हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

 

पर्यटनको नयाँ आयाम - 'बन्द पर्यटन'

बन्द, त्यो पनि सात-सात दिन लामो । राजधानीका लागि भलै यो अहिलेसम्मको सबैभन्दा लामो बन्द होला । तर राजधानीबाहिर यस्तो लामो बन्द प्रायः चलि नै रहन्छ  । एक सालअघि माघको शुरुतिर तपाईंहरूको यही अकिञ्चन धरानमा अड्किएको थियो दशदिने बन्दको चेपुवामा परेर ।

यस पटकको लामो बन्द कसरी बित्ने हो र यसले कस्ता समस्या निम्त्याउने हो भन्ने दुश्चिन्ता सबैलाई थियो । गृहिणी, जागिरदार, विद्यार्थी, कलाकार, कर्मचारी, उम्मेदवार, सेना र प्रहरी जवान, उद्योगपति अनि खुद्रेदेखि ठूला व्यापारीको आ-आफ्नै पीर थियो । सबैभन्दा ठूलो डर त पर्यटन व्यवसायीहरूलाई लागेको देखियो । अरूभन्दा ठूलो स्वरमा उनीहरूले दुःखेसो पोखेका थिए सञ्चारमाध्यमहरूमा ।

हुन पनि हिँडडुल गर्न नपाउने ठाउँमा पैसा खर्चेर छुट्टी बिताउन को आउँछ - अनि विदेशी पर्यटक नआइदिने हो भने हाम्रो मुलुकले विदेशी मुद्रा कसरी कमाउँछ - पर्यटन उद्योगले लाखलाख नेपालीलाई रोजगार कसरी दिन सक्छ ?


किरण पाण्डे

प्रजातन्त्र होस् या एकतन्त्र, राजतन्त्र होस् या गणतन्त्र- बन्द त नेपालमा रहन्छ रहन्छ । तन्त्र फेरिन सक्छ, बन्दको घोषणा गर्ने आयोजक बदलिन सक्छ । तर बन्द बदलिने छैन । अनुभवले त्यही देखाएको छ  । झन् अहिले त बन्दको अन्तरङ्ग साइनो निर्वाचनसित जोडिएको देखिन्छ  । अस्ति नगर निर्वाचनमा उम्मेदवारी दिने दिन पनि देशव्यापी बन्द थियो  । भोट हाल्ने दिन पनि बन्द । अहिले केवल ५८ नगरपालिकाको निर्वाचन भयो  । यसपछि त डल्लै बाँकी छ ७५ जिल्ला विकास समिति र झन्डै ४ हजार गा.वि.स.को निर्वाचन । अनि २०५ सिटको प्रतिनिधिसभाको निर्वाचन । महाराज निर्वाचन नगरी नछाड्ने, आन्दोलनकारीहरू त्यो हुन नदिने ! यसको मतलब निर्वाचनको अटुट शृङ्खला जारी रहनेछ र त्यसको साथै बन्द पनि ।

भन्छन् नि, शोकलाई शक्तिमा बदल्नर्ुपर्छ । अब बन्द नामको यो शोक छ । यसलाई शक्तिमा कसरी बदल्ने - पर्यटकहरूका लागि बन्द विकर्षा हो । अब यसलाई आकर्षामा कसरी रूपान्तरण गर्ने ?

त्यसका लागि बन्दलाई घिसेपिटे 'एङ्गल'बाट नहेरी नयाँ 'एङ्गल'बाट हर्ेर्नु जरुरी छ । त्यसो गरेमा यसको बडो सकारात्मक पक्ष उजागर हुन्छ । परम्परागत लिकबाट हटेर नयाँ 'एङ्गल'ले हर्ेर्ने हो भने बन्दका अनेकौँ 'प्लस प्वाइन्ट'हरू फेला पर्छन् । जस्तैः

· बन्दको बेला सडकहरूमा ठाउँ हेरी भलिबल, फूटबल, बेस बल, डन्डीबियो, ब्याडमिन्टन र क्रिकेट खेल खेल्न सकिन्छ वा अरूले खेलेको हेर्न सकिन्छ । नेपालका 'अन्डरनाइन्टिन'का क्रिकेट खेलाडीहरूले यस्तै बेला क्रिकेट सिकेका हुन् ।
· सकडमा बिनाव्यवधान रोलर स्केटिङ, बोर्ड स्केटिङ गर्न सकिन्छ वा अरूले गरेको हेर्न सकिन्छ । जस्तो जर्मन राजदूत यस्तै बेला सडकमा रोलर स्केटको अभ्यास गर्ने गर्छन् ।
· विशेषगरी कोरियाली र जापानी पर्यटकहरू मुखमा मास्क लगाउन मन पराउँछन्  । तर बन्दको बेला वायुमण्डल सफा हुनाले त्यो झन्झट बेसाइरहनुपर्दैन  ।
· धूवाँ र धूलो हुँदैन, हिमाली पर्वतशिखरहरूको लहरलाई र्छलङ्ग देख्न सकिन्छ । वातावरण शान्त र स्निग्ध हुन्छ टोनी हागनले वर्णन गरेको बोरिस लिसानोभिचले रोयल होटल चलाउँदाखेरिको जस्तो ।
· सडकमा जहाँ पनि आनन्दसित साइकल गुडाउन सकिन्छ र 'बाइकिङ' को असली मजा लिन सकिन्छ ।
· टुरिस्ट पुलिसबाहेक सेना तथा जनपद र सशस्त्र प्रहरीको गस्ती अरू बेला हेरी बन्दका बेला दश गुना बढी हुने हुनाले हर कोही पूर्णरूपले सुरक्षित हुनेछन् ।
· अरू बेला क्या.वि. लिएर हराए पनि बन्दका बेला सरकारी अफिसमा कर्मचारीहरू काममा तदारुकतासित हाजिर हुन्छन् । जुनसुकै कार्यालयमा छिटोछरितो काम हुन सक्छ ।
· बन्दका दिनमा शाही नेपाली सेनाको सामरिक शक्तिलाई झल्काउने गरी दोबाटो चौबाटोमा राखिएका विभिन्न देशमा बनेका विभिन्न क्षमताका बख्तरबन्द तोपगाडीहरूको निःशुल्क अवलोकन गर्न सकिन्छ ।

