स्थलगत | माओवादी आन्तरिक विद्रोह
त्रास छ, असर देखिन बाँकी
रवीन्द्र–मणि विद्रोहका नकारात्मक परिणामका
सम्भावनाको भय माओवादीहरूमा तीब्र छ र यसबाट जोगिन सबैको ध्यान फौजी
कारबाही र राजनीतिक परिचालनतर्फ केन्द्रित गर्न उनीहरू जुटेका छन्।
•
पुरुषोत्तम दाहाल
भर्खरै सौभाग्य
र श्रृङ्गार गुमाएको पाल्पाको श्रीनगरमा आतङ्क र पीडाको छायाँ घटेको
छैन। सुन्दर शहरका ऐतिहासिक स्मारकहरू खरानी भएका छन्, बँचेका इट्टा
र खरानीको धूलोको सुरक्षार्थ शाही सेना, सशस्त्र र जनपथ प्रहरीका केही
बलिदानी जवानहरू तैनाथ छन्। तानसेनवासी मुस्कानविहीन छन्। दैनिक जीवन
यथावत् चलेको छ, तर त्यसभित्रको स्पन्दन पटक्कै छैन।
श्रीनगरको विनास हेरिसकेपछि तानसेन नगरबाट ठीक पाँच
किलोमिटर तलबाट हामी अज्ञात स्थलतर्फ लाग्यौँ। चार जना सजिलै अट्ने
जीपमा नौ जना देशी–विदेशी पत्रकार र मानवअधिकारकर्मीहरू कोचिएका थियौँ।
सँगसँगै भर्खरै मात्र तानसेनलाई कान्तिविहीन बनाएका माओवादीहरूलाई
अन्तर्राष्ट्रिय मानवीय कानून र प्रेस स्वतन्त्रताप्रति पूर्ण जिम्मेदार
हुन आग्रह गर्नैपर्ने बहस पनि चलिरहेको थियो। यसैबीच एकाएक हाम्रो
गाडी रोकियो र कसैले सोध्यो 'कता जाने?' देख्दा ऊ आमनागरिक लाग्थ्यो।
तर ऊ त्यो थिएन। हाम्रो ब्यानर राम्ररी हेरेपछि ऊ आफैँ पन्छियो र हामी
अघि बढ्यौँ।
खाल्डाखुल्डी, भीर, गौँडाहरू पार गरेर अगाडि बढ्दै
एक सुन्दर मैदानमा पुग्दा फेरि केही हातहरू उठे र गाडी रोक्नु पर्यो।
त्यहाँ माओवादी जनयुद्धका ब्यानरहरू थिए, भित्ते नाराहरू स्पष्ट देखिन्थे।
एक हुल मान्छेका बीचबाट आएकी एक महिलाले मन्द मुस्कानका साथ भनिन्
“तपाईँहरूलाई स्वागत छ। यहाँबाट तपाईहरूको यात्रामा कुनै अवरोध हुने
छैन र आउँदा जाँदाको सम्पूर्ण सुरक्षाको चिन्ता नगर्नुहोला।” उनी रहिछन्
अखिल क्रान्तिकारीकी नेता सीता कँडेल।

प्रभाकर भन्छन्"पुरानो सत्ताको
सैनिक क्षमता पनि विकसित छ र त्यसलाई तुरुन्तै पराजित गरी निरङ्कुश
सत्तालाई ढाल्न सजिलो छैन । यसनिम्ति शहरमा दलहरूले र गाउँमा माओवादीले
पुरानो सत्तालाई विस्थापित गर्ने कार्यलाई तीब्र पारेपछि मात्र
'लोकतन्त्रात्मक गणतन्त्र' मा पुगिन्छ ।" |
स्वागतको शैली
हामी अघि बढ्यौँ। हाम्रो गाडी अघि अघि दुई वटा मोटरसाइकल थपिए। हामी
जति अघि बढ्दै थियौँ तानसेन शहर टाढिँदै थियो, अन्धकार फैलँदै थियो
र एकान्तिकताको आभास हुँदैथियो। मोटरसाइकलमा चढ्ने मध्ये एक रहेछन्
टीका काफ्ले। उनी एमाले छाडेर अहिले 'नयाँ सत्ता'का निम्ति सक्रिय
