हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट - पदक-विभूषण

राजाद्वारा, राजाका मान्छेलाई

कसैले पाएको पदक वा विभूषणलाई उसले देशप्रति गरेको योगदानको मापन भनेर मान्ने हो भने मुख्यसचिव विमल कोइराला भन्दा राजाका ज्वाइँ राजबहादुर सिंह र छोरी प्रेरणाको योगदान 'उल्लेखनीय' रहेको मान्नुपर्ने हुन्छ ।

किरण नेपाल


मीन बज्राचार्य
लोकेन्द्रबहादुर चन्द, कीर्तिनिधि बिष्ट र मरिचमान सिंहः राजनीतिज्ञका नाउँमा यस्ताले मात्र पाएका छन् मानपदवीः

पाटन औद्योगिक क्षेत्रभित्रको घरेलु तथा साना उद्योग कार्यालयमा यतिखेर 'नेपाल तारा' बनाउने काम धमाधम भइरहेको छ । पुराना कारिगरहरू नभएकोले नयाँ कारिगरहरूलाई यो विभूषण बनाउन निक्कै हम्मे परिरहेको छ । त्यसो त उनीहरू वर्षरि नै कुनै न कुनै विभूषण बनाउने काम गरिरहन्छन् । एक कारिगर भन्छन्, "बनाउन गाह्रो हुने नेपाल तारा होस् वा सजिलो गोदबा, हाम्रा लागि वर्षरिको मेलो यही हो ।" उनका भनाइमा, "गोदबा त वर्षरि नै बनिरहन्छ ।" अलङ्कार तथा विभूषण बनाउने काममा यस कारखानामा ३५ कारिगरहरूसहित करीब ५० को सङ्ख्यामा जनशक्ति कार्यरत छ ।

'शान्ति सुव्यवस्था कायम गराउने सिलसिलामा विशेष योगदान पुर्‍याउने' सेना, प्रहरी, निजामती कर्मचारी र र्सवसाधारण गरी १ हजार २ सय ८३ जनाले यही १७ भदौमा राजाबाट विभूषण -पदक) पाउँदैछन् । १ वैशाख २०६२ मा घोषणा गरिएका यी पदक वितरणपछि मात्रै राजाको ५९ औँ जन्मोत्सवको अवसर पारेर २३ असारमा घोषणा गरिएका करीब ४ हजार ५ सय पदक वितरणको अर्को कार्यक्रम तय गरिनेछ । विभूषण, मानपदवी, अलङ्कार जे जे भनिए पनि र्सवसाधारणले त्यसलाई 'पदक' भनेर चिन्ने गरेका छन् ।

अहिले नेपालमा ११ वटा विभूषण -तिनको ३५ श्रेणी हुन्छ, जस्तो कि गोरखा दक्षिण बाहु प्रथमदेखि पाँचौँसम्म) छन् । ८ पुस २०४८ मा जारी विभूषण नियमावलीले ९ वटा मानपदवीहरूको व्यवस्था गरेकोमा १९ जेठ २०५८ मा राजा वीरेन्द्रको वंश-विनास भएपछि दर्ुइ वटा मानपदवी- वीरेन्द्रमाला र वीरेन्द्र प्रजातन्त्र भास्कर थपिएका हुन् ।


