तन्नेरीका कुरा
'हामी पनि कम छैनौं'
सन् १९११ मा पहिलो 'अन्तर्राष्ट्रिय नारी दिवस'
मनाइँदा 'महिलालाई मताधिकार'को नारा प्राथमिकतामा थियो भने अहिले समग्र
नीति–निर्माण र कार्यान्वयनमा महिलाहरूको पहुँच एवं सहभागिताका कुरा
उठ्ने गरेका छन्। नारी सशक्तिकरणका विविध आवाज उठाउँदै यस पटक पनि
नेपालमा नारी दिवस मनाइयो। पुरुषप्रधान मानिने नेपाली समाजमा नारीहरूले
आफ्नो क्षमतालाई पूर्ण रूपमा देखाउन समान अवसर अझ्ै उपभोग गर्न पाएका
छैनन्। शिक्षा, सामाजिक चेतना, साधनस्रोतमा पहुँच, निर्णय प्रक्रियामा
सहभागिता लगायत धेरै क्षेत्रमा महिलाहरूलाई समान अवसर उपलब्ध हुन अझै
काम गर्न बाँकी छ। यस्तै असमान वातावरणमा पनि युवा अवस्थामै आफ्नो
विशेष पहिचान बनाएका र अरूका लागि प्रेरणा बन्न सफल नारीहरू पनि छन्,
जसमध्ये केहीको सफलताका प्रसङ्गहरू यहाँ प्रस्तुत छन्:
•
शैली बस्नेत
आँखा देख्नेहरूलाई पनि उछिन्दै
दृष्टिविहीन भएर पनि दृष्टिवानहरूसँगको खुला प्रतिस्पर्धामा
आफ्नो स्थान बनाइरहेकी छन्, निर्मला
ज्ञवाली। गुल्मीमा जन्मिएकी निर्मलाले कीर्तिपुरको
ल्याबोरेटोरी विद्यालयबाट एसएलसी र क्याम्पियन एकेडेमीबाट प्लस टु
प्रथम श्रेणीमा उत्तीर्ण गरिन्। १८४ जना दृष्टिवानहरूसँगको प्रतिस्पर्धामा
उत्कृष्ट १० मा छानिएर हाल उनी संयुक्त राज्य अमेरिकामा अध्ययन गरिरहेकी
छन्। फुलब्राइट अन्डरग्राजुयट छात्रवृत्तिका लागि भएको उक्त प्रतिस्पर्धामा
उनी एक्ली महिला र एक मात्र दृष्टिविहीन थिइन्।
फुलब्राइट छात्रवृत्तिजस्तो कठिन प्रतिस्पर्धामा सफल
हुनु आफ्नो ठाउँमा छँदैछ। यसअघि पनि उनले प्याराओलम्पिक खेल र रेडियो
कार्यक्रम निर्माणजस्ता क्षेत्रमा प्रथम दृष्टिविहीन महिला भएर आफ्नो
अलग्गै चिनारी बनाइसकेकी हुन्। रेडियो सगरमाथामा उनले दुईवर्ष 'समानताका
स्वरहरू' नामक साप्ताहिक कार्यक्रम चलाएकी थिइन्। स्कुले जीवनमा क्याप्टेन,
क्याम्पियन कलेजकी 'मिस क्याम्पियन', वक्तृत्वकला र 'र्याडिसन यङ
अचिभर' पुरस्कारजस्ता अरु अनेकन सफलतामा पनि उनको नाम जोडिएको छ। दृष्टिविहीनहरूको
उत्थानका साथै देश र जनताको लागि पनि केही गर्ने अभिलाषा बोकेकी निर्मलाको
पढाइ सकेर नेपाल नै फर्कने योजना छ।
आँट भए जे पनि गर्न सकिन्छ

मीन बज्राचार्य |
सरिना गुरुङ
नेपालकी एकमात्र महिला हेलिकप्टर पाइलट हुन्। सोलुखुम्बुमा जन्मिएकी
सरिना शुरुका दिनहरूमा अग्ला हिमाल देखेर रोमाञ्चित हुन्थिन्। दिनमा
औसत पाँच घण्टा धरतीमाथि रहने सरिनाले युक्रेनमा हेलिकप्टर चलाउने
प्रशिक्षण लिएकी हुन्। अझै पनि महिलाहरू यो क्षेत्रमा नआएको देख्दा
