हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

स्वतन्त्रताका पहरेदार


मीन बज्राचार्य

"जनताको सुसूचित हुने हकलाई व्यापक असर पर्ने हुँदा यो मुद्दाको टुङ्गो नलागेसम्म इजाजत-पत्र रद्द गर्ने काम नगर्नू", सर्वोच्च अदालतका न्यायाधीश अनुपराज शर्माको इजलाशले २६ साउनमा गरेको एक वाक्यको यो आदेश नेपालका स्वतन्त्र प्रसारण संस्थाहरूका लागि सञ्जीवनी सावित भएको छ । समाचार बजाएकै कारण बन्द गर्न सकिनेे धम्की पाएको नेपाल एफएमका पक्षमा सर्वोच्चको आदेश आउनासाथ १९ माघपछि गीत-सङ्गीतमा खुम्चिएका एफएम रेडियोहरूले टाउको उठाए र समाचार प्रसारण गर्नथाले । यस अर्थमा शर्माको इजलाशले दिएको आदेशले प्रसारण माध्यममा पत्रकारिताको पर्ुनर्जन्म मात्रै गराएको छैन, आवश्यक पर्दा नेपालको सर्वोच्च अदालत नागरिक स्वतन्त्रताका पक्षमा बलियोसँग उभिन्छ भन्ने पनि देखाएको छ ।

कानून व्यवसायीहरूमाझ शर्माकोे स्वच्छ छविको खुलेर प्रशंसा गरिन्छ । पेशामा तीन दशकसम्म उनीसँगै बिताएका वकिलहरूका भनाइमा, सर्वोच्च अदालतको न्यायाधीशका रूपमा प्रतिमहिना शर्माले जति सुविधा पाउँछन्, हिजो त्योभन्दा बढी कर तिर्ने हैसियतका वकिल थिए उनी । स्वच्छ छविकै कारण उनलाई वकिलबाट सोझै सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनाइएको थियो । एक अधिवक्ताको भनाइमा, "शर्माको इजलाशले संविधान र कानूनले नागरिकलाई दिएको अधिकारमा हस्तक्षेप नगर्न सरकारलाई सूचितसम्म गरेको हो ।" संविधान र कानूनका दृष्टिमा शर्माको आदेश सामान्य होला तर अहिले यसको महत्त्व निकै ठूलो छ । अदालत, न्यायाधीशहरू सधैँ स्वतन्त्रताकै पक्षमा हुन्छन् भन्ने सन्देश पनि हो यो ।


आदर्श विधवा


जेबी पुन मगर

दुई वर्षघि दशैँ मनाउन बुटवलबाट धनुषा जाँदा बाटैमा माओवादी-प्रहरी भिडन्तमा परेर अमिरकला महतोका श्रीमान् मारिए । नवलपरासीस्थित सुनवल चौकीमाथि माओवादीले हमला गर्दा अशोकलाई कुन पक्षको गोली लाग्यो, थाहा भएन ।

वियोगसँगै शुरु भए अमिरकलाका विपत्तिका दिन । श्रीमान्को आयबाट रोजीरोटी चलिरहेको उनको परिवारलाई दर्ुइछाक जोड्न हम्मे पर्‍यो । बुटवलस्थित सीप विकास तालिम केन्द्रका जागिरे अशोकले जोडेको प्रिन्टिङ प्रेस पनि बन्द भयो । श्रीमान्को कार्यालयबाट बिरामी भत्तासहित चौबीस महिनाको तलब सहयोग गर्ने भनिए पनि उनले त्यहाँबाट उपेक्षाबाहेक केही पाइनन् । तर उनले हार मानिनन् । धनुषा गएर विधवा बुहारीका रूपमा खुम्चिनुको सट्टा थन्किएको प्रेस चलाउन थालिन् ।

आजभोलि बिहान पाँच बजे नै काममा निस्किन्छिन् अमिरकला । अफिस-अफिस चहारेर छपाइको काम जुटाउँछिन् र दर्ुइ कर्मचारीसहित साँझसम्म प्रेसमै खटिरहन्छिन् । भन्छिन्, "अस्वस्थ प्रतिस्पर्द्धर्ाा काम पाउनसमेत मुश्किल छ तर दिनरात खटाइले गुजारा चलिरहेको छ ।" प्रेसकै आम्दानीबाट छोराहरूको राम्रै लालनपालन गरिरहेकी अमिरकलाले शुरुमा अवला भन्दै हेप्ने, होच्याउनेेहरूबाट पाएको मानसिक पीडा भुलिसकेकी छन् । सामान्य लेखपढ गर्नसक्ने उनी दुःख पर्‍यो भन्दैमा आत्तिन नहुने, बरु हिम्मत देखाउनुपर्ने धारणा राख्छिन््् । त्यस्तै साहसकै कारण द्वन्द्वले विधवा बनाएका हजारौँ महिलाहरूमाझ एक आदर्श बनेकी छन् अमिरकला । भन्छिन्, "दुःखको बेला होश गुमाएको भए परिवार नै छिन्नभिन्न हुन सक्थ्यो  ।