हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जलवायु | हिउँदे खडेरी

यस्तो त कहिल्यै भएको थिएन

यसपालिको जस्तो असामान्य लामो र सुख्खा खडेरी करीब १०० वर्ष यताको नेपालमा अनुभव गरिएको थिएन। काठमाडौँमा गत कात्तिक ५ गते पानी परेपछि आधा फागुन बित्दासम्म वर्षा भएको छैन। माघेझ्री देखापर्न छोडेको त एकदशक नै हुन लागेको छ।

ङमिन्द्र दाहाल


मीन बज्राचार्य

हिउँदमा थोरै पानी पर्नु नेपालको भौगोलिक अवस्थिति अनुसार सामान्य मानिए पनि यसपालिको चार महिनाभन्दा बढी लामो खडेरीले अत्यासलाग्दो परिस्थिति उत्पन्न गरिदिएको छ। विरलै मात्र आइपर्ने दुई किसिमका प्रतिकूल मौसमी घटना यो वर्ष सँगसँगै आइलागेका छन्। ती हुन्– कमजोर वा खडेरीयुक्त मनसुन र त्यसपछिको अभूतपूर्व लामो खडेरी। यी घटनाका कारण पानीको उपलब्धतामा अहिले नै ठूलो कमी आइसकेको छ, जुन अवस्था सामान्य वर्षहरूमा वैशाख–जेठतिर मात्र अनुभव गरिन्थ्यो। साधारण खडेरी पर्दा पनि प्रभावित हुने हाम्रो कृषि क्षेत्रलाई यी दुई प्रतिकूल घटनाले तहसनहस नै पारेको हुनुपर्छ, तर क्षतिको यकिन आँकडा भने प्राप्य छैन।

ऐतिहासिक खडेरी
यसपालिको जस्तो असामान्य लामो र सुख्खा खडेरी करीब १०० वर्ष यताको नेपालमा अनुभव गरिएको थिएन। काठमाडौँमा गत कात्तिक ५ गते पानी परेपछि आधा फागुन बित्दासम्म वर्षा भएको छैन। पहिले पहिले यो अवधिमा यहाँ सरदर ५४ मिमि वर्षा हुने गरेकोमा यसपालि शून्य मिमि हुन पुग्यो। वर्षमा करीब १४०० मिमि पानी पर्ने उपत्यकामा ५४ मिमि सानो परिमाण भए पनि यसले हिउँदेबाली फस्टाउन र पिउने पानीको स्रोत जोगाउन सञ्जीवनीको काम गर्छ।


हाल नेपालमा भोगिरहिएको यस पटकको खडेरी भारत र बङ्गलादेशसम्म पनि फैलिएको छ। हिमालयको मध्य र पूर्वी भाग विशेष रूपले प्रभावित भएको छ– हिउँ नपरेर। तर काश्मिरदेखि पश्चिम अफगानिस्तानसम्मको हिमाली खण्डमा भने सरदरभन्दा धेरै हिउँ परेको छ। नेपालको पश्चिमी पहाडी र हिमाली खण्डमा केही वर्षा र हिमपात त भयो तर सरदरभन्दा कम। मध्य र पूर्वी पहाड तथा तराईमा भने त्यस्तो वर्षाबाट पनि पूरै वञ्चित रह्यो।

सामान्यतयाः शरद ऋतु सकिएलगत्तै भू–मध्यसागरबाट पूर्वतिर बहने ओसिलो वायुले हिमालय पर्वत शृङ्खलाको पश्चिमतिरबाट पानी पार्न थाल्छ। यो वायु क्रमशः पूर्वतिर आउँदा वर्षाको मात्रा घट्दै जान्छ। उत्तर–पश्चिम दिशाबाट नेपाल भित्रिने पश्चिमी वायुले अधिकांश वर्षा हिउँको रूपमा गराउँछ। हिमालयको हिउँ भण्डार परिपूरण गर्न हिउँदे वर्षाको विकल्प छैन। हिउँदमा हिमालयमा हिउँ पर्याप्त थुप्रिन नपाए त्यसको असर त्यहाँबाट बग्ने खोलाको वहावमा पर्न थाल्छ– घट्दो रूपमा।

हिउँदे वर्षा मनसुनको जस्तो घनघोर रूपमा नभई सिमसिमे झ्रीको रूपमा पर्ने हुनाले खेतीपाती, वनस्पति, जीवजन्तु सबैलाई कामलाग्ने हुन्छ। यसले पानीका स्रोतलाई सुक्न नदिन महत्ववपूर्ण योगदान गर्छ। वसन्तऋतुसँगै भित्रिने गर्मी दिनका लागि चाहिने पानी सञ्चित गर्न हिउँदमा वर्षा हुनु अनिवार्य हुन्छ।

पश्चिम नेपालको पहाडी प्रदेशका लागि हिउँदे वर्षा र हिमपात सहकालकै प्रतीक बन्ने गरेको छ, जहाँ पूर्वको तुलनामा मनसुनी वर्षा थोरै हुन्छ।

