आवरण
युवा चाहन्छन् उद्यम–व्यवसाय, पाकाको रोजाइ घर–घडेरी
जहीँ तहीँ सुनिए जस्तो सबै खत्तम छ, बर्बाद
छ, डुबेको छ भन्ने देखाएन सर्वेक्षणले। खासगरी युवाहरूले अझै आशा मारिसकेका
छैनन्।
•
नविन सुवेदी

तस्विरहरु: किरण पाण्डे |
पछिल्लो समयमा
शहर बजार, गाउँ–घर, टोल–चोक जहीँ पनि सुन्ने गरिएका शब्दावली हुन्,
सबै खत्तम छ, बर्बाद छ, डुबेको छ। निराशा र हतासा मिश्रित यी शब्दावलीहरूका
बीचमा आशा र भरोसाका शब्दहरू कमै सुनिन्छन्। व्यवसायी, जागिरे, विद्यार्थी,
गृहिणी, किसान, मजदुरलगायतका सबै पेशाकर्मीहरूले आ–आफ्नो पेशा व्यवसायदेखि
देशको अवस्थासम्मको प्रसङ्गमा यस्तै शब्दावलीहरूको प्रयोग गरिरहेका
छन्। के साँच्चिकै सम्पूर्ण नेपाल यही सोच्छ त? यो सर्वेक्षणमा हामीले
यो विषयलाई प्रश्नबद्ध गरेर उत्तरदाताहरूको धारणा जान्ने प्रयास गरेका
थियौँ।
सर्वेक्षणकर्तालाई उत्तरदातासँग कुरा शुरु गर्न सजिलो
होस् भनी पहिलो प्रश्न 'अहिले गरिरहेको काम/व्यवसायबाट तपाईँ सन्तुष्ट
हुनुहुन्छ?' भन्ने राखिएको थियो। प्रश्न तयार पार्दा हामीले के अनुमान
गरेका थियौँ भने अहिलेको स्थितिमा बहुसङ्ख्यक उत्तरदाताले असन्तुष्टि
नै व्यक्त गर्नेछन्। तर, भयो उल्टो। ५४ प्रतिशत उत्तरदाताले आफू आफ्नो
तत्कालको पेशा/व्यवसायप्रति सन्तुष्ट रहेको जवाफ दिए। 'ठिक्कै' र 'असन्तुष्ट'
रहनेहरूको सङ्ख्या क्रमशः १४.४ र ३०.५ प्रतिशत थियो। रोल्पाको गाउँमा
खटिएका हाम्रा एक सर्वेक्षणकर्तालाई 'सन्तुष्ट छु' भन्ने जवाफले मात्र
सन्तुष्ट पार्न सकेन। उनले कोट्याए– कसरी र किन सन्तुष्ट? “आफूले गर्न
सक्ने अरू कुनै पनि विकल्प उपलब्ध नभएकाले जे छ त्यसमै सन्तुष्ट नभए
के गर्ने?” भन्ने प्रतिप्रश्न नै हाम्रा सर्वेयरका निम्ति चित्तबुझदो
जवाफ बन्यो।
उमेरका हिसाबले विश्लेषण गर्दा, १८–३० उमेर समूहका उत्तरदाताहरू
आफ्नो व्यवसायमा बढी सन्तुष्ट पाइए। यो उमेर समूहका ५८.३ प्रतिशतले
आफ्नो व्यवसायमा सन्तुष्ट रहेको बताएका थिए। आम विश्लेषणमा यो उमेर
समूहलाई बढी अस्थिर (रेस्टलेस्) र बढी असन्तुष्टको रूपमा हेरिन्छ।
तर यसपटकको सर्वेक्षणले भने यो मान्यतालाई चुनौती दिने परिणाम दिएको
छ217 युवाहरू सन्तुष्ट छन्। ३१ देखि ५० वर्ष र ५१ वर्ष र सो भन्दा
माथिको उमेर समूहमा चाहिँ सन्तुष्टहरूको सङ्ख्या क्रमशः ५१.२ र ५३.२
प्रतिशत थियो। सर्वेक्षणबाट प्राप्त परिणामको अर्को रोचक पक्ष पुरुषको
दाँजोमा महिलाहरू आफ्नो व्यवसायबाट बढी सन्तुष्ट देखिनु थियो। मनोवैज्ञानिक
विश्लेषणहरूमा पनि पुरुषको तुलनामा महिलाहरू कम तनाव अनुभव गर्छन्
र स–साना कामहरूबाट पनि बढी सन्तुष्टि महसूस गर्छन् भन्ने मान्यता
पाइन्छ।
गएको
एक वर्षमा तपाईँको आर्थिक स्थिति...?
