यवस्था र राज्यका नीतिले समेत प्रभाव पार्छ। गाँस–बास, आत्मरक्षा,
विशेष सुविधा–सहुलियत आदिको खोज तथा राजनीतिक–प्रशासनिक कारणले मानिसको
बासस्थलमा परिवर्तन हुन्छ र त्यसबाट सांस्कृतिक परम्परा, मान्यता तथा
समग्रमा सम्बोधन गरिने नाम र पहिचान समेत बदलिन्छन्। यस्तै पहिचान
परिवर्तन तथा विविधताको अध्ययन गर्ने क्रममा पूर्वी नेपाल र सिक्किममा
बसोबास गर्ने लिम्बूहरूका 'संपृति' र 'निति' को नामले चिनिने दुई समूह
फेला परेका छन्। लिम्बूका यी नाम या पहिचानको विषयमा थोरबहुत जानकारी
लिम्बू समुदाय तथा मानवशास्त्रीय अध्येताहरूलाई भएतापनि त्यसको अहिलेसम्म
कुनै चित्तबुझदो अर्थ र व्याख्या हुनसकेको छैन। त्यसैले यस समस्यामूलक
विषयको समाधान पहिल्याउने जमर्कोको रूपमा ऐतिहासिक प्रमाणसहित यहाँ
अगाडि सारिएको हो।
लिम्बूहरू आफ्नो भाषामा– 'चोङ्', 'याक्थुङ्', 'लिम्बू'
जस्ता शब्दले चिनिने गर्छन्। लेप्चा तथा सिक्किमतर्फ बसोबास गर्नेहरूले
लिम्बूहरूलाई 'चोङ्' भन्छन् भने, नेपालका खस बोली बोल्नेलगायत लिम्बूवानभन्दा
पश्चिमतर्फ बसोबास गर्ने सबैले 'लिम्बू' भन्ने गर्दछन्। सारा लिम्बू
जातिलाई चिनाउने लिम्बू भाषाको शब्द 'याक्थुङ्' वा 'याक्थुङ्वा' हो।
लण्डनको ब्रिटिश लाइब्रेरीमा सुरक्षित ब्रायन हड्सनद्वारा सङ्कलित
हस्तलिखित सामग्रीको खण्ड ६० को पत्र १२९–१४९ मा यस विषयमा स्पष्ट
रूपमा लेखिएको छ।
को हुन् 'संपृति' र 'निति' लिम्बू?
माथि उल्लिखित हस्तलिखित स्रोतमा वर्णन भएअनुसार लिम्बूको 'संपृति'
समूह अन्तर्गत जम्मा तीन थर वा उपसमूह देखिन्छन्। यी तीन उपसमूहमा
फागु (फागो, वा चङ्वाहाङ् वा चङ्वाङ् पनि भनिन्छ), सिरिङ् वा सेरेङ्गी
(सेरेङ् पनि भनिन्छ) तथा युङ्याहाङ् (योङया हाङ् वा योङ्याङ् हाङ्
पनि भनिन्छ) पर्दछन्। यीमध्ये फागो लिम्बूहरूको मूल निवासस्थान– ताप्लेजुङ्
जिल्लाको चाँगे अर्थात् मेवा र मैवा खोला बीचका गाउँहरूलाई मानिएको
छ। त्यस्तै सेरेङ् वा सेरेङ्गीहरूको मूल थलोलाई म्हसेरेङ अर्थात् मेवा
खोला इलाकाको थुम छेउछाउको बस्ती भनेर चिनाइएको देखिन्छ। 'संपृति'
अन्तर्गतका योङ्याहाङ लिम्बूको मूल थलोलाई वर्तमान ताप्लेजुङ् जिल्लाको
पूर्वतर्फ र पाँचथर जिल्लामा समेत पर्ने परम्परागत याङ्रुप वा याङ्वारक
इलाकालाई मान्ने गरेको देखिन्छ।
'निति' समूह अन्तर्गतका लिम्बूहरूमा आङ्वोहाङ्हरूको
मूल थलो उत्तरतर्फ लुम्बासुम्बा (सुङ्वालाङ्मा) हिमाल र पाँचपोखरी
इलाका हुँदै तल तात्कालिक चैनपुर अम्बलको सिमाना क्षेत्रका मिल्कु
