हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

स्थलगत/सेना-माओवादी

माओवादीलाई एकपछि अर्को झड्का

बर्दियामा अढाइ दर्जन आधुनिक हतियार र ब्रिगेड कमाण्डरसहित चार दर्जन लडाकु गुमाएको माओवादीले डेढ महिनापछि रुकुमको खारामा फेरि त्योभन्दा ठूलो क्षति भोग्नु परेको छ । यो सफलताले शाही सेनाको मध्यपश्चिम पृतनाको मनोबल र साख हृवात्तै बढाएको छ । अन्य पृतनाले आजसम्म यस किसिमको सफलता हात पार्न सकेका छैनन् ।

रामेश्वर बोहरा, खारामा


तस्बिरहरू रामेश्वर बोहरा
खारा वेसक्याम्पमा यसरी बङ्करभित्र लुकेर सुरक्षाकर्मीहरू लडेका थिए ।

१७ फागुनमा बर्दियामा भोगेको नराम्रो पराजयको पीडा नभुल्दै रुकुमको खारामा २५ चैत राति भएको भिडन्तमा माओवादीले त्योभन्दा ठूलो क्षति व्यहोर्नु पर्‍यो । त्यहाँ तत्काल ४९ वटा मात्रै लाश भेटिएका भएपनि घटनास्थलको प्रकृति हर्ेदा थप केही दर्जन माओवादी हताहत भएको अनुमान लगाउन सकिन्छ  । यो भिडन्तमा सेनातर्फभने तीन जना मात्र मारिएका र २९ जना घाइते भएका छन् । सम्भवतः बर्दिया घटनाको बदला लिन नै माओवादीले आफ्नो ठूलो शक्ति केन्द्रित गरी खारा सुरक्षा क्याम्पमा आक्रमण गरेको थियो । खाराको पराजयमा माओवादीले आफ्ना दर्जनौँ लडाकु मात्र होइन, ठूलो परिमाणमा उसकै शब्दमा 'रगतसँग साटेर लिएका हतियार' पनि गुमाएको छ ।

२५ चैत दिउँसो खारा बेसक्याम्पबाट सेनाको एउटा टुकडी नियमित गस्तीका क्रममा पश्चिमको जङ्गलतिर लागेको थियो । बेलुकी साढे पाँच बजे फर्किने बेलामा त्यो टोलीले दक्षिणतिरको खोला किनारमा झण्डै एकहजारको माओवादी फौज हिँडिरहेको देख्यो । उनीहरू खारा आक्रमण गर्न आएको अनुमान लगाउन कठिन थिएन । गस्ती टोलीले बेसक्याम्पलाई सूचना दियो  । सम्भावित आक्रमणको जानकारी पाएपछि बेसक्याम्पमा खाना खाने तयारीमा रहेका सैनिकहरू खाना छाडेर "स्ट्यान्ड वाइ" भए । केहीछिनमै गस्ती टोली पनि क्याम्पमा पुग्यो ।

साँझको ७ नबज्दै दक्षिण-पश्चिमतिरको खम्चरी डाँडाको जङ्गलबाट माओवादीले ८१ मिलिमिटरको तोपबाट बम फाल्न थाले । १०-१० मिनेटको अन्तरमा दर्ुइ घण्टासम्म यसरी बम हान्ने काम भयो । यसबाट सेनाको ध्यान एकातिर केन्द्रित गराएर अर्कोतर्फाट आक्रमण गर्ने माओवादीको रणनीति भएको अनुमान लगाउन सकिन्छ । नभन्दै दर्ुइ घण्टा भित्र बेसक्याम्प नजिकैको हेलिप्याडमै पुगे माओवादी ।

रातभरको लडाइँमा सेनाको नेतृत्व गर्ने उप-सेनानी हरिबहादुर विक भन्छन्, "राति साढे आठ बजेदेखि चाहिँ वास्तविक भिडन्त शुरु भयो । यतिबेलासम्म माओवादीले चारैतिरबाट बेसक्याम्पलाई घेरा हालिसकेका थिए ।"


व्यारेकको पूर्वी गेटबाट ट्रेन्च खनी मुख्य सेन्ट्री पोष्टसम्म आइपुगेका माओवादीहरु यसरी मारिए ।