हरायो माघेझ्री!
करीब एक दशकको आँकडा केलाउँदा नेपालमा हिउँदे वर्षा क्रमशः घट्दै जान थालेको सङ्केत पाइन्छ। माघेझ्री देखापर्न छोडेको त एकदशक नै हुन लागेको छ। हिउँदमा सिमसिमे वर्षाभन्दा एकैछिन दर्कने पानी परेर अधिकांश दिनहरू सुख्खा हुने चरित्रको हावापानी देखा पर्नु चिन्ताको विषय हो। धेरै दिनसम्म सिमसिम पानी पर्दा त्यसबाट सबै क्षेत्रमा अनुकूल प्रभाव पर्छ भने एक्कासि पर्ने पानी वा हिउँले फाइदाभन्दा धेरै नोक्सान गराउँछ। हालैका वर्षहरूमा उग्र प्रकृतिले पानी पर्ने या खडेरी पर्ने समस्या चुनौतीको रूपमा आएको छ।

संयोग हुनसक्छ, हिउँदे वर्षाको चरित्र बदलिने क्रमसँगै नेपालको तराई प्रदेशमा कुहिरोको प्रकोप पनि बढ्दो छ। तर यी दुई पद्धतिबीचको प्रत्यक्ष सम्बन्ध देखाउने वैज्ञानिक आधार फेला परिसकेको छैन। यसपालि तराईको कुहिरोले विगत वर्षहरूभन्दा तीव्र रूपले तापक्रम गिरायो। त्यसको फैलावट पनि बढी थियो। परिणामस्वरुप ठण्डा प्रदेशको रूपमा चिनिने पहाडी क्षेत्र पानी नपरेर सुख्खा र न्यानो हुन पुग्यो भने तराईको ठूलो भूभाग कुहिरोको प्रभावले अत्यन्त ठण्डा रह्यो। यस प्रकारको मौसमी फेरबदल नियमित जस्तो हुन थालेको भए पनि नौलो घटना भने हो। पुस–माघ महिनामा जुम्लाको दिउँसोको तापमान १५ डिग्री पुगेको बेला नेपालगञ्जको उच्चतम तापक्रम १०–१२ डिग्री मात्र रहेको घटना सामान्य हुन थाल्नुले धेरैलाई आश्चर्यमा पारेको छ।

विगत वर्षहरू जस्तै पश्चिमी वायुको लहर यसपालि पनि चलेको थियो। भू–उपग्रहले निरन्तर पठाइरहने मौसमी तस्बिर हेर्दा, हरेक १०–१५ दिनको अन्तरालमा बादलका शृङ्खलाहरू हिमालयपर्वत र तिब्बततिर आइरहेको प्रस्ट देखिन्थ्यो। तर, तीमध्ये अधिकांश पश्चिमी हिमालय खण्डलाई पार गरेर पूर्वतिर आइपुगेनन्, केही चाहिँ टुक्रिएर नेपालका पश्चिमी क्षेत्रसम्म आएर केही वर्षा गराए भने बाँकी तिब्बतको विशाल मैदानमा बिलाए। यसपटक एउटा चाखलाग्दो कुरा के देखियो भने नेपालतिर न्यून चापको वायुमण्डलीय दबाब सिर्जना भएको अवस्थामा आसपासमा पानी पार्ने किसिमको बादल हटिसकेको हुन्थ्यो भने जब उच्च चाप प्रणाली विकास हुन थालेको हुन्छ, सोही बेला पश्चिमी वायुको झ्ोक्कासँगै बादल नजिक आएर बिलाउँथ्यो। (जहाँ हावाको न्यून चाप हुन्छ, त्यहाँ बादल जम्मा भएर पानी पर्न सक्छ। यसको विपरीत जहाँ उच्च चाप प्रणाली हुन्छ, त्यहाँ मौसम सफा भएर घाम लाग्छ।)

अफगानिस्तानदेखि काश्मिरसम्म यो हिउँदमा सरदर भन्दा बढी हिमपात भएको रिपोर्ट प्रकाशमा आएको छ। तिब्बती क्षेत्रमा पनि यस्तै भएको हुनसक्छ। शक्तिसञ्चयको सिद्धान्त अनुसार एक क्षेत्रमा बढी वर्षा हुनासाथ अर्को क्षेत्रमा स्वतः कम हुन पुग्छ। हरेक हिउँद वा वर्षायाममा यस्तो असन्तुलन जहाँकहीँ पनि देख्न सकिन्छ। यसपालिको फरक के हो भने स्थानीय तहमा भइरहने यस्तो असन्तुलन क्षेत्रीयस्तरमा नै हुन पुग्यो। तर, अहिले मौसमको नियमिततालाई के कस्ता कारणले खलल पुर्‍याएर सन्तुलन गुमेको हो भन्नलाई खोज–अनुसन्धानको अभाव छ। हाल हामीसँग विगतको अनुभव र आँकडा मात्र छ, भावी परिवर्तनको स्थिति बताउन सक्ने औकात उति भरपर्दो छैन।