वा मिल्के डाँडादेखि पूर्वका हाङ्पाङ् तथा मैवा खोला इलाकाका गाउँहरूलाई
मानिएको देखिन्छ। त्यसैगरी साङ्वाहाङ् वा साँवा लिम्बूहरूको परम्परागत
थलो चाहिँ मैवा खोला र तमोरपूर्व तथा मेवा खोला पश्चिमतर्फका तापेथोक
आदि इलाकालाई मान्ने गरेको पाइन्छ। समग्र लिम्बूवान् इलाका भने ओलाङ्चुङ्
गोला (अघि–अघि वालुङसुम्, वालुङ्सोम वा वालुङ–छुङ पनि भनिन्थ्यो) र
तोपके गोला (अघिअघि ढोक्पे गोला भनिन्थ्यो) देखि दक्षिण तथा कोशीतर्फको
तराई क्षेत्रतिर पर्ने चिउरा माक्रा (चक्रघट्टी इलाका?) भन्दा उत्तर,
मेची नदीभन्दा पश्चिम र अरुण नदीदेखि पूर्वको सम्पूर्ण क्षेत्रलाई
मानिन्थ्यो। यसरी झ्ट्ट हेर्दा 'संपृति' लिम्बूहरूमा मेवा र मैवा खोलातिरका
फागो वा चङ्वाङ् र मेवा खोला थुम अर्थात् म्हसिरिङ्तर्फका सेरेङ् तथा
याङ्रुपतर्फका योङ्याहाङ् लिम्बूहरू पर्दछन्। र, 'निति' अन्तर्गत हाङ्पाङ,
मैवा खोला तथा उत्तरतर्फका आङ्वोहाङ्हरू र तापेथोक् वा मैवा र मेवा
खोला बीचतिरका साङ्वा वा साँवाहरू पर्ने देखिन्छ। यसो भए तापनि राजनीतिक
तथा अरू विभिन्न मानवीय कारणले गर्दा यी दुवैथरीमा भौगोलिक क्षेत्र
तथा जातीय समूहमा समेत फेरबदल आएको पाइन्छ।
 |
समूहगत नाम कति पुराना?
लिम्बूहरूलाई 'संपृति' र 'निति' भनेर समूहगत रूपमा पहिचान गर्ने चलन
त्यति नयाँ होइन, तर ज्यादै पुरानो पनि देखिँदैन। १९औँ शताब्दीको पूर्वार्द्धतिर
नेपाल र हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिका बारेमा पहिलोपल्ट
अध्ययन अनुसन्धान गर्ने ब्रायन हड्सनका अनुसन्धान सहयोगीहरूले बटुलेका
र सारेका हस्तलिखित सामग्रीमा लिम्बूका यी दुवै समूहको स्पष्ट चर्चा
परेको छ। यसबाट यी समूहगत नामको प्रचलन कमसेकम हड्सनको समयभन्दा पहिले
अर्थात् सन् १८४०–५० ताका भन्दा एक–दुई पुस्ता अगाडिदेखि नै चलिसकेको
थियो भनेर मान्न सकिन्छ।
यथार्थमा लिम्बूका दुई समूहलाई चिनाउने यी लिम्बूइतर
वा अलिम्बू भाषाका शब्द (संपृति र निति) को व्यापकता गोर्खाली शासकअन्तर्गत
नेपालको राज्य विस्तार र तत्कालपछिका दशकहरूमा भएको हो। त्यस समयभन्दा
अगाडि यस्ता नामको उल्लेख कतै पाइएको छैन। लिम्बूवान इलाकामा गोरखालीहरूले
अधीनस्थ गर्नुभन्दा अघि मकवानपुर, विजयपुरतर्फका हिन्दूपति मानिने
राजाहरूले पनि आफ्नै किसिमले प्रभाव जमाएका हुनाले त्यसबेला पनि 'संपृति'
र 'निति' जस्ता पहिचानको थालनी भइसकेको थियो कि भन्ने जिज्ञासा उठ्न
सक्दछ। तर ठोस प्रमाणको अभावका कारण यस विषयमा खासै बोल्न सकिने अवस्था
छैन। त्यसमाथि, सेनहरूले राज्य सञ्चालनका निमित्त दरबारदेखि नै मन्त्री,
