| •
ऋतुराज |
 |
ऋतुविचार
इमर्जेन्सीको तुस
नेपालमा इमर्जेन्सी
लाग्यो, हट्यो। फेरि लाग्यो फेरि हट्यो। तर त्यस इमर्जेन्सीले ल्याएको
कडिकडाउ भने हटेन। हिन्दीमा 'रस्सी जल गई ऐंठन नहीं गई' भने जस्तो।
सबैलाई याद भएकै कुरा हो इमर्जेन्सी लागू हुनासाथ बालुवाका बोराका
बङ्करहरू उमि्रए, चेकपोस्ट थपिए, सुरक्षाजाँच थपियो। काठमाडौँको अन्तर्राष्ट्रिय
विमानस्थल पस्ने मुखमा सुरक्षाचौकी त्यसै बेलादेखि थपिएको हो। त्यसलाई
सेनाका जवानहरूले पहरा दिने गरेका छन् र त्यहाँबाट गुज्रने मानिस र
गाडीहरूको खानतलासी गर्ने काम पनि उनीहरूले नै गर्दै आएका छन्।
हातमा हवाईजहाजको टिकट भएको मानिस मात्र त्यहाँबाट
छिर्न पाउँछ। टिकट नहुने मानिस जान पाउँदैन। यात्रुलाई पुर्याउन वा
लिन जान कसैले पाउँदैन। यात्रुबाहेक ट्याक्सी वा गाडीको चालकले सम्म
जान पाउँछ, बस् त्यत्ति हो। एउटा हात बन्दुकको घुँडाछेउ नै राखेर अर्को
हातले टिकट जाँच्ने काम हुन्छ। अनि सोधपुछ गरिन्छ। बडो कडिकडाउ छ सैनिकको
सुरक्षा बन्दोबस्त।
नेपालमा हवाईसेवाको हविगत के छ त्यो सबैलाई थाहा छ।
समयमा उड्ने जहाज कम्पनीहरू घरेलु मात्र होइन विदेशीहरू पनि कम छन्।
रातविरात उडान हुन्छ 'डिले' भएर। आज 'चेक इन' गरेर एक हप्तामा गन्तव्यमा
पुर्याउने हवाईसेवा कम्पनीहरू पनि यहीँ छन्।
जहाज समयमै उडेको अवस्थामा पनि कतिपय यात्रुहरूलाई विमानस्थल पुर्याइदिनुपर्ने
हुन्छ। अशक्त, अवला, नाबालक हुन्छन्, उनीहरूलाई सहयोग चाहिन्छ। सरसामान
र पोको पुन्तरोको भारी हुन्छ। कति त जिन्दगीमा पहिलोपटक हवाई यात्रा
गरिरहेका हुन्छन्। कति विद्यार्थीहरू पढ्न र कोही काम गर्न विदेश गइराखेका
हुन्छन् अथवा विदेशबाट फिर्ता आइरहेका हुन्छन्। आमाबाबुलाई, परिवारलाई,
आफन्तलाई एयरपोर्टसम्म गई पुर्याउन वा स्वागत गर्न मन हुन्छ।
तर सुरक्षा अवधारणामा ती सबै मानवीय र व्यावहारिक कुराका
लागि ठाउँ हुँदैन। त्यसैले यात्रुलाई पुर्याउन वा लिन जाने आफन्तजनहरू
एयरपोर्ट छिर्ने मूल प्रवेशद्वार अघिल्तिरको सडकछेउ कुँडुलो परेर बसेका
देखिन्छन्। पहिले त यसै घाममा सेकिएर वा पानीमा रुझेर बस्नुपर्थ्यो
प्रतीक्षार्थीहरूले। अहिले भला एउटा ओतसम्म छ। त्यहाँ आउने–जाने फ्लाइटको
सूचना दिने टीभी मोनिटर पनि राखिएको छ, तर नामको लागि। त्यसले काम
गर्नुभन्दा बिग्रन जानेको छ।
बडो बिजोकसँग कुर्छन् बरा प्रतीक्षार्थीहरू आफ्ना आफन्तको
आगमनलाई। त्यहीँबाट आफ्नो मान्छे ट्याक्सी भित्र छिरेको हेरेर चित्त
बुझाउँछन्।
को जान पाउँछ, को जान पाउँदैन कसैलाई थाहा छैन। प्रवेशसम्बन्धी
नियम के छन् र ती कसले बनाएका हुन् तिनको जानकारी पनि कसैलाई छैन।
जाँच्ने सेनाको मुड भए कोही छिरी पनि हाल्न सक्छ।
कि अघिबाटै प्रवेशपत्र लिनुपर्ने व्यवस्था गर्नु। कि
दुई जना कर्मचारी राखेर प्रवेश शुल्क लिने गर्नु। कि परिचयपत्र लिएर
पास दिने गर्नु। केही त व्यवस्था गर्नु। सुरक्षाको नाममा जनतालाई यस्तो
हेपाहा व्यवहार गर्नु त सभ्य संसारमा नमिल्ने हो।
कसैले जहाज नै पड्काउला भन्ने डर छ भने हवाई यात्रा
नै बन्द गरिदिनु नि, किन चलाइराख्नु?
