आवरण | टिप्पणी
जनआन्दोलनका लागि युद्धविराम
•
रघु पन्त
यतिबेलाको नेपालमा जनशक्ति
प्रदर्शनको सबैभन्दा प्रभावकारी माध्यम भनेको शान्तिपूर्ण जनआन्दोलन
नै हो। नेकपा (माओवादी) र आन्दोलनरत सात राजनीतिक दल बीचमा भएको बाह्रबुँदे
समझदारी र माओवादीद्वारा गरिएको एकतर्फी चारमहिने युद्धविरामको अवधिमा
शान्तपूर्ण जनशक्ति प्रदर्शनको सिलसिलाले देशव्यापी रूपमा उचाइ हासिल
गरेको थियो। तर जब युद्धविराम भङ्ग भयो त्यसदेखियता शान्तिपूर्ण आन्दोलन
पनि सुस्त हुँदैगयो।
माओवादीहरूद्वारा विभिन्न स्थानमा छोडिएका बम पड्किएर
सर्वसाधारण नागरिकहरू मर्न थालेपछि माओवादीहरूप्रति सर्वसाधारण जनतामा
पुनः नकारात्मक भाव बढ्दै जान थालेको छ। नागरिक चढेका बस र अन्य यातायातका
साधनहरू माओवादीका विष्फोटनमा पर्न थालेपछि जनता झन् चिढिएका छन्।
माओवादी लडाका र सरकारी सेनाबीच मूठभेड बढेपछि युद्धको त्रास बढ्नु
स्वाभाविक हुन्छ। बन्द, हड्ताल र द्वन्द्वले शान्तिपूर्ण आन्दोलनको
निमित्त जनतालाई उत्साहित पार्नुभन्दा त्रसित पार्ने काम बढी गरेको
छ।
हिंसात्मक द्वन्द्व, लामा–लामा बन्द, राजमार्ग, शहर
र जनताका घरआँगनमा गरिने विष्फोट तथा सशस्त्र आक्रमणबाट माओवादीको
ध्वंस गर्ने क्षमता पुनः प्रदर्शित भएपनि त्यसले जनतालाई आन्दोलित
गर्न सक्दैन। आन्दोलनका लागि शान्तिपूर्ण सङ्घर्षप्रतिको प्रतिबद्धता,
नैतिक साहस र व्यापक जनताको साथ–समर्थन नै आवश्यक पर्छ। हिंसात्मक
घटनाहरूले अन्तर्राष्ट्रिय क्षेत्रको समर्थन र सहानुभूति पनि प्राप्त
गर्न दिँदैनन्। माओवादीको हिंसात्मक गतिविधि बढ्नासाथै कतिपय अन्तर्राष्ट्रिय
शक्तिहरूले १२ बुँदे समझदारीको औचित्यप्रति प्रश्न उठाउने मौका पाए।
युद्धविराम भङ्ग गर्नेवित्तिकै ठाउँठाउँमा माओवादीहरूले विभिन्न राजनीतिक
दलका कार्यकर्ताहरूलाई अपहरण गर्ने, सर्वसाधारणको घरमा ताल्चा लगाइदिने,
बलजफ्ती चन्दा असुल्ने, धम्क्याउने र केहीको त हत्या समेत गर्ने काम
गरे। माओवादीको चाहना सात दलको आन्दोलनलाई कमजोर पार्ने थिएन नै भनेपनि
उनीहरूको हिंसात्मक र अराजनीतिक व्यवहारले आन्दोलनलाई नै नोक्सान पुर्यायो।
सात दलका कार्यकर्ता र आम जनता समेत माओवादीप्रति पुनः सशङ्कित हुन
थाले।
यस्तो स्थिति आन्दोलनरत सात दल र माओवादी दुवैका लागि
नकारात्मक हुनसक्ने भएकोले त्यसलाई सुल्ट्याउन दल र माओवादीका नेताहरूबीच
विभिन्न तहमा वार्ताहरू भइरहेका छन्। स्थितिलाई सहज र विश्वासयुक्त
बनाउने प्रयत्नहरू भइरहेका छन्। बाह्रबुँदे सहमतिप्रति इमान्दार रहेर
त्यसको कार्यान्वयन गर्नमा माओवादी नेतृत्वले दृढता नै देखाएको छ।
देशमा व्याप्त गृहयुद्धको स्थितिलाई समाप्त पारी लोकतन्त्र
पुनःस्थापना गर्न माओवादीलाई शान्तिपूर्ण राजनीतिप्रति सहमत गराउनु
सात दलको कर्तव्य र सफलता दुवै थियो। माओवादीको नेतृत्वले पनि आवश्यक
लचिलोपन र दृढता समझदारीमा आउने क्रममा देखाएकै हो। तथापि, दुवै पक्षबीच
चिन्तन, विचार, कार्यशैलीका साथसाथै पार्टीगत संरचनामा समेत भिन्नताहरू