नेपाल तारा पहिलो ।


नेपाल प्रताप भास्कर पृथुलाधीशका लागि ।


राजाका छोरी र ज्वाइँले पाएको पदक त्रिशक्तिपट्ट पहिलो (बायाँ) र गोदबा पहिलो ।


र्सवसाधारणले सामान्यतयाः पाउने त्रिशक्तिपट्ट चौथो (बायाँ) र गोदवा चौथो

नचिनिएका 'योग्य'हरू
दरबारले प्रत्येक वर्षपदक, विभूषण दिएर सम्मान गर्नेहरूको नाम सुन्नासाथ प्रश्न उठ्छ, यिनले राष्ट्रिय जीवनमा के योगदान गरे - यस्तो प्रश्न अरू चर्कोसँग उठेको छ । 'राष्ट्रिय जीवनको कुनै पक्षमा प्रशंसनीय काम गर्ने' नेपालीलाई दिइने गोरखा दक्षिण बाहु (प्रथम) २३ असारमा राजाका ज्वाइँ राजबहादुर सिंह र तत्कालीन प्रधानन्यायाधीश हर्रि्रसाद शर्मालाई दिइएको छ । उनीहरूले 'के-कस्तो प्रशंसनीय काम गरेबापत' सो पदकबाट सम्मानित हुने अवसर पाएका हुन् - यस्ता प्रश्नको जवाफ दरबारले कहिल्यै दिँदैन र त्यसो गर्न बाध्य पनि छैन । अधिराजकुमारी प्रेरणा र रुम्जाटार ओखलढुङ्गाका नवराज गुरुङलाई 'राष्ट्रसेवामा उल्लेखनीय योगदान गर्ने' नेपालीलाई दिइने त्रिशक्तिपट्टद्वारा सम्मानित गरिएको छ । राजाकी छोरी हुनुबाहेक अधिराजकुमारी प्रेरणाको र पञ्चायतकालीन अञ्चलाधीश गुरुङको त्यसरी विभूषित हुने अरू कुनै योग्यता देखिँदैन । जबकि वर्तमान प्रधानन्यायाधीश दिलीपकुमार पौडेल र मुख्य सचिव विमलप्रसाद कोइरालालाई मर्यादाक्रममा तल्लो -गोदबा दोस्रा) पदक दिइएको छ । यसको स्वाभाविक अर्थ पौडेल र कोइरालाको भन्दा राजाका ज्वाइँ राजबहादुर सिंह, अधिराजकुरमारी प्रेरणाको योगदान 'उल्लेखनीय' रहेको भन्ने निस्कन्छ । तर त्यस्तो मान्न कुनै नेपाली पनि तयार भेटिँदैनन्  । परिणामतः राष्ट्र वा राजाले दिने पदक-विभूषणले आफ्नो आदर-इज्जत र आकर्षा गुमाउँदै गएका छन् ।

यस वर्षपत्रकारका नाममा सम्मानित हुने ४० मध्ये अधिकांश व्यक्ति मूलधारको पत्रकारितामा कहिल्यै नसुनिएका नाम छन् । दरबारले 'मुलुकका लागि प्रशंसनीय काम गरेको' भनी गोदबा चौथोद्वारा विभूषित समाज कल्याण परिषदका वकिल देवेन्द्रराज शर्मालाई भर्खरै मात्र समाज कल्याण मन्त्रालयले सेवाबाट हटाएको छ । नाम उल्लेख नगर्ने शर्तमा सरकारका एक उच्चअधिकारी भन्छन्, "पञ्चायतमा होस् वा प्रजातन्त्रमा, विभूषणलाई सम्मान भन्दा पनि दरबारका आफन्त बढाउने अस्त्रका रूपमा प्रयोग गर्ने गरिएको छ ।"

चाकडी जत्ति, पदक उत्ति
के कस्तो काम गर्ने कसलाई कुन विभूषण दिने भन्ने व्यवस्था विभूषण नियमावली २०४८ ले गरेको छ । नियमावली अनुसार 'मुलुकका लागि उत्कृष्ट योगदान गर्ने, राष्ट्रको प्रतिष्ठा बढाउने, राज्यको रक्षार्थ सराहनीय काम गर्ने, राष्ट्रसेवामा उत्कृष्ट/उल्लेखनीय योगदान पुर्‍याउने, राष्ट्रिय जीवनको कुनै पक्षमा प्रशंसनीय काम गर्ने' व्यक्ति यस्तो मानसम्मानको हकदार मानिने देखिन्छ । त्यस्तै मुलुकको हितमा काम गर्ने विदेशीहरूलाई पनि यस्ता पदकहरूबाट सम्मान गर्न सकिने व्यवस्था नियमावलीमा छ । सम्मानित व्यक्तिलाई विभूषणसँगै दिइने 'शाही अधिपत्र'मा उसलाई किन सो पदक दिइएको हो भन्ने खुलाइएको हुन्छ ।

तर व्यवहारमा नियमावलीको कुनै अर्थ छैन । नागरिक निकाय, गृहमन्त्रालयमा विभूषण शाखा भए पनि यो शाखा दरबारले भनेको व्यक्तिको विवरण सङ्कलन गर्ने, कतिपय अवस्थामा घरमा पदक पुर्‍याउने, उसले मागेको जानकारी दिने काम गरेर बस्न विवश छ । पर्ूव गृहमन्त्री गोविन्दराज जोशी स्वीकार गर्छन्, "सबै मन्त्रालयबाट आएका नामावली र समाजका लब्ध प्रतिष्ठित व्यक्तिको नाम सिफारिस समितिमा पेश गर्ने काम मात्रै गर्छ गृहमन्त्रालयले ।"

