हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

स्वास्थ्य | मिर्गौला

उपचार पाउनै गाह्रो भो'

झाडापखाला प्रमुख स्वास्थ्य समस्या ठानिँदै आएको नेपालमा मिर्गौला र यससँग गाँसिएका रोगहरू चुनौती बनेर उभिएका छन्: तर तिनको सामना गर्न सरकारले न आफ्नो योजना बनाएको छ, न गैरसरकारी तथा निजी क्षेत्रलाई आवश्यक सहयोग नै गरेको छ।

बद्री पौड्याल


किरण पाण्डे
राष्ट्रिय मिर्गौला केन्द्रको डायलाइसिस उपचार कक्ष ।

काठमाडौँ, नक्सालस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रका चिकित्सक–कर्मचारीहरू मिर्गौला विरामीहरूको चाप बढेको देखेर आत्तिन थालेका छन्। हेल्थ केयर फाउण्डेशनद्वारा सञ्चालित मिर्गौला रोगको उपचार गर्ने सबैभन्दा ठूलो यो संस्थाका २० वटै मेशिन दिनको तीन–तीन पल्टसम्म र शनिबार समेत खाली नबसी चल्छन्, तैपनि विरामी फर्काउनुपर्ने स्थिति आउन लागेको केन्द्रका प्रशासनिक निर्देशक तथा जनस्वास्थ्य विशेषज्ञ डा. रामकृष्ण दुलाल बताउँछन्।

आठ वर्षअघि २०५४/५५ मा ७२४ पल्ट हेमोडायलाइसिस भएको यो केन्द्रमा यो वर्ष १२ हजार पुग्ने अनुमान छ। हरेक वर्ष मिर्गौला बिग्रेका १५० नयाँ विरामी थपिन्छन्। “हामीलाई ठाउँको कमी छ। उपकरण र भवनका लागि सहयोग जुटाउन सक्छौँ, तर जग्गा हामीसँग छैन। सरकार वा अरू कोही दाताले जग्गा उपलब्ध गराए क्रमिक रूपमा सय वटासम्म मेशिन राखेर डायलाइसिस सेवा दिन सकिनेछ,” डा. दुलाल भन्छन्।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार, संसारमा हरेक १० मध्ये एक जनाको मिर्गौलामा केही न केही गडबडी पाइएको छ। भारतमा १० लाख जनसङ्ख्यामा सय जनाको मिर्गौला बिग्रेका नयाँ केसहरू हुनेगरेको अनुमान छ। नेपालको सैनिक अस्पतालले सैनिक परिवारका पाँच लाख व्यक्तिको नियमित स्वास्थ्य परीक्षण गर्दा सय जनामा मिर्गौला बिग्रेको पाएको छ। यी तथ्याङ्कको आधारमा नेपालमा २५ लाख मानिसको मिर्गौलामा केहीनकेही समस्या भएको, तीमध्ये हरेक वर्ष २५ हजारको समस्या गम्भीर हुँदै जाने र २५ सयको मिर्गौला विफल हुने गरेको विशेषज्ञहरू बताउँछन्। उनीहरूको अनुमानमा, नेपालमा हाल करीब १० हजार मिर्गौला विरामी छन् र तिनमध्ये १० प्रतिशतले मात्रै उपचार पाउन सकेका छन्।

