हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
किशोर नेपाल

डेटलाइन कञ्चनपुर

सीमा, नदी र आरक्षको जिल्ला

 

कञ्चनपुरका बारेमा भन्नै पर्ने कुराहरू साह्रै थोरै छन् । सुदूरपश्चिमको यो सीमान्त जिल्ला र यसका निकटवर्ती भू-भागहरूमा नेपालीले अङ्ग्रेजसँग पराजय व्यहोरेका थिए । जङ्गबहादुरले यो भू-भाग फिर्ता ल्याएपछि धेरैले यस क्षेत्रलाई नयाँ मुलुक ठाने । तर, यहाँ त्यस्तो नयाँ केही थिएन । अहिले पनि छैन  । कञ्चनपुरका नियमित समस्याहरू नेपाल-भारत सिमानामा रहेका अन्य जिल्लाहरूको भन्दा भिन्न छैनन् । समाचार खोज्दाखोज्दा बम र बारुद बाहेकका नयाँ समाचार नपाएर थाकेका पत्रकारहरू बेलामौकामा सीमा अतिक्रमण र शुक्लाफाँटा आरक्ष सम्बन्धी पुराना र पटके समाचारहरूलाई 'डेन्टिङ पेन्टिङ' गरेर 'स्कूप' मार्दछन् । महाकालीमा नयाँ बनेको झोलुङ्गे पुलले दोधारा-चाँदनी क्षेत्रलाई मुख्य भूमिसँग जोडेपछि त्यताका समाचार आफैँ नियमित बनेका छन् । सीमा क्षेत्रमा हुने गोष्ठीहरूमा सहभागी हुने बहाना बनाएर कहिलेकाहीँ सिमानाको बजार घुम्न आउने उत्तरप्रदेश र उत्तराञ्चल जस्ता भारतीय राज्यका मन्त्रीहरूको आतिथ्य स्वीकार गर्न बेलाबेलामा पत्रकारहरू वनबासा र टनकपुर छिर्छन् । मुलुकको परिस्थिति बदलिएपछि जिल्लाका भीआईपी र प्रशासकहरूसँग उति साह्रो रसबस हुँदैन । जिल्लाको एकमात्र शहर महेन्द्रनगर बिहान ढिलो ब्यूँतिन्छ र साँझ चाँडो सुत्छ । गड्डाचौकी क्षेत्रमा देखिने विस्थापितहरूको खैलाबैलालाई शहरको चहलपहल नमान्ने हो भने हिंसात्मक द्वन्द्वले र्सवाधिक प्रभावित यो सीमान्त शहर दिनभरि नै चकमन्न देखिन्छ  ।

कञ्चनपुरको राजनीतिलाई महेन्द्रनगरले खिप्ने चलन यहाँका लागि नयाँ होइन । मधेशमा पहाडी जनसङ्ख्याको सन्तुलन मिलाउने राजा महेन्द्रको नीति अनुरुप बेलौरी नजिक पुनर्वासीहरूको नयाँ बस्ती बस्यो । लाहुरेहरूको बाहुल्य भएर होला, एउटा बस्तीको नामै राखियो कलकत्ता । साँच्चै बहु-जातीय, बहु-सांस्कृतिक र बहु-भाषी समूहको केन्द्र बन्यो बेलौरी । २०१९ सालमा कञ्चनपुरको सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सरेपछि राज्यका तर्फाट बेलौरीको विकासक्रम रोकियो । तर, सिमानाको बजार भएकाले सीमा क्षेत्रका मानिसहरूको आकर्षा घट्न पाएन । भारतका सम्पूर्ण्ाानन्दनगर, पलिया, बरेली र लखनऊसम्मका मानिसहरू व्यापारका लागि बेलौरी आउने क्रम चलिरहेको थियो । व्यापारिक विकासका कारण शिक्षा क्षेत्र पनि फष्टायो । पाँच वटा माध्यमिक विद्यालय खुले । २०४६ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भयो । तर, २०५७ सालपछि, हिंसात्मक द्वन्द्वका कारण विकासको यो क्रम ठ्याप्पै रोकियो । व्यापारीहरूले सौर्न्दर्य प्रशाधनका पसलहरू बन्द गरे । होटलहरू सुके । जो हिजो लखपति थिए ती चिया पसल थापेर गुजारा गर्न थाले ।

महाकाली नदी झण्डै दश किलोमिटर पर भएपनि नदी किनाराको शहरका रूपमा महेन्द्रनगर प्रसिद्ध छ । नदीको पानी भलै नदेखियोस्, र्सर्रर हावा त बहन्छ ! तर, नगर विकासका आधारहरू सहित तयार पारिएको महेन्द्रनगर कञ्चनपुरका गाउँहरूसँग भन्दा बढी काठमाडौँसँग जोडिएको छ । अहिले पनि महेन्द्रनगर कञ्चनपुरको सदरमुकाम भन्दा बढी दार्चुला, बैतडी, डडेलधुरा र डोटीको राजनीतिका लागि काठमाडौँको सर्म्पर्क कार्यालय जस्तो लाग्छ  । महेन्द्रनगरमा कञ्चनपुर त्यति अनुभूत हुन सक्दैन, जति बेलौरीमा हुन्छ  । भौगोलिक रूपले पनि बेलौरीबाट महेन्द्रनगरभन्दा धनगढी नजिक पर्छ । ढोढा नदीमा पुल बन्न सकेको भए गल्ला व्यापार सुगम हुनसक्ने थियो ।