थाहा छैन/भन्न चाहन्न ०.६%
सुधि्रएको छ ११.५%
बिग्रिँदै गएको छ ३४.७७%
अन्य ०.०६%
ठीकै, उस्तै छ ५३.०७% |
उत्तरदाताको शैक्षिक स्तर र सन्तुष्टिबीचको सम्बन्ध
पनि उत्तिकै रोचक छ। सर्वेक्षणले शिक्षाको स्तर बढ्दै जाँदा सन्तुष्टिको
स्तर घट्दै गएको देखाएको छ। ५४.६ प्रतिशत सन्तुष्ट उत्तरदाताहरू निरक्षर
छन् भने साक्षर, प्राथमिक तह, माध्यमिक तह र प्रवीणता प्रमाणपत्र तहको
शैक्षिक योग्यता हासिल गर्ने सन्तुष्टहरूको सङ्ख्या ५३ प्रतिशत छ।
त्यस्तै स्नातक वा सोभन्दा माथिको शैक्षिक योग्यता रहेकाहरूमध्ये ४६.४
प्रतिशत मात्रै आफ्नो व्यवसायप्रति सन्तुष्ट देखिए।
आफ्नो व्यवसायबाट असन्तुष्ट रहेकाहरूलाई हामीले त्यसको
कारण खोल्न आग्रह गरेका थियौँ। अधिकांश (३९.४ प्रतिशत) ले आम्दानीले
खर्च धान्न नसकेकोलाई असन्तुष्टिको कारण बताएका थिए भने २५.६ प्रतिशतले
देशको अवस्था नै ठीक नभएको। त्यस्तै १६.२ प्रतिशतले काम गर्ने वातावरण
नहुनुलाई असन्तुष्टिको कारण जनाए। सबै उमेर समूहका उत्तरदाताहरूको
असन्तुष्टिको प्रमुख कारण आम्दानीले खर्च धान्न नसक्नु देखियो। ३१–५०
वर्ष उमेर समूहका उत्तरदाताहरूमध्ये चाहिँ बढीले देशको वर्तमान अवस्थालाई
असन्तुष्टिको प्रमुख कारक ठहर्याए। महिला हुन् वा पुरुष दुवै समूहका
उत्तरदाताहरू आक्रान्त छन्: घट्दो आम्दानी र आकाशिँदो महँगीबाट। यी
दुवै समूहका करीब ११ प्रतिशतले यस्तो विचार व्यक्त गरेका छन्।
आम्दानीले खर्च धान्न नसक्ने पीर निम्न शैक्षिक योग्यता
भएकालाई भन्दा उच्च शिक्षा हासिल गर्नेहरूलाई कम छ। यस्तो पिरलो व्यक्त
गर्ने निरक्षरहरूको सङ्ख्या १७.८ प्रतिशत छ भने स्नातक वा सोभन्दा
माथिको शैक्षिक योग्यता रहेकाहरूमा २.४ प्रतिशत मात्रै। शैक्षिक योग्यता
भएकाहरूमध्ये बढी (९.९ प्रतिशत) को असन्तुष्टिको प्रमुख कारण चाहिँ
योग्यता अनुसार काम नभएको भन्ने छ।
तपाईँले
चाहे जति पूँजी भएमा के गर्नुहुन्छ?
