हिमाल खबरपत्रिका  
पूर्णाङ्क १६७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
कदी

इतिहासमा

 

भोट युद्धको तयारी

यो स्तम्भ यसअघि नेपाली इतिहासको जङ्गबहादुरकालीन नेपालभित्रै सीमित रहने छ भनिए पनि आजको लेख भने त्यसभन्दा छेकै पल्तिर पुग्दैछ– १८४५–४६ को भोटयुद्धसम्म। तर त्यसो गर्न पनि हाम्रा लागि जङ्गबहादुर नै सहायक हुँदैछन्। अर्थात्, उनैका लागि तयार पारिएको भनिएको 'बेलाइती कापी'कै आड लिँदैछौँ हामी।

वि.सं. १९११ सालमा आफूले भोट हान्न लाग्दा त्यसअघिका भोट युद्धमा के कस्तो भएथ्यो भन्ने जान्नु जरुरी भएछ उनलाई। र, त्यसको संक्षिप्त तेरिज कसेर त्यो रिपोर्ट कापीमा सार्न लगाएका रहेछन् जङ्गबहादुरले। विस्तृत वर्णन छैन त्यहाँ। टिपोट मात्रै छन्। र, ती टिपोट इतिहासका अरू निकायहरूमा पाइएभन्दा केही फरक जस्तो पनि लाग्छन्। त्यो कुनै इतिहासकारले लेखेको इतिहास नभएर रणबहादुर शाहकालीन नेपालको सरकारिया पक्षको भनाइ मात्र हो भन्ने बुझ्िदिनुपर्नेछ पढ्नेहरूले। जस्तो, त्यहाँ शुरुमै लेखिएको छ–

“अघि भोट हान्दाको वेहोरा–

१८४५ साल आषाड मैन्हामा भोट हान्न फौज हिड्यो. कुति फलाक् टिगरि मैदान अमल गरि सेषार झुंमा. भाद्र मैन्हातक् लस्कर रह्यो। हिउंले ठहर्न नसक्दा. फौज फिर्‍यो. कुति फलाक् हाम्रो अमल् रह्यैको छ अर्का मुषले. केरुं झुगा अमल गरि ब्रह्मपुत्र तरि साषा गुंवातक् पुग्यो थ्यो. सेषारका मुषले छिचोल्न नसक्दा. फिर भनि हुकुम् जादा. फौज फिर्‍यो. केरुं झुगा हाम्रा अमल् छदैछ– ”

यस प्रकारको सूचना इतिहासका पानामा साधारणतः पाइँदैनन्। अनुसन्धान गर्नेहरूका शोधपत्रमा पर्ने कुरा हुन् यी। भए पनि, गोर्खाली फौजले भोट (तिब्बत) को शेखारजुङ फत्ते गर्न नसकी फर्किएको थियो भन्ने कुरा ऐले हाम्रो लागि अलि नौलो नै हो। भोटसँगको युद्ध १८४६ देखि १८४९ सम्म चलेको र चीनको मध्यस्थतामा सुलह भएको थियो भन्ने कुरा पनि यस कापीमा बेलिविस्तार लगाएर लेखिएको फेला पर्छ। पन्ध्र पृष्ठ लामो त्यो व्यहोरा वास्तवमा रणबहादुर शाहका तर्फबाट (बहादुर शाहको नायवीमा) कलकत्ताको 'कौसलिया साहववान्'लाई पठाइएको चिबठीको नक्कल हो। त्यस विषयमा हामी अर्को पटक चर्चा गरौँला। ऐले चाहिँ त्यसबारेमा यत्ति मात्र भनिराखूँ– त्यो चिठी नेपालका राजाका तर्फबाट “कप्तान किरिक् पातरिक् साहेब बहादुर” मार्फत् पठाइएको थियो कलकत्तातिर।

त्यो चिठी साह्रै विस्तारित रूपमा लेखिएको छ 'डिप्लोम्याटिक' अथवा कूटनीतिक भाषामा छैन, वकिलले जिरह पेश गरे जस्तो लाग्छ। त्यसको पनि हामी पछि नै चर्चा गरुँला। तर यहाँ माथि भनिएको 'भोट हान्दाको वेहोरा'मा भने त्यसको अत्यन्त सूक्ष्म संक्षेप मात्र छ। उस चिठीको ३/४ पृष्ठलाई यो तेरिजमा एक वाक्यमा टुङ्ग्याइएको छ। यसरी–

