रमझम
फागुको रौनक
•
शब्दः अनुशील, तस्बिरः किरण पाण्डे

गत वर्षको फागुमा रङ्गिएकी नायिका पूजा
लामा। |
वसन्त ऋतुको आगमनको
सुरुआतमा पर्ने फागु पर्व (होली) एकआपसमा मैत्री भाव प्रकट गर्न सामूहिक
रूपमा भेला भई रङ्ग दलेर मनाइन्छ। प्रह्लाद र होलिका अनि श्रीकृष्ण
र गोपिनीहरूको धार्मिक प्रसङ्गबारे चासो नदिने नयाँ पुस्ता समेत रङ्गहरूको
यो पर्वमा रमाइरहेको देख्न पाइन्छ। तराईदेखि पहाडसम्मका ठूलो समुदायले
मनाउने यो पर्वमा २००७ सालअघि सरकारी उर्दी नै जारी हुन्थ्यो। संस्कृतिविद्
सत्यमोहन जोशी नारायणहिटी र सिंहदरबारमा १–१ दिनको अलग्गै समय तोकेरै
राइटर, सुवेदारदेखि मन्त्री, जनरलसम्मलाई सेतो पहिरनमा डाक्ने गरिएको
बताउँछन्। भन्छन्, “त्यो बेला मानिसहरू रङ्ग दलेर गीत गाउँदै, बत्ती
बालेर साँझ्सम्म टोल–टोल घुम्थे।” आजभोलि युवा पुस्ताले यो पर्वलाई
विकृत रूपमा मनाउने गरेको जोशी बताउँछन्।
उमङ्ग र उत्साह ल्याउने खुशियाली र सद्भावनाको पर्व
होलीमा एकदशक यता217 लोला, फोहोर पानी र कडा रङ्गहरू प्रयोग हुन थालेको
छ। पाटन बहुमुखी क्याम्पस, संस्कृति विभागका प्राध्यापक विष्णुविभु
घिमिरे जीवनका रङ्गहरूको मह140व झ्ल्काउने यो पर्वमा संस्कृति र विकृति
छुट्याउने चेतनाको अभाव रहेको बताउँछन्। भन्छन्, “कामोत्सवको रूपमा
पनि यो पर्वलाई मान्दा रहेछन्, विकृतिले सीमा नाघ्न थालेको छ।” जसरी
भए पनि युवा पुस्तामा होलीको उमङ्ग बढ्दो छ। विद्यालय, क्याम्पसदेखि
टोल–टोलमा फागु शुक्लपक्ष अष्टमीदेखि पूर्णिमासम्म ८ दिन नै यो पर्वको
रौनक हरेक वर्ष उस्तै देखिन्छ।
रिपोर्ट
च्याउसरि सुन्दरी प्रतियोगिता
•
डम्बरकृष्ण श्रेष्ठ

मिस नेवाका उपाधि विजेताहरू। |
मिस नेपाल
प्रतियोगिताको बढ्दो लोकप्रियताका कारण राजधानीभित्र र बाहिरका साना–ठूला
शहरहरूमा सुन्दरी प्रतियोगिताको लहर नै चलेको छ। बालबालिकादेखि जातीय,
क्याम्पस र ठाउँ केन्द्रित विशेष प्रतियोगिता पनि हुँदै आएका छन्।
सबै जाति समेटेर द हिडन ट्रेजर र काठमाडौँ जेसिसले
बर्सेनि डाबर बाटिका मिस नेपाल गर्दै आएपनि यसै वर्षदेखि अनेकन् नाममा
सुन्दरी प्रतियोगिताहरू पनि हुन थालेका छन्। राजधानीमा मिस टीन गुरुङ्ग,
मिस टीन शेर्पा, मिस आदिवासी, मिस नेवा, र मिस तामाङ्ग सुन्दरीहरू
छानिसकिएको छ। किशोरीकेन्द्रित सौन्दर्य प्रतियोगिताहरूसँगै मिस टिन
भ्याली, मास्टर एण्ड लिटिल मिस गुरुङ्ग र मिस फेरी जस्तो नाममा पनि
सम्पन्न भएका छन्।
मिस्टर एण्ड मिस राजधानी, मिस एण्ड मिस्टर काठमाडौँ,
भक्तपुर, कान्तिपुर, ललितपुर आदिसँगै राजधानी बाहिर धरान, विराटनगर,
वीरगञ्ज, पोखरा, बुटवल आदि शहरमा पनि स्थान–विशेषसँग नाम जोडिएका प्रतियोगिताहरू
