तन्नेरीका कुरा | द्वन्द्वपीडितका
सन्तान
जिम्मेवारी र लक्ष्यमा दृढ
माओवादीद्वारा अनाहकमा मारिएका केही सम्पन्न
र प्रभावशाली व्यक्तिका छोराछोरीहरू द्वन्द्वमै पनि प्रगतिपथमा अगाडि
बढिरहेका छन्। तर राज्यपक्षद्वारा मारिएका माओवादी वा सर्वसाधारणका
सन्तान भने त्यस्तो अवसरबाट बञ्चित पाइन्छन्।
•
ध्रुव सिम्खडा

तस्बिरहरूः किरण पाण्डे |
"म एरोनटिक इञ्जिनियर बन्न चाहन्छु।"
सुदृष्टि (स्व. यदु गौतमकी छोरी)

अध्ययन/अध्यापनबाटै बाबु-आमाको आकाङ्क्षा पूरा गर्न चाहन्छौँ
।
तारा/कृष्ण -स्व. गोपाल र स्व. भुमा काफ्लेका छोराहरू)

शिक्षिकाको रुपमा समाजसेवा गर्ने इच्छा
छ ।
अनिता (स्व. राममणि ज्ञवालीकी छोरी)
|
सुदृष्टि १७
वर्षकी भइन्, हिमालयन ह्वाइट हाउस कलेजबाट भौतिकशास्त्रमा 'प्लस–टु'
र टोफलको परीक्षा सकेर उनी एरोनटिक इञ्जिनियर पढ्न अमेरिका जाने तर्खरमा
छिन्। भन्छिन्, “म एरोनटिक इञ्जिनियर बन्न चाहन्छु।” २१ फागुनमा बाबुको
सम्झ्नामा 'हिस्ट्री म्यान' शीर्षकको अङ्ग्रेजीमा लेखेको कविता सुनाएको
बताउने सुदृष्टि रुकुमका लोकप्रिय एमाले नेता यदु गौतमकी साहिँली छोरी
हुन्। यदुलाई माओवादीहरूले २१ फागुन २०५५ मा मारिदिएपछि उनका चार छोरी
र एक छोरा राजधानी आएर अध्ययनलाई अगाडि बढाइरहेका छन्।
सुदृष्टिकी ठूल्दिदी सुवानी एमबीबीएस गर्न पाकिस्तान
गएको तीन वर्ष भइसकेको छ भने माहिली दिदी सुदिना बीबीएसको तयारी गर्दैछिन्।
कान्छी बहिनी र भाइ भने विद्यालयमा पढ्दैछन्।
तारा र कृष्ण काफ्लेका बाबु–आमा दुवै द्वन्द्वका कारण मारिए। बर्दियाका
यी तरुण दाजुभाइ बाबु–आमा गुमाउनु पर्दाको पीडालाई कहिल्यै भुल्न नसक्ने
बताउँछन्। २५ वर्षीय कृष्ण भन्छन्, “हामी अध्ययन/अध्यापनबाटै बाबु–आमाको
आकाङ्क्षा पूरा गर्न चाहन्छौँ।” ६५ वर्षका यिनका बाबु गोपाललाई माओवादीहरूले
'सुराकी' को आरोपमा मारेको ६ महिना पनि बित्न नपाउँदै आमा भुमा पनि
'क्रस–फायरिङ्ग' मा परेर बितेकी थिइन्। शिक्षाशास्त्र अन्तर्गत गणितमा
'माष्टर्स' गरेका कृष्ण अहिले राजधानीमा 'प्लस–टु' पढाएर उन्नतिपथमा
लम्किरहेका छन्।
जगदीप थापा १९ वर्षका भए। उनी काठमाडौँ मोडेल कलेजमा
जीव–विज्ञानमा 'प्लस–टु' गर्दैछन्। चिकित्सक बनेर देश सेवा गर्ने सुरमा
रहेका यी 'टिनेजर' आफ्नो लक्ष्य प्रस्ट पार्दै भन्छन्, “म एमबीबीएस
डाक्टर बनेर देशको सेवा गर्नेछु।” उनका दाजु जगदीशले भने एमबीबीएस
गर्न हाल सालै काठमाडौँ मेडिकल कलेज (काठमाडौँ विश्वविद्यालय अन्तर्गत)
मा भर्ना पाएका छन्। जगदीश र जगदीपका बाबु उमेश थापालाई २६ माघको नगर–निर्वाचन
बहिष्कारको सिलसिलामा दाङमा सुरक्षाकर्मीले गोली हानी हत्या गरेका
