| •
ऋतुराज |
 |
ऋतुविचार
रत्नपार्कको रातो घर
काठमाडौँमा एउटा
भित्ता छ, जसलाई प्रजातन्त्रको भित्ता भन्ने नाम दिइएको छ र त्यही
नाम त्यस भित्तामा बलढयाङ्ग्रे अक्षरमा लेखिएको पनि छ ।
काठमाडौँबासीलाई पनि त्यस कुराको हेक्का नहुन सक्छ
र काठमाडाँैबाहिरका असङ्ख्य पाठकहरूलाई त झन् त्यसबारे बिल्कुलै जानकारी
नहुन पनि सक्छ । त्यसैले त्यस ठाउँबारे छोटो परिचय दिइहालुँ ।
काठमाडौँको मुटुमा रत्नपार्क छ, जुन ठाउँमा पर्ूव,
पश्चिम, उत्तर, दक्षिण चारै दिशाबाट आउने सडकहरू जोडिन्छन् । त्यहाँबाट
पर्ूवतर्फबागबजारतिर जाने सडकको दाहिनेपट्ट िमुखैमा बडेमाको भित्तो
छ । त्यो भित्तो वास्तवमा नेपाल विद्युत् प्राधिकरणको एउटा अफिस भवनको
पिठयूँ हो । किन हो कुन्नि प्राधिकरणले त्यसको माथिल्लो भागमा मात्र
झयालहरू राखेको छ र तल्लो भागलाई सपाट भित्ताका रूपमा त्यसै छाडेको
छ ।
त्यस भित्ताका लागि एकपटक त्यही सडकमा एउटा 'ब्याटल
रोयल' नै चलेको थियो । विभिन्न राजनीतिक पार्टीले त्यहाँ आफ्ना सन्देश
र नाराहरू लेख्ने तथा नेता र झण्डाका आकृतिहरू कोर्ने गरेका थिए ।
त्यस भित्ताको उपयोगमा एउटा वामपन्थी पार्टीले आफ्नो एकाधिकार रहेको
ठान्थ्यो भने डाक्टर बी.आर. भट्टर्राईको पार्टीले पनि त्यसमाथि हक
दाबी थियो । त्यसैको उपयोगलाई लिएर एउटा वामपन्थी पार्टी डाक्टर भट्टर्राईका
अनुयायीबीच ठूलो मारामार चल्यो । कैयौँका खप्पर फुटे । बडो सनसनी मच्चायो
त्यस घटनाले । त्यो 'अरण्य काण्ड' शुरु हुनुभन्दा पहिलेको कुरा थियो
।
अहिले त्यही भित्तोसामुन्ने उत्तरपट्ट िरहेको अर्को
'रातो घर' विवादमा आएको छ । पञ्चायतकालमा त्यस घरमा राष्ट्रवादी स्वतन्त्र
विद्यार्थी मण्डलको केन्द्रीय कार्यालय थियो । त्यसैले त्यो ठाउँ मण्डले
अखाडा भनेर चिनिन्थ्यो । पञ्चायतको अवसानसँगसँगै त्यहाँबाट मण्डलेहरू
पनि विस्थापित भए र तिनका ठाउँमा 'अखिलेहरू' त्यहाँ स्थापित भए ।
पहिले त्यस घरमाथि अघि कसको स्वामित्व रहेको थियो त्यो
थाहा भएन ! अहिले आएर काठमाडौँ महानगरपालिकामा त्यसको स्वामित्व रहेको
बताइएको छ र एउटा समाचारअनुसार सरकार त्यो घर खाली गराउन चाहन्छ ।
अर्थात् 'अखिलेहरू'लाई सरकार त्यहाँबाट हटाउन चाहन्छ ।
पहिले भएको भित्ताको लडाइँमा सरकार सामेल थिएन । अहिले
रातो घर खाली गराउने काममा सरकार नै एउटा पक्ष बन्न गइरहेको छ । भित्ताका
लागि त खुनखराबा भयो भने घरका लागि त त्यसभन्दा ठूलो खिचलो हुन सक्छ
। त्यो घर त्यहाँ रहुन्जेल कचिङ्गलको गुँड बनिरहने पक्का छ ।
सरकारको काम जहाँसुकै घर बनाइहिँड्ने र त्यसको बहाल उठाउने अथवा मन
परेकालाई सित्तैँमा उपयोग गर्न दिने होइन ।
'न रहेगी बाँस न बजेगी बाँसुरी ।' बरु त्यस रातो घरलाई
भूमिसात गरेर त्यस ठाउँलाई खुला र फराकिलो किन नपार्ने ?