माथि उल्लिखित फाइदा त छँदै छन्, तलका कुराहरूमा पनि जोड दिनु आवश्यक छः

· सबभन्दा पहिले त बुझाउनु पर्‍यो यो बन्द भनेको नेपालीहरूको आफ्नो मौलिक सृजना हो भनेर । यो बाङ्लादेश वा भारतको पश्चिम बङ्गालमा गरिने 'हड्ताल' होइन । यो केवल 'बन्द' हो । नेपालमा जस्तो बन्द अन्त कतै हेर्न पाइँदैन ।
· बन्द भए पनि हामीकहाँ होटल खुलै हुन्छ, होटलभित्रको रेस्टुरेन्ट खुलै हुन्छ । ब्याङ्क खुल्छ, एम्बेसी खुल्छ, म्युजियम खुल्छ, हवाई उडान हुन्छ । त्योभन्दा बढ्ता के चाहियो पर्यटकलाई ?
· र्सार्वजनिक सवारीका अरू साधन नचले पनि पर्यटक बोक्ने बस, कार भने मजासित चलाउन मिल्छ । हामीले पर्यटकहरू बोक्ने बस, कारलाई हरियो रङको छुट्टै नम्बरप्लेट त्यसै दिएका होइनौँ ।
· यस्तै बन्दका लागि भनेर हामीले साझा यातायातलाई जोगाइराखेका छौँ र लाखौँ रुपैयाँको घाटा व्यहोरेर भए पनि ट्रलीबस सेवालाई पनि थामिराखेका छौँ ।
· त्यसबाहेक हामीकहाँ रिक्सा छन् । नम्बरप्लेट छोपेर गुड्ने ट्याक्सी र माइक्रोबसहरू हुन्छन् । भाडा केही बढी तिर्नुपर्ला तर डलर र युरो बोकेर आउने टुरिस्टहरूलाई त्यसबाट के फरक पर्छ र ?
· यसबाहेक बन्द हुँदाहुँदै नेपाल घुम्न आएको र सकुशल र्फकन सकेको रोमाञ्चकारी कथा घर फर्केर विदेशी पर्यटकहरूले आफ्ना साथीसङ्गीलाई गर्वसाथ सुनाउन सक्नेछन् ।

जसरी फोहोरबाट पनि मोहोर निकाल्न सकिन्छ भनिन्छ त्यसरी नै बन्दबाट पनि नयाँ पर्यटनको थालनी गर्न सकिन्छ । यस अल्पज्ञानीको विचारमा नेपालले 'बन्द पर्यटन' शुरु गर्ने समय आइसकेको छ ।

एन.टी.बी. अर्थात् नो टुरिज्म बोर्ड नामको जुन सरकारी संस्था छ त्यसले माथि उल्लिखित फाइदाहरूलाई विस्तारसित खुलाएर 'बन्द पर्यटन'को मार्केटिङ गर्न सक्छ । त्यसका लागि दरी, पश्तु, वान्टु, स्वाहिली, अफ्रिका कानेर, सामी, रोमानी, उगीर, ह्रि्रुलगायत सबै अन्तराष्ट्रिय भाषामा प्रचार पुस्तिकाहरू छपाउनुपर्छ, www.bandanepal.com शीर्षकमा नयाँ वेबसाइट शुरु गर्नुपर्छ । बन्दको पर्यटकीय महत्त्व दर्शाउन र यसप्रति बाहृय विश्वको ध्यान आकर्षा गर्न बोर्डले महोत्सव मनाउने आफ्नो सानदार क्यालेन्डरमा 'बन्द महोत्सव' पनि थप्नुपर्छ ।

यसप्रकार प्याकेज गरेर बन्दको प्रबन्ध गर्न सके पर्यटनको नयाँ आयाम थपिने थियो र नेपालका पर्यटन व्यवसायीहरूको दुर्दिन दूर हुनेथियो । त्यसैले दुःखेसो पोख्नु साटो 'बन्द पर्यटन' को प्रवर्द्धन गर्नु राम्रो होला कि ?