भएका रहेछन्। स्थानीय साथीहरू भन्दैथिए 'एमालेको विभाजनपछि धेरै प्रभावशाली
पंक्ति माओवादीमा संलग्न भएकाले एमालेको शक्ति जसरी घट्यो, त्यसैगरी
माओवादीको शक्ति ह्वात्तै बढेर गयो।' हामी यही फूटका विषयहरूमा केन्द्रित
भयौँ। केही क्षणपछि अघिका दुई जना ओझ्ेलमा परे र एकजना मोटरसाइकल चालक
बाटोमा देखा परे। उनी रहेछन् माओवादी पाल्पा प्रशासनका प्रमुख नेत्र।
उनी पनि एमालेबाट नै गएका रहेछन्। हामी नेत्रका पछिपछि लाग्यौँ। एउटा
डाँडामा पुगेपछि गीत, सङ्गीत, नृत्य र बाजाको ध्वनिसँगै हाम्रो गाडी
रोकियो। त्यहाँ पत्रकार मनऋषि धिताल भेटिए। उनी र ओम शर्मा राजधानीमा
लामो समय जेलजीवन बिताएपछि जङ्गलतिर गएका हुन् र अहिले माओवादी युद्धका
समाचार सङ्कलन र संप्रेषणमा व्यस्त छन्।
त्यहाँ सांस्कृतिककर्मी र नागरिकहरू लामबद्ध थिए। 'इन्टरनेशनल
मिडिया मिसनलाई हार्दिक स्वागत गर्दछौँ' भन्ने तुलसहितको एक आकर्षक
द्वार बनेको रहेछ। हामी गाडीबाट ओर्लिएपछि माओवादीको स्थापित शैली
अनुरुप अबिर लगाएर स्वागत गर्न खोजियो। तर “हिंसालाई 'ग्लोरिफाइड'
गर्ने नीति हाम्रो छैन। यसकारण अबिर र टीका लगाउँदैनौँ” भनेपछि उनीहरू
केही अप्ठेरोमा परे। तैपनि तुरुन्त टीका–अबिर प्रयोग नगर्न कार्यकर्ताहरूलाई
अह्राए। शिष्टतावश उनीहरूले बनाएका फूलका माला हामीले हात–हातमा लियौँ।
हाम्रो यात्रा फेरि अगाडि बढ्यो। गाडीमा नेत्र र मनऋषि
पनि थपिए। मनऋषिले घरायसी कुरा गरे, अनि नयाँ सत्ताको अवस्थाबारे जानकारी
दिए। झ्ण्डै चार घण्टाको यात्रापछि, पर बाटोको चौगाराभरी लस्करै बालिएका
मैनबत्तीको मधुरो उज्यालो देखियो। केही क्षणमा नै सैनिक पोसाकका मानिसहरू
देखिए। ती सबै 'जनमुक्ति सेना' थिए। एक सैनिकले हातले इशारा गर्नासाथ
हाम्रो गाडी रोकियो। हामी सबै ओर्लियौँ। नेत्रजीले बाटो देखाए। अन्तर्राष्ट्रिय
मिडिया मिसनका प्रतिनिधि भिसेन्ट ब्रसेल्सले मसँग सोधे “हामी कसरी
प्रस्तुत हुनुपर्छ?” मैले भनेँ “तिम्रो संस्था (रिपोटर्स विदाउट बोडर्स)सँग
अलि रिसाएको कुरा मनऋषिले मलाई सङ्केत गरेका छन्। तर प्रेस स्वतन्त्रता,
मानवअधिकारका पक्षमा खुला र पर्याप्त बहस गर्नुपर्छ।”
मोटरबाट ओर्लनासाथ मित्र ओम शर्मा भेटिए। लामो समयपछिको
भेट 'प्रेम पूर्ण' रह्यो। उनी भन्दैथिए “काठमाडौँमा नपाएको स्वतन्त्रता
जनसत्तामा, गाउँमा हामीले पाएका छौँ।” मतिर हात लम्काउँदै र दरिलो
ढङ्गले मेरो हात कस्दै एक दाह्रीवालाले भने“पुरुषोत्तम दाइ, हामीकहाँ
स्वागत छ, म प्रभाकर।” अनि उनले चिनाए “उहाँ सुवर्ण र उहाँ रमेशजी।”
