हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण

हिमाल मत सर्वेक्षण–२०६२ को परिणाम
यसरी गरियो सर्वेक्षण

सर्वेक्षणमा समेटिएका ३७ जिल्लाहरू
  हिमाली जिल्ला   पहाडी जिल्ला   तराई जिल्ला

हिमाल खबरपत्रिका ले देशको समसामयिक राजनीतिक, संवैधानिक, प्रशासनिक, सुरक्षा, सामाजिक र आर्थिक विषयसँग सम्बद्ध सवालहरूबारे आम नेपालीको पछिल्लो धारणा र प्राथमिकता पहिल्याएर पाठकसामु प्रस्तुत गर्नका निम्ति गरेको यो पाँचौँ मत सर्वेक्षण हो। यसअघि २०५५, २०५७, २०५९, २०६१ मा यस किसिमका सर्वेक्षणहरू गरिएका थिए। (हे. हिमालका आवरणहरू) यस पटकको सर्वेक्षणमा भूगोल र जनसङ्ख्या समेतका आधारमा गरिने वर्गीकरण 'स्ट्राटिफाइड र्‍याण्डम स्याम्पलिङ' विधि अपनाइएको छ। यस अनुसार देशलाई तीन भौगोलिक क्षेत्र (हिमाल, पहाड र तराई) र पाँच विकास क्षेत्रको सम्मिश्रण सहितको १५ वटा 'इकोलोजिकल डेभलपमेन्ट रिजन' (इडिआर) मा छुट्याएर ५,०३३ जना उत्तरदाताहरूको मत सङ्कलन गर्ने काम गरिएको छ। कुन ठाउँ/गाउँमा कति जनालाई प्रश्न सोध्ने भन्ने कुरा अर्थात् 'स्याम्पल साइज' को निर्धारण जनसङ्ख्याको आधारमा तय गरिएको छ। २०५५ सालमा गरेको राष्ट्रव्यापी सर्वेक्षणमा पनि यही विधि अनुसरण गरिएको थियो। अनुसन्धान संस्थाहरूको राष्ट्रव्यापी सर्वेक्षणमा अपनाउने यस विधिबाट प्राप्त हुने सर्वेक्षण परिणाम प्रतिनिधिमूलक हुने विश्वास गरिन्छ।


२०५५

२०५७

२०५८

२०६१

न्यून जनसङ्ख्या तथा आवागमनको कठिनाई भएका कारण हिमाली क्षेत्रलाई तीन इडिआरहरूमा समेटियो। र, छोटो समयमा नै सर्वेक्षण सम्पन्न होस् भन्नका लागि 'उद्देश्यमूलक' ढङ्गबाटै तुलनात्मक रूपमा आवागमन सहज भएका हिमाली क्षेत्रहरूलाई त्यस्तो इडिआरहरूमा सामेल गरियो।

देशको कुल जनसङ्ख्या र हरेक इडिआरको जनसङ्ख्या बीचको अनुपातअनुरुप ५,०३३ सर्वेक्षण नमूनाहरूलाई इडिआर पिच्छे भागवण्डा लगाइएको थियो। त्यसपछि त्यस इडिआरभित्र रहेका सम्पूर्ण जिल्लाहरूलाई क्रमबद्ध गरियो। जिल्लाको छनौट गर्दा, त्यहाँको जनसङ्ख्या, आवागमनको सुविधा आदि पक्षहरूलाई ध्यान दिइएको छ।

कुल ५,०३३ सर्वेक्षण नमूनामध्ये शहरी क्षेत्रमा ३५ र ग्रामीण क्षेत्र ६५ प्रतिशत हिस्सा रहेको थियो। लिङ्ग अनुसार पुरुष ६० र महिला ४० प्रतिशत उत्तरदाताहरू छन्। हुन त यस प्रकारका सर्वेक्षणमा महिला र पुरुष उत्तरदाताहरू बराबर सङ्कलन गर्ने गरिन्छ। तर सर्वेक्षणमा धेरैजसो विषयहरू राजनीतिसँग सम्बन्धित भएको र त्यस्ता मामिलामा महिलाहरू भन्दा पुरुषहरूको रुचि र भूमिका निर्णायक हुने हाम्रो समाजको धरातलीय यथार्थलाई ध्यानमा राखी, सर्वेक्षणको परिणाम यथार्थको बढी नजिक रहोस् भन्ने हेतुले महिला भन्दा केही प्रतिशत बढी पुरुष उत्तरदाताहरूको नमूना सङ्कलन गरिएको हो। यसका साथै नमूना सङ्कलनमा १८ देखि ३०, ३१ देखि ५० र ५१ भन्दा माथि गरी तीन उमेर समूहमा विभाजन गरिएको छ।