प्रजातान्त्रिक कालमा कुनै पनि दल वा सरकारले पदक, मान-सम्मानको सही व्यवस्थापन गर्नेतर्फध्यान दिएनन् । नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२३ मा 'श्री ५ बाट राज्यका तर्फाट दिइने उपाधि, सम्मान र विभूषणहरू प्रदान हुनेछन्' भन्ने उल्लेख हुनुलाई दलहरूले 'राजाकै काम' का रूपमा बुझे । फलतः प्रजातान्त्रिक कालमा पनि विभूषण वितरणमा सधैँ दरबारको हालिमुहाली रहृयो । देशको तर्फाट दिइने मानसम्मानको यो अवसरलाई उसले आफ्ना र्समर्थक बढाउने काममा प्रयोग गरिरहृयो । शाही नेपाली सेनाका पर्ूव बिगे्रडियर जनरल तथा कानुनविद् दीप्तप्रकाश शाह भन्छन्, "नियमावलीको कुनै अर्थ छैन । व्यवहारमा पदक वितरण प्रणाली राजाको स्वविवेकमा हुन्छ र चाकडी गर्नेले उपल्लो र दह्रो पदक पाउँछन्  ।"

हुन पनि २०४९ सालमा सेनामा भर्ना भएर तालिम पूरा गर्न नसकेपछि बाहिरिएका वर्तमान स्वास्थ्य सहायक मन्त्री निक्ष शम्शेर राणाले गोदबा चौथो पाएका छन् । केही वर्षेखि राजा र दरबारको पक्षमा सडकमा जुलुश निकालेर चर्चित भएका राणाको योगदान यति 'उच्च' मानिनुमा देख्न सकिने अरू कुनै कारण छैन । नियमावलीले मानपदवी, विभूषणहरू तथा पदकहरू पाउन मापदण्ड तोके पनि व्यवहारमा त्यसको पालना कहिल्यै पनि भएको पाइँदैन  । -हे.बक्स)

प्रधानमन्त्री अध्यक्ष हुने विभूषण सिफारिस समितिले चयन गरेका व्यक्तिहरूलाई श्री ५ बाट प्रत्येक वर्षसम्मानित गर्ने कुरा नियमावलीमा उल्लेख छ । यसरी पदक वितरणमा नागरिक प्रशासन संलग्न भएको देखिएपनि व्यवहारमा समितिले सिफारिस गरेका व्यक्तिले नै पदक पाउँछन् भन्ने छैन । सिफारिस समितिका एक सदस्यको भनाइमा, यो वर्षपदक पाउने 'लिष्ट'मा नाम भएर पनि गृह, सञ्चार, कानुन, अर्थ र रक्षा सचिवलगायत करीब एक दर्जन वरिष्ठ निजामती कर्मचारीहरूको नाम दरबारले अन्तिम अवस्थामा गएर काटेको थियो ।
उद्योग, बाणिज्य तथा आपर्ूर्ति मन्त्रालयअर्न्तर्गत रहेपनि अलङ्कार र विभूषणहरू बनाउने पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उद्योग कार्यालयको कारखाना राजकीय सम्पत्ति कोषको निर्देशनमा चल्ने गर्छ । त्यसैले त्यो कारखानामा छिर्न सजिलो छैन । भवनमा प्रवेश गरिसकेपछि पनि तीन वटा ढोका नाघेर मात्र पुग्न सकिने कारखानाका प्रत्येक ढोकामा 'अनुमति बिना प्रवेश निषेध' सूचना टाँसिएका छन् ।

प्रत्येक पदकमा के कति धातु, हीरा, जवाहरातहरू प्रयोग गर्ने भन्ने निर्ण्र्ाादरबारको राजकीय सम्पत्ति कोषले गर्छ । जस्तो १०० ग्राम सुन, १०० ग्राम चाँदी र ६० वटा हीरासहित वीरेन्द्रमाला बन्छ भने गोदबा पाँचौँमा ३० ग्राम चाँदी मात्र हुन्छ । पदक बनाउँदा पर्ने श्रम अनुसार त्यसको निर्माण लागत -ज्याला) तय गर्ने गरिन्छ । जस्तो त्रिशक्तिपट्ट पहिलो बनाउँदा ज्याला मात्रै झण्डै रु.५ हजार पर्छ भने यसकै पाँचौँ श्रेणी बनाउँदा करीब रु.६ सय मात्रै पर्न आउँछ । सम्मानित व्यक्तिले विभूषणसँगै पृथुलाधीश वा राजाले तोकेको व्यक्तिको हस्ताक्षरसहितको 'शाही अधिपत्र' प्राप्त गर्छ । १९ जेठ २०५८ पछि यस्तो सम्मान पाउनेहरूलाई रानीको हस्ताक्षरसहितको 'शाही अधिपत्र' दिने गरिएको छ ।