घर/घडेरीमा लगानी गर्छु २६.८%
उद्योग/व्यवसाय शुरु गर्छु ४८.३८%
ब्याङ्कमा राख्छु ८.६%
सुन, गरगहना किन्छु २.६६%
अन्य ११%
थाहा छैन/भन्न चाहन्न २.५६% |
'गएको एक वर्षमा तपाईँको आर्थिक अवस्था कस्तो रह्यो?'
भन्ने प्रश्नमा बहुसङ्ख्यक उत्तरदाताहरू (५३.१ प्रतिशत) ले पहिलेको
जस्तै रहेको बताए। आर्थिक अवस्था बिग्रँदै गएको भन्नेहरूको सङ्ख्या
३४.८ प्रतिशत थियो भने सुधि्रएको बताउनेहरू ११.५ प्रतिशत थिए। तर १८–३०
वर्ष उमेर समूहमा चाहिँ अरूमा भन्दा बढी १५.५ प्रतिशत उत्तरदाताहरूले
आफ्नो आर्थिक अवस्था सुधि्रएको बताएका थिए। त्यस्तै पारिवारिक बोझ्,
बढ्दो महँगी र घट्दो आम्दानीको दुश्चक्रले ३१ देखि ५० वर्ष र ५१ वर्षदेखि
माथिका उत्तरदाताहरू बढी आक्रान्त भेटिए। यी उमेर समूहका क्रमशः ३६.४
प्रतिशत र ३९.९ प्रतिशत उत्तरदाताहरू आफ्नो आम्दानी घटेको बताउँछन्।
सर्वेक्षणका क्रममा हामीले एउटा काल्पनिक प्रश्न पनि
गरेका थियौँ– 'तपाईँले सोचेको जति पूँजी पाउनुभयो भने के गर्नुहुन्छ?'
हाम्रो उद्देश्य मानिसहरूले पैसा पाए भने केमा र कसरी खर्च गर्ने रहेछन्
भन्ने जान्नुथियो। यसबाट पूँजी व्यवस्थापनको सामान्य 'ट्रेण्ड' थाहा
हुनसक्छ। अधिकांश उत्तरदाताहरू (४८.४ प्रतिशत) ले आवश्यक पूँजी भएमा
स–साना उद्योग/व्यवसाय सञ्चालन गर्ने बताए। त्यसपछिको आकर्षण घर/घडेरीमा
रह्यो। पैसा पाएको खण्डमा २६.८ प्रतिशतले घर/घडेरीमा लगानी गर्ने बताए।
गिर्दो व्याजदरका कारण ०.६ प्रतिशत उत्तरदाताहरूले मात्र त्यो पैसा
ब्याङ्कमा राख्ने वा बचत गर्ने बताएका थिए भने ५.६ प्रतिशत चाहिँ उच्च
शिक्षा हासिल गर्न खर्च गर्ने पक्षमा थिए।
उपत्यका र शहरी क्षेत्रका अधिकांश बासिन्दाहरू सँगसँगै
तराईवासीहरू पनि आफूले पाएको पैसा घर/घडेरीमा लगानी गर्न चाहन्छन्।
यसको विपरीत पहाडी र हिमाली क्षेत्रका उत्तरदाताहरू चाहिँ स–साना व्यवसायमा
खर्च गर्न चाहन्छन्। तर अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि
क्षेत्रमा लगानी गर्न चाहने उत्तरदाताहरूको झ्ुकाव ज्यादै न्यून छ।
घट्दो कृषि आम्दानी, बढ्दो उत्पादन लागत र भारतीय कृषि उत्पादनहरूको
निर्वाध प्रवेशले यो उदासीनतालाई बढी मलजल गरेको छ। कृषिमा लगानी गर्न
चाहने सानो हिस्सा राजधानी उपत्यका र प्रमुख व्यापारिक क्षेत्रहरूसँग
जोडिएका ग्रामीण क्षेत्रमा मात्र देखियो।
अहिले
गरिरहेको काम/व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ?
