हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक परिचय

हिमालपारिको रोमाञ्चक यात्रा


किताबः हिमालपारि पुगेपछि
लेखकः प्रतीक ढकाल
प्रकाशकः साझा प्रकाशन, ललितपुर
२०६२ -चौथो संस्करण)
पृष्ठः ११४, मूल्यः रु.१०१

साझा प्रकाशनबाट किताब छापिने लेखक या त एकदमै नाम चलेको, या निकै दरिलो पहुँच भएको हुनुपर्छ भन्ने साविकको धारणा अझै मेटिइसकेको छैन। अनि, चालु पाठ्यपुस्तक, 'गाइड बुक' र 'गेसपेपर'बाहेक अधिकांश किताबहरूले अहिले पनि थप संस्करणको मुख देख्न पाउँदैनन्। तर यी दुवै कीर्तिमान तोडेको छ, प्रतीक ढकालको 'हिमालपारि पुगेपछि' ले। साझा प्रकाशनबाट प्रकाशित उक्त किताबको १० महिनामा चार वटा संस्करण (पछिल्लो संस्करण– २१०० प्रति) बजारमा खपत भइसकेका छन्। उता पश्चिमी मुलुकहरूमा यसैको अङ्ग्रेजी संस्करण 'बियोण्ड द हिमालयज्' पनि लोकप्रिय छ रे। 'डराई–डराई' साझ्ा प्रकाशनमा पाण्डुलिपि बुझाइएको किताबलाई पाठकले यति मन पराएकोमा लेखक आफैँले आश्चर्य मानेका छन्। तर यत्रो सम्भावना बोकेको किताबलाई उही निरस छपाइ, रुपरङ्ग र साजसज्जामा निकालेर साझाले भने त्यति न्याय गर्नसकेको देखिँदैन। रङ्गीन तस्बिरहरूसहित केही ठूलो आकारमा प्रकाशन गरेको भए किताबले अझ्ै राम्रो व्यापार र ख्याति आर्जन गर्न सक्दथ्योभनेर निर्धक्क भन्न सकिन्छ।

ढकालले यो किताब विदेशी पदयात्री समूहको सम्पर्क अधिकृत भएर २०५३ सालमा डोल्पा र २०५७ सालमा मुस्ताङ भ्रमण गरेपछि लेखेका हुन्। यसमा उनका प्रशस्त रोचक अनुभवहरू समेटिएका छन्ः दक्षिणतिर हिमाल देख्दा उनले नेपालको भूगोलमा पढेका 'हिमालहरू उत्तर सिमानामा पर्छन्' भन्ने कुरा गलत साबित भयो। उपल्लो मुस्ताङमा एउटा मात्र घर भएको गाउँ पनि देखियो भने उपल्लो डोल्पामा ५०–६० घर भएको एउटा गाउँ, अनि एक ठाउँमा एकैथलोबाट धेरै गाउँहरू देख्दा रमाइलो मान्नुपर्ने स्थिति पनि आयो। उपल्लो डोल्पामा कसैले मान्छे मार्‍यो भने कानून, प्रहरी–प्रशासन र अदालतले होइन? केही रकम, मासु, रक्सी वा छ्याङ् तिराएर प्रायः समाजले नै फर्छ्याउँदो रहेछ। प्रजिअ पनि आइनपुगेको डोल्पाको याञ्जिर गुम्बामा त्यसबेलासम्म पुग्ने सबैभन्दा ठूलो सरकारी पदाधिकारी ठहर्‍याएर उनलाई निमित्त बनाई लामाहरूले 'राष्ट्रपूजा' गरेछन् राम्ररी पानी परोस्, बालीनाली होस्, नुनको दुःख नहोस्, चरनमा राम्रो घाँस उमि्रयोस्, चौँरीहरू फष्टाउन्, व्यापारमा जाँदा–आउँदा दुर्घटनामा कोही नपरोस्, रोग–व्याध नलागोस्, चारैतिर शान्ति र सबैको कल्याण होस् भन्ने कामना गर्दै।


कागबेनी, मुस्ताङ ।

प्रतीक ढकालको यात्राविवरणमा 'दुर्गम' डोल्पा र मुस्ताङका समृद्ध स्थानीय सौन्दर्य, रहनसहन, जीवनशैली, धर्मसंस्कृति आदिको रोमाञ्चक वर्णन पनि छ। साथै समस्याको सजिव चित्रण र तिनलाई सम्बोधन गर्ने कुरामा केन्द्र तथा जिल्लाका सरकारी संयन्त्रले देखाएका बेवास्तामाथि कठोर प्रहार पनि गरिएको छ। डोल्पाको 'भिजेर' भन्ने एउटा सिङ्गो नेपाली गाउँको अस्तित्वबारे समेत धेरै पछि थाहा पाएका हुन् रे केन्द्र र जिल्ला प्रशासनले– जापानीले हवाइ सर्वेक्षण गर्दा देखेर वृत्तचित्र बनाई प्रसारण गरेपछि। त्योबेला (०५३) सम्म उक्त गाउँका मान्छेहरूले चुनावमा भोट हालेका थिएनन्। 'तपाईँहरू भोट हाल्न जानुहुन्न' भनेर सोद्धा एक बोलैया भाइले जवाफ दिएछन्– “बर्खामा जान्च, हिउँदोमा जादैनँ।” यस्तै यस्तै रोचक प्रसङ्गहरूले किताबलाई लोकप्रिय पार्नमा मद्दत पुर्‍याएका छन्– जुन स्वाभाविक छ।

बद्री पौड्याल


प्राप्त कृति

लोकतन्त्रको बाटो
(१९ माघपछिका प्रमुख राजनीतिक घटनाहरूको विश्लेषण)
लेखक/प्रकाशकः सुवास देवकोटा
काठमाडौँ, २०६२
पृष्ठः ८६, मूल्यः रु.१००
प्रोएक्टिभ पत्रकारिता
(पत्रकारिताका आधारभूत सीप)
लेखकः खेम भण्डारी
सम्पादनः धर्मेन्द्र झा
प्रकाशकः विकास सञ्चार समूह, डोटी, २०६२
पृष्ठः १५८, मूल्यः रु.२५
संविधानसभा
(संविधानसभाको सान्दर्भिक सामग्री र विश्लेषण)
लेखकः केशवराज देवकोटा
प्रकाशकः देवीप्रसाद न्यौपाने सौगात पुस्तक प्रकाशन काठमाड, २०६२
पृष्ठः १३६, मूल्यः रु.१००
रेडियोमा तामाङ भाषा
(तामाङ भाषाका रेडियो कार्यक्रमहरूको नालीबेली)
लेखकः प्रतीक ङेसुर तामाङ
प्रकाशकः सञ्जय ङेसुर तामाङ, २०६२
पृष्ठः ७२, मूल्यः रु.६५

मौरीपालन
(मौरीपालन निर्देशिका)
लेखकः हेमनरसिंह रायमाझी
प्रकाशकः साझा प्रकाशन
दोस्रो संस्करण, २०६२
पृष्ठः ११५, मूल्यः रु.६६

स्वदेश तिमीलाई खोज्दछ
(कविता–सङ्ग्रह)
कविः हरिहर अर्याल
प्रकाशकः दण्डपाणि अर्ज्याल स्मृति प्रतिष्ठान, काठमाडौँ, २०६२
पृष्ठः १३६, मूल्यः रु.१००