रमेश कोइराला र जनार्दन सरकारी जागिर छाडेर अहिले माअेावादी अभियानको
केन्द्रमा पुगेका छन्। सुवर्ण अर्थात् हेमन्त ओली विद्यार्थी नेतृत्वबाट
जनसेनाको उपल्लो स्थानमा चढेका हुन्। जनार्दनसँग धेरै वर्ष पहिलेको
चिनजान थियो।
हामीलाई एउटा स–सानो बैठक कक्षमा राखियो। प्रभाकर,
सुवर्ण, रमेश एकापट्टि र अरू अर्कापट्टि थिए। म प्रभाकरसँगको कुर्सीमा
पुगेँ। तीन चारोटा मूभी क्यामेरा, डिजिटल क्यामेरा र स्टील क्यामेराले
फटाफट तस्बिर खिचे। त्यहाँ उपस्थित प्रायः सबैजसो माओवादी नेता–कार्यकर्ताहरूसँग
मोबाइल फोन थियो। मैले यस आगमनको उद्देश्य प्रस्तुत गरेँ। त्यसपछि
आफ्नो लामो मन्तव्यमाप्रभाकरले माओवादीले विगतका त्रुटिहरू सच्याउँदै,
प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरे।
उनले प्रेसका संस्था र पत्रकारहरूलाई माओवादीबारे लेखिएको, समाचार
दिएको भरमा मात्रै कुनैपनि कारबाही नगर्ने र सरकारी सञ्चारमाध्यममा
काम गर्ने पत्रकार वा संस्थालाई समेत लक्षित (टार्गेट) नगर्ने बताए।
“तर युद्ध कारबाहीका बीचमा अपझर््ट कुनै संस्था र पत्रकार परेमा जोगाउन
कोशिश गरे पनि जे पनि हुनसक्ने र त्यस्तो अवस्थामा राज्यको समर्थनमा
चलेका संस्थाहरूलाई चाहिँ बाँकी राखिने छैन”, उनले थपे। उनले नेपाल
पत्रकार महासंघ, मानवअधिकारकर्मी, बार लेखकसँस्कृतिकर्मीसहित नागरिक
आन्दोलनले प्राप्त गरेको उचाइको प्रशंसा पनि गरे। मिसनका साथीहरूले
नागरिकहरूलाई मानसिक यातना दिएको, सुरक्षाकर्मीका परिवार वा अन्य निरस्त्रमाथि
आक्रमण भएको र यस्ता कार्य स्वतन्त्र विश्वलाई अस्वीकार्य हुने तर्क
गरे। प्रश्नोत्तरको सिलसिला तर्क र सूचनाको आधारमा धेरै बेर चल्यो।
असदले त एक प्रसङ्गमा पटकपटक सोधिन् “जनअदालतका नाउँमा तिमीहरूलाई
कारबाही गर्ने के अधिकार छ? के तिम्रा कानूनहरूलाई नागरिकहरूको अनुमोदन
अथवा अन्तर्राष्ट्रिय समुदायले स्वीकार गरेको छ?” प्रभाकरको दाबी थियो
“पुरानो सत्ता अन्त्य गरी नयाँ जनसत्ता कायम भएका क्षेत्रमा जनताकै
कानून अनुसार हुनेछ।” तर असदसहित टोलीका सदस्यहरू उनका तर्कसँग सहमत
भएनन्।
'विद्रोहको प्रभाव छैन'
माओवादीभित्र वर्षमान पुन (अनन्त), नन्दकिशोर पुन (पासाङ्ग) र चन्द्र
खनाल (बलदेव) जत्तिकै तीक्ष्ण योजनाकार मानिँदा रहेछन् जनार्दन शर्मा
(प्रभाकर)। प्रचण्डपछि माओवादी सैन्य दस्ताका चार डेपुटी कमाण्डर मध्येका
एक प्रभाकरले 'गण्डक क्षेत्र'को अप्रेशन सम्हालेका छन्। उनकै नेतृत्वमा
पाल्पाको दुर्दान्त विध्वंस भएको रहेछ। उनीहरू एके–४७ देखि सम्हारक