ठीकै १४.४%
छैन ३०.५%
थाहा छैन/भन्न चाहन्न १.३%
छु ५३.८% |
युवाहरूको रोजाइ स्पष्ट रूपले उद्योग/व्यवसायमा लगानी
गर्ने देखिन्छ। १८–३० वर्ष उमेर समूहका उत्तरदाताहरूमध्ये, ५३.१ प्रतिशतले
उद्योग व्यवसायमा लगानी गर्ने बताए भने पाको उमेर समूह अर्थात् ५०
वर्षभन्दा माथिकाले तुलनात्मक रूपमा जोखिम कम रहेको घर/घडेरी, सुन/चाँदी,
बचततर्फ झुकाव देखाएका थिए। पाकाहरूमध्ये ३८ प्रतिशतले मात्रै उद्योग–व्यवसायमा
लगानी गर्ने बताए।
अर्को मह140वपूर्ण पक्ष, तन्नेरी पुस्ता कृषि क्षेत्रबाट
पलायन हुन चाहेको देखियो। उनीहरूमध्ये १.३ प्रतिशतले मात्र कृषि उद्यममा
लगानी गर्ने बताएका थिए। अधबैंसे र पाकाहरूमध्ये भने २.१ र ३.५ प्रतिशतले
खेतीप्रति झ्ुकाव देखाए। यसले गाउँमा केन्द्रित कृषि मुख्यतयाः अधबैँसे
र पाकाहरूको जिम्मामा पुगेको देखाएको छ। अर्कोतर्फ, स–साना उद्योग
व्यवसायतर्फ लगानी गर्ने युवाहरूको आकर्षणले मुलुकको औद्योगिकीकरणका
लागि आवश्यक सहायक उद्योगहरूको विस्तार हुने सम्भावनालाई पनि फराकिलो
बनाएको छ। यसबाट मध्यम वर्गको विकाससँगै पूँजीको निर्माण र देशको अर्थतन्त्रको
विस्तारमा महत्ववपूर्ण भूमिका निर्वाह हुने स्पष्ट छ।
सन्तुष्ट
हुनुको कारण...?
कामअनुसारको तलब छैन ७.७%
कामको वातावरण छैन १६.२%
देशको अवस्था ठीक छैन २५.४%
योग्यता अनुसारको काम छैन ६.६%
आम्दानीले खर्च धान्न पुग्दैन ३९.३६%
अन्य ३.६%
थाहा छैन/भन्न चाहन्न १.१% |
तर यस सँगसँगै सर्वेक्षणका नतिजाहरूले इङ्गित गरेको
डरलाग्दो पक्ष धनी बन्न नपाउँदै सक्रिय आर्थिक जीवनबाट अवकाश पाइने
हो कि भन्ने मानिसहरूमा विद्यमान चिन्ता देखिन्छ। आर्थिक अवस्था बिग्रँदै
जाँदा र सञ्चित रकमको अवमूल्यन हुँदा, विशेषगरी पाका र अधबैँसे उमेर
समूहका मानिसहरूले यो डर पालेका छन्। तिनको डर आगामी १०–१५ वर्ष भित्रै
सक्रिय आर्थिक जीवनबाट अवकाश पाएपछि आफ्नो अवस्था कस्तो होला भन्ने
थियो। उनीहरूलाई बचतबाट प्राप्त हुने वर्तमान न्यून व्याजदर तथा घट्दो
आम्दानीले बढ्दो महँगीले बढाएको तिनको खर्च धान्न सक्दैन भन्ने लाग्न
थालिसकेको छ। उनीहरू वृद्धावस्थाका लागि अत्यावश्यक औषधोपचार र अन्य
सेवाहरूमा आफ्नो पहुँच कम हुने हो कि भन्ने पिरलोमा छन्।
|