यसरी जथाभावी वितरण गरिने पदकले देश र समाजप्रति योगदान गरेको जनिने नभई कता कता अपमानित महसूस गर्नु परेर होला, पदक लिन्न भन्नेहरू पनि देखिन थालेका छन् । गएको वर्षसमय साप्ताहिक का सम्पादक युवराज घिमिरेले 'आफूले पदक पाउनयोग्य कुनै काम नगरेको' भनेर गोदबा चौथो अस्वीकार गरेका थिए । पञ्चायत कालमा गोदबाका लागि सिफारिस गरिएका शङ्करदेव कलेजका संस्थापक शङ्करदेव पन्तले 'आफैँ विभूषित भएका कारण कसैले विभूषण दिइरहनु नपर्ने' भन्ने जवाफ तत्कालीन सत्तालाई दिएका थिए ।

व्यक्तिगत सन्तुष्टिबाहेक पदकले पदक पाउनेहरूलाई सामाजिक मानसम्मान पनि दिन छोडेको छ । दरबार र सरकारको जागिरमा रहेकाहरू बाहेक अरूले त पदकप्रति चासो पनि राखेको पाइँदैन । पदक पाउने सेना, प्रहरीहरूले पुरस्कारसँगै पदक अनुसार आफ्नो 'करिअर'को बढोत्तरीका लागि कार्यकुशलता अङ्क समेत पाउँछन् भने निजामती कर्मचारीहरूले अवकाशपछि एकमुष्ट उपदान पाउँछन् । यता आएर, हैसियत नभएका व्यापारी तथा अन्य विभिन्न धन्दा गर्नेहरूले पदक पाएपछि थुप्रै पैसा खर्च गरी अखबारमा विज्ञापन छपाउने लहर नै आएको छ । समाजमा बद्नामी कमाएकाहरूले त राजाले दिएको पदकमार्फ् आफूलाई चोखो र महान् देखाउन कैयौँ लाखौँसम्म खर्च गर्ने गरेको पाइएको छ ।

विभूषण पदक कसले पाउँछ ?
वीरेन्द्रमालाः विदेशी राज्यका गद्दीनसीन राजा वा गद्दीनसीन रानी
महेन्द्रमालाः विदेशी राज्यका गद्दीनसीन राजा वा गद्दीनसीन रानी
नेपाल प्रताप भास्करः राजपरिवार, विदेशी राज्यका राजा वा रानी
ओजस्वी राजन्यः राजपरिवार, विदेशी राष्ट्राध्यक्ष, सरकार प्रमुख र वा तिनका पतिपत्नी
त्रिभुवन प्र. श्रीपदः राजपरिवार, मुलुकका निम्ति उत्कृष्ट योगदान गर्ने नेपाली
नेपाल श्रीपदः राजपरिवार, राष्ट्रको प्रतिष्ठा बढाउने नेपाली
नेपालताराः राजपरिवार, युद्ध/शान्तिकालमा मुलुकको रक्षार्थ, अन्तर्रर्ााट्रय शान्ति स्थापनार्थ सराहनीय काम गर्ने सेना, नेपाली नागरिक तथा विदेशी सैनिक
रामपट्टः राजपरिवार, राष्ट्रसेवामा उज्जवल दृष्टान्त कायम गर्ने नेपाली नागरिक
वीरेन्द्र प्र. भास्करः राजपरिवार, राष्ट्रसेवामा विशिष्ट सेवा पुर्‍याउने नेपाली र हितकारी विदेशी
त्रिशक्तिपट्टः राजपरिवार, राष्ट्रसेवामा उल्लेखनीय योगदान गर्ने, नेपालको हितकारी विदेशी
गोरखा दक्षिण बाहुः राजपरिवार, राष्ट्रियजीवनको कुनै पक्षमा प्रशंसनीय काम गर्ने, हितकारी विदेशी ।