क्षमताका रकेट लञ्चरहरूको समेत उपयोग गर्दैछन्। उनीहरूको दाबी थियो–
गण्डक क्षेत्रमा मात्रै बीस हजारको हाराहारीमा 'जनमुक्ति सेना' परिचालित
छन् र केही सदरमुकामहरूलाई उनीहरू केही क्षणमा नै कब्जा गर्न समर्थ
छन्। तर प्रभाकरले स्वीकार गरे “पुरानो राज्यसत्ताको सैनिक क्षमता
पनि विकसित छ र त्यसलाई तुरुन्तै पराजित गरी निरङ्कुश सत्तालाई ढाल्न
सजिलो छैन।” उनले थपे “शहरबाट दल र नागरिकहरूले लोकतन्त्रको आन्दोलन
र शहरबाहिर माओवादीले पुरानो सत्तालाई विस्थापित गर्ने कार्यलाई तीब्र
पारेपछि मात्र 'लोकतन्त्रात्मक गणतन्त्र' मा पुगिन्छ।”
छलफल क्रममा रवीन्द्रमणिको प्रसङ्ग उठ्यो। प्रचण्ड
र बाबुराम जस्तै प्रभाकरले पनि भने “उनीहरूका आरोप र विद्रोहले पार्टीमा
कुनै प्रभाव पार्ने छैन।” पटकपटक यो दाबी उनले दोहोर्याइरहे। तर,
प्युठानबाट नेतृत्वमा पुगेका साँस्कृतिक फाँटका मणि थापा र राजधानीबाट
नेतृत्वमा पुगेका रवीन्द्रको वहिर्गमन उनीहरूले सोचे जस्तो छैन। किनकि,
रवीन्द्रले माओवादीभित्र धेेरै जना प्रचण्डबाबुराम विरोधी भए पनि अहिले
आफूहरूले मात्र विद्रोह गरेको र उनीहरूले पार्टी भित्रैबाट विद्रोहलाई
मद्दत गर्ने बताएका छन्। यो माओवादीभत्र 'सेवोटेज' अर्थात् 'अन्तर्ध्वंस'को
गम्भीर चरण प्रारम्भ भएको स्पष्ट सङ्केत हो। कतिपय माओवादी कार्यकर्ताले
रवीन्द्र–मणिको विद्रोहलाई राजाले अघिल्लो वर्ष कर्णाली अञ्चलको भ्रमणका
क्रममा खुलासा गरेको माओवादीलाई 'सके फकाउने र नभए फुटाउने रणनीति'को
खुलासाको रूपमा पनि मान्ने गरेका छन्। दरबारको सो रणनीति र माओवादीको
यो कथनले के पुष्टि भएको छ भने २०४६ को जनआन्दोलन र ०४७ को संविधानलाई
धरासायी बनाउन र त्यसको प्रतिशोध लिन सामन्ती शक्तिहरूले माओवादीभित्र
विगतमा प्रभावकारी लगानी गरेका थिए र त्यसैका विश्वासमा '१९ माघ'को
जन्म भएको हो। तर, माओवादीले यसबीचमा गाउँ तहसम्म गरेको सङ्गठन र प्राप्त
गरेको सैनिक क्षमता तथा सिकेको युद्ध कलाका कारण उनीहरूमा शक्ति र
विश्वासको धारा बदलिएको छ। यसर्थ आफ्नो जनयुद्धका नवीन परिणामहरू आउने
कुरामा उनीहरू ढुक्क देखिन्छन्। पुरानो सत्ता विरुद्ध रक्तपात मच्चाए
पनि, सात दलसँगको समझ्दारीलाई व्यवहारमा उतार्न र अन्तर्राष्ट्रिय
समुदाय, खासगरी भारतबेलायत, बाट पुरानो सत्तालाई टाढा पार्दै आफू नयाँ
समझ्दारीमा प्रवेश गर्न माओवादी पक्ष आतुर हुनुको कारण पनि यही हो।
यो कुरा उनीहरू लुकाउन चाहँदैनन्। तर रवीन्द्र–मणि विद्रोहका नकारात्मक
परिणामहरूका सम्भावनाको भय उनीहरूमा तीव्र छ र यसबाट जोगिन सबैको ध्यान