विरामीहरूको बढ्दो सङ्ख्याको अनुपातमा उपचार सेवा उपलब्ध छैन। वीर र शिक्षण अस्पतालमा डायलाइसिस गर्नुपर्ने विरामीहरूको 'क्यू' यति लामो हुन थालेको छ, नयाँ विरामीले मौका पाउन असम्भवप्रायः छ। काठमाडौँमा नेपाल मेडिकल कलेज, बी एण्ड बी, ब्लुक्रस, लाइफकेयर अस्पतालहरूले पनि दुई–चार वटा मेशिन राखेर सेवा दिइरहेका छन्। स्वास्थ्य मन्त्रालयका डा. निराकारमान श्रेष्ठ क्रमशः क्षेत्रीय र अञ्चलस्तरसम्म डायलाइसिस सेवा पुर्‍याउने सोचाइ रहेको बताउँछन्। तर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), मणिपाल (पोखरा) र नेपालगञ्ज मेडिकल कलेजबाहेक बाहिरका अरू सार्वजनिक अस्पतालमा यो सेवा विस्तार भएको छैन। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा डायलाइसिस सञ्चालन गर्न स्थानीय उद्योगपति गणेशबहादुर श्रेष्ठको सहयोगमा भवन निर्माण भएको र राष्ट्रिय मिर्गौला उपचार केन्द्रले चिकित्सक, नर्स र प्रविधिकहरूलाई तालिम दिई दुई वटा डायलाइसिस मेशिन समेत हस्तान्तरण गरिसकेको छ, तर पनि उपचार शुरु हुनसकेको छैन। धरान र नेपालगञ्जमा पनि मिर्गौला उपचारकेन्द्रकै सहयोगमा यो सेवा शुरु भएको हो।

वर्षमा १५०–२०० मिर्गौला बिग्रेका विरामीहरू थपिने वीर अस्पतालले २०४५ सालमा ६ वटा मेशिनबाट शुरु गरेको डायलाइसिस सेवा विस्तार गर्न सकेको छैन। त्यहाँका ६ वटा मेशिन बिग्रेर बसेका छन्। “एउटा मेशिन मर्मत गर्न चार–पाँच लाख रुपैयाँ चाहिन्छ, तर हामीसँग बजेट छैन,” वीर अस्पताल, नेफ्रोलोजी इकाइकी प्रमुख डा. सुधा खकुरेल भन्छिन्, “फेरि प्रत्यारोपण नभएसम्म डायलाइसिस मात्रै जति बढाए पनि पुग्ने होइन।”

प्रत्यारोपण कहिले?
डायलाइसिस शुरु भएको दुई दशक हुन लाग्दा पनि नेपालमै मिर्गौला फेर्ने काम हुनसकेको छैन। लामो अलमलपछि सरकारले अङ्ग प्रत्यारोपण कानून ल्याए पनि वीर अस्पताललाई मात्र अनुमति दिएर अरूको हात बाँधिदिएको छ। अनुमति पाएको वीर अस्पताल आफ्नो पहिलो प्रयास सफल नभएपछि भारतबाट चिकित्सक टोली ल्याएर प्रत्यारोपण शुरु गर्ने र आफ्नो जनशक्ति तयार पार्ने योजनामा लागेको छ।

सरकारी अस्पतालले प्रत्यारोपण गर्न नसकेको र गैरसरकारी एवं निजी अस्पतालले अनुमति नपाएकाले धेरै विरामीहरू तीन–चार गुना बढी (रु.५–१० लाख) खर्चमा बाहिर गएर प्रत्यारोपण गराउन या डायलाइसिस मात्र गराएर बस्न बाध्य छन्। अहिलेसम्म वीर अस्पताललाई मात्र अनुमति दिइएको सम्बन्धमा डा. श्रेष्ठ भन्छन्, “सरकारले मिर्गौलाको सम्भावित व्यापार र दलाली नियन्त्रण गर्न पहिला सरकारी अस्पतालमा राम्रोसँग भएपछि मात्र बाहिर अनुमति दिने सोचाइले त्यस्तो निर्णय गरेको हो, अरूलाई अनुमति नदिने नियतले होइन। हामी अब वीर अस्पताललाई पनि सक्षम बनाउने र सशक्त रूपमा आएका अन्य अस्पताललाई पनि अनुमति दिने सोचाइ लिएर काम गरिरहेका छौँ।” तर राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको विचारमा, गलत उपचार र व्यापार देशमै प्रत्यारोपण नभएर फष्टाएको हो, जसलाई निराकरण गर्न पनि सक्षम गैरसरकारी एवं निजी संस्थाहरूलाई देशभित्रै प्रत्यारोपण शुरु गर्न अनुमति दिइहाल्नु पर्दछ।