हुँदै आएका छन्। यस्ता प्रतियोगिता युवा, बालबालिका तथा किशोर किशोरीहरूमा
लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकहरू
बताउँछन्।
गत ३ असारमा भएकोे पहिलो जातीय सुन्दरी प्रतियोगिता
मिस टिन गुरुङ्ग को उपाधि तृष्णा गुरुङ्गले जितेकी थिइन्। १५ माघमा
मिस तामाङ्ग २००६ गर्ने क्रियशन फेशन फिल्डका प्रमुख सृजना मोक्तान
यस्ता प्रतियोगिताले जातीय कला, संस्कृति, भाषा, पहिरन तथा जीवनशैली
लगायतका पक्षहरू बारे जानकारी दिनुका साथै जातीय पहिचानमा मह140वपूर्ण
भूमिका खेल्ने बताउँछिन्।
राजधानीमा ग्रुप अफ इभेन्ट ट्रेनर्स मिस टुरिज्म, ए
एन्ड एच बिजनेस हाउस प्रालि मिस टिन गुरुङ्ग का आयोजक हुन्। त्यस्तै
बी फेसन डट कम र नेपाली साइट डट कमले मिस्टर एण्ड मिस डायमण्ड कन्टेस्ट
अनि भिजुअल नेपाल प्रालिले मिस्टर एण्ड मिस कल्चर, रियाज मिस्टर एण्ड
मिस ललितपुर तथा इञ्डिजिनियस इथनिसिटीको आयोजनामा गुरुङ्ग कान्छा कान्छी
प्रतियोगिता भइसकेका छन्। काठमाडौँ जेसिसले पनि रियल मास्टर ट्यालेण्ट
शो, लिटिल लेडी ट्यालेण्ट शो गर्दै आएको छ।

किड् क्वीन मिरुना (बीचमा) र आयोजक हेमा
(पछाडि) |
हिडन टे्रजरका प्रबन्ध निर्देशक गिरेन्द्रमान राजवंशी
यस्ता प्रतियोगिताहरू भइरहनु राम्रो र स्वाभाविक भएको बताउँछन्। पूर्व
मिस नेपाल माल्भिका सुब्बा भन्छिन्, “राम्रैसँग आयोजना गरिएको प्रतियोगिताले
सहभागीहरूको व्यक्तित्व विकासमा सहयोग पुग्छ, जातीय रूपमा गर्दा त
यसले एउटा समुदायलाई नै फाइदा पुर्याउन पनि सक्छ।” जातीय प्रतियोगिता
भएकोले मात्रै भाग लिएको बताउने मिस नेवा सविता श्रेष्ठ र मिस तामाङ्ग
जेनिषा मोक्तानले उपाधि जितेपछि आफूमा आत्मविश्वास बढेको महसूस गरेका
छन्। भन्छन्, “मोडलिङलाई नै करिअर बनाउने सोच त छैन तर जातीय सुन्दरी
प्रतियोगिता भएकाले भाग लिएकी हुँ।”
फस्टाउँदो व्यापार
फेशन, मोडलिङप्रति युवा पुस्ताको बढ्दो आकर्षणका भनिए पनि यस्ता प्रतियोगिताको
फाइदा भने आयोजकहरूले नै लिइरहेका छन्। जुनसुकै समूह वा संस्थाले सजिलै
आयोजना गर्न पाउने भएकाले कतिपयका लागि त यो आयआर्जनको गतिलो माध्यम
पनि बनेको छ।
हेमा मानन्धर अध्यक्ष रहेको नेपलिज फेशन होमले आफ्नो
आयोजनाको किड् क्विन प्रतियोगितालाई राजधानीमा मात्रै सीमित नराखी
पोखरा, धरान, विराटनगरसम्म पुर्याएकी छिन्। राजधानीमा मिस टिन शेर्पा
र मिस नेवा को आयोजना उनैले गरेकी हुन्। किड् क्विन धरान २००३ को उपाधि
विजेता मिरुना मगर दुई वर्ष बितिसक्दा पनि आयोजकले भनेको कुरा पूरा
नगरेको बताउँछिन्। हेमा मानन्धरले राजधानीमा हुने किड् क्विन नेपाल
मा सहभागी गराइने बताए पनि पछि वास्तै नगरेको मिरुनाकी आमा शशिकला
