जनता
मतव्ययी महालेखा परीक्षक

किरण पाण्डे |
एक–डेढ लाखको भीडमा
इमान्दार राष्ट्रसेवकहरू प्रशस्तै भेटिएलान्, तर संवैधानिक दर्जाका
केही दर्जन अगुवा पदहरूमा भने धेरै 'गेहेन्द्रनाथ
अधिकारी'हरू फेला पार्न मुश्किल पर्छ। ५ भदौ २०६०
मा नेपाल अधिराज्यको महालेखा परीक्षकमा नियुक्त अधिकारी आफू मितव्ययी
र इमान्दार हुनुहुन्छ र अरूलाई पनि 'घाँटी हेरेर हाड निल्ने' सल्लाह
दिनुहुन्छ। उहाँ अहिले विदेश भ्रमणमा जाँदा नियमानुसार पाउने 'विजिनेस
क्लास'को हवाइ–यात्रा गर्नुहुन्न, 'इकोनोमी क्लास' मै सन्तुष्ट हुनुहुन्छ।
उहाँ भन्नुहुन्छ, “अरूसँग मागेर विकास गर्नुपर्ने हामीहरूले विजिनेस
क्लासमा यात्रा गरेर कसलाई फूर्ति देखाउनु छ र?” महालेखा परीक्षक पदमा
नियुक्ति भएलगत्तै दुईचोटि उहाँले 'विजिनेस क्लास'मा यात्रा गर्नु
भएपनि त्यसपछिका सात वटा भ्रमणहरू 'इकोनोमी क्लास'मै गर्दै आउनुभएको
छ। उहाँको अठोट छ, “अब म अवकाश नहुञ्जेल इकोनोमी क्लासमै यात्रा गर्छु।”
महालेखा परीक्षक अधिकारीले १९ चैत २०६० मा तत्कालीन
अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीलाई एक पत्र लेख्दै भन्नुभएको थियो,
“इकोनोमी क्लास र विजिनेस क्लासको सेवामा खासै फरक नपर्ने तर खर्च
चाहिँ दोब्बर वा सोभन्दा पनि बढी हुने हुँदा यो व्यवस्था उचित देखिएन।”
तर उहाँको उक्त पत्रको जवाफ श्री ५ को सरकारबाट हालसम्म पनि आएको छैन।
संवैधानिक अङ्गका प्रमुखलगायत उच्चपदस्थ सरकारी कर्मचारीहरूले मितव्ययिता
अपनाउनुपर्ने विषयलाई २०६१ र २०६२ को महालेखा परीक्षकको प्रतिवेदनमा
समेत उल्लेख गरिएको छ। तर, सरकारका तर्फबाट त्यसमा पनि कुनै सुनुवाई
भएको छैन।
तैपनि अधिकारीले हार मान्नुभएको छैन। सरकारमा बस्नेहरू
मितव्ययी हुँदा करोडौँ बचत मात्र हुने नभई करदाता जनताको सम्मान समेत
हुन्छ भन्ने कुरामा विश्वस्त महालेखा परीक्षक आगामी प्रतिवेदनमा मितव्ययिताको
पक्षमा अझ् कठोर ढङ्गमा प्रस्तुत हुने बताउनुहुन्छ।
भलिबल
छाडेर राजनीतिमा

डम्बरकृष्ण श्रेष्ठ
|
कैलालीको जानकीनगर–७,
खर्कौलीको एउटा थारू परिवारमा जन्मेकी टीका
चौधरी आठ हजार छात्राहरू अध्ययन गर्ने राजधानीको पद्मकन्या
क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा निर्वाचित भएपछि एकाएक
चर्चाको शिखरमा पुगेकी छन्। भलिबल खेलमा अन्तर्राष्ट्रिय पहिचान बनाएकी
टीका प्रतिगमनविरोधी आन्दोलनमा पद्मकन्या क्याम्पस अघिल्तिरको सडकमा
सुरक्षाकर्मीलाई गुलेली ताक्दै हिँड्थिन्।
ग्रामीण विकास विषय लिएर स्नातकोत्तर पढिरहेकी
टीका आफ्नो क्याम्पसको स्ववियुमा सदस्य, सह–सचिव र सचिव हुँदै सभापति
बन्न पुगेकी हुन्। बाबु लक्ष्मीनारायण नेपाली काङ्ग्रेसबाट गाविस अध्यक्षमा
निर्वाचित भएपनि टीकाको राजनीतिप्रति चासो भने अध्ययनको क्रममै बढेको
हो। राजनीतिक क्षेत्रमा लागेरै देश र समाजको सेवा गर्न चाहने टीका
भन्छिन्, “पद्मकन्यामा समाजशास्त्र र पत्रकारिता विषयको पढाइ शुरु
गर्न र यसलाई विश्वविद्यालय बनाउन पहल गर्छु।”
२०५६ सालमा काठमाडौँमा सम्पन्न साफ खेलकुदमा
नेपाली टोलीलाई भलिबलमा कास्य पदक दिलाउन उनको ठूलो हात रहेको थियो।
खेलकुदमा लागेर गोरखा दक्षिणबाहु तथा दर्जनौँ अन्य पुरस्कार प्राप्त
गरिसकेकी टीका अहिले खेलकुदभन्दा राजनीतिलाई बढी मह140व दिइरहेकी छन्।
बिग्रँदो अवस्थाबाट देशलाई जोगाउन युवाशक्तिले राजनीतिमै लाग्नुपर्ने
उनको ठहर छ। देशको यो हालत र बर्बादीको कारण राजाको शासनलाई मान्छिन्
टीका। उनको ठहर छ– “युवाहरूविना प्रजातान्त्रिक आन्दोलन सम्भव छैन,
प्रजातन्त्र विना देशको भविष्य छैन।”
|