थिए। र, उनी एमालेका कार्यकर्ता थिए।
उता केन्द्रीय क्याम्पस कीर्तिपुरमा ग्रामीण विकासमा
स्नातकोत्तर गरिरहेकी २४ वर्षीया अनिता ज्ञवाली अहिले सिद्धार्थ वनस्थलीमा
पढाउँछिन्। आफ्नो पढाइका साथै अनिता शिक्षिकाको रूपमा समाजको सेवा
गर्ने बताउँछिन्। उनका बाबुलाई माओवादीहरूले २९ फागुन २०५८ राति ८
बजे मारेका थिए। काङ्ग्रेस राजनीतिमा सक्रिय राममणि ज्ञवाली गाउँमा
बिजुली बाल्न आतुर थिए। काठमाडौँ पुग्यो कि अर्घाखाँचीको केरुङ्गा
गाविसमा बिजुली पुर्याउन नेताहरूलाई घच्घच्याइरहन्थे। जीवनकै अन्तिम
पटक उनी राजधानीमा दुई महिना बसी बिजुलीको ट्रान्सफर स्वीकृत गराएर
घर पुगेकै रात मारिए।
अनिताका अनुसार माओवादीहरूले उनकी आमा र दाइलाई एउटा
कोठामा थुनेर बुबालाई 'कि राजनीति छोड हैन भने तँलाई छोड्दैनौँ' भनेका
थिए। “पञ्चायतकालमा राजनीति गरेको आरोप लागेर जागिरबाट निकालिएको मान्छे
म राजनीति छोड्न सक्तिनँ”, बुबाले भन्नुभएपछि उनीहरूले मारेको अनिताले
त्यो रातको स्मरण गर्दै बताइन्। ज्ञवालीमाथि माओवादीहरूले कुनै आरोप
लगाएका थिएनन्।
सशस्त्र विद्रोहका कारण ज्यान गुमाएकाहरूका टुहुराहरूले
आफ्नो हक, हितका लागि भनेर ६ पुस २०५९ मा 'आतङ्क पीडित टुहुरा समाज
नेपाल' को गठन गरेका छन्। समाजका अध्यक्ष छन्– म्याग्दीका २७ वर्षीय
केपी अधिकारी। चार वर्षअघि माओवादीद्वारा मारिएका उनका बाबु मणिलाल
शर्मा रत्न माविका प्रधानाध्यापक तथा अङ्ग्रेजीका लोकप्रिय शिक्षक
र एमाले जिल्ला कमिटि सचिवालयका सचिव समेत थिए।
श्रवण शक्ति गुमाएका केपी बाबुको हत्यापछि गाउँ गएपनि
त्रासले बस्न नसकेको बताउँछन्। आतङ्क पीडित टुहुराहरूले कतैबाट पनि
सहयोग नपाएको दुःखेसो व्यक्त गर्दै उनी भन्छन्, “परिवारको मूली मारिएपछि
हामी टुहुराहरूको काँधमा पारिवारिक जिम्मेवारी थपिएको छ। आफन्त र साथीभाइहरूको
सहयोगले लेखपढ गर्दैछु ” त्रिचन्द्र कलेजमा समाजशास्त्रमा स्नातकोेत्तर
गरिरहेका बाग्लुङ्ग, गलकोटका मञ्जेश बम मल्ल, २६ का पिता माधव बम मल्ललाई
माओवादीहरूले ३१ वैशाख २०५९ मा घर नजिकै मारेका थिए। पृथ्वी माविका
शिक्षक माधव शहीद थिर बम मल्लका भतिजा हुन्। राजा–रजौटा उन्मूलन अभियानअन्तर्गत
बाबुलाई मारिएको माओवादीले बताएपनि मञ्जेश त्यो आरोपमा सत्यता नभएको
बताउँछन्। उनीहरूको समर्थन नगरेको र गाउँघरमा लोकप्रिय भएकोले नै बाबुलाई
मारिएको मञ्जेशको ठहर छ। फागुन तेस्रो हप्ता सम्पन्न स्वतन्त्र विद्यार्थी
युनियनको चुनावमा नेवि संघका तर्फबाट निर्वाचन उठेका मञ्जेश भन्छन्,
“म राजनीतिक क्षेत्रबाट अगाडि बढ्ने तरखर गर्दैछु।”

