हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक परिचय

दरबारको पोल खोल्ने किताब

किशोरावस्थादेखि नेपाली काङ्ग्रेसको 'सहयोगी' रहेका नेपालका प्रथम चार्टर्ड एकाउण्टेन्ट कुवेर शर्माले किन काङ्ग्रेस छाड्नु र छुट्टै पार्टी खोल्नु पर्‍यो भन्नेदेखि राजनीतिक दल, नेता–कार्यकर्ता, नेपाली राजनीतिमा अत्यधिक चासो राख्ने विदेशीहरूप्रतिका धारणासम्म धेरैधेरै कुरा अटाएका छन् आफ्नो किताबमा। राजा ज्ञानेन्द्रसँग २०५८ फागुनताका भएका आफ्ना केही दर्शनभेटहरूको विवरणमार्फत् कुबेरले '१८ असोज' र '१९ माघ'का प्रतिगमनकारी घटनाको तानाबाना राजाले कति अगाडिदेखि बुनिसकेका रहेछन् भन्ने छर्लङ्ग पारेर एकप्रकारले दरबारियाहरुको पोल नै खोलिदिएका छन्। त्यतिबेला राजाले 'मैले खतरा मोल्न मिल्छ?' भनेर सोधेका र शर्माले 'खतराविना कुनै महान उद्देश्य हासिल हुँदैन' भन्ने जवाफ दिएका रहेछन्। आफू मन्त्री छँदासम्म राजाको कदमबाट उत्साहित शर्मा अहिले भने निराश देखिन्छन्, यही किताबमै पनि।

राजाले १८ असोज २०५९ मा निर्वाचित सरकार अपदस्थ गरेर सत्ता लिएपछि मन्त्री खान पुगेका शर्माले त्यसबेलाका आफ्ना अनुभवबारे 'फेरि म मन्त्री किन हुन्न?' भन्ने एउटा छुट्टै परिच्छेद लेखेका छन्। तर, राजा महेन्द्रदेखि अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसम्मले काम/नियुक्ति दिन डाक्दा 'स्वाभिमान'का कारण नगएको बताउने शर्मा यस्तो सरकारमा मन्त्री खान किन गए भन्ने चाहिँ सिङ्गो किताब पढ्दा पनि खुल्दैन। शानेवानिलगायत अन्य कतिपय विषयलाई लिएर आफूबारे उठेका विवादमा किताबमा राम्रै सफाइ दिन सफल शर्माले पर्यटनमन्त्री भएर धेरै राम्रा काम गर्न खोजेको झ्ल्को दिने प्रयास गरेका छन्।

काङ्ग्रेसमा गिरिजाप्रसाद कोइरालाको राजनीतिक कार्यशैलीलाई 'कोइराला शाही'को संज्ञा दिने शर्माले बीपी, सुवर्ण, गणेशमान र त्यस पार्टीमा आफ्ना निकटतम नेता कृष्णप्रसाद भट्टराई समक्ष समेत आफूलाई लागेका खरा कुरा राम्रैसँग लेखेका छन्। राजनीतिमा कोइराला परिवारबाट सधैँ खेदिएको र भट्टराईबाट समेत 'धोका' र 'अपमान' पाएको भन्न बाँकी नराख्ने शर्माले कतिपय कम्युनिष्ट नेताहरुको भने तारिफ पनि गरेका छन्। एक ठाउँमा उनी भन्छन्, “२००७ को क्रान्तिपछि नेपाली राजनीतिमा उदयमान भएका नेता मदन भण्डारी मात्रै हुन्।” कतैकतै उनले प्रजातन्त्र पुनर्स्थापना र संविधान निर्माणताका भएका धेरै राम्रा उपलब्धिहरू आफूले गर्दा भएको भनेर एकलौटी जस लिने दुस्साहस पनि गरेका छन्।

किताबमा समेटिएका १३–१४ वर्षको उमेरदेखिका घटना र सन्दर्भहरू, विदेश भ्रमणका अनुभवहरूका लोभलाग्दा अभिलेख र स्मरणहरूको प्रशंसा नगरिरहन सकिँदैन। नेपाली समाजको वर्तमान अवस्था, गरिबी र माओवादी विद्रोह, बहुदलीय प्रजातन्त्रका असफलता र देशको अर्थिक विकासबारे लेखिएका अन्तिम परिच्छेदहरू गहकिला र राम्रा परिकल्पनाहरूले भरिएका छन्। तर, यस्ता सबै राम्र्रैराम्रा कुरा राखेर बनाइएको उनको हरियाली नेपाल पार्टी भने 'ठूला पार्टीहरूविरुद्ध तेस्रो शक्ति' बन्न नसकेको उनी आफैँले स्वीकारेका छन्।