थापाले बताइन्। स्कूल–स्कूलमा गएर आयोजनाबारे जानकारी गराएपछि छोरीले
सहभागी हुन मरिहत्ते गरेर शुल्क बुझ्ाएरै सहभागी गराएको उनी बताउँछिन्।
भन्छिन्, “हेमा मानन्धर आएर पैसा उठाएर आयोजना गरिन्, टिकट पनि अभिभावकलाई
नै बेच्न लगाइन्, छोरी चाहिँ किड् क्विन नेपाल कहिले हुन्छ भनेर पर्खिरहेकी
छे।” हेमाले धरानमा एक गरीब परिवारका छोरीहरूको पढाइका लागि समेत आर्थिक
सहयोग गर्ने भनेर पत्रकार सम्मेलन नै गरेर ढाँटेकी थिइन्।

मिस तामाङः सहभागी सुन्दरीहरू। |
हेमाको संस्थाले गर्ने प्रतियोगिताका सहभागीहरूले ५
हजारसम्म नगद शुल्क तिरेका छन्। शुल्क तिरेर सहभागी भएपनि मिस नेवा
का उत्कृष्ट सुन्दरीहरूलाई नगद पुरस्कार भने थिएन। मिस नेवा सविताका
बुबा विजयलाल श्रेष्ठले हिमाल सँग भने “रकम लिएबापत तालिम र नेवारी
पोशाक हाकु पटासी दिए। उनीहरूले कार्यक्रमको एक प्याड टिकट समेत बेच्न
लगाएका थिए।” मिस तामाङ लाई भने क्रियशन फेशन फिल्डले रु.१५ हजार नगद
पुरस्कार प्रदान गरेको थियो। हेमा र क्रियशन फिल्डकी सृजना सहभागीबाट
लिएको रकम तयारी प्रशिक्षण र फोटो सेसन आदिमा खर्च हुने बताउँछन्।
काठमाडौँ जेसिजको संयोजन र एम्बिसन एकाडेमीको आयोजनामा
गत साउनमा सम्पन्न मीस टिन नेपाल २००५ को उपाधि विजेता प्रियंका कार्कीले
पाएको पुरस्कार अझै आयोजकले दिएका छैनन्। १२ कक्षा पढ्न पाउने ६० हजार
बराबरको छात्रवृत्ति आफू पढिसकेकोले अरूलाई दिलाउन खोज्दा पाइनन् नै,
पुरस्कारबापत घोषणा गरिएको काठमाडौँ–पोखराको हवाई टिकट समेत अझै पाएकी
छैनन्।
नेपालिज फेशन होमसँग आवद्ध केही युवाहरू अहिले सुलक्ष्य अ डिभिजन अफ
जित हाम्रो नामक संस्थामार्फत् छुट्टै प्रतियोगिता गर्नमा ब्यस्त छन्।
भर्खरै राजधानीमा मिस फेरी गर्ने यो समूह धरानसम्म पुग्ने गरेको छ।
सहभागीहरूसँग ५ देखि १० हजारसम्म शुल्क लिने कतिपय आयोजक संस्थाहरूले
सुन्दरीहरूलाई आयोजनाको निश्चित टिकट बेच्न समेत लगाउने गरेका छन्।
यस्ता आयोजना गर्ने संस्था र समूह अहिले बग्रेल्ती खुल्न थालेका छन्।
पत्रिकाहरूलाई समेत 'अफिसियल मिडिया पार्टनर' बनाएर उनीहरूले थप व्यावसायिक
लाभ लिइरहेका छन्।
पूर्व मिस नेपाल माल्भिका सुब्बा आफूले पनि अहिले हुने
गरेका यस्ता प्रतियोगितामा सहभागी हुनेबाट रकम लिइने गरेको सुनेको
बताउँछिन्। भन्छिन्, “सहभागीसँग हजारौँ रुपैयाँ लिनु राम्रो हैन। तर
पैसा तिरेर प्रतियोगितामा भाग लिनेहरूले पनि आयोजक कस्तो छ भन्ने बुझनुपर्छ।”
सुन्दरी प्रतियोगिताका नाममा केटीहरूको प्रयोग गर्ने र आफ्नो फाइदाका
लागि नाममात्रको आयोजना गर्नेहरूले यो क्षेत्रलाई विकृत बनाएको उनी
बताउँछिन्। भन्छिन्, “यस्ता आयोजकलाई निरुत्साहित गर्न सामूहिक पहलको