काजीलगायतको व्यवस्थामा स्थानीय सभ्यता र संस्कृतिको प्रतिनिधित्व
गर्ने गरी तुलनात्मक रूपमा सांस्कृतिक उदार नीति अपनाएका थिए। तिनले
आफ्नो जस्तै 'सम' वा समान रीति मान्नेलाई नजिक्याउने र शासकका रीत–चलनलाई
अस्वीकार गर्नेलाई दबाउने वा बाहिर निकाला नै गर्ने नीति चलाएको पाइँदैन।
उता, त्यतिबेलाका गोर्खाली शासकहरूले भने राई–लिम्बूहरूप्रतिको नीतिमा
त्यति उदारता प्रदर्शन गरेको देखिँदैन। यसको एउटा चरम र दर्दनाक उदाहरण
अध्ययनको क्रममा प्राप्त भएको छ। हड्सनको सङ्कलनमा प्राप्त सामग्री
अनुसार, गोर्खा पक्षमा नआउने वा आत्मसमर्पण नगर्ने खम्बू–किराँतीका
पुरुष जति सम्पूर्ण र तिनका कम उमेरका ठिटा र बालक सन्तानलाई समेत
गोर्खालीले मारिदिएका थिए। यतिसम्म कि, पुरुष सन्तान जन्माउने आशङ्कामा
आईमाईको गर्भ समेत तुवाइदिएको र शिशुहरूलाई ओखलमा हालेर किचिएको भन्ने
चर्चा समेत स्रोतमा परेको छ।
यी हस्तलिखित सामग्रीहरू पुराना लेखोट तथा स्रोतहरूबाट
खोजमेल गरी सन् १८४३ अर्थात् विक्रमको १९०० सालमा इलामका जोभानसिंह
फागो लिम्बूले लिम्बू भाषा र किराँतको सिरिजङ्वा लिपिमा पुनर्लेखन
गरेर तयार पारेका हुन्। ब्रिटिश लाइब्रेरी (लण्डन)मा सुरक्षित यो सामग्री
युरोपियन म्यानुस्कृप्ट हड्सन खण्ड ५ को पत्र सङ्ख्या १९२ मा पढ्न
पाइन्छ। यस सामग्रीको पहिलो अङ्ग्रेजी अनुवाद लिम्बू समुदायकै स्व.
इमानसिं चेम्जोङ्ले सन् १९६२ मा गरेका थिए। तर दुर्भाग्यवश चेम्जोङले
आफ्नो अनुवादमा यो अत्यन्त संवेदनशील र मह140वपूर्ण ऐतिहासिक घटना
भएको परिच्छेद हटाइदिएछन्। त्यसपछि प्रकाशित आफ्ना कृतिमा पनि उनले
यस कुराको उल्लेख गरेनन्। शायद पञ्चायत शासनकालमा आश र त्रासका कारण
पहिलेका 'संपृति' हरू जस्तै भएर इतिहासको एउटा महत्ववपूर्ण राजनीतिक,
सांस्कृतिक द्वन्द्वयुक्त घटनाबारे यथार्थ ज्ञान दिने/दिलाउने काममा
चेम्जोङ चुकेका हुनसक्छन्। हुनपनि, उक्त अनुवाद गरिसकेपछि चेम्जोङ्लाई
तात्कालिक शासनले इतिहासको अनुसन्धानको काममा लगाएको थियो। जेहोस्
यी दुई समूहगत नामको प्राचीनतालाई उपलब्ध स्रोत सामग्रीका आधारमा अठारौँ
शताब्दीको उत्तरार्द्धताका अर्थात् गोर्खालीको पूर्व विजय अभियानताका
नै मान्नुपर्ने स्थिति रहेको छ।
'संपृति' र 'निति' को उद्भव र राज्यको खेल
'संपृति' र 'निति' शब्द कुन भाषाका हुन् र लिम्बूहरूको पहिचानमा यिनको
प्रवेश सरी भयो भन्ने जिज्ञाशाले यस लेखको प्रसङ्गमा सर्वाधिक मह140व
राख्दछ। 'संपृति' शब्द कतै लिम्बू भाषाकै अथवा कुनै स्थानीय बोलीको
