हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ संक्षेप

हुलासको बिजुली भ्यान

ध्वनि एवं धुवाँरहित, पेट्रोलियम इन्धन नचाहिने र वातावरण मैत्री– यसैगरी अर्थ्याउन सकिन्छ नेपालमै निर्माण गरिएको बिजुलीबाट चल्ने हुलास मिनी ईभी भ्यानलाई। काठमाडौँ इलेक्ट्रिकल भेइकल एलाइन्स (केभा) को पहलमा एसडीसी र यूएसएआईडीको सहयोगमा विराटनगरस्थित हुलास मोटर्सले एक वर्षको अनुसन्धानपछि यो भ्यान निर्माण गरेको हो। एक हप्ताको परीक्षणपछि गत हप्ता सम्पन्न उद्घाटन समारोहमा केभाका संयोजक विवेक चापागाइँले भने “पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको सन्दर्भमा नेपालले मुलुक भित्रै उत्पादन हुने विद्युतीय उर्जालाई अधिकतम प्रयोग गर्दै जानुको विकल्प छैन।”

बिजुलीबाट चल्ने विद्यमान तीनपाङ्ग्रे सफा टेम्पोको प्रविधिमा थुप्रै सुधारहरू गरेर निर्माण गरिएको चारपाङ्ग्रे हुलास मिनी ईभी अधिकतम ६० किमी प्रति घण्टाको गतिमा गुड्न सक्छ। गाडीमा 'ब्रेक' लगाउँदा खेर जान सक्ने उर्जा पुनः व्याट्रीमै सञ्चय हुन्छ। चापागाइँका अनुसार यो भ्यानलाई 'चार्ज' गर्न 'चार्जिङ स्टेशन'मै लगिराख्नुपर्दैन, बिजुली उपलब्ध हुने जुनसुकै स्थानमा १५ एम्पियरको सकेटमा जोडेर जहाँ पनि चार्ज गर्न मिल्छ। यसका १४ वटा ब्याट्री पूर्णरूपमा चार्ज हुँदा भ्यान ६० देखि ७० किमि गुड्न सक्छ र व्याट्री तीन वर्षसम्म खप्छ भन्ने मान्दा प्रति किमि गुड्न औसतमा रु.३.३० मात्र खर्च लाग्छ। मर्मत सम्भारमा कम खर्च लाग्नु यो गाडीको अर्को विशेषता हो।

हुलास मोटर्ससँग महिनामा ३० वटासम्म मिनी ईभी निर्माण गर्नसक्ने क्षमता रहेको जानकारी दिँदै उक्त कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र गोल्छा भन्छन्, “तत्काल हामी यसै मोटरको बजार प्रबर्द्धनमा केन्द्रित हुन चाहन्छाँै। बजारमा विद्युुतबाट चल्ने अन्य मोडलहरूको माग भएमा त्यसको विकास तथा निर्माणमा पनि ध्यान दिनेछौँ।” हाल यसको मूल्य रु.९ लाख तोकिएको छ। अन्य विद्युतीय गाडीमा झैँ सरकारले यसमा पनि अन्तःशुल्क कम गरिदिएको खण्डमा मूल्य अझ् सस्तो हुनेछ।

विवेक


पोखराका पर्यटन व्यवसायीको माग
'राजनीतिक निकास चाहियो'

बन्द, हड्ताल, अन्यौल र असुरक्षाको स्थितिबाट दिक्क भएका पोखराका पर्यटन व्यवसायीहरू प्रजातन्त्र विना शान्ति स्थापना हुन नसक्ने र शान्तिबिना व्यवसाय सञ्चालन हुन नसक्ने निष्कर्षमा पुगेका छन्। 'शान्तिका लागि पर्यटन व्यवसायी' समाजका संयोजक कालीबहादुर अधिकारी भन्छन्, “राष्ट्र असफल हुन लागिसक्यो न सरकार जिम्मेवार देखिन्छ न त विद्रोही! हामीहरू अब दुवै पक्षलाई दबाब दिएर शान्तिवार्तामा ल्याउने अभियानमा लागेका छौँ।” पर्यटन क्षेत्रलाई शान्ति क्षेत्र घोषित गर्नुपर्ने माग गर्दै यहाँका करीब दुई दर्जन संस्थाहरु ८ चैतदेखि सडकमै उत्रिएका छन्। पोखराको पर्यटन व्यवसायमा निजी क्षेत्रको झ्ण्डै रु.१५ अर्बको लगानी रहेको बताइएको छ।