खाँचो छ।”
हिडन टे्रजरका गिरेन्द्रमान सहभागीलाई आर्थिक भार पार्ने
गरी शुल्क लिन नहुने बताउँछन्। आफूहरूले मिस नेपालका सहभागीसँग लिइने
१ हजार शुल्क नाममात्रको भएको उनी बताउँछन्। भन्छन्, “सहभागीहरू नै
सचेत हुनुपर्छ, हामीले सहभागीसँग लिएभन्दा बढी सुविधा दिने गरेका छाँै,
रु.१ लाख, रु.५० हजार र ४० हजार त विजेता सुन्दरीहरूले नगद पाउन थालेका
छन्।”
साथमा सुविन श्रेष्ठ, ललितपुर
सङ्गीत
बाँसुरीमा अटाएका धुन

मीन बज्राचार्य
|
माथी माथी
सैलुङ्गेमा... , सिमसिमे पानीमा.. जस्ता दर्जनौँ चर्चित गीतका बाँसुरीवादक
हुन्– पञ्च लामा। लामाले गोपाल योञ्जन, कर्म योञ्जन, शम्भुजित बासकोटालगायतका
थुप्रै सङ्गीतकारका सङ्गीतमा बाँसुरीको धुन भर्ने काम गरेका छन्।
तबला, मादल, किबोर्ड, गितारका समेत पोख्त ३६ वर्षीय
बाँसुरीवादक लामाका 'चौतारी', 'झ्रना', 'यात्रा' र 'प्रे' शीर्षकमा
वाद्यवादनका अल्बमहरू निस्किएका छन्। विगत पन्ध्र वर्षदेखि जापानमा
वाद्यवादनकै काम गर्दै आएका लामाले उतैका जापानीहरूसँग मिलेर २०५२
सालमा चौतारी व्यान्ड खोली सङ्गीत सम्बन्धी कार्यक्रम गर्दै आएका छन्।
भन्छन्, “जापानमा धेरै देशका 'प्रोफेशनल म्युजिकल ग्रुप' छन् तर नेपालका
थिएनन्। त्यहाँ नेपाली म्युजिक नदेख्दा बनाउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो।”
व्यान्ड खोलेपछि उनले नेपाली अल्बम समेत निकाल्दै आएका छन्।
उनले दुई वर्षअघि आफ्नो गाउँ सर्लाही, घुर्क्यौलीमा
असहाय विद्यार्थीहरूका निम्ति तीन कक्षासम्मको पञ्च इसाका स्कूल खोलेका
छन्। त्यहाँ १६ जना विद्यार्थीहरूले निःशुल्क बस्न, खान र पढ्न पाएका
छन्। जापनिज साथीहरूको सहयोग र सीडी बिक्रीबाट उठेको १० प्रतिशत रकम
स्कूललाई नै छुट्याउने गरेको उनी बताउँछन्।
घरमा काम गर्ने हलीले बाँसुरी बजाएको देखेर १० वर्षको
उमेरमा मोहित भएर उनैसँग बजाउन सिकेका थिए, लामाले। भन्छन्, “पहिलो
चोटि मैले नाचिदेऊ मैच्याङ्ग तिमी डम्फूको तालैमा... भन्ने धुन बाँसुरीमा
ढालेँ।” १२ वर्षको उमेरमा गाउँमा चर्चित भइसकेका उनी रेडियोमा बज्ने
गीत जस्ताको तस्तै उतार्न सक्थे।
प्रतिभा देखेर १६ वर्षको उमेरमा नै उनलाई 'महेन्द्र
पुलिस क्लब'ले वाद्यवादनको जागिर खान बोलायो। ५ वर्ष त्यहाँ काम गरेपछि
म्युजिक नेपाल, रेडियो नेपालमा बाँसुरी बजाउने र ग्यालेक्सी स्कूलमा
सिकाउने काम गरे। २०४७ सालमा जापानको एक रेष्टुरेन्टमा वाद्यवादकका
रूपमा पुगेका लामा त्यहीँ नै 'टेक्सो म्युजिक कम्पनी' खोल्न पुगे।
भन्छन्, “जापानमा गएर मैले कमाउनेतिर भन्दा पनि आफ्नो कलालाई नै निरन्तरता
दिनेतर्फ लागेँ।”
नेपालमा वाद्यवादकलाई अझ्ै पहिचानको समस्या रहेको उनी