नयाँखाले तालिम पुस्तिका


किताबः बालमैत्री विद्यालय शिक्षक–शिक्षण पुस्तिका
संयोजक/सम्पादकः भोलाप्रसाद दाहाल
प्रकाशकः शिक्षा विभाग तथा सेभ द चिल्ड्रेन एलायन्स्, काठमाडौँ, २०६२
पृष्ठः १९८+१८

विद्यालय भर्ना अभियानपछि ओइरिएका विद्यार्थीहरू देखेर उत्साहित शिक्षा विभाग र सेभ द चिल्ड्रेन अलायन्सले तिनलाई टिकाउन गाह्रो भएको र यसनिम्ति केही हदसम्म जिम्मेवार विद्यालयको वातावरण र शिक्षकको व्यवहार सुधार्नु पर्ने महसुस गरेर नयाँ ढङ्गको शिक्षण–प्रशिक्षण चलाउन यो तालिम पुस्तिका प्रकाशित गरेका हुन्। किताबमा बालबालिकाहरूलाई कसरी विद्यालय आउन डर होइन रमाइलो लाग्ने वातावरण बनाउने, भेदभाव, हप्कीदप्की, मानसिक पीडा, शारीरिक दण्डसजाय होइन प्रेरणा, हौसला र प्रोत्साहन दिने, विश्वास र माया गर्ने, खेल खेलाएर तथा मनोरञ्जक र सहभागितामूलक तौरतरिकाहरू प्रयोग गरेर पढाउने–सिकाउने, प्रतिभा प्रस्फुटित गराउने, उनीहरूप्रति सकारात्मक सोचाइ राख्ने तथा विद्यालय व्यवस्थापन–सञ्चालनमा अभिभावक र समुदायलाई सहभागी गराउने भन्ने कुराहरू छन्।

शिक्षा भनेको ज्ञान, सीपविकास, सहकार्य र व्यक्तित्व विकासका लागि हुनुपर्छ एवं विद्यार्थीहरूले १० प्रतिशत सुनेर, २० प्रतिशत सुनेर र देखेर, ४०–७० प्रतिशत सुनेर, देखेर र गरेर तथा ८०–१०० प्रतिशत पत्ता लगाएर सिक्छन् भन्ने मान्यता बोकेको किताबमा स्थलगत परीक्षणबाट खारिएका सामग्री समावेश गरिएको बताइएको छ। 'बालमैत्री' शिक्षाको लागि भनिएको प्रस्तुत किताब त्यति पाठकमैत्री भने छैन। दातृसंस्थाहरूका सहयोगमा प्रायः निस्किने नेपाली प्रकाशनहरू झैँ किताब चिल्लो–राम्रो र छपाइ स्तरीय छ। उपयोगी जानकारी छन्। तर भाषा, लेखाइ र प्रस्तुति कमजोर छ, कतैकतै अङ्ग्रेजीको ठाडो अनुवाद पाइन्छ। ठाउँठाउँमा बिझाउने गरी पढ्न असजिला र अर्थ लगाउन कठिन कुराहरू भेटिन्छन्। साजसज्जाको दृष्टिले पनि त्यति सरल र एकरुप देखिँदैन।

बद्री पौड्याल


प्राप्त कृति

महत्ववपूर्ण राजनीतिक शब्दज्ञान
(पारिभाषिक शब्दको विश्लेषण)
लेखकः सिद्धिश्वरमान श्रेष्ठ
प्रकाशकः सावित्री श्रेष्ठ काठमाडौँ, २०६२
पृष्ठः २६८, मूल्यः रु.१००
मुक्ति
(लागूपदार्थविरोधी अभियान र उपाय)
लेखकः इन्द्रप्रसाद ओली
प्रकाशकः चेतना नेपाल काठमाडौँ, २०६२
पृष्ठः १७२, मूल्यः रु.३००
अभिशप्त स्वरहरू
(उपन्यास)
उपन्यासकारः सरोज दिलु
प्रकाशकः दलित सशक्तिकरण तथा समावेशीकरण परियोजना, काठमाडौँ,, २०६२
पृष्ठः १३५, मूल्यः रु.६०
आगो छोपेर कतिन्जेल!
(कविता–सङ्ग्रह)
कविः नवराज लम्साल
प्रकाशकः अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन, काठमाडौँ, २०६२
पृष्ठः ८९

अ पेजेन्ट अफ शर्ट स्टोरिज
(१४ छोटा कथाहरूको सङ्ग्रह)
लेखकः युवराज अर्याल
प्रकाशकः क्षितिज प्रकाशन, कीर्तिपुर, २००५
पृष्ठः ८९, मूल्यः रु.१००

नेपालमा संविधान र संविधानको भावी दिशा
(संवैधानिक विकाससम्बन्धी लेख/अभिलेख सङ्ग्रह)
अनुवादकः बुद्धि कार्की र बालचन्द्र श्रेष्ठ
प्रकाशकः कानून सरोकार समूह नेपाल, २०६२