मुक्ति आचार्य।
|

केपी अधिकारी। |

रवीन्द्रकिशोर खनाल। |

मञ्जेश बम मल्ल। |

सुमन अधिकारी। |

जगदीप थापा । |
क्याम्पियन कलेजमा समाजशास्त्रमा स्नातकोत्तर दोस्रो
वर्षमा अध्ययनरत जाजरकोट, जगतीपुरका २७ वर्षीय मुक्ति आचार्य हिंसाका
कारण ज्यान गुमाएको परिवारको बारेमा शोधपत्र लेख्ने तयारीमा छन्। भन्छन्,
“माओवादी हिंसाका कारण मारिएका परिवारका सदस्यहरूलाई भेटेर शोधपत्र
लेख्नेछु।” उनका बाबु लक्ष्मीप्रसादलाई माओवादीहरूले १६ फागुन २०५३
मा गाउँ परिषदको बैठक सकेर घर फर्कँदै गर्दा हत्या गरेका थिए। आचार्य
जगतीपुर गाविसका निर्वाचित अध्यक्ष, नेकां महासमिति सदस्य तथा जिल्ला
कार्यसमितिका उपसभापति थिए।
यस्तै, शङ्करदेव क्याम्पसमा स्नातक गरिरहेका गोर्खाका
हरि भट्ट (२१) का बाबु शिवप्रसादलाई माओवादीहरूले ६ भदौ २०५७ मा घर
नजिकै मारेका थिए। गाउँकै प्राथमिक विद्यालयका प्रधानाध्यापक तथा ५
जना परिवारका मूली भट्टको हत्यापछि उनका छोराहरू काठमाडौँमा 'ल्याङ्गवेज'
पढाउँदै पढ्दै छन्। आतङ्क पीडित टुहुरा समाजका सचिव सुमन (२९) तथा
अमृत साइन्स क्याम्पसका 'लेक्चरर' २५ वर्षीय सुबोध अधिकारीका बाबु
मुक्तिनाथलाई माओवादीहरूले ३ माघ २०५८ मा हत्या गरेका थिए। शिक्षक
मुक्तिनाथ एम्नेष्टी इन्टरनेशनलसँग पनि आवद्ध थिए। सुमन भन्छन्, “हामीले
बाबुको पदचिन्ह पछ्याउन त समाज सेवा नै गर्नुपर्छ।”
चार वर्षअघि गोर्खाका अर्का २५ वर्षीय तरुण रवीन्द्र
किशोर खनालका पिताले हिंसाकै कारण ज्यान गुमाउनु पर्यो। त्रिचन्द्र
कलेजमा बी.ए. मा अध्ययन गरिरहेका रवीन्द्र काठमाडौँको महङ्गीमा 'ट्युशन'
पढाएर भएपनि आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेका छन्। भन्छन्, “घरको
मूली नहुँदाको पीडा त छ, तैपनि सधैँ आँशु बगाएर बसेर नि त भएन, केही
त गर्नै पर्छ। पहिले स्नातकोत्तरसम्म पूरा गर्छु।”
|