बताउँछन्। भन्छन्, “गायक, सङ्गीतकारलाई एउटै गीत हिट भए पनि सबैले
चिन्छन्। तर हामी वाद्यवादकहरू सयौँ हिट गीतमा बजाए पनि हत्तपत्त चिनिँदैनौँ।”
•
यात्री
रङ्गमञ्च
मग्न मदनदास

कृष्ण शाह यात्री
|
२०२३ सालदेखि
नै रेडियो नाटक र रङ्गमञ्चमा देखा परेका रङ्गकर्मी हुन् मदनदास श्रेष्ठ।
तीन दशकको अवधिमा उनले कुशल अभिनेता र रेडियो नाटक निर्देशकको बलियो
पहिचान बनाएका छन्। अहिले पनि निर्देशन र अभिनयमा उत्तिकै सक्रिय श्रेष्ठ
कहिल्यै नथाकिने यो विधामा जति डुब्यो उति आनन्द आउने बताउँछन्।
२०१६ सालतिर स्कूल पढ्दा दोलखामा नाटक मण्डलीको पछिलाग्ने
र जात्राको बेलामा डबलीमा हुने नाटकहरूमा सहभागी हुन्थे, श्रेष्ठ।
भन्छन्, “नाटकप्रतिको मोहले नै यो क्षेत्रमा डोर्यायो। त्यो बेला
हामी हिन्दी कथा र उपन्यासमा आधारित नाटकहरू नेपालीमा बनाएर देखाउँथ्यौँ,
पाकाहरू चाहिँ मधुमालती, हात्तीमताइका तिलस्मी र पौराणिक नाटकहरू गर्थे।”
२०२३ सालमा काठमाडौँ आएर त्यसबेलाकी चर्चित अभिनेत्री
शकुन्तला शर्माको नायक भएर नाटक 'धनबहादुरको मृत्युमा परिवारको आँशु'
मा अभिनय गरेपछि उनको लागि सम्भावनाको नयाँ ढोका खुल्यो। नाटक हेर्न
आएका श्यामदास वैष्णव प्रभावित भएर उनलाई रेडियोमा नाटक खेल्न लगे।
मदनदास सम्झ्न्छन्, “यो नाटक नाचघरमा गर्दा म मरेको दृश्यमा शकुन्तलाको
हातबाट ठूलो आम्खोरा मेरो टाउकोमा खस्दा म झ्ण्डै बेहोस भएँ। ठूलो
चोट लागे पनि मरिसकेको मान्छे चलमलाउनु भएन। निकैबेर सास रोकेर पीडा
खपेँ।”
रेडियो र रङ्गमञ्चका नाटकमा सँगसँगै यात्रा आरम्भ गरेका
मदनदासको पहिचान लोभलाग्दो छ। लामो समयदेखि रेडियो नेपालमा नाटक निर्देशकका
रूपमा कार्यरत उनले ५ सयभन्दा बढी नाटकहरू निर्देशन गरेका छन्। रङ्गमञ्च,
दर्जनौँ रेडियो नाटक, चलचित्र तथा टेलिसिरियलहरूमा उनले अभिनय गरेका
छन्। उनले रङ्गमञ्चमा निरन्तरताका निम्ति सर्वनाम पुरस्कार, रुपक कला
आदि सम्मान, पुरस्कार पाइसकेका छन्।
केही समय प्रज्ञा–प्रतिष्ठानमा जागिर समेत खाएका मदनदासले
२०३१ सालमा प्रतिष्ठानको कार्यशैलीप्रति असहमति जनाउँदै राजिनामा दिएका
थिए। उनी साझा प्रकाशनको अधिकृत भएर एक वर्षसम्म धनगढीमा बसे। काठमाडौँको
रङ्गमञ्चमा भिजिसकेका मदनदासले त्यहाँ पनि नाटक निर्देशन गरे। भन्छन्,
“नाटकको मोहले छोेडेन। फेरि काठमाडौँ आइयो र रङ्गकर्ममा नै निरन्तरता
दिएँ।”
तीसको दशकमा सरकारले नै आर्थिक सहयोग दिने गरेकोले
पनि राजधानीमा नाटकको बाढी थियो। कोही रहरले त कोही बाध्यताले पनि
नाटक मञ्चन गरिरहन्थे। यथार्थमा रङ्गमञ्चमा सङ्घर्ष गर्नु अहिले पनि
फलामको च्यूरा चपाउनु जत्तिकै भएको उनको ठहर छ। भन्छन्, “अधिकांश रङ्गकर्मीहरूले