राति १० बजे मूलगेटको सेन्ट्रीपोष्ट नजिकै आइपुगेका  माओवादी क्याम्पको तार काट्न नसकी तलबाट ट्रेन्च -खाडल) खन्दै भित्र छिर्न थाले । भिडन्त भइरहँदा राति सवा १२ बजे पहिलो पटक नेपालगन्जबाट आएको सैनिक हेलिकप्टरले माओवादीलाई लक्षित गरेर बम खसाल्यो । उपसेनानी विक भन्छन्, "तर हेलिकप्टर फर्किनेवित्तिकै उनीहरूले फेरि भित्र छिरेर आक्रमण गर्न थालिहाले ।" एक बजे फेरि हेलिकप्टर आयो र पश्चिमतर्फो मूलगेटमा बम खसाल्यो । माओवादी पर्ूर्वी गेटतिर लागे । यतिबेलासम्म केही माओवादी ट्रेन्च खनेर भित्र पसिसकेका थिए भने केही बाहिरैबाट आक्रमण गरिरहेका थिए । पर्ूवतर्फो पोष्टको नेतृत्व गरेका सेनाका एकजना लेफ्टिनेन्ट भन्छन्, "माओवादीहरू ट्रेन्च खनेर पोष्टको १५ गज भित्र आइसकेपछि हामीले बढीभन्दा बढी फायर गर्‍यौँ र उनीहरूलाई त्यहीँ सिध्यायौँ ।" यसरी भित्र पसेर मारिएका १४ माओवादीका लाश भोलिपल्टसम्म त्यहीँ थिए । ठूलो भिडन्त चलिरहँदा अन्तिमपल्ट पौने चार बजे पनि हेलिकप्टरले आएर बम खसालेको थियो ।

अघिल्लो दिन साँझदेखि खाना र पानी बिना भोकै लडिरहेका सैनिकले माओवादीलाई ब्यारेक भित्र छिर्न दिएनन् । जत्ति प्रयास गरेपनि भित्र छिर्न नसक्नु र ठूलो सङ्ख्यामा आफ्ना लडाकुहरू गुमाउनु परेर हुनसक्छ बिहान पौने पाँच बजेपछि माओवादीहरू पछि हट्न थाले । तैपनि उनीहरू एघार बजेसम्म टाढा-टाढाबाट गोली हान्दैथिए । यसैकारण २६ चैत बिहान खारामा थप मद्दतका लागि आएको सैनिक हेलिकप्टर अवतरण गर्न सकेन  । दुइटा हेलिकप्टरमा गोली नै लाग्यो र एमआई-१७ हेलिकप्टरका केही सैनिक घाइते पनि भए ।

झन् गुम्यो मनोबल

खारा आक्रमण सफल बनाउन माओवादीले सक्दो प्रयास गरेका थिए । उनीहरूले छेउछाउका डाँडाबाट लामो दूरीका हतियार प्रयोग गरे । बेसक्याम्प जाने पानीको पाइप काटिदिए । ट्रेन्च खनेर बेसक्याम्प छिर्ने प्रयास गरे  । आसपासका सबै डाँडा आफ्नो नियन्त्रणमा राखेर सेनालाई हवाई सपोर्ट हुन नसक्ने परिस्थिति बनाए । र, १५ घण्टासम्म निरन्तर भिडिरहे । माओवादीले २५ चैतको साँझदेखि रातिसम्म खारा आक्रमण गरिरहँदा अन्य चार जिल्लाका सुरक्षा केन्द्रहरू- सल्यान सदरमुकामको सवुज गण, सिमखर्क ब्यारेक, रोल्पाको लिवाङ र सातदोबाटो ब्यारेक, प्यूठान सदरमुकाम ब्यारेक तथा रुकुम सदरमुकाम ब्यारेकमा पनि बिस्फोट गराउने र गोली हान्ने काम गरेका थिए ।


माओवादीबाट सेनाले बरामद गरेका एके-४७ राइफल, गलिल, एसएमजी, इन्सास, एसएलआर लगायतका हतियार र युद्ध सामग्रीहरू ।

माओवादीले आक्रमण गर्दैछन् भन्ने पर्ूवसूचना, तयारी, संयम र हेलिकप्टर उडानका कारण प्राप्त ढाढसले सेनालाई यति ठूलो सफलता हात लाग्न सकेको देखिन्छ । खाराको स्थलगत अवलोकनपछि सेनाको मध्यपश्चिम पृतनापति उपरथी दीपकविक्रम राणाले हिमाल सँग भने, "सेनाले देखाएको यो साहस प्रशंसनीय छ । इतिहास बोकेको सेनासँग भिड्न खोज्नु भँगेरोले आफ्नो चुच्चो बढ्यो भन्दैमा पहरो फोड्ने गल्ती गर्नु जस्तै हो ।"