विकृत रुप पो हो कि र 'निति' पनि हिन्दूहरूबीच प्रचलित 'नीति' शब्दबाट
ल्याइएको होइन कि भन्ने जस्ता प्रश्न पनि यदाकदा उठेका छन्। तर यी
दुवै नाम लिम्बू भाषाका नभई, खस अर्थात् उन्नाइसौँ शताब्दीमा नेपालमा
चलनचल्तीमा रहेको संस्कृतबाट प्रभावित नेपाली भाषाकै विकृत वा अशुद्ध
लेखनका उदाहरण हुन् र तिनको स्पष्ट सम्बन्ध तिनताका राज्यले चलाएको
राजनीतिक, सांस्कृतिक अभियानसँग रहेको देखिन्छ।
लिम्बूवान् इलाका हत्याउने क्रममा नेपालका तात्कालिक
शासक र तिनका सैनिक प्रशासकहरूले अपनाएको 'फुटाउ र शासन गर' (डिभाइड
एण्ड रुल) को नीति– यी शब्दको उद्भव र प्रचलनको कारण बनेको देखिन्छ।
किराँत क्षेत्र अधीनस्थ गर्न त्यसबेला साम, दाम, दण्ड, भेद जस्ता सबै
उपायलाई उपयोग गरिएको थियो। त्यसबेला भएका सानाठूला युद्ध र तिनको
हारजितको क्रममा लिम्बूहरू दुई खेमामा विभाजित हुन पुगे– गोर्खा शासकहरूको
शासन तथा धार्मिक, सांस्कृतिक चालचलन 'मान्ने' र 'नमान्ने'। यस क्रममा,
गोर्खाहरूको शासनसँगै मुख्य मुख्य धार्मिक–सांस्कृतिक परम्परा अपनाउन
मञ्जुर गर्ने अर्थात् अत्मसमर्पण गर्नेहरूले गोर्खाली राजाबाट विशेष
सहुलियत, शान–मान र अधिकार समेत स्थानीय रूपमा पाउने भए। गोर्खासामु
आत्मसमर्पण नगर्ने–नझ्ुक्ने लिम्बूहरू चाहिँ आफ्नो जन्मभूमि छाडेर
बाहिरिन थाले। यसरी गोर्खाली शासन र धार्मिक, सांस्कृतिक आदर्श स्वीकार्ने
जतिलाई आफूसँग मिल्ने वा 'समान किसिमका रीतिस्थिति मान्ने' अर्थात्
'समरीति' र लिम्बू धर्म–संस्कृति नछोड्ने वा 'आफ्नै नीति'मा अडिग रही
गोर्खा शासनलाई स्वीकार नगर्ने विद्रोही लिम्बूहरूलाई 'निति' समूहको
रूपमा सम्बोधन गर्ने, चिन्ने/चिनाउने चलन चल्यो। यी दुवै नामको स्थानीय
बोलाइ र लेखाइमा भएको अशुद्धता तथा व्यवहारमा भएको भेद समेतका कारण
कालान्तरमा समान वा 'समरीति'बाट अपभ्रंश भई संमृति हुँदै 'संपृति'
र आफ्नै नीति–चलनमा चल्नेहरूलाई बुझ्ाउने क्रममा 'निति' जस्ता समूहगत
नामको प्रादुर्भाव हुन पुग्यो। त्यसै क्रममा तिनको व्यापक प्रयोग पनि
स्थानीय र प्रशासनिक दुवै पक्षमा हुन थाल्यो। यस प्रयोगले पछि आएर
अर्थ र पहिचानमा अन्योलको अवस्था पनि ल्याइदियो। किनकि कति 'संपृति'
मानिने लिम्बूहरू बाहिरिन पुगेका थिए भने कति 'निति' (विद्रोही) मानिनेहरू
बाहिरबाट पुनः आ–आफ्नै ठाउँमा फर्किएका पनि थिए।
यसरी हेर्दा, लिम्बूहरूको यो नयाँ पहिचान ठूलो संस्कृति
र सानो संस्कृति बीचको द्वन्द्व र ठूलासामु सानोको आत्मसमर्पणको स्वाभाविक