नाटकमा लाग्दा न त यथेष्ट चर्चा पाउँछन्, न त आम्दानी नै। र पनि अहिलेका
युवापुस्ताका रङ्गकर्मीहरू लाग्नु रङ्गमञ्चप्रतिको मोह र प्रतिबद्धता
नै हो।”
•
कृष्ण शाह यात्री
वेभ
वेब विनर
एकसेएक वेब डिजाइनर

निशा, विनय र स्वप्निल |
हिमाल मिडियाको
युवा प्रकाशन वेभ मासिकले १५ फागुनमा वेबको पुनर्व्याख्या विषयमा वेबसाइट
डिजाइन प्रतियोगिता आयोजना गर्यो। ६० प्रतिस्पर्धी रहेको सो प्रतियोगितामा
स्वप्निल आचार्यले आफ्नो वेबसाइट www.himmasters.net/nepali
का लागि उत्कृष्टका साथै उत्कृष्ट साइट (प्राविधिकको) अवार्ड हात पारे।
विषयवस्तुको आधारमा उत्कृष्ट साइट www.welcomenepal.com
विनायक कुमार श्रेष्ठलाई प्रदान गरियो। www.multimedia.com.np/nisha/ngdesign.html
बाट निशा गुरुङ्ग उत्कृष्ट साइट (दृश्य) को विजेता भइन्। जुम्ल्याहा
दाजुभाइ प्रनव र प्रणय श्रेष्ठको www.hamrobazar.com
सरल प्रयोगका लागि उत्कृष्ट साइट ठहरियो। सम्पादक छनौट अवार्ड
भने सुजनरत्न बज्राचार्यको सामुदायिक स्कूलको वेबसाइट www.pharping.com.np
लाई प्रदान गरियो। इन्टरफेस नेपाल, डी एण्ड डी इण्टरनेशनल र एक्स्ट्रीम
नेपालले सो कार्यक्रमलाई सहयोग गरेको वेबका सम्पादक आभा एली फुबुले
बताइन्।
डायरी
पप एक्सप्रेस

किरण पाण्डे |
२२–२६ फागुनमा
लोकप्रिय कलाकारहरू निर्णय दा एनएसके, क्रान्ति आले, मौसमी गुरुङ र
कमलमान सिंहले राजधानीका मह140वपूर्ण पाँच स्थानमा सूर्य नेपाल प्रालिको
आयोजनामा शिखर लाइट्स म्युजिक पप एक्सप्रेस कन्सर्र्ट अन ह्विल प्रस्तुत
गरे। हजारौँ दर्शकहरूले निःशुल्क साङ्गीतिक आनन्द लिएको कार्यक्रम
सञ्चालन आशिष साङ्देनले गरेका थिए। स्वयम्भू पछाडिको भुइँखेल चौरबाट
शुरु भएको कन्सर्ट मीनभवनमा समापन भएको थियो।
१ लाखको पुरस्कार
यस वर्षको
टुबोर्ग दोहोरी प्रतियोगिता–२०६२ मा प्रथम भई शान्ति दोहोरी साँझ्ले
नगद रु.१ लाखसहितको पुरस्कार जितेको छ। २० फागुनमा सम्पन्न अन्तिम
प्रतिस्पर्धामा दोस्रो हुने सोल्टिनी रोधी नाचघरले रु.५० हजारमा चित्त
बुझाउनु पर्यो। नेपाल लोकदोहोरी सांस्कृतिक संघले आयोजना गरेको यस
प्रतियोगितामा २१ समूह सहभागी थिए।
द्वन्द्वको 'एउटा कथा'
द्वन्द्वको दोहोरो
मारमा परेर तहसनहस भएको गरीब परिवारको कथा चित्रण गरिएको 'एउटा कथा'
नेपाली चलचित्र दर्शकमाझ् आएको छ। जेनिता मूभी मेकर्सको ब्यानरमा किशोर
सुब्ब्ााको निर्देशनको एउटा कथा मा प्रेम सुब्बा, कोपिला आङबोहाङ,
मित्र लिङदेन, पुष्प श्रेष्ठ, सिमान्त उदास, शान्ति मास्के, गोपाल
भुटानी, नविन मेयाङ्बो, राम चाम्लिङ, शान्ता लामा आदि कलाकारहरूले
अभिनय गरेका छन्। बुद्धराज इङवाको सङ्गीत रहेको यस चलचित्रमा सुनिता