उनलाई दुःख लाग्छ। शायद थाहै नपाएर होला भन्दै उनी हेलिकप्टर पाइलट
बन्न चाहनेहरूलाई सिनामङ्गलस्थित नेपाल हेलिकप्टर पाइलट संघमा सम्पर्क
गर्न सुझ्ाव दिन्छिन्। महिलाहरूलाई हेलिकप्टर चलाउन केही विशेष खुबी
पनि चाहिन्छ कि? उनले भनिन्, “मुख्यतः आत्मविश्वास चाहिन्छ217 त्यसबाहेक
शारीरिक र मानसिक रूपले स्वस्थ जसले पनि यो काम गर्न सक्छ।”
पाँच वर्षदेखि हेडिकप्टर उडाइरहेकी सरिना एरोबिक्स
प्रशिक्षक पनि हुन्। उनी मैतीदेवीस्थित गोल्ड्स जिममा एरोविक्स सिकाइरहेकी
छन्। यी गुरुङचेलीले राई संस्कृतिमा आधारित वृत्तचित्र 'रिसिम'को निर्देशन
पनि गरेकी छन्। गत वर्ष प्रदर्शित उक्त वृत्तचित्रले नेपालमा मात्र
होइन, हङकङमा समेत सफलता पाएको थियो। आफ्नो बाटो आफैँ बनाउने सरिना
भन्छिन्, “अरूले हक दिएन भनेर बस्नु हुँदैन। आफैँ आँट गर्नुपर्छ।”
'प्रतिस्पर्धी त हुनैपर्छ'
कान्तिपुर टेलिभिजनको 'पोथी बास्यो' कार्यक्रमबाट ख्याति
कमाएकी र हिजोआज 'द पवनकली' नामक चर्चित कार्यक्रमकी प्रस्तोता २२
वर्षीया लुनिभा तुलाधर
संयोगले हास्यकलाकार बन्न पुगेको बताउँछिन्। उनी भन्छिन्, “सधैँ नयाँ
कुरा गर्न मन लाग्ने, हास्य कलाकार बन्न पुगियो।” सानो छँदा हरिवंश
आचार्यको नक्कल गर्ने लुनिभाको सपना भने कलाकार नै बन्ने थियो। भन्छिन्,
“मलाई माधुरी दीक्षित बन्न मन लाग्थ्यो, किनकि म हुर्कने बेलामा उनी
नै राम्री र चर्चित थिइन्।”
दिपाञ्जलीसँग मिलेर कान्तिपुर टेलिभिजनमा कार्यक्रम
शुरु गर्दा उनीहरूले यति राम्रो गर्लान् भनेर विश्वास नगर्ने मानिसहरू
धेरै थिए रे। तर पोथी बास्यो र पवनकलीको सफलतापछि उनी हास्य–व्यङ्ग्य
प्रधान टेलिकार्यक्रममा दरोसँग स्थापित भएकी छन्। लुनिभाको यात्रा
यतिमै रोकिँदैन, अझै नयाँ–नयाँ स्वादका कार्यक्रमहरू लिएर दर्शकसामु
आउने सोचाइमा छिन् उनी। उनको विचारमा नारी उत्थान होस् अथवा अरू क्षेत्रको
विकास, शिक्षा नै प्रमुख कुरा हो। शिक्षा नभए सबै कुरा खोक्रो हुन्छ।
उनी मनोरञ्जनको क्षेत्रमा पनि शिक्षित मान्छेहरूको संलग्नता बढेको
हेर्न चाहन्छिन्। भन्छिन्, “अझ् महिला हास्यकलाकारहरू धेरै आउनुपर्छ।
यसले मलाई चुनौती बढाउला, तर सफल हुन प्रतिस्पर्धी त हुनैपर्छ।”
गजवको इच्छाशत्ति

डम्बरकृष्ण श्रेष्ठ |
धनकुटाकी २५ वर्षीया झमक
घिमिरे नारी वा अपाङ्गहरूलाई मात्र नभई अरु धेरैका
लागि पनि प्रेरणाकी स्रोत बनेकी छन्। घरमै पढे–लेखेर लेखिका बन्नसक्ने
गजबको इच्छाशक्ति भएकी झ्मकको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो।
