हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

जनताको निर्णयलाई स्वीकार

विद्रोह टुङ्गोमा भन्ने (हिमाल आवरण, १–१५ फागुन) मा प्रकाशित माओवादी अध्यक्ष प्रचण्डको अन्तर्वार्ता पढेपछि बहुदलीय व्यवस्थाप्रति माओवादीको नीति केही लचिलो भएजस्तो लाग्यो।

यदि माओवादीहरूले व्यवहारमै लचिलोपन देखाए भने निश्चय नै उनीहरूको त्यो निर्णयलाई स्व्ाागत गर्नुपर्छ। मान्छे मार्ने र मरेको प्रचण्डलाई उचित लागेको रहेनछ। तर कुनै पनि शासनव्यवस्थाको लक्ष्य मान्छे मार्नु नभई बचाउनु हो भन्ने कुरा सबैले बुझनु पर्छ। मान्छे मारेर, भौतिक सम्पत्ति ध्वस्त पारेर क्रान्ति सफल नहुने, केवल देशको बेइज्जती हुँदै गइरहेको प्रचण्डले आत्मसात् गरेको उनको अन्तर्वार्ताबाट प्रस्ट हुन्छ। अब ती ज्यान गुमाएका १३ हजार नेपालीलाई सम्झ्न बाहेक केही गर्न सकिन्न जो १० वर्षको सशस्त्र विद्रोहका क्रममा मारिए।

मान्छे नमारी गर्ने राजनीतिको लागि राजा र माओवादी दुवै तयार हुनुपर्छ। जनताले दिने निर्णयलाई स्वीकार्नै पर्छ।

भुमराज तिवारी
बेल्कोट–७, अमारे डेउडी, नुवाकोट


प्रशासन संयन्त्र बलियो पार

'जनयुद्धको उपलब्धि र चुनौती' शीर्षक (आवरण, १–१५ फागुन) मा छापिएको डा. बाबुराम भट्टराईको लेखले आम जनतासामु माओवादी विचारधारालाई लैजाने राम्रो प्रयास गरेको छ। तर, मलाई उक्त लेखको पहिलो खण्डमा व्यक्त गरिएको वैचारिक पक्ष बुझन कठिन पर्‍यो। यिनै कुरालाई अझ् सरल र नेपालको धरातलीय यथार्थसँग मेल खाने गरी उल्लेख गरिदिनुभएको भए वेश हुने थियो।

नयाँ राष्ट्रिय सेनाको परिकल्पना गरिएको उक्त लेखमा प्रशासन संयन्त्रको भूमिकाबारे भने केही उल्लेख गरिएको छैन। सैन्यसंयन्त्रले धेरै दिग्गजहरूलाई डुबाइसकेको विश्व इतिहास छ। माओवादी जनसेनाको भरमा प्रचण्डपथ आइहाले पनि त्यो नडुब्ला भन्न सकिन्न।
माओवादीहरूले दलित, उत्पीडित, जनजाति र क्षेत्रीयताको सवाल उठाएर आममानिसलाई आफूतिर आकर्षित गर्ने प्रयास गरिरहेका छन् र धेरै मानिसहरू यसमा होमिएका पनि छन्। तर, समयमै यसलाई व्यवस्थित गर्न सकिएन भने कहीँ 'सालीको आश गर्दागर्दै भिनाजूको स्वर्गवास' भएझैँ हुने त होइन?

थेबेहाङ्ग डा. ठाकुर सुब्बा
सिनाम, ताप्लेजुङ्ग


अध्यक्ष ज्ञानेन्द्रलाई सुझाव

'नगर–चुनावको सन्देश, राजाको पक्षमा २० प्रतिशत जनता' शीर्षक (१–१५ फागुन) मा प्रकाशित टिप्पणी सचेत नेपालीलाई प्रेरणादायी बनेको छ।

२६ माघमा सम्पन्न नगर निर्वाचनले राजा जनताका लागि नभएर आफू र आफ्ना आसेपासेहरूको मोजमस्तीका लागि हुन् भन्ने प्रस्ट भएको छ। यदि राजा जनताको हितमा भएका भए उनको पक्षमा ८० प्रतिशतभन्दा बढी मत खस्ने थियो। यसबाट जनता राजतन्त्रभन्दा पनि प्रजातन्त्र चाहन्छन् भन्ने प्रस्ट भएको छ।

त्यसैले राजाले अब निरङ्कुश शासन त्यागेर जनताको हितका लागि काम गर्नु पर्‍यो। जनतालाई झ्ुट्टा आश्वासन दिएर शासन लम्ब्याउने खेल बन्द गर्नु पर्‍यो।

पेशल दाहाल
रामपुर, ओखलढुङ्गा
umarudasi@yahoo.com


रक्षाको झूटो विज्ञप्ति

'नगर–चुनावको सन्देश, राजाको पक्षमा २० प्रतिशत जनता!' शीर्षक टिप्पणी (हिमाल, १–१५ फागुन) ले २६ माघमा राजाले गराएको नगर निर्वाचनबारे नेपाली जनतालाई वास्तविकता जानकारी गराएको छ। तीन वर्षको भाका राखी सत्ता हातमा लिएर गराएको 'चुनावी नाटक' बाट राजाको प्रजातन्त्रप्रतिको असली नियत प्रस्ट भएको छ। र, यो नगर निर्वाचन राजा स्वयंलाई निल्नु न ओकल्नु सावित भएको छ। अप्रत्यक्ष रूपमा जनमत सङ्ग्रह जस्तै बनेको उक्त चुनावमा राजाले मुश्किलले २० प्रतिशत मत पाए भने ८० प्रतिशत जनमत प्रजातन्त्रको पक्षमा देखियो।

