| •
ऋतुराज |
 |
ऋतुविचार
लोडसेडिङको लाभ
जहिलेदेखि नेपाल
विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएर पाँच घण्टा पुर्यायो त्यस
दिनदेखि यस अकिञ्चनको घरमा एउटा नौलो पारिवारिक वातावरणको सृजना भएको
छ।
धनाढ्यहरू 'क्यान्डल लीट डिनर' खान पैसा खर्चेर महङ्गा
होटल र रेस्टुराँहरूमा जान्छन्। टेबुलमा मैनबत्ती बालेर खाइने त्यस्तो
'क्यान्डल लीट डिनर' आफ्नो घरमा अब रोजिन्दा हुन्छ। सधैँ छोराछोरी
र श्रीमतीजी समेत साँझ् खाने बेलामा टिभी सेटअगाडि झ्ुत्तिने गर्थे
हातहातमा थाल बोकेर। लोडसेडिङको जय होस्! त्यो चलन हट्यो। अब परिवारका
सबै सदस्यहरूको सहभागितामा 'शान्त रात्रिभोज' सम्पन्न हुने गर्छ। त्यसरी
नै जसरी बिजुलीबत्ती नेपाली भान्सामा पस्नुअघि अगेना वरिपरि बसेर सपरिवार
खाना खाने गर्थे।
बिजुलीले गर्दा नै मानिस मफतमा अबेरसम्म जागा रहने
गर्दा रहेछन्। टिभी नहेरे पनि इन्टरनेट चलाउँदा, इमेल पठाउँदा त्यसै
समय बित्ने। अब बिजुली छैन, त्यो झ्न्झ्ट पनि बेसाइरहनुपरेन। खाना
खायो ओछ्यान पस्यो। 'अर्ली टु बेड, अर्ली टु राइज' भन्ने अङ्ग्रेजी
आहान त अहिले पो जीवनमा चरितार्थ भइरहेछ। छिटो सुतेपछि छिटै निद्रा
खुल्नु स्वाभाविक हो। प्रातकालीन भ्रमणमा अब सबेरै जाने आफ्नो बानी
परेको छ। यसले गर्दा तन्दुरुस्ती बढेको छ र मुहारमा चमक आएको छ।
बिजुलीको बिल तिर्ने बेलामा जहिले पनि श्रीमतीजीको
आँखीभौ तन्किने गर्थ्यो। अब उनको भृकुटीमा त्यस्तो जोड नपर्ने पक्का
छ। राति बिजुली आउँदैन। दिउँसो बिजुली बाल्ने कामै पर्दैन। बिजुलीको
कम खपत, गृहिणीको बचत। बचत हुने कुराले श्रीमतीजीको मुहार पनि अचेल
हँसिलो छ।
यसबाहेक म सोच्छु लोडसेडिङको सुरुआतपछि मुलुकको अर्थतन्त्रमा
सकारात्मक परिवर्तन आएको हुनुपर्छ। आइनसकेको भए पनि अवश्यै आउनेछ।
बिजुलीका कारण ओझ्ेलमा परेका मैनबत्ती, दियो, टुकी, लालटिन र लम्फाको
उत्पादन र उपयोगमा वृद्धि हुनेछ। आखिर ती वस्तु उत्पादन गर्ने पनि
उद्योग नै हुन् र तिनमा लगानी गर्ने पनि उद्यमीहरू नै हुन्। नेपालमा
लालटिनको खपतमा एकाएक भएको वृद्धिबाट छिमेकी बिहारका लालुप्रसादजीलाई
निश्चय पनि विशेष प्रसन्नता हुनेछ उनको चुनाव चिन्हको व्यापकताले गर्दा।
लालटिन मात्र होइन टर्चलाइट, ब्याट्रीको कारोबार पनि
बढ्नेछ र धूलो खाएर स्टोरमा बसेका जेनेरेटरहरूको पनि दिन खुल्नेछ।
आहा, डेनिस राजदूतको निवासमा देखेको लम्फा क्या गजबको थियो महारानी
भिक्टोरियाको युगको जस्तो। लोडसेडिङ नहुँदो हो त त्यस्तो लम्फाको दर्शन
कहाँ गर्न पाइन्थ्यो! आफूलाई एकै थान भए पनि त्यस्तो लम्फा पाए कस्तो
हुन्थ्यो होला भन्ने लागेको थियो।
उसो त चौबीसै घण्टा विद्युत् आपूर्ति हुँदा पनि के नै भएको थियो र!