घटनाक्रमले ल्याएको देखिन्छ। यसमा राजनीतिक र राज्य पक्षकाहरूको सामाजिक–सांस्कृतिक
प्रभुत्ववाद वा अनुदारवादी नीतिको पनि उत्तिकै भूमिका रहेको स्पष्टै
पाइन्छ। इलाम र सिक्किमतर्फ भागेका वा बसाइँ सरेर गएका लिम्बूहरूमा
प्रायः 'निति' अर्थात् गोरखाली शासन र रीतिरिवाज, चालचलनलाई स्वीकार
नगर्नेहरू नै धेरै थिए।
यस प्रसङ्गमा 'संपृति' र 'निति' समूहका लिम्बूहरूको
भौगोलिक र क्षेत्रीय पहिचान बारेमा पनि थोरै चर्चा गर्नु सान्दर्भिक
हुनेछ। लिम्बू समाजमा प्रचलित साधारण मान्यता अनुसार तमोरखोला भन्दा
पश्चिमतर्फका लिम्बूहरूले राजनीतिक र सांस्कृतिक रूपमा गोर्खालीहरूसँग
आत्मसमर्पण गरेका तर तमोरपूर्वका लिम्बूहरू भने गोरखालीप्रति आत्मसमर्पण
गर्नुको सट्टा इलाम–सिक्किमतर्फ लागेका थिए।
गोर्खालीहरूसँग युद्धमा हार स्वीकार गर्दै समर्पण गर्ने
जति आफ्नो परम्परागत रीतिरिवाज, चालचलनमाथि पनि सम्झ्ौता गर्ने भएका
र आफूले विजय पाउन नसके पनि हार स्वीकार नगर्नेहरू चाहिँ आफ्नो भूमि
नै छाड्ने निर्णय गरेर इलाम–सिक्किमतर्फ गई बसेका हुन् भन्ने पनि केहीको
कथन रहेको भेटिन्छ। 'संपृति' र 'निति' समूहको उद्भव पनि यसरी नै भएको
हो भन्ने तिनको विश्वास पाइन्छ। तर ऐतिहासिक घटनाक्रम र प्रप्त स्रोत
सामग्री केलाउँदा यो कथन हचुवा मात्र नभई सतही पनि छ। फेरि, याङ्रुप
वा याङ्वारकतर्फका योङ्याहाङहरूले दशैँतिहार आदि चाडपर्व, धुमधामका
साथ मनाउने गरेका र उनीहरूले नगरा–निशाना, ठिङ्गो–मुङ्ग्रोसहित स्थानीय
रूपमा विशेष प्रशासकीय अधिकार समेत राज्यतर्फबाट पाएका थिए। यो चलन
पञ्चायतकालको अन्त्यताकासम्म पनि केही मात्रामा कायमै रहेको देखिएबाट
माथि उल्लेख गरिएजस्तो तमोरखोलाको पूर्व र पश्चिम भन्ने भौगोलिक आधारमा
मात्र यी दुई समूहगत पहिचान पहिल्याउन कठिन हुन्छ। सम्पूर्ण याङ्रुप
इलाका तमोर भन्दा पूर्व नै पर्ने कुरा पनि यहाँ स्मरणीय छ। एउटा कुरा
चाहिँ सत्य हो, शुरुशुरुमा सुब्बाङ्गी पगरीसहित ठिङ्ग्रो–मुङ्ग्रो,
नगरा–निशाना जस्ता स्थानीय राजकीय र प्रशासकीय अधिकार पाउने लिम्बूहरू
सबै नै यहाँ उल्लेख गरिएका 'संपृति' समूह भित्रका नै थिए। उनीहरू सबैले
राज्यलाई सलामी–दस्तुर बुझ्ाउने गरी जग्गाजमिन समेत राज्यबाट भूमिकर
मुक्त अर्थात् किपटको रूपमा पाएका थिए। यसरी अनेकौँ सुविधा उपभोग गर्न
पाउने शर्तमा 'संपृति' लिम्बूहरू गोर्खाली शासकका राजनीतिक साथसाथै
धार्मिक–सांस्कृतिक परम्पराको प्रभावमा पसेका थिए। एक किसिमले त्यसो
गर्नु ती लिम्बूहरूका निम्ति बाध्यता भएको पनि हुनसक्छ। तर ऐतिहासिक