सर्वेक्षणमा अनुभवी र नयाँ अनुहार गरी जम्मा ५० जना गणकहरू संलग्न थिए। सर्वेक्षण टोलीलाई सर्वेक्षण विधि, प्रश्नहरूको उद्देश्य एवं सर्वेक्षणका क्रममा उत्तरदाताहरूसँग सम्बन्ध विकास गर्नेलगायतका विषयहरूमा 'ओरियण्टेशन' (अभिमुखीकरण) गराइएको थियो। यसका साथै, सर्वेक्षण प्रश्नावलीको पूर्व जाँच (प्रि–टेष्ट) कार्य पनि सम्पन्न गर्ने काम भएको थियो। पूर्व जाँचमा धेरैभन्दा धेरै प्रश्नहरू भर्नेभन्दा पनि उत्तरदाताहरूले प्रश्नावलीमा प्रयुक्त शब्द, आशय र प्रश्नहरूको क्रमबद्धतालाई सजिलै बुझन सक्छन् वा सक्दैनन् भन्ने परीक्षण गरिएको थियो। पूर्व जाँचबाट प्राप्त नतिजाहरूमा बृहत् छलफलपश्चात् प्रश्नावलीलाई परिस्कृत गर्ने कार्य गरिएको थियो। प्रश्नपत्रमा कुल ३३ प्रश्नहरू समावेश थिए। यी प्रश्नहरू 'ए–४' कागजको अगाडि/पछाडि अट्ने गरी डिजाइन गरिएका थिए।

कतिपय प्रश्नहरू देशको विद्यमान परिस्थितिमा 'संवेदनशील' र 'अग्राह्य' ठहरिने किसिमका पनि थिए (जस्तैः राजतन्त्रको भविष्य, माओवादी, सुरक्षाकर्मीको व्यवहार आदि)। यस प्रकारका प्रश्नहरूको जवाफ उत्तरदाताले निर्धक्कसँग दिन कठिन हुन्छ भनेर स्वाभाविक अनुमान गरिएको थियो। गणकहरूलाई उत्तरदाताहरूसँग सकेसम्म राम्रो सम्बन्ध विकास गर्न र त्यस प्रकारका प्रश्नहरूको जवाफ खोज्न उत्प्रेरित गर्न पनि भनिएको थियो। यो उत्प्रेरणाको क्रममा उत्तरदाताहरूले उदाहरण प्रयोग गरेर जवाफ दिने र आशय मिल्ने जवाफहरूमा चिह्न लगाइएको छ। जस्तैः नेपालगञ्जमा सर्वेक्षणको क्रममा एक प्रतिष्ठित व्यापारी र उनको परिवारको हत्या भएको थियो। देशको अवस्था कस्तो छ भन्ने प्रश्नमा उत्तरदाताहरूको जवाफ थियोः कर्फ्यू लागेको समयमा मानिसको ज्यानको सुरक्षा हुँदैन भने तपाईं आफैँ भन्नुहोस् देशको अहिलेको अवस्था कस्तो छ? यस्ता जवाफलाई गणकहरूले कहाली लाग्दो/अन्यौलपूर्ण जवाफको रूपमा लिए।
यो सर्वेक्षणले २२ फागुनदेखि ४ चैत २०६२ बीचको समयावधिको जनमतलाई समेटेको छ।

सर्वेक्षकहरूबाट प्राप्त प्रश्नावली कोडिङ्ग गरिएअनुरुप 'एस्क्युअल सर्वर' मा तयार पारिएको प्रोग्राममार्फत् कम्प्युटरमा प्रविष्ट गराई विश्लेषण गरिएको हो। प्रश्नावलीमा रहेका ३० वटै प्रश्नहरूको सीधा परिणाम तालिकामा तयार पारिएको छ। तात्कालिक समाचार प्रयोजनको निम्ति केही जोडी प्रश्नहरूको 'क्रस–टेबुलेसन' पनि निकालिएको छ। प्रश्न नं.२८ देखि ३२ सम्मका प्रेस र सञ्चारमाध्यम सम्बन्धी प्रश्नहरूको परिणाम अलग्गै विश्लेषण गरिएको हुँदा, यहाँ समेटिएको छैन।

सर्वेक्षणको योजना, प्रश्नपत्रको विकास, गणकहरूको तालिम, प्रश्नपत्रको पूर्व जाँच तथा अन्य प्राविधिक कार्यहरूमा राजनीतिशास्त्री हरि शर्मा, सर्वेक्षणविद् नविन सुवेदी, हिरण्य बराल र कम्प्युटर विज्ञ प्रवीण सुवेदी संलग्न थिए। यो सर्वेक्षणको विस्तृत र पूर्ण रिपोर्ट हिमाल मिडिया प्रालिबाट प्राप्त गर्न सकिन्छ।

राजेन्द्र दाहाल