सुब्बा, खेमराज गुरुङ, राजेशपायल राई र सिन्धु मल्लले आवाज दिएका छन्।
सुरेन्द्र
पूर्वाञ्चल आईडल शुरु
सामसुङ नेपाली
तारा र नेपाल स्टार को सिको गर्दै पूर्वाञ्चल आईडल को स्पर्धा शुरु
भएको छ। धरानको श्री सरगम सङ्गीत विद्यालयको संयोजनमा भइरहेको छनौटमा
धनकुटा र इटहरीबाट ४० जना छनौट भइसकेका छन्। प्र्रतिभाहरूको खोजी गर्ने
उद्देश्यले पूर्वाञ्चलका प्रमुख शहर, बजारबाट छानिएका १५० कलाकारहरूलाई
धरानमा सङ्गीत प्रशिक्षणसँगै प्रतिस्पर्धा गराई एकजना 'आईडल' छान्ने
आयोजना संयोजक सङ्गीतकार ओमप्रकाश राईले बताए। आईडललाई ५० हजार रुपैयाँ
बराबरको 'गिफ्टह्याम्पर' र नगदसँगै निःशुल्क एउटा अल्बम निकालिदिने
र साङ्गीतिक कार्यक्रमहरूमा प्रस्तुत गरिने बताइएको छ।
सिद्धराज
सकियो भारतीय चलचित्र महोत्सव
१९–२१ फागुनमा भारतीय राजदूतावास तथा बीपी कोइराला नेपाल–भारत
प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय चलचित्र महोत्सव काठमाडौँमा
सम्पन्न भयो। जय नेपाल सिनेमा हलमा नेपालका लागि भारतीय राजदूत शिवशङ्कर
मुखर्जीले महोत्सवको शुभारम्भ गर्नुभएको थियो। २३ पुसमा धरानबाट शुरु
भएको महोत्सव जनकपुर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज हुँदै राजधानी आइपुगेको
हो। मुगल ए आजम, बबी, प्यासा, चौधवीका चाँद, हिप हिप हुर्रे र गरम
हवा गरी जम्मा ६ वटा पुराना हिन्दी चलचित्रहरू महोत्सवमा समावेश थिए।
नेपाली युवा पुस्तालाई पुराना उत्कुष्ट भारतीय चलचित्रको स्वाद दिन
र २० वर्ष पुराना चलचित्र हेर्न चाहेर पनि नपाएकाहरूलाई मनोरञ्जन होस्
भनेर महोत्सवको आयोजना गरिएको आयोजकहरूले बताएका छन्।
एकैठाउँमा तीन देशको कला

किरण पाण्डे |
नेपालकी सुनिता राना, बेलायतकी सेलिया वासिङ्टन र स्पेनकी
मोन्सेरेण्ट क्लाउसको सृजना २५ फागुनदेखि सिद्धार्थ आर्ट ग्यालरीमा
प्रदर्शन भइरहेको छ। चित्रकलाका यी तीन प्रतिभाको भेट संयोगवश भएपछि
उनीहरूले आफ्नो प्रदर्शनीको नाम नै इन्सिडेण्टल मिटिङ राखेका छन्।
८ चैतसम्म सञ्चालन हुने प्रदर्शनीमा ललितकलामा अध्ययनरत सुनिताले प्राकृतिक
दृश्य क्यानभासमा उतारेकी छिन्। त्यस्तै सेलिया र मोन्सेरेण्टले संस्कृति,
प्रकृतिलाई विभिन्न बिम्ब र प्रतीकका साथ आफ्ना सृजनामा उतारेका छन्।
नयाँ सिर्जना

लोकप्रिय गीतहरुमा सरुभक्त
साहित्यकार सरुभक्तद्वारा रचित गीतहरू
सङ्गीतकारहरूः सुनील थापा, नेपथ्य, शक्ति बल्लभ,
ईश्वर गुरुङ, अभिमन्यु विक्रम राना, मणिकमल क्षेत्री
स्वरः विवेक श्रेष्ठ, अमृत गुरुङ, प्रवेशमान
शाक्य, अमृत गुरुङ, तिलविक्रम मल्ल, पवित्रा सुब्बा, प्रकाश राना
उत्पादनः म्यूजिक नेपाल
|

प्रियसीलाई