बेलाबेलामा टेलिफोन लाइन काटिने र हालैको लोडसेडिङले व्यवसाय धरासायी पारेको बताउँदै पर्यटन व्यवसायी हरि गुरुङ भन्छन्, “सरकारले विद्युतको लाइन काट्छ, विद्रोहीले चन्दा माग्छन्, हामी कहाँ जाने?” क्षेत्रीय होटल संघका अध्यक्ष लक्ष्मीबहादुर भट्टराई भन्छन्, “मुलुकमा राजनीतिक समाधान नभएसम्म शान्ति आउँदैन।” उनी थप्छन्, “हामी व्यवसायीहरू पनि शान्तिका लागि लोकतन्त्रको आन्दोलनमा अब पछि पर्दैनौँ।”

पोखरामा आउने पर्यटकको सङ्ख्या दैनिक रूपमा घट्दो छ, औसतमा ३ दिनको बसाइँ १.५ दिनमा झ्रेको छ। व्यवसायी हरि गुरुङ भन्छन्, “फागुनदेखि पोखरामै रहँदै आएका राजालाई पर्यटन क्षेत्रको यस्तो दुरवस्था अवगत हुँदा पनि केही राहत मिलेको छैन।” पर्यटन उद्योगलाई रुग्ण घोषणा गरी सरकारले सहुलियत दिनुपर्ने व्यवसायीहरूको माग छ। ९ चैतमा पोखरा पुगेकी पर्यटन राज्यमन्त्री याङ्किला शेर्पालाई व्यवसायीहरूले सरकारले राहत नदिए १ वैशाख २०६३ बाट होटलहरू बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका थिए। पर्यटन बोर्डका पूर्व सदस्य विश्वशङ्कर पालिखे भन्छन्, “सबै बन्द गर्छौँ र आन्दोलनमै लाग्छौँ, राजनीतिक निकास भएपछि व्यवसाय चलाउँला।”

रमेश पौडेल, पोखरा



भोटेकोशी नेपालीको स्वामित्वमा

भोटेकोशी जलविद्युत् आयोजनाका शुरुका लगानीकर्ता तथा प्रवर्द्धक दुई अमेरिकी कं. ले आफ्नो शेयर नेपालको हिमाल इन्टरनेशनल इनर्जी प्रा.लि. (एचईई) नामक कम्पनीलाई बिक्री गरेका छन्। एचईई पहिले सोल्टी होटल सञ्चालनमा संलग्न प्रभाकर/सिद्धार्थ शमशेर राणाद्वारा प्रवर्द्धित कम्पनी हो। भोटेकोशीमा एचईईको पहिले १० प्रतिशत शेयर थियो भने अब ८५ प्रतिशत पुगेको छ। यही ११ चैतमा सम्पन्न यो व्यापारिक कारोबार २ करोड २० लाख डलर बराबरको रहेको बुझ्िएको छ। शेयर खरीदकर्ता कम्पनी एचईईलाई स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्कले आवश्यक कर्जा उपलब्ध गराएको छ।

झ्ण्डै १० करोड लागत बताइएको ३६ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत् आयोजना प्रत्यक्ष विदेशी लगानीमा बनेको खिम्ती पछिको दोस्रो प्रमुख आयोजना हो। यसमा अन्तर्राष्ट्रिय वित्त कम्पनी (विश्व ब्याङ्क समूह) को अद्यपि १० प्रतिशत शेयर छ। बहुमत शेयर खरीद गरेपछि सिद्धार्थ राणा भोटेकोशी पावर कम्पनीको अध्यक्ष बनेका छन् भने चार्टर्ड एकाउण्टेन्ट सुजीव शाक्यलाई कम्पनीको प्रेसिडेण्ट नियुक्त गरिएको छ। कम्पनीको महाप्रबन्धकमा डा. सन्दिप शाह नै कायम रहेका छन्।