माओवादीले सल्यान-मुसिकोट सडक निर्माणका लागि रुकुमको खारामा बसेको सेनाको बेसक्याम्पमा यसअघि १३ जेठ २०५९ मा हमला गर्दा पनि उनीहरूको यही गति भएको थियो । यो विघ्न क्षति हुँदा पनि माओवादीले खारामा हमला गर्न नछाड्नुको कारण के होला - एक सैनिक अधिकारी भन्छन्, "उनीहरू खारालाई आफ्नो प्रतिष्ठासँग जोडिरहेका छन् । गुमेको प्रतिष्ठा फिर्ता गर्न खोजेका हुनसक्छन् ।" त्यस बाहेक माओवादी युद्धको उद्गमथलोको रूपमा परिचित रुकुममा रहेको खारा बेसक्याम्प माओवादीको लागि ठूलो अवरोध भएको छ । खाराबाट सैनिक धपाउन सके सदरमुकाम बाहिर उनीहरूको एकलौटी रजाइँ चल्नसक्छ । त्यसमाथि सल्यान र रोल्पाको सीमा नजिक भएकाले पनि यो क्षेत्र उनीहरूको लागि सामरिक महत्त्वको हुनसक्छ  ।

खारामा रुकुमस्थित भैरवी दल गणबाट खटिएको सेनानी तहको नेतृत्वमा दर्ुइ सय हाराहारीको संयुक्त सुरक्षाफौजको एउटा गुल्म थियो  । तर सैनिक सूत्रको भनाइमा, माओवादीले खारा आक्रमणका लागि आफ्नो ठूलो शक्ति, पश्चिम र मध्य डिभिजनलाई नै प्रयोग गरेका थिए । सैन्य सूत्रको भनाइमा, खारा आक्रमणको प्रत्यक्ष नेतृत्व माओवादी पोलिटब्यूरो सदस्य प्रभाकर र सैन्य कमाण्डर पासाङले गरेका थिए । तर, माओवादी स्रोतबाट भने त्यसको पुष्टि भइसकेको छैन ।

बर्दिया र खाराका घटनाले सेनासँग आमनेसामने भिडन्त गर्न माओवादीलाई कठिन पर्ने अड्कल सत्य सावित गरेका छन् ।


"गढ र आधार इलाका कहीँ छैनन्"

उपरथी दीपकविक्रम राणा
पृतनापति, मध्यपश्चिम पृतना

बर्दियामा जस्तै खारामा पनि सफलता पाउनु भो नि ?
खारामा माओवादीले अकल्पनीय क्षति व्यहोेरेका छन् । सुरक्षाफौजले उत्कृष्ट साहस पर््रदर्शन गरेको छ । यसमा हामी सन्तुष्ट छौँ । हामीले आफ्नै दाजुभाइसँगको लडाइँ झगडामा सबै रणनीति प्रयोग गर्ने कुरा पनि भएन, गरेका पनि थिएनौँ । तर, ब्यारेक हान्नै आएपछि बचाउ त गर्नै पर्‍यो  । त्यही गर्‍यौँ पनि ।

माओवादीले आफ्नो गढ बताउँदै आएको क्षेत्रमा सफलता पाउँदा तपाईँहरूको हौसला अरू बढ्यो होला नि !
हामी बारम्बार भन्दै आएका छौँ, उनीहरूका तथाकथित गढ र आधार इलाका कहीँ छैनन् । त्यो सब भ्रम मात्र हो । शाही नेपाली सेनाले चाहृयो भने जान नसक्ने ठाउँ कहीँ छैन । ढिलोचाँडोको कुरा मात्रै हो । नेपाली सेना इतिहास बोकेको फौज हो, ऊसँग त्याग र प्रतिबद्धता छ । कुनै एउटा समूहले जित्छु भनेर ऊ हार्ने होइन ।

माओवादीको सैन्यशक्तिलाई कसरी हर्नुभएको छ ?
देखिहाल्नुभो नि खारा र बर्दियामा । उनीहरूको शक्ति भनेको त्रास मात्रै हो । सेनासँग टक्कर लिने क्षमता आतङ्कवादीसँग छैन । उनीहरूको त्यो सपना कहिल्यै पूरा हुँदैन ।