फौजी कारबाही र राजनीतिक परिचालनतर्फ केन्द्रित गर्न उनीहरू जुटेका
छन्। प्रमुख राजमार्ग र शहर–बजारमा तिनले गरेका अनियोजित र परिणामहीन
हिंसात्मक कारबाहीका घटनाले पनि यसको सङ्केत मिल्दछ। गण्डक क्षेत्रका
माओवादीहरूसँगको केही घण्टाको सहबास एवं सहयात्रापछि हामीलाई के पनि
अनुभव भयो भने केही ठाउँमा तुरुन्तै ठूलो फौजी कारबाहीको तयारीमा जुटेका
छन् ताकि रवीन्द्र–मणि विद्रोहका कारण पार्टीभित्र हुनसक्ने अन्तर्ध्वंसको
खतरालाई टार्न सकियोस्। उनीहरूले बुझ्ेका छन् आलोक प्रवृत्ति वा अजय
यादवहरूको विद्रोहभन्दा रवीन्द्र–मणिको विद्रोहको तरङ्ग ज्यादा हुनेछ
र त्यसले भित्रसम्म खलबल पार्नेछ।
निष्कर्ष रक्तपात रोक्ने प्रस्ताव
झ्ण्डै चारघण्टासम्म मैनको मधुरो प्रकाशमा हामीले बहस गर्यौँ। प्रभाकर
विनयी, भद्र र संयम ढङ्गले प्रस्तुत भए। अरू कोही बोलेनन्। उनीहरूका
केही सुरक्षा गार्डहरू त्यहीँ थिए र अरू सबै बाहिर घेराबन्द गरी बसेका
थिए। अन्त्यमा हामीले भन्यौँ 'रक्तपात र विध्वंसले समस्या अन्त्य हुँदैन,
बढाउँछ मात्रै। युद्ध लम्बिए अन्त्यमा विदेशी हस्तक्षेपसम्म हुनसक्छ।
युद्धविराम गरी शान्तिपूर्ण लोकतान्त्रिक जनआन्दोलन मात्रै एक उचित
र सर्वस्वीकार्य बाटो हो। त्यसमा माओवादी पक्ष प्रवेश गर्नै पर्दछ।'
र प्रभाकरले भने “हामी पनि रक्तपात चाहँदैनौँ। तर आन्दोलनलाई प्रभावकारी
बनाउनु अनिवार्य छ, यसनिम्ति निरङ्कुश सत्ताको फौजी शक्ति र अहङ्कारलाई
ध्वस्त नपारी हुँदैन।”
यसपछि हामी छुट्टियौँ। मधुरो बत्तीका बीचबाट उनीहरू
कतै अलप भए। निकै राति भइसकेको थियो। बल्ल–तल्ल रणबहादुरको धुँवै–धुँवा
भएको भान्सामा पाकेको भात र दाल फेला पर्यो। उनी काङ्ग्रेसका सक्रिय
कार्यकर्ता रहेछन्। सोलारबाट निकालिएको मधुरो बत्तीमा उज्याला अनुहारका
पत्नी र छोरीका साथमा बसेका रणबहादुरले भने “जे छ त्यसैलाई स्वीकार
गरेर बसेका छौँ।” खाना खाएपछि अर्को कुनै अँध्यारो गन्तव्यमा बास बस्न
पुग्यौँ। राति १२ बजे आएका पाहुनालाई 'चुइँक्क' केही नभनी उनीहरूले
ढोका खोले, ओढ्ने–ओच्छ्याउने व्यवस्था गरे। आफू केमा सुते थाहा भएन।
असाध्यै चिसो थियो। राति अबेरसम्म ओम र मनऋषिले धेरै कुरा सुनाए। उनीहरूमा
निराशा, पीडा, आशासम्भावना सबै थिए। भोलिपल्ट बिहान कुराकानीमा थाहा
भयो– हामी बसेको गाउँमा एमाले र काङ्ग्रेसहरू मात्रै रहेछन्। नेत्र,
ओम, मनऋषिहरूलाई त्यहीँ छाडेर हामी उकालो लाग्यौँ। भर्खर उदाएका सूर्यका
किरणहरूको पाइला पाल्पा शहरका अनेक भग्नावशेषहरूमा टेकिँदै थिए।
|