आउने दिनका लागि
सामान्यतः 'खडेरी' शब्दले कम वर्षा भएर वा पानी पर्दै नपरेर उत्पन्न सुख्खायामलाई इङ्गित गर्ने गरिएको भए पनि त्यस्तो सुख्खा स्थितिका तीन चरण हुन्छन्– सुख्खा, अनिकाल र भोकमरी। हाल नेपालमा भइरहेको खडेरीले पहिलो चरण पार गरेर दोस्रो चरणमा प्रवेश गदर्ैै रहेको अवस्था छ। यदि यस्तो खडेरी असार साउनमा परेको भए दोस्रो चरणसमेत पार हुने स्थिति पैदा हुनेथियो। किनकि नेपालमा वार्षिक रूपमा हुने वर्षाको ८० प्रतिशत पानी असारदेखि असोज बीचमा पर्छ। हाल नेपालका गाउँ, शहर र खेतबारीमा उपयोग भइरहेको पानीको स्रोत भूमिगत जलभण्डार र हिउँ हो, जहाँ अघिल्लो वर्षामा परेको पानी जम्मा भएर सञ्चित भएको हुन्छ। यसैपालि वर्षामा सरदरभन्दा निकै कम पानी परेर यी जलभण्डार राम्रोसँग भरिन पाएका थिएनन्। परिणामस्वरुप पानीका मुहानहरू सामान्य वर्षहरूमा भन्दा छिटो सुक्न थाले। विगत वर्षहरूमा वैशाखतिर देखिने जस्तो पानीको अभाव यो पटक हिउँद नसकिँदै देखा पर्नुको कारण यही हो।

गर्मी लाग्न शुरु भइसकेको अवस्थामा पानीको माग बढ्ने र आपूर्ति घट्ने क्रम तीब्र रूपले हुने भएकोले नेपालका गाउँ शहरमा अहिले अनुभव गरिँदै गरेको पानीको अभाव 'पानी सङ्कट' मा बदलिने खतरा बढ्दै गएको छ। त्यसै पनि फागुनदेखि वैशाखसम्म पानी पर्ने सम्भावना प्रायः न्यून र अनिश्चित नै हुने गरेको छ।

खडेरी शुरु भएको झ्ण्डै ५ महिना पुग्न लाग्दा पनि पानी पर्ने सङ्केत नदेखिएको अहिलेको स्थितिमा, पानीको सङ्कट टार्न सकिने उपायहरूको खोजी गर्नुभन्दा अर्को विकल्प देखिँदैन। जलस्रोत सम्पदामा नेपाल सम्पन्न मानिए पनि त्यस्तो सम्पन्नता मनसुने झ्री परेको बेलामा मात्र अनुभव गर्न सकिन्छ, बाँकी समय पानीको अभाव टार्न वैकल्पिक उपायको खोजी व्यक्तिगत तहमा नै नगरी नहुने स्थिति छ।


हिउँदेबालीको उत्पादन घट्ने सङ्केत

नेपालमा ३० लाख ९१ हजार हेक्टर खेती गरिएको जमिनमध्ये ११ लाख ४० हजार हेक्टर (करीब ३६ प्रतिशत) मात्र सिंचाई सुविधा पुगेको सिंचाई विभागको अनुमान छ। बाँकी ६४ प्रतिशत खेती गरिने जग्गा अझै पनि आकाशे पानीमा निर्भर रहेको छ।
आ.व. २०६१/६२ मा हिउँदे खेतीमध्ये गहुँले ६ लाख ७५ हजार हेक्टर, दलहनले ३ लाख १६ हजार र तेलहनले एक लाख ८८ हजार हेक्टर क्षेत्रफल ओगटेको कुरा कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

सामान्यतया गहुँ र हिउँदे तरकारी सिंचाई सुविधा पुगेको क्षेत्रमा र तेलहन एवं दलहन बाली आकाशे पानीको भरमा गरिन्छ। यस वर्षको लामो खडेरीले हिउँदेबाली नराम्ररी प्रभावित हुने देखिएको छ। अहिले (शिवरात्रि)सम्मको स्थिति हेर्दा गहुँमा ५ देखि १० प्रतिशत र तेलहन एवं दलहनमा ४० प्रतिशतसम्म उत्पादनमा कमी आउने अनुमान छ। फागुनको दोस्रो हप्तासम्म पानी परे गहुँबालीको उत्पादनमा त्यति धेरै असर नपर्ने कृषि मन्त्रालयका तथ्याङ्क हेर्ने अधिकृत बुद्धि महर्जनको कथन छ। सप्तरी जिल्लामा गरिएको अनुगमन अनुसार यहाँ गत वर्ष १६ हजार ५०० हेक्टरमा लगाइएको गहुँ यस वर्ष खडेरीका कारण १५ प्रतिशत कम जमिन अर्थात् करीब १४ हजार हेक्टरमा मात्र लगाइएको छ।

तुलसी