स्रोतले भने पश्चिमका थकाली–सुब्बाहरूले केन्द्रीय शासनको नजिक भई
विशेष सुविधा र सहुलियत प्राप्त गर्नका लागि आफ्ना परम्परागत धार्मिक
चालचलनलाई समेत लुकाउने, परिवर्तन गर्ने र आफूलाई शासकहरूजस्तै हिन्दू
भनेर चिनाउने चलन चलाए जस्तै गोर्खाली शासकसँग आत्मसमर्पण गर्ने लिम्बूहरूले
पनि आफूहरूलाई गोर्खाली जस्तै 'हामी पनि समरीतिमा चल्ने नै हौँ' भनेर
प्रस्तुत गर्न थालेको देखाउँछ।
यस्तो असमान अवस्थाले लिम्बू–लिम्बूमाझ् द्वेषको स्थिति
पैदा हुनु स्वाभाविकै हो। आफ्नै लिम्बू भाइहरू सुविधा र शासकीय मानमर्यादाको
लोभमा गोरखा शासकहरूको घनघोर चाकडीदार भएको र आफ्ना परम्परागत नीति
र परम्परालाई समेत तोड्न तयार भएकोमा आत्मसमर्पण नगर्नेहरू जति रुष्ट
हुनपुगे। उनीहरूलाई आफ्नो ठाउँमा टिक्न पनि कठिन भयो। त्यस्ता लिम्बूहरू
क्रमशः पूर्वतर्फ सर्दै मेचीपारितर्फ पलायन हुने क्रम निकै समयसम्म
चल्यो। पछि, गोर्खालीहरूको लिम्बूवान इलाकामा बलियो गरी अधिकार जमिसकेपछि
भने पहिले भागेका र निकालिएकाहरूलाई गोर्खाली शासन र परम्परा मान्ने
शर्तमा पुराना सुविधा समेत फिर्ता हुने गरी फिर्ता ल्याउने प्रयास
पनि राज्यले गरेको देखिन्छ। यसरी निष्काशन गर्ने र फिर्ता बोलाउने,
बाहिरिने र फिर्ता आउने चक्कर चल्दा लिम्बूको पहिचानमा थपिएका नयाँ
शब्द ('संपृति' र 'निति')ले पनि वैधता वा मह140व प्राप्त गर्न पुगे।
कसलाई के आधारमा पैठ दिने वा कसरी बाहिर्याउने भन्ने जस्ता दाउपेच
संस्कृति चल्दा कुन चाहिँ 'संपृति' र कुन 'निति' भन्ने पहिचान जटिल
साथसाथै ज्यादै मह140वको विषय बन्यो। यस सिलसिलामा कतिपय पहिले 'संपृति'
मानिएकाहरू 'निति' मा र पहिले 'निति' मानिएकाहरू 'संपृति'मा परिवर्तित
हुने क्रम चल्नु पनि स्वाभाविकै थियो। यो क्रम निकै पछिसम्म पनि चलिरहेका
प्रमाण पाइएका छन्।
नेपालका गोर्खाली महाराजाहरूबाट लालमोहोर लिएर सुविधा
सम्पन्न भई नयाँ मोहोररिया 'संपृति' बन्दै फर्किएका लिम्बूहरू पनि
कैयौँ भेटिन्छन्। यसरी सुविधा प्राप्त गरेका अर्थात् 'संपृति' समूहका
लिम्बू सुब्बाहरूका घरआँगन, थुम–मौलाहरूमा दशैँमा भोग लाग्दथ्यो, जमरा
राखिन्थ्यो। सम्बन्धित इलाकामा बसोबास गर्नेहरू कोसेलीसाथ टीका थाप्नका
निम्ति मुखिया–सुब्बाका घरमा जानैपर्ने प्रचलन थियो। गोरखाली शासककै
धार्मिक–सांस्कृतिक पद्धतिबाट घटस्थापना गर्ने फूलपाती भि156याउने,
जमरा राख्ने, मौलो जगाउने, भोग दिने आदि सबै काम हुन्थे। एक किसिमले,
सम्बन्धित इलाकामा बसोबास गर्ने सबैका निम्ति लिम्बू–सुब्बाहरूका घरआँगन