राजदरबार वरिपरिका सडकहरूमा त बत्ती नदारद हुन्थ्यो। सयमा असी नेपालीको
घरमा बत्ती पुगेको थिएन क्या'रे।
बिजुली नै नहुँदा पनि धेरै युद्ध भएका छन्, धेरै निर्माण
भएका छन्, नयाँ इतिहास लेखिएका छन्, धेरै आविष्कार भएका छन्। केही
फरक पर्दैन हाम्रो जीवनमा लोडसेडिङ बढेर। म त भन्छु यसलाई बढाएर बाह्र
घन्टा पारे पनि केही फरक पर्दैन। बिजुली नहुँदैमा केही बिग्रनेवाला
छैन। के अव्राहम लिङ्कनको बेलामा बिजुली थियो? कि शेक्सपियरको बेलामा
थियो? पृथ्वीनारायणले 'एकीकरण' अभियान थाल्दा बिजुली थियो कि, जङ्गबहादुरले
कोतपर्व मच्चाउँदा बिजुली थियो? के भानुभक्तले रामायण नेपालीमा अनुवाद
गर्दा बिजुली थियो?
मिडियाका पेवा शब्द
नेपाली मिडियाले खूबै
खेलाउने केही पेवा शब्दहरू छन्। 'दर्जन' तिनैमध्ये एउटा शब्द हो। यस
शब्दको मूल जरो त अङ्ग्रेजीको 'डजन' हो। तर नेपालीमा यो आइपुग्दा दर्जन
भएर आयो। 'ड' कसरी 'द' बन्न पुग्यो र 'ज' को शिरमाथि कसरी रेफ थपियो
त्यो कुरा भाषाशास्त्रका घन्टाउके पण्डितहरू नै जानून्। तर दर्जन अब
रत्तिएर पूरै नेपाली बनेको छ। त्यसले बाह्रओटा वस्तुको समूह भन्ने
बुझाउँछ। अर्थात् कुनै वस्तुको बाह्र थान भएपछि त्यो एक दर्जन हुन्छ,
जस्तैः एक दर्जन पेन्सिल। त्यसको मतलब हो बाह्र थान पेन्सिल।
नेपाली मिडियामा दर्जनको प्रयोग यसरी हुने गरेको छ
'एक दर्जन सुरक्षाकर्मी घाइते', 'दुई दर्जन प्रदर्शनकारी गिरफ्तार',
तीन 'दर्जन विद्यार्थीहरूको अपहरण'। याद गर्नोस् त यस्ता कैयौँ समाचार
तपाईंले दिनहुँ पढ्ने, सुन्ने गर्नुभएको छ। अझ् दर्जन अघिल्तिर आधा,
डेढ र अढाई थप्ने पनि चलन छ।
पहिलेपहिले सङ्ख्या जनाउनलाई एकबीसा वा कोरी भन्ने
गर्थे, त्यसैको ठाउँ अहिले दर्जनले लिएको जस्तो छ। तर निर्जीव वस्तुको
सङ्ख्या बोध गराउने शब्दलाई जहाँसुकै चलाउने गरिएको छ।
दर्जनको यस्तो कुरूप प्रयोग कसले शुरु गर्यो कुन्नि!
अचेलभरि त्यसको प्रयोग नगर्दा समाचारै बन्दैन जस्तो छ। बी.बी.सी. लन्डनको
नेपाली सेवा छ यसलाई जुनसुकै बखत चलाउनेमा। बी.बी.सी.ले के फुक्यो
देखासिकी गर्नेहरूका लागि त्यो ब्रह्मवाक्य बन्यो।
बी.बी.सी. नेपाली सेवाले प्रयोग गर्ने भाषासमेत आफ्नै
तालको छ। नेपालका एफ.एम. रेडियो स्टेसनहरूबाट बी.बी.सी. नेपाली सेवाको
प्रसारण एकताका बन्द भएको थियो। त्यो फेरि खुल्दा बी.बी.सी. नेपाली
सेवाले विज्ञापन दियो, 'फेरि सुचारु' भनेर। अहिले पनि त्यो विज्ञापन
पत्रिकामा आइरहेछ। सायद फेरि चालू भयो वा फेरि शुरु भयो भन्न खोजिएको
होला। तर लेखिन्छ 'फेरि सुचारु'। त्यसैको देखादेखी 'कार्यक्रम सुचारु
राख्ने' यहाँ कति छन् कति।
त्यति टाढा लण्डनसम्म 'नेपाली बृहत् शब्दकोश'को ठेली
पुग्न सकेन होला। त्यसैले त्यस सेवाका सञ्चालकहरूले अज्ञानतावश त्यस्तो
गल्ती गर्न पुगे होलान्। तर नेपालमै बसी काम गर्ने 'दर्जनौँ' पत्रकारहरूले
पनि उनीहरूकै सिको किन गर्नुपरेको होला?
|