महेन्द्रनगरले अहिले सिङ्गै सुदूरपश्चिम नेपालको द्वन्द्वको अभिशाप व्यहोरिरहेको छ । विस्थापित महिलाहरू, बालबालिकाहरू, सिमाना काट्न आतुर मानिसहरूको भीड, दिनैपिच्छे जसो पड्किने बम र गोलीका आवाजहरू  । महेन्द्रनगर र कैलालीको धनगढी समानान्तर बजारहरू हुन् । तर, धनगढी द्वन्द्वमा आफैँ मुछिएको छ भने महेन्द्रनगर द्वन्द्वको भारले थिचिएको छ । यी सबै भारहरूको बीचमा जिल्लाका रूपमा कञ्चनपुरका आफ्नै समस्याहरू छन् जसलाई महेन्द्रनगरले हर्ेन भ्याउने सम्भावना छैन भने पनि हुन्छ  । समस्याहरू थपिँदा छन् । सरकारी निरपेक्षता बढ्दो छ ।

कञ्चनपुरको सानो गाउँ बेलौरी र अरू धेरै साना गाउँहरू वषर्ात्का बेला जिल्लाका बाँकी भागहरूसँग काटिने गर्दछन् । "वषर्ात्मा मात्रै किन - हामी त हमेसा नै जिल्लाका अरू भागसँग काटिएका छौँ," भन्नुहुन्छ हर्कबहादुर कुँवर । बेलौरीमा स्थापित महाकाली क्याम्पसका प्रमुख प्रेमसिंह बोहोरा माओवादीको अपहरणमा परेर विस्थापित भएपछि कुँवरले क्याम्पस धानिरहनुभएको छ । बेलौरी क्षेत्रलाई हिंसात्मक द्वन्द्वले पूरै गाँजेको छ । माओवादी कार्यकर्ताहरू दिनहुँ बजार क्षेत्रमा आएर नारा लेख्दछन् । गाउँ जनसरकार प्रमुख चियापसलहरूमा जनसर्म्पर्क बढाइरहेका भेटिन्छन् । चन्दा अभियान, खानालगायतका सबै माओवादी गतिविधि प्रचलनका रूपमा स्थापित भइसकेका छन् ।

सबभन्दा डरलाग्दो कुरा मानिसले आफ्ना आवाजहरू गुमाउन थालेका छन् । स्थानीय बचत समूहकी निर्मलादेवी भन्छिन्, "जनताले आफ्ना कुरा सबैका सामु राख्नर्ुपर्दछ ।" तर, केहीबेर अन्कनाउँदै फेरि भन्छिन्, "द्वन्द्वको कुरा हामीले जहाँ पायो त्यहीँ बोल्न पनि त भएन नि !" "हाम्रो जिल्ला यस्तो थिएन । हामी बडा बोलक्कड थियौँ । तर, यता आएर नागरिकहरूले मनको शान्ति र गलाको आवाज दुवै गुमाएका छन् । बाबुआमा, छोराछोरी, दाजुभाइ सबै गुमाइसकेकाहरूले आफ्नो आवाज पनि गुमाए भने त बाँच्ने झनिो आधार पनि रहँदैन । त्यसैले हिम्मत गर्नुपर्छ बोल्न" कल्याण थापा भन्दछन् । केहीबेर गमेर उनी आफैँ जवाफ दिन्छन्, "तर, सुन्ने कोही नभएपछि जति चिच्याए पनि के अर्थ रहन्छ र - अहिले त झन् राज्यका प्रतिनिधि हौँ भन्नेहरू महेन्द्रनगरबाट हेलिकोप्टरमा आउँछन् बेलौरी । उनीहरू त्यसैको आवाज सुन्छन् र आफैँ रमाउँछन् । हामी नागरिकहरूका लागि सरकार कौवाका लागि बेल झैँ बनेको छ ।" "सबैले नाफाघाटा पन्छाएर मुलुकमा शान्ति स्थापनाका लागि पहल गरुन् भन्ने हाम्रो चाहना हो । तर, हाम्रा कुरा कसले सुन्दछ र -" बेलौरीका श्यामकुमार पाण्डेय भन्दछन्, "अहिले त दुवैथरी लडाइँमा रमाएका छन् । भोलिका सन्तानले सराप्लान् भन्ने कसैले सोचेका छैनन् ।"