'सरकार मान्ने' स्थल हुन्थे। न्यायनिसाफ माग्ने केन्द्र पनि तिनै बनेका
थिए। चाडपर्वका बेला यस्ता लिम्बू सुब्बाहरूका घरआँगनमा विशाल खर्चमा
भोज लाग्दथ्यो। दशैँतिहार आदि गोर्खाली शासकहरूले मान्ने चाडपर्व सबै
'संपृति' लिम्बूहरूले मान्नै पर्ने उर्दी जारी हुन्थे। त्यसका निम्ति
बेलाबेलामा नयाँ सहुलियत पनि थपिन्थे। हड्सनको सङ्कलनका हस्तलिखित
सामग्रीहरूमध्ये लिम्बू भाषामा लेखिएको 'सृष्टि र उत्पत्तिको कथा र
चालचलन' विषयको पुस्तकमा यस विषयमा स्पष्ट रूपमा उल्लेख छ(खण्ड ७४
पत्र ८–१९ र खण्ड ८५, पत्र ४३–६६)।
ब्रायन हड्सनको टोलीले सन् १८५०–५२ तिर बटुलेका केही
सामग्रीमा लिम्बूसँगै लेप्चाका समेत 'संपृत मुन्थुम'हरू पाइएका छन्।
तिनमा 'सम्पृक्' वा 'संपृत्' शब्दको प्रयोग 'समानरीत' भन्ने अर्थमा
गरिएको देखिन्छ। संपृत समूहका भनिएका एक लेप्चा मंत्रीको अर्थात् कर्थाकको
पनि चर्चा हड्सन सामग्रीमा भेटिएको छ। (भोल्युम ७९, पत्र ७–५७) यसबाट
इलाम र सिक्किमतर्फका लेप्चाहरू पनि गोर्खाली शासन परम्परा 'मान्ने'
र 'नमान्ने' गरी दुई समूहमा विभाजन भएको सङ्केत मिल्छ। हंसवाज सुब्बा
नाम भएका इलाम निवासी एक संपृति लिम्बूद्वारा सन् १८४० मा सङ्कलन गरी
सारिएको 'संपृत्लाप् मुन्थुम' अर्थात् गोर्खाली पक्षधर लेप्चाहरूको
मुन्थुम नामक पुस्तक हड्सनको सङ्ग्रहमा प्राप्त भएको कुरा यहाँ उल्लेखनीय
छ (खण्ड ६०, पत्र सङ्ख्या २३०–२३७)। लिम्बूहरूको जातीय इतिहास, रीतिरिवाज,
चालचलन तथा भाषा–संस्कृतिको अध्ययन/अनुसन्धानमा मनग्गे काम गर्ने हड्सन
टोलीलाई सहयोग पुर्याउने लिम्बू समुदायका स्रोत व्यक्तिमा कथित 'संपृति'
र 'निति' दुवैतर्फको प्रतिनिधित्व गर्ने विशेषज्ञहरू संलग्न भएको हुनाले
यहाँ चर्चा गरिएका हड्सन सङ्ग्रहका ऐतिहासिक लिखतहरू माथि राम्रैसँग
विश्वास गर्न सकिन्छ। हड्सनको तर्फबाट लिम्बूहरूको इतिहास, संस्कृति,
चालचलन, लिपि, भाषा साहित्य आदिको अध्ययनमा संलग्न मुख्य मुख्य विशेषज्ञहरूमा
जोभानसिं फागो लिम्बू, हंसवाज सुब्बा, च्याङ्रेसिं फेदाङ्वा, रणध्वज
हवल्दार, श्रीफुङ् लिम्बूहरू थिए। त्यस अध्ययनमा संयोजक वा विशेषज्ञको
रूपमा काम गर्ने चाहिँ त्यसबेलाका हिमाली क्षेत्रका स्थानीय भाषा,
संस्कृति र सभ्यताका प्रखर अन्वेषक खरिदार जीतमोहन (नेवार समुदायका)
थिए। माथि उल्लिखित विशेषज्ञ लिम्बूहरूमध्ये जोभानसिं, च्याङ्रे सिं
र श्रीफुङ्हरू 'निति' अन्तर्गतका र सुब्बा हंसवाज, हवल्दार रणध्वजहरू
चाहिँ 'संपृति' तर्फका भएको बुझिन्छ।
|