सुरक्षित रहने उपाय
नेपालमा करीब एकतिहाइ जनसङ्ख्याले मात्र आधुनिक उपचार प्रणाली उपभोग गर्न पाएका छन्। त्यसमा पनि मिर्गौला रोगसम्बन्धी सुविधा तथा विशेषज्ञहरू १० जना मात्रै र अधिकांश राजधानीमै केन्द्रित रहेकाले धेरै मानिसहरू चिकित्सकको सही परामर्श, परीक्षण र उपचार सुविधाको पहुँचभन्दा बाहिर छन्। यसकारणले पनि मिर्गौलाको समस्या भएका धेरै विरामीहरू बिग्रिसकेपछि मात्रै आइपुग्ने गरेको अनुभव डा. काफ्लेको छ।

यो अवस्थामा पुग्नबाट बच्न सबै, विशेषगरी ५० वर्ष नाघेका, मधुमेह, उच्च रक्तचाप र धेरै तौल भएका, चुरोट–रक्सी खाने र परिवार तथा निकट नातेदारमा मिर्गौला रोगी रहेका, मानिसहरूले हरेक वर्ष पिसाबमा 'अल्बुमिन' र रगतमा 'क्रिएटिनिन' परीक्षण गराउनुपर्ने डा. काफ्लेको सल्लाह छ। उनी भन्छन्, “अल्बुमिन बढेको छ भने सामान्य उपचारबाट निको पार्न वा रोकथाम गर्न सकिन्छ। क्रिएटिनिन बढेको छ भने मिर्गौला बिग्रिन शुरु भइसकेको हुन्छ र त्यसले पूरै काम गर्न छोडेपछि हप्तामा दुई–तीन पटक नियमित डायलाइसिस वा प्रत्यारोपणजस्ता अति महङ्गो उपचार गरेर मात्र जीवन लम्ब्याउन सकिन्छ।”

वीर अस्पतालको सहुलियत दरमा हेमोडायलाइसिस गर्नेहरूले समेत महिनामा रु.१० हजारसम्म खर्च गर्नुपर्छ भने गैरसरकारी वा निजी अस्पतालमा रु.१६ हजारदेखि ३० हजारसम्म खर्च हुन्छ। प्रत्यारोपण स्वदेशमै हुनसके त्यसका लागि रु.२–३ लाख र त्यसपछि नियमित खानुपर्ने औषधिमा महिनाको रु.१० हजार खर्च गरे पुग्छ।

मधुमेह, उच्च रक्तचाप र मुटु रोगहरूसँग गाँसिएर मिर्गौला पनि बिग्रिएमा विरामीहरूको मृत्यु हुने सम्भावना १० गुणा बढी हुन्छ। मिर्गौला रोगको यस्तै डरलाग्दो स्वरुपका कारण यसप्रति विश्वव्यापी ध्यान आकर्षित गर्न 'इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजी' र 'इन्टरनेशनल फेडरेशन अफ किड्नी फाउण्डेसन्स्' जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरूले प्रत्येक मार्च महिनाको दोस्रो बिहीवार 'विश्व मिर्गौला दिवस' मनाउन शुरु गरेका छन्। गएको २५ फागुन (९ मार्च २००६)मा मनाइएको पहिलो मिर्गौला दिवसको नारा नै थियो– 'चाँडो रोग पहिचान गरौँ र चाँडै रोकथाम गरौँ।' अहिलेसम्म सङ्क्रामक रोगहरूलाई मात्रै समस्या ठान्ने गरिएको नेपालमा पनि असङ्क्रामक रोगहरू ठूलै समस्या रहेछन् भन्ने कुरा महसूस गर्न थालिएको छ र स्वास्थ्य मन्त्रालयले दुई वर्षदेखि 'असङ्क्रामक रोग रोकथाम तथा नियन्त्रण समिति' बनाएर काम गर्न शुरु गरेको छ।