अर्थ बजार

६ महिनामा ५ हजार ग्राहक

एभरेष्ट ब्याङ्कको चाबहिल शाखाले 'खाता हजारमा, छुट्टी ब्याङ्ककमा' भन्ने नारासहितको विशेष योजना सञ्चालन गरेर ६ महिनामा ५ हजार नयाँ ग्राहक आकर्षित गरेको छ। न्यूनतम रु.१ हजारमा खाता खोल्न मिल्ने उक्त योजना अन्तर्गत खातावालालाई निःशुल्क एटीएम कार्डसँगै दुईजनाले चार दिन ब्याङ्कक भ्रमण गर्न पाउने चिठ्ठा राखिएको थियो।


चौधरीको अर्को चुरोट

चौधरी ग्रुप अन्तर्गतको पर्फेक्ट ब्लेण्डस् (नेपाल) प्रा.लि.ले प्राइड लक्जरी किङ्गस् चुरोट राजधानीको बजारमा बिक्रीवितरण शुरु गरेको छ। २४ मिमि लामो फिल्टर रहेको प्राइड मा उत्कृष्ट भर्जिनिया सुर्तीको प्रयोग गरिएको दाबी कम्पनीको छ। सुनौलो रङको 'हिन्ज लिड' प्याकमा उपलब्ध यस चुरोटको उपभोक्ता मूल्य प्रति २० खिल्ली प्याकेटको रु.३३ तोकिएको छ।


नयाँ 'स्क्र्याच' योजना

एशियन थाई फुड्सद्वारा उत्पादित मामा चिकेन क्राकरस्ले 'रन फर रनस्' नामक नयाँ उपहार योजना बजारमा ल्याएको छ। नेपाली युवाबीच क्रिकेट खेल लोकप्रिय हुँदै गइरहेको तथ्यलाई ध्यानमा राखेर नयाँ स्क्र्याच कुपन योजना ल्याइएको कम्पनीले बताएको छ। प्याकेटमा प्राप्त हुने कुपनलाई ६ ठाउँमा स्क्र्याच गरेर देखिएको अङ्क जोड्दै बढीमा ३६ सम्म पुर्‍याउँदा 'एमपीथ्री प्लेयर' उपहार प्राप्त गर्न सकिने छ। यस बाहेक उपहारमा बाल स्कुटर, भिडियो गेम, एफएम रेडियो, मामा चिकेन क्राकर, मामा चिजबल्स लगायत रु.२ र रु.१ पनि उपहारमा राखिएको जानकारी कम्पनीले दिएको छ।


बाणिज्य ब्याङ्कको मोर्टेज लोन

घर, शिक्षा, गाडी जस्ता उपभोक्ता–कर्जामा छोटो अवधिमै प्राप्त सफलताबाट उत्साहित राष्ट्रिय बाणिज्य ब्याङ्कले अचल सम्पत्ति सुरक्षणमा जाने नयाँ कर्जा योजना 'मोर्टेज लोन' सार्वजनिक गरेको छ। व्यक्तिगत र व्यापारिक तथा आवास र व्यापारिक भवन निर्माण गरी दुई प्रयोजनका लागि कर्जा प्रवाह हुने उक्त योजनाअन्तर्गत ५ देखि १० वर्षका लागि रु.५० लाखदेखि रु.५ करोडसम्म ऋण सीमा तोकिएको छ। हाल काठमाडौँमा मात्र उपलब्ध यो कर्जा सेवा ग्राहकको मागअनुसार विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल र नेपालगञ्ज जस्ता प्रमुख शहरमा पनि विस्तार गर्न सकिने जानकारी ब्याङ्कले दिएको छ।