सङ्कल्प, अवसान पछिको आगमन, क्वाँटी सङ्ग्रह आदि गरेर अहिलेसम्म उनका
आठ कृति प्रकाशित भइसकेका छन् भने एउटा नयाँ पुस्तक प्रकाशोन्मुख छ।
कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन्।
झ्मकले प्रबल गोरखा दक्षिण बाहु चौथालगायत दर्जनौँ पुरस्कार एवं सम्मान
प्राप्त गरेकी छन्।
जुनसुकै विषयमा पनि उत्सुकता राख्नुलाई उनी आफ्नो खुबी
ठान्दछिन्। भन्छिन्, “जब मैले अक्षर पूरा चिनेँ, त्यो दिन मेरो जीवनकै
सबैभन्दा खुसीको दिन थियो।” जीवनलाई ऊर्जा दिने किताबहरू पढ्न मन पराउने
झ्मकलाई जीवनप्रति आशावादी लेखकहरू मन पर्छन्। “नेपाली नारीको उत्थान
लागि हामीकहाँ विद्यमान सामाजिक, आर्थिक, राजनीतिक, कानूनी र धार्मिक
सबैखालका विभेदलाई ध्वस्तै पार्नु पर्दछ”, उनको कथन छ। पिछडिएका नारीहरूलाई
आफैँबाट परिवर्तन शुरु गर्नुपर्ने सन्देश दिँदै झ्मकले कोरेकी एउटा
कविताः
कति काँतर बन्छौ
हाम्रा गाउँका शेक्सपियर चेलीहरू
तिम्रै धरतीमै मारिँदैछन्,
अकाल हाम्रा कोमल चेलीहरू
समानता र स्वतन्त्रता त
खोक्रो खाली नारा हो
अब उठ चेलीहरू।
पुरुषसँगै प्रतिस्पर्धा गर्नुपर्छ
उमा राजभण्डारी (श्रेष्ठ)
नेपालको पहिलो महिला साङ्गीतिक समूह 'स्पार्कल'की संस्थापक सदस्य तथा
ड्रमर हुन्। उनले दाजुहरूको ब्याण्डले बजाएको लुकि–चोरी हेरेर ड्रम
बजाउन सिकिन् र मासिक रु.१० हजार तलब भएको फोटोग्राफरको जागिर २० दिनमै
छाडेर स्पार्कललाई जन्म दिइन्। उनको ब्याण्डले जमाना हाम्रो लागि हो
र फ्रिडम नामका दुई अल्बम निकालेको छ।
पछि ब्याण्डका सदस्यहरू आ–आफ्नै काममा व्यस्त हुन थालेकाले
सङ्गीतको व्यावसायिक जीवनलाई छोडेर उनले 'भक्स पप' नामक टेलिभिजन कार्यक्रम
उत्पादन संस्था स्थापना गरिन्। भक्स पपबाट निर्मित तथा नेपाल टेलिभिजनमा
प्रसारित 'फेस टु फेस' कार्यक्रमको निर्देशन पनि उनैले गरेकी थिइन्।
उनी भन्छिन्, “मलाई जे दिमागमा आयो, त्यो गरिहाल्छु। अझ्ै नयाँ खुराकहरू
छन् मसँग।”
उमा राजभण्डारी नेपालको प्रथम महिला 'लाइफ–गार्ड' पनि
हुन् र उनले दुईवर्ष बालाजुको स्वीमिङ पुलमा यो काम गरिन्। एकचोटी
पौडी खेल्दाखेल्दै एउटा केटाको मृत्यु भएको देखेपछि उनमा लाइफ–गार्ड
बन्ने विचार आएको थियो। अहिले उनी गर्वसाथ सुनाउँछिन्, “मैले काम गरुञ्जेल
कसैको ज्यान गएन।”
नारीहरूको अवस्थाबारे उनी भन्छिन्, “शिक्षा र आत्मविश्वासको
कमी मात्र हो, केटीहरूले गर्न नसक्ने केही छैन।” पुरुषहरूको मात्र
भनेर चिनिने क्षेत्रहरूमा समेत अगाडि बढिरहेकी उमा नारीहरू पुरुषसँगकै
प्रतिस्पर्धामा उभिनुपर्ने र आफैँ कहिल्यै पछि हट्न नहुने धारणा राख्छिन्।
|