“पछि ल्हासाले नालवंदि नतिर्दा. १८४८ साल आश्विन्मा. दामोदर पाडे बम्मशाहहरू गै. डिगर्चामा लुट गरि. माघमा आइपुग्या”।
त्यसभन्दा अघि लेखेको सालवसारी तिर्ने 'तालबन्दी' को कुरा अलि खुलस्त (डिटेलमा) छ। यस्तो–

“१८४६ साल ज्येष्ठ मैन्हामा. चीन वादसाहका हुकुमले च्यान्चुन भन्याका वडा सर्दार. भोटका हाम्रा दोसिवानामा आइ बस्यो र. भोटका र नेपालका कुरा बुझी. भोटका अर्घ्यालि ठहराई. गोर्षा महाराजलाई. ल्हासाले सालवसाल ५० हजार. नालवंदी तिर्नु भनि अकरार धर्म पत्र गराई गयो र भोट नेपालको प्रीति भयो. केरुं झ्ुगा कुति फलाक् ल्हासामा सौपियो”

यसरी केही समय नेपाली (गोर्खा) राज्यमा गाभिएको तिब्बतको भूमि पुनः फर्किएर उतै गएको यस कापीमा पढ्न पाइन्छ। त्यसपछि भने नेपालले कुनै तिब्बती भूमि कब्जा गरेन। तर यसतर्फ कदम नै नचालिएको भने होइन। १९८० सालतिर चन्द्र शमशेरले त्यस्तो जमर्को गरेका थिए, तर त्यो कार्यान्वयनमा जान पाएन। त्यसका लागि पाठकहरूले “चढाइ गर्ने आँखाले” (मपुपु २०३७ चैत) हेर्नुपर्ने हुन्छ। या त फेरि २०६२ वैशाख २४ गतेको गोर्खापत्र विशेषाङ्क पल्टाउनुपर्ने हुन्छ। हामी त्यतापट्टि जान्नौँ। ऐले हामीलाई चाख लाग्ने विषय हो– गोर्खालीहरू १८४६ मा साखेजुङबाट फर्केपछि भोटयुद्धले कुन मोड लियो भन्नेबारे सरकारी भनाइ के थियो त? त्यस विषयमा त्यही 'भोट हान्दाको वेहोरा' मा यस्तो लेखेको छ

“१८४९ साल आषाड मैन्हा. चीन वादसाहका वजीर टुङ्थाङ् लस्करली आइ. धैवुङ्मा बसि असौजमा घाय मिलाई. देवदत्त थापा प्रतिमान रानालाई ली. वादसाहका दर्शन गर्न वेत्रावत्तीदेषी. चीन तर्फ फिर्‍यो. घाय नमिल्दा अघि ५/७ लडाइँ पनि भया―

१८५० सालमा चीन वादसाहका दर्शन गरी देवदत्त थापा प्रभृति फिर्‍या”

माथि नै भनियो यो तेरिज या व्यहोरा छोटो छ, सारै संक्षिप्त छ। यसै कुरालाई कलकत्तामा पठाएको चिठीमा अत्यन्त विस्तृत वर्णन गरिएको छ। त्यो पनि कुनै बेला हेरौँला। ऐलेलाई चाहिँ त्यसलाई छाडी अर्को चाखलाग्ने कुरातिर आँखा लगाउँक। देवदत्त थापाहरू पेचिनसम्म चीनका वादसाहको दर्शन गर्न गए र एक वर्षपछि १८५० मा त्यहाँ 'दर्शन' गरी उनीहरू फर्के भनिएको छ। कसरी गए त उनीहरू पेचिनसम्म, कुन बाटो गए? अत्यन्त चाखलाग्ने विषय हो। त्यो हामीले पत्ता पाएका छौँ। यही 'कापी' मा छ 'तातापानीदेषी पेचिन शहरतक.' का १७१ बास र बाटाको बयान।

तर यो बयान, देवदत्त थापाहरूले दिएको चाहिँ होइन, त्यसको ६० वर्षपछि (त्यही बाटो गरी?) १९०९ सालमा सर्दार शम्शेर जङ्ग थापा चीन जाँदा तयार पारी ल्याएका हुन्। १८४९ र १९०९ का बीचमा त्यस बाटामा के कति फरक भयो त्यो थाहा छैन। कूटनीतिक नियोगका व्यक्तिहरूले यात्रा गर्ने बाटा–घाटामा फरक नपर्नु धेरै सम्भव छ। यी १७१ बास र बाटाका केही रोचक प्रसङ्ग हामी कुनै बेला झिकौँला।