सरकार अझै सुस्त
तर, अझै पनि सरकारले आफ्ना नीति, कार्यक्रम र बजेटमा यस्ता रोगहरूलाई प्राथमिकता दिएको देखिँदैन, न यस क्षेत्रमा केही गरिरहेका गैरसरकारी र निजी स्वास्थ्यसंस्थाहरूलाई नै चाहिँदो सहयोग पुर्‍याएको छ। डा. काफ्ले भन्छन्, “यी अस्पतालले भाडा, कर, चर्को बिजुली र पानी महसुल अनि विरामीहरूका लागि औषधि र उपचार सामग्रीहरूमा सहुलियत पाए भने मात्रै पनि धेरै विरामीहरूले अकालमा ज्यान गुमाउनुपर्ने छैन। डायलाइसिस उपकरणमा भन्सार महसुललगायतको छुट दिएर सरकारले सहयोग गरेको छ, तर यसमा प्रयोग हुने डायलाइजर, ट्युबलगायतका सामग्रीहरूमा २८–३० प्रतिशत कर तिर्नुपर्छ।”

नेपालले देशमा असङ्क्रामक रोगहरूको स्थिति के छ भन्नेबारे एउटा श्वेतपत्र नै जारी गरेर रोकथाम र उपचारको सर्वसुलभ प्रणाली खडा गर्नु तथा सरकार आफैँ लागेर मात्र यस्ता रोगको उपचार सेवा देशव्यापी गराउन नसक्ने हुनाले गैरसरकारी र निजीक्षेत्रलाई पनि सक्ने सहयोग पुर्‍याउनुपर्छ भन्ने विशेषज्ञहरूको धारणा छ।

साथमा रमेश पौडेल, पोखरा


अनुभव

हौसला राख्नुपर्छ

यज्ञनिधि दाहाल

नियमित स्वास्थ्य परीक्षण गर्ने परिपाटी हामीकहाँ छैन। त्यसैले मिर्गौला रोग हुनेहरूले एकैचोटि बिग्रिएको लक्षण देखिएपछि शङ्का लागेर परीक्षण गराउँदा मात्र थाहा पाउँछन्। पछि थाहा हुने भए पनि हाम्रै कतिपय लतआदतले मिर्गौला बिग्रिन भने पहिलेदेखि थालिसकेको हुन्छ।

पानी ज्यादै कम खाने हाम्रो आदत छ। बच्चैदेखि ओछ्यान मुत्छ भनेर पानी वा झ्ोलकुरा कम खुवाइन्छ। यही बानीले हामी तिर्खा नलागी पानी खाँदैनाँै। खाना पनि ठिक्क समयमा नखाने र पाएको बेला शरीरले थाम्ने भन्दा धेरै, मासुजस्ता बढी प्रोटिनयुक्त खानेकुरा पाए झ्न् धेरै, खाने गर्छौँ। स्वस्थ मिर्गौलाको मात्र होइन, सामान्य स्वास्थ्यको लागि पनि चार–साढे चार घण्टाको बीचमा ठिक्क खाएर र प्रशस्त पानी पिएर खाना–पानीको सन्तुलन मिलाउनुपर्दछ। सधैँ सकारात्मक हुनु र तनावमुक्त रहनुपर्छ। कम्तीमा ६ घण्टा निश्चिन्त भएर निदाउनुपर्छ। निद्रा आफैँमा अमूल्य औषधि हो।

मिर्गौला बिग्रिन थालेको, तर असफल भइनसकेको अवस्थामा घाम–पानीमा बस्नु–हिँड्नु हुँदैन। चिकित्सकले सल्लाह दिएअनुसार खानुपर्छ, नून र चिनी घटाउनुपर्छ। जीउछाडा हुनुहुँदैन। आहार–विहारमा ध्यान दिनुपर्छ। आफूले गर्न सक्ने काम–कुरामा भरसक स्याहार्ने मान्छेलाई दुःख दिनुहुँदैन। औषधि फापे–नफापेको जानकारी चिकित्सकलाई दुई–तीन दिनमै दिनुपर्छ। चिकित्सकको भाषा बुझनुपर्छ।

