| •
कदी |
 |
इतिहासमा
चिठी लेख्नुको महत्व
जङ्गबहादुर आफू
शिक्षित थिएनन्, तर साक्षर थिए। उनी नेपाली लेख्न जान्दथे तर उनका
अक्षर राम्रा थिएनन् र भँगेराटाउके अक्षर लेख्थे भन्ने कुरा 'जङ्गगीता'
(२०४०) ले छर्लङ्ग पारिसकेको छ। यो प्रसङ्ग ऐले किन कोट्याउनु पर्योभने
जङ्गबहादुरले अक्षरको महत्व कति बुझ्ेका थिए भन्ने कुरा हाम्रा इतिहासकारहरूले
कतै भनेका छैनन्। दुनियाँलाई शिक्षा दिनुपर्छ, दुनियाँ शिक्षित हुनुपर्छ
भनेको अथवा 'प्रजा शिक्षित भया दरबार बलियो हुन्या छ' भनेर जङ्गबहादुरले
कतै 'उपदेश' दिएको पनि थाहा छैन। तर आफ्ना सिपाही, अफिसरहरू साक्षर
हुनुपर्छ, उनीहरूले लेखपढ गर्न जान्नैपर्छ भन्ने चाहिँ उनको दृढ धारणा
रहेछ। यस बारेमा स्पष्ट बोलेका छन् उनले ऐन नै बनाएर। उनको जङ्गी ऐनको
एउटा दफा यस्तो छः “गैह्र अफीसर कप्रेल (कर्पोरल) तक्का जेवमा कलम
मसि कागज् रहोस्. जहाँ जुन षबर परिआयो जसले देष्यो सुन्यो बुझि मुनासिव
कुरो षडाषडै लेषी आफ्ना कमांडियेरलाई पठाउनु― १५”
टेलिफोन वायरलेस नभएका बेला, लडाइँमा, लिखित सन्देश
('रिटर्न वर्ड्स्') को कत्तिको महत्व हुन्थ्यो होला! सूचनाप्रवाह गर्ने
साधन 'लेखिएका अक्षर'बाहेक अरू केही नहुने बखत लेख्न र पढ्न जान्नु
जरुरी भएको कुरो 'कम्याण्डरइनचिफ' जङ्गबहादुरले राम्रै बुझ्ेका थिए।
माथिको दफाले त्यही भन्छ। सिपाही त होइन, हुद्दा, हवल्दारसम्मको सैनिकले
कलम–कागज–मसी आफ्नो गोजीमा सधैँ राखिरहनुपर्छ भन्छन् जङ्गबहादुर। फाउण्टेन
पेन, पेन्सिल या डटपेनको आविष्कार नभएको बेला, अक्षर लेख्न मसी र कलम
चाहिने नै भयो। भुर्जपत्र (भोजपत्र) को पनि जमाना गइसकेको थियो होला
चिठी लेख्न, जाहेरी पठाउन कागज पनि चाहिने भैहाल्यो। त्यसैले जङ्गबहादुरको
ऐनले भन्छ, “जेबमा कलम मसी कागज रहोस्।”
यो कलममसी कागज शोभाका लागि होइन। तत्काल प्रयोगका
लागि हो, 'खडाखडी' नै केही लेखिपठाउनका लागि हो। 'जहाँ जे देखिन्छ,
जे सुनिन्छ, जे परिआउँछ तुरुन्त लेखिपठाउनू' आफ्ना कमाण्डरलाई भनेका
छन् जङ्गबहादुरले।
ऐनको यस दफाको महत्वपूर्ण अंश हो “मुनासिव कुरो षडाषडै
लेखी” पठाउने कुरो। हुद्दासम्मका सिपाही अफिसरले साक्षर मात्र भएर
पुग्ने रहेनछ। लेखी आएको निकासा, उर्दीपुर्जी पढ्न मात्र सकेर पुग्दोरहेनछ,
जङ्गबहादुरका सैनिक जवानहरूलाई। तत्काल भएका कुराहरू तर्जुमा गरी उभिई
उभिई लेखिपठाउन सक्ने हुनुपर्दो रहेछ। यो योग्यता–आवश्यकता चानचुने
होइन त्यसबेलाका सैनिक पदाधिकारीहरूका लागि। लडाइँमा अफिसरले आफ्नो
मुखिया कारिन्दालाई बोलाएर लेख्न लगाउने समय पाउन्न, उसले तुरुन्तै,
आफैँले लेखिपठाइहाल्नु पर्छ। नत्र बित्यास पर्छ।
ऐनको यो दफा निकै कडा भयो भन्ने लागेर होला यसपछिको
(१६ औँ) दफामा यस उर्दीलाई अर्थ्याएर अलि नरम पारिएको छ, “षबर नसुन्दा
साह्रै अन्देसा पनि पर्छ वहुवाक्य (फरक कुरा) पनि हुंछ।” त्यति मात्र
होइन, कमाण्डरले आफ्नो मातहतका मोर्चाहरूको खबर तुरुन्त थाहा पाउनु
किन जरुरी हुन्छ भनेर समेत खुलस्त पारिएको छ। यसरीः “दुस्मनले यक्
युद्धमा हार्षाया (हार खाएमा) अर्का मुहुडामा घा (सुलह) माग्छ, तसर्थ,
उस मुहुडाबाट जो जवाफ मिल्यो अंतबाट पनि उही जवाफ वुझ्ि गर्नुपर्छ.”