भाडा घटाउने खेल
राजधानी भनिने यो काठमाडौँ खाल्डो अचेलभरि पूरै बलेको
छ, भाउ बेसाहाको हिसाबले । केही कुरा छोइसक्नु छैन । कोठा बहाल चर्केको
चर्केकै छ । घडेरी जग्गाको त कुरै छैन । त्यसले त धरहराको टुप्पो नै
छुन लागेजस्तो छ । कुनाकाप्चा र काँठका पाखोप्याङ्खरको मोल पनि आनाको
लाखाँैँलाख रुपियाँ पुगेको छ । बजारभाउ हेर्यो दिन दुना रात चौगुना
छ । हरेक वस्तुको भाउ शुक्लपक्षको चन्द्रमा सरह बढिरहेछ । नाथे गोलभेडाको
त किलाको ६५ रुपियाँ पुग्यो, अरू थोकको के कुरा गर्ने ?
सबैथोकको मोल भाउ यसरी उकालो चढिरहेको यस बेला उता
एयरलायन कम्पनीहरूमा चाहिँ हवाई टिकटको मूल्य घटाउने होडबाजी चलिरहेको
छ । हवाईजहाजको मोल घटेको पनि होइन । हवाई इन्धन सस्तो भएको पनि होइन
। तैपनि एकअर्कामा सेखासेख छ टिकटको मोल घटाउन ।
सर्न्दर्भ काठमाडौँ-दिल्लीको हवाई भाडाको हो । भारतका
दर्ुइ ओटा निजी कम्पनी र भारत सरकारको स्वामित्वको इन्डियन एयरलायन्सबाहेक
हाम्रो आफ्नै शाही वायुसेवा र अर्को नेपाली निजी कम्पनीका जहाजहरू
उड्छन् त्यस रुटमा । अनि यिनीहरूबीच चलेको छ भाडा घटाउने प्रतिस्पर्धा
।
त्यही रुटमा एक ताका आतेजाते तेह्र हजार रुपियाँभन्दा
बढी रकम तिर्नुपथ्र्यो । अहिले त्यो रकम एकाएक स्वात्त घटेको छ र एउटा
एयरलायन्सले त पाँच हजारभन्दा कम रकममा आतेजाते टिकट दिने भएको छ ।
त्योभन्दा बढी रकम त काठमाडौँबाट विराटनगर आउन-जानलाई नै पर्छ । कहाँ
जेट विमानलाई एक घण्टा १५ मिनेट लाग्ने ठाउँ दिल्ली र कहाँ एभ्रोमा
नै ४५ मिनेटमा पुग्न सकिने विराटनगर !
केही समयअघि नेपालका निजी विमानसेवाहरूले आन्तरिक उडानमा
भाडा घटाघटको यस्तै होड चलाएका थिए । अहिले त्यो होड काठमाडौँ-दिल्ली
रुटमा चलेको छ ।
यति थोरै भाडादरमा पनि सेवा दिन सक्छन् भने यसअघि उनीहरूले
बढी रकम असुली रहेका थिए अथवा ग्राहकहरूलाई 'ओभर चार्ज' गरिरहेका थिए
भनी बुझनुपर्यो । आखिर यो खेल के हो ?
उल्टो काम
काठमाडौँकी सुष्मिता मास्के यतिबेला सगरमाथाको आधारशिविरमा
क्याम्प खडा गरेर खुम्बु आइसफल उक्लने अभ्यास गर्दै होलिन् । सगरमाथाको
शिखरमा पाइला टेक्ने पहिलो नेवार महिला बन्ने उनको उम्मेद छ ।
काठमाडौँकी यी नेवार कन्या हिमालतिर लाग्नुअघि उनलाई
'नेपाल भाषा मीसा खलः' नामक संस्थाले एउटा समारोहमा अभिनन्दन