रहेका छन्। यस्ता भिन्नता तत्काल समाप्त पनि हुँदैनन्। कतिपय कुरामा
एकरुपता ल्याउन लामो बहस, छलफल, वैचारिक सङ्घर्ष र आलोचनाको आवश्यकता
पर्छ। दुवै पक्षले एकअर्कालाई आलोचना गर्ने, बुझ्ने र सच्याउने/सच्चिने
क्रमसँगै विश्वास बढ्दै जान्छ। त्यसैले यस्तो क्रमलाई निरन्तरता दिनुपर्छ।
राजाको निरङ्कुश र स्वेच्छाचारी शासन रहेसम्म दल–माओवादी
सहमतिले व्यावहारिक रुप धारण गर्न सक्दैन। त्यसैले पहिलो र प्रमुख
काम भनेको यतिबेला राजाको निरङ्कुश शासनलाई समाप्त गरेर लोकतन्त्र
स्थापना गर्नु र जनताको हातमा शासनसत्ता ल्याउनु हो। लोकतन्त्र पुनःस्थापन
भएपछि मात्रै माओवादीसँगका समझदारीहरूलाई कार्यान्वयन गरेर मुलुकमा
शान्ति कायम गर्न र थप लोकतान्त्रिक परिवर्तनको दिशातर्फ अघि बढ्न
सकिन्छ। यसर्थ, यतिबेलाको एक मात्र काम शान्तिपूर्ण जनआन्दोलनलाई के
गरेर सफल पार्ने भन्ने कुरामा नै सात दल र माओवादीले आफ्नो सम्पूर्ण
ध्यान, नीति र शक्तिलाई केन्द्रित गर्नुपर्दछ।
नेपालमा बर्खा लागेपछि आन्दोलनका गतिवधिहरू भौगोलिक,
मानसिक र आर्थिक कारणले गर्दा राम्ररी अघिबढ्न नसकेको विगतको अनुभव
छ। मङ्सिर, पुसदेखि जेठसम्मको अवधि मौसम र भौगोलिक कारणले आन्दोलनका
लागि उपयुक्त समय हो। सात राजनीतिक दलले वर्तमान आन्दोलनलाई यही चैतदेखि
आगामी जेठ महिनासम्ममा उत्कर्षमा पुर्याइसक्नुपर्छ। तर माओवादीका
लामा–लामा बन्द र हड्ताल राजमार्गमा विष्फोटन तथा सशस्त्र क्रियाकलाप
कायमै रहने हो भने शान्तिपूर्ण आन्दोलन प्रभावकारी बन्न सक्दैन। त्यसैले
माओवादीद्वारा आह्वान गरिएका आम हड्ताल र सशस्त्र द्वन्द्वका गतिविधिहरू
बन्द हुनुपर्छ। यसका लागि माओवादीद्वारा आह्वान गरिएका कार्यक्रमहरू
फिर्ता भएर मात्र पुग्दैन उसले पुनः एकतर्फी युद्धविरामको घोषणा समेत
गर्नु आवश्यक छ।
एकतर्फी युद्धविरामले शान्तिपूर्ण आन्दोलनको वातावरण
तयार गर्न मद्दत पुर्याउँछ भने माओवादीको कमजोर हुँदै गइरहेको राजनीतिक
छविलाई पुनःस्थापित गर्छ। एकतर्फी युद्धविरामले राजाको निरङ्कुश सरकारलाई
पनि नङ्ग्याउन बल पुर्याउँछ। शान्तिको बाटोको तगारो माओवादी नभएर
एकलौटी शासन चलाउने राजाको हठ रहेछ भन्ने वास्तविकतालाई थप पुष्टि
मिल्छ। माओवादी घुसपैठको निहुँ बनाएर शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने
शाही सरकारको तर्क कमजोर हुनपुग्छ।
युद्धविरामले निरङ्कुश राजतन्त्र विरुद्ध जनता जगाउन,
शान्ति र पूर्ण लोकतन्त्रको पक्षमा गाउँगाउँ उठाउन र कार्यकर्ताहरूलाई
सर्वसाधारण जनतासम्म पुग्न सजिलो पार्छ। जनता ढुक्क भएर शान्तिपूर्ण
आन्दोलनमा सामेल हुने वातावरण बन्दै जान्छ। शान्तिपूर्ण आन्दोलनलाई
निर्णायक तहसम्म उठाउन युद्धविराम निर्णायक रूपले सहयोगी हुन्छ। एकतर्फी
युद्धविराम नभएको खण्डमा त्यसले आन्दोलनलाई त कमजोर पार्छ नै साथसाथै
बाह्रबुँदे सहमतिको औचित्यमाथि प्रश्न उठाउने अवसर समेत दिन्छ। माओवादीले
सशस्त्र सङ्घर्ष र शान्तिपूर्ण जनआन्दोलनको 'फ्युजन' गर्न खोजे भने
उनीहरूप्रति जनतामा थप 'कन्फ्युजन' (शङ्का) उत्पन्न हुनेछ।
|