खडाखडै लेखी जाहेरी गरी पठाउनुपर्ने कारणबारे खुलस्त
पार्न होला यो सोह्रौँ दफा अझ्ै व्याख्याकारी पारिएको छ, यसो भन्दै–
“पल्टनको मुलुकको फौजको हटना वढनाको आफूदेषी पूर्व–पश्चिममा रहेको
फौजको लडाञिको दुस्मनको षजानाको रसदको घाइत्याको जो चाहिन्या गैह्रको
षबर चाडो पाया होसियार रहिन्छ. (त्यसैले) चिठी लेषनाको र षबर बुझ्नाको
बहुत ताकि (त) गर्नु.”
कदीले पहिले नै जनाउ दिएको हो, यो 'इतिहासमा' भन्ने
स्तम्भ साँच्चै इतिहास खोतल्ने काम गर्न सक्ने छैन, खूब भए संवत् १९०३
देखि १९३२ सालसम्मका कुरा गर्नेछ भनेर। त्यो समयावधि भनेको जङ्गबहादुरको
शासनकाल हो। कदी जङ्गबहादुरको 'बायोग्राफर' या जीवनी–लेखक त होइन,
तर उनका समयमा निकै लामाछोटा कागजपत्र उसका हात परे, चन्द्रशमशरले
जोगाएर राखिदिएका। हात परेका त्यस्ता वस्तु कदीले आफू पुस्तकाध्यक्ष
(लाइब्रेरियन) भएको मदन पुरस्कार पुस्तकालयमा ल्याएर राखेको छ। लोभीको
धन जस्तो गरी कदी घरीघरी ती पुराना धुलिन लागेका चिजहरूभित्र चियाउने
गर्छ। त्यसरी हेर्दा कैले जङ्गबहादुरले लण्डन र प्यारिसबाट भाइ बमबहादुरलाई
लेखेको चिठी फेला पार्छ, कैले फेरि राणा, सत्रभाइले गरेका धर्मपत्रहरू
भेट्छ। अनि त्यसैबारेमा लेख्छ। त्यसरी लेख्ता समयसाल जम्मा भएका लेखोटहरू
सङ्कलन गरेर कदीले (त्यहाँ कमल दीक्षितले) एउटा पुस्तकको आकार दिनपुगेको
थियो २०४० सालमा, माथि उल्लेख गरिएको 'जङ्गगीता'।
हिमाल को यस स्तम्भमा विज्ञापन गर्न पाइन्न। त्यसैले
यी लेखिएको कुरालाई 'जङ्गगीता' का लागि 'छोटो ब्रेक' को 'कमर्सियल'
भन्न पनि मिलोइन! यसै पनि यो 'जङ्गगीता' भन्ने पुस्तकको विज्ञापन होइन
नै किनभने त्यो किताब ऐले बजारमा किन्न पाइँदैन, 'आउट अफ स्टक' भएको
छ। अर्को अर्थमा भने यल्लाई एउटा विज्ञप्ति भनिदिए हुन्छ। यो पाठकहरूलाई
एकातिर लहसाउने, डोर्याउने चाल चाहिँ हो। त्यो चाल के भने, जङ्गबहादुरलाई
अब नेपालीहरूले राजनीतिबाट पर लगेर ऐतिहासिक परिप्रेक्ष्यमा बुझन थाल्नुपर्छअर्थात्,
जङ्गबहादुरको समयलाई अब नेपाली इतिहासको एउटा कालचक्र मानेर पढ्नुपर्छ
भन्छ कदी। त्यो गराउन यो स्तम्भ सफल भयो भने कदीको अभीष्ट पूरा हुनेछ।
आजलाई यत्ति।
|