महिला राष्ट्रप्रमुख
तीन महादेशका तीन जना महिलाहरूको निर्वाचन निकै चर्चित
विषय रहेको थियो विश्वका सञ्चारमाध्यमहरूमा केही समयअघि।
गृहयुद्धले ध्वस्त भएको पश्चिम अफ्रिकाको सानो मुलुक लाइबेरियाको राष्ट्रपति
पदमा एलेन जोन्सन सर्लिफ जनवरीमा निर्वाचित भएकी थिइन्। उनी पूरै अफ्रिकी
महादेशमै पहिलो निर्वाचित राष्ट्रप्रमुख महिला बन्न पुगिन्।
त्यसको एक–डेढ महिनाअघि सङ्घीय गणतन्त्र जर्मनीमा बडो
ठूलो राजनीतिक घम्साघम्सीपछि एन्जेला मर्केल त्यस देशको चान्सलर पदमा
निर्वाचित भएकी थिइन्। जर्मनीले पाएको उनी पहिलो महिला चान्सलर अर्थात्
सरकारप्रमुख बनिन्। एन्जेला मर्केल तत्कालीन प्रजातान्त्रिक जनगणतन्त्र
जर्मनी अर्थात् पूर्वी जर्मनीमा जन्मे–हुर्केकी थिइन्।
उता पृथ्वीको पश्चिमी गोलार्द्धको दक्षिण अमेरिकाको
चिलीमा भएको राष्ट्रपतिको निर्वाचनमा मिसेल बासलेट विजय भइन्। (उनले
भर्खर–भर्खर पदभार सम्हालिन्) जनरल पिनोसेको अधिनायकवादी शासनकालमा
ठूलो हन्डर खाएकी समाजवादी नेतृ मिसेल बासलेट चिलीको पहिलो निर्वाचित
राष्ट्रपति हुन्।
नातिनातिनाकी हजुरआमा सर्लिफ, विवाहिता तर सन्तानहीन
मर्केल र पतिबाट पारपाचुके लिएकी तीन सन्तानकी आमा बासलेट तीनै जनाको
उच्चतम राजनीतिक सोपानसम्मको यात्रा बडो रोचक छ। साथै प्रेरणादायी
पनि।
भातभान्छाको साँघुरो घेरा र गृहिणीको परम्परागत भूमिका
तोडेर आ–आफ्ना देशको राजनीतिक रङ्गमञ्चमा अग्रणी भूमिका खेल्नेमा अरू
पनि धेरै महिलाहरू छन्। एउटा साप्ताहिक पत्रिकाको स्तम्भमा स्तम्भकार
राजेन्द्र स्थापितले मार्च ८ को सन्दर्भमा राष्ट्रप्रमुख र सरकारप्रमुख
हुने संसारभरिका महिलाहरूको लामो नालीबेली नै दिएका छन्। सबैलाई थाहा
भएकै कुरा हो, मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाइन्छ।
त्यो फिहरिस्त हेर्दा महिला प्रधानमन्त्री र राष्ट्रपति पाउने देशहरूमा
दक्षिण एसियाका श्रीलङ्का, भारत, पाकिस्तान र बाङ्लादेशको नाम देखिन्छ।
नेपाल पनि दक्षिण एसियाको नै एउटा हिस्सा हो। तर अरु
धेरै कुरामा झैँ महिलालाई मुलुक हाँक्ने नेतृत्वकारी भूमिकामा पुर्याउने
काममा नेपाल पछाडि छ।
महिलालाई राष्ट्राध्यक्ष बनाउने कुरा त परै जावोस्
राष्ट्रपति पद हुने व्यवस्थाको कुरा गर्दासमेत त जिब्रो टोक्ने हाम्रो
जस्तो देशमा के त्यस्तो दिन कहिल्यै आउला?
ख्याल ख्यालमा
नेपालप्रति विदेशी पर्यटकहरूलाई आकर्षित गर्न र विदेशमा
नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले नयाँ 'ब्रान्ड'
तयार पारेर त्यसलाई प्रचारमा ल्याएको छ।
ऋतुराजले यसै स्तम्भमा नेपाललाई बन्द डेस्टिनेसन का
रूपमा प्रमोट गर्नुपर्ने सुझाव यसअघि राखेको थियो। तर नेपाल पर्यटन
बोर्डले नेचुरल्ली नेपाल भन्ने ब्रान्ड रोजेछ।
यस अकिञ्चनको भनाइ मान्ने हो भने अझै ढिला भएको छैन
नेचुरल्ली नेपाल को बीचमा 'बन्द' थपेर नेचुरल्ली बन्द नेपाल बनाउन
सकिन्छ।
समय अझै छ, यस उपर विचार होस्।
यो पनि

|