मिर्गौलाले काम दिन छोडेपछि कति समय डायलेसिसमा बस्ने र कहिले प्रत्यारोपण गर्ने भन्ने कुरामा चिकित्सक, खासगरी मिर्गौलारोग विशेषज्ञ–फिजिसियनको कुरा मान्नुपर्दछ। सकेसम्म मिर्गौला फेर्नु नै राम्रो। त्यो खर्चिलो छ, त्यसपछि बाँचुञ्जेल खानुपर्ने औषधि महङ्गा छन्। तैपनि लामो समयसम्मको हिसाब गर्ने हो भने मिर्गौला फेरेपछि डायलाइसिसमा जति खर्च गर्नुपर्दैन। डायलाइसिसमा जस्तो परनिर्भर हुनुपर्दैन। आफ्नो नियमित ६०–७० प्रतिशत शारीरिक तथा शतप्रतिशत बौद्धिक काम गर्न सकिन्छ। मिर्गौला फेर्नुअघिसम्म मलाई औधी डाह र छटपटी हुन्थ्यो, मर्न पाए पनि हुन्थ्यो भन्ने लाग्दथ्यो। अस्पतालमा बाँधेर समेत राखेका थिए। तर, फेर्नासाथ मेरो चेतना र चाहना यसरी जागृत भएछ, मैले नर्ससँग पानी मागेँ र उनीहरूले 'अहिले हुँदैन' भन्दा बाझन समेत पुगेँ।

मिर्गौला प्रत्यारोपण कुन ठाउँमा, कस्ता चिकित्सकबाट गराउने भन्ने पनि हेर्नुपर्दछ। नेपालमा अझ्ै पनि सफल प्रत्यारोपण हुनसकेको छैन। कहाँ जाने भन्ने सल्लाह आफ्नै चिकित्सकसँग लिनु राम्रो हुन्छ। मैले पाँच वर्षअघि भारत, मद्रासको मायोट अस्पतालमा गराएको हुँ। भारतमा निम्नस्तरीय र गलत उपचार गरेर विरामी पक्षबाट पैसा धुत्ने केन्द्रहरू पनि थुप्रै छन्, जसबाट होशियारी अपनाउनुपर्दछ। मिर्गौलाको गैरकानूनी र गैरन्यायिक व्यापार पनि हुने गरेकोले दलालहरूले फँसाउन सक्छन्।

मेरो हकमा यो रोग अझ् जटिल र खर्चिलो थियो। म जन्मिँदै विमिरा भएको खराब मिर्गौला बोकेर आएको रहेछु। यो निकै दुर्लभ (नेपालमा अहिलेसम्म चार परिवारलाई भएको थाहा पाएको छु) र एकै परिवारका अरू सदस्यलाई पनि हुने मिर्गौला रोग हो। रक्तचाप, ओछ्यानमा पिसाब हुने र झ्ोल धेरै खान मन लाग्ने सामान्य लक्षणहरूबाहेक पिसाबमा रगत आउने यसको स्पष्ट लक्षण प्रायः ३० वर्षको उमेरपछि देखापर्दछ। त्यसपछि तत्कालै विशेषज्ञ–चिकित्सककहाँ जानु र महिनैपिच्छे देखाउने गर्नुपर्दछ। सकेसम्म ४० वर्षको उमेरभित्रै दुवै मिर्गौला फालेर अर्को प्रत्यारोपण गर्नु बेस्। रोग पहिचान भएदेखि नै परिस्थितिसँग सम्झ्ौता गरेर प्रफुल्ल रहने, जुनसुकै कुराको पनि सकारात्मक पक्षलाई अँगालेर उत्साहित हुने र निर्दिष्ट उपचार तथा पथपरहेजको बाटोमा लाग्ने हो भने असम्भव केही छैन।

यो रोगको उपचारमा जम्मा २१ लाख रुपैयाँ खर्च भएछ। धेरै चिकित्साकर्मीको सेवा, अस्पतालको स्वास्थ्य सुविधा र आफ्नो मिर्गौला दिने दाता पाएँ, धन्य रहेछु। यो सब नभएको भए म पनि ३६ वर्षअघि बुबा झ्ैँ कुनै दिन कुहिएर मर्ने थिएँ। तर, अहिले क्रियाशील जीवन बाँचिरहेको छु। यो सानो खुशीको कुरा हो र!