नगर निर्वाचनलाई शान्तिपूर्ण विरोध गरिरहेका सात दलका नेता तथा कार्यकर्ताहरूलाई धरपकड गर्ने, पिट्ने र थुन्नेजस्ता अप्रजातान्त्रिक कार्यमा उत्रेको शाही सरकारले २६ माघमा दाङमा शान्तिपूर्वक चुनाव बहिष्कारमा उत्रेका एमालेका कार्यकर्तामाथि दिनदहाडै गोली चलाउँदा उमेश थापाको निधन हुन पुग्यो। तर विडम्बना! रक्षा मन्त्रालयले सुरक्षाकर्मी माथि गोली चलाएकोले आतङ्ककारीको प्रतिकार गर्ने क्रममा उमेश थापाको मृत्यु भएको भन्ने झ्ूटो विज्ञप्ति जारी गर्‍यो। निरस्त्र उमेश थापालाई आतङ्ककारीको मतियार बनाउने चेष्टा गर्‍यो। दलका निरस्त्र कार्यकर्तामाथि लगाइएको यस्तो कपोलकल्पित आरोप निन्दनीय छ। सरकारले आजसम्म पनि यो गोली काण्डको निष्पक्ष छानबिन गर्ने साहस गरेको छैन।

उत्तम भट्टराई, राजीव खत्री
पो.ब.नं १२०१८, काठमाडौँ


अब के पो गर्न बाँकी छ र!

हिमाल (आवरण, १६–३० माघ) मा छापिएका सीके लालको 'राजाको शासन जनताको अपमान', नीलाम्बर आचार्यको 'कु' पछिको कु–समय', प्रा. कृष्ण खनालको 'आत्मपराजयको कठघरामा राजा' आदि विश्लेषणात्मक लेखहरू पढिसकेपछि अब मौसुफले के नै काम गर्न पो बाँकी छ र भन्ने लाग्यो।

अब नेपालीलाई राजाको भ्रमको खेतीमा पिल्सिने रहर छैन। यो कुरा पक्का छ, नेपाल रहे मात्र राजतन्त्र बाँच्छ तर राजतन्त्र नभए पनि नेपाल मर्दैन।

खेम रेग्मी,
पथरी–२, मोरङ्ग


चित्तबुझदो रिपोर्ट

जन–अपमान भएको हिमाल को (आवरण, १६–३० माघ) को रिपोर्ट 'महङ्गो भ्रमण' चित्त बुुझयो। प्रत्यक्ष शासनको एक वर्षमै राजाले भन्ने गरेको 'स्वच्छ छवि' र पहिरिने गरेको 'राष्ट्रवादी' जामा उदाङ्गिएको छ।

जनताले तिरेको करको तर मारेर देश र जनताका नाममा शाही परिवारका सदस्यले गर्ने गरेका महङ्गा भ्रमण र सुशासनका नाममा भइरहेको महङ्गी र भ्रष्टाचारले नेपाली जनता आहत भइसकेका छन्। त्यसैले महाराज! महङ्गा भ्रमणहरू गरेर आफूखुशी खर्च नगरिबक्स्योस्।

शिवशिरीष ढुङ्गाना
दियाले–९, ओखलढुङ्गा


भ्रम निवारण गर्ने रिपोर्ट

'राजाको शासन बाबाको दुहाई' (हिमाल, आवरण १६–३० माघ) ले राजाको एकवर्षे शासनकालको यथार्थ पस्केर यसबारेको भ्रमलाई समाप्त पारिदिएको छ।

१९ माघको शाही कदमले मुट्ठीभर दलाल र शाही सत्ताको हित गर्‍यो भने आम जनतालाई दास बनाउने काम मात्र गर्‍यो। नारायणहिटीले सबै अधिकार गुट्मुटाएपछि धेरैजसो वैदेशिक सहयोग रोकिएको छ। 'कु' को वर्षगाँठ पारेर गराएको नगर निर्वाचनले त झ्नै राजशाही उदाङ्गो हुनपुग्यो।

साथीसुधा
खोटाङ, दिक्तेल


हिमाल पाइरहेका छौँ

हिमाल खबरपत्रिका को हामी नियमित पाठक हौँ। संयुक्त अरब इमिरेट्स (युएई) मा खबरपत्रिका नियमित रूपमा आइरहेको छ। देशको वर्तमान स्थिति, वातावरण आदिका बारेका समाचार र लेखहरू नियमित रुपमा पढ्न पाइरहेका छौँ र यस्तै यस्तै अरू थप समाचार तथा लेखहरूको आशमा छौँ।

बेगबहादुर, राजेन्द्रकुमार,
श्यामराजा र उज्ज्वल भण्डारी
युएई, अवुधावी, पो.ब.नं. ७७१६५


गजल

भोलि आफैँ असक्षम हुँदा कस्तो होला
मनपरी वचनले छुँदा कस्तो होला
बाह्र–सत्ताईस नानाथरी कुरा गर्‍यौ पैले
आफ्नै पाप पसिनाले छुँदा कस्तो होला
डुल्नैसम्म डुल्यौ तिमी विकास जति उड्यो
पछुतोमा देश हेरी रुँदा कस्तो होला
यौटा गल्ती छोप्न तिमी सयौँ गल्ती गर्छौँ
छोप्दा–छोप्दै भुमरीमा चुँ'दा कस्तो होला
प्रचारको जालो बुन्दै बिते वर्ष दिन
एक एक गाँठा सबै कुँ'दा कस्तो होला

शिवप्रसाद पराजुली
फेदीखोला–९, स्याङ्जा