प्रकाश गुरुङको स्वर र सङ्गीतबद्ध गीतहरू
गीतकारः लक्ष्मण कार्की, निरोधराज पाण्डे,
दिनेश अधिकारी, शिवशङ्कर थापा, कृष्ण सिटौला, प्रकट पँगेनी,
जस योञ्जन, मदनकृष्ण श्रेष्ठ
उत्पादकः सान्त्वना रेकर्डस्
|
चलचित्र
ओस्कारमा आश्चर्य

उत्कृष्ट निर्देशक आङ्ग ली

उत्कृष्ट नायिका रीज विदरस्पुन

उत्कृष्ट सह–नायक जर्ज क्लुनी
|
फिल्म दुनियाँमा
सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने ओस्कारको ७८ औं संस्करण सबैलाई
आश्चर्य बनाउँदै २२ फागुनमा हलिवुडको कोडाक थिएटरमा सम्पन्न भयो ।
सर्वश्रेष्ठ चलचित्र, निर्देशक, नायक लगायतका ८ प्रमुख
मनोनयनमा परेको समलैंगिक कथामा आधारित चलचित्र ब्रोकब्याक माउन्टेन
ले सबैको अनुमान विपरीत जम्मा ३ पुरस्कार मात्रै हात पार्न सफल भयो।
अवार्ड विजयी चिनियाँ मूलका चलचित्र निर्माता आङ्ग लीले निर्देशन गरेको
यस वर्षको सबैभन्दा विवादास्पद र गोल्डन ग्लोब्स जस्तो अवार्ड विजेता
सो चलचित्रले सर्वश्रेष्ठ निर्देशकको अवार्डमै चित्त बुझाउनुपर्यो।
सबैको अनुमान विपरीत वर्ग र जातिको विभेदमा आधारित
चलचित्र क्र्यास का लागि यस वर्षको ओस्कार उत्साहजनक सावित भयो। यस
चलचित्रको विजयले हलिवुडमा यथार्थपरक चलचित्रले प्राथमिकता पाएको चलचित्र
समीक्षकहरुको धारणा छ। अवार्ड प्राप्तिपछि क्र्यास चलचित्रकी निर्मात्री
क्याथी शुल्मनले “यो अमेरिकी सिनेमामा सबैभन्दा आश्चर्यको वर्ष” भनिन्।
कन्ट्री गायक जोनी क्यास र उनकी पत्नी जुन क्यासको
जीवनमा आधारित चलचित्र वाक द लाइन का लागि नायिका रीज विदरस्पुन उत्कृष्ट
नायिका ठहरिइन्। लेखक ट्रयुमन कपोटको जीवनीमा आधारित चलचित्र कपोट
का लागि नायक फिलिप सिमोर हफमनले उत्कृष्ट नायकको उपाधि हात पारेे।
उत्कृष्ट सह–नायिका सबैले अनुमान लगाएझ्ैं ३४ वर्र्षीय सुन्दरी रेचल
वाइस भइन्। उत्कृष्ट सह–नायक, उत्कृष्ट पटकथा र उत्कृष्ट निर्देशकसहित
तीनवटा ऐतिहासिक मनोनयनमा परेका जर्ज क्लुनीले सह–नायकको अवार्डमा
चित्त बुझाउनु पर्यो।
प्राविधिकतर्फ तीन पुरस्कार हात पार्यो, पीटर ज्याक्सनको
किङ्ग–कङ्ग र जापानी कथामा आधारित मेमियोर्स अफ अ गिसा ले। उत्कृष्ट
एनिमेशन चलचित्रको अवार्ड यो पटक वालेस एण्ड ग्रोमिटः द कर्सअफ द वेर
र्याबिट्स ले जित्यो भने प्यालिस्टाइनको आतङ्कवादलाई समेटेर तयार
पारिएको चलचित्र प्याराडाइज नाउ लाई माथ दिँदै दक्षिण अफ्रिकी ड्रामा
त्चोत्सी ले सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रको उपाधि हात पार्यो।
यस वर्ष लाइफ टाइम अचिभ्मेन्ट अवार्ड दिइयो ८१ वर्षीय लेखक, निर्दशक
र निर्माता रबर्ट अल्टमनलाई। कैयौँ पटक मनोनयनमा परे पनि उनले एउटै
ओस्कार जितेका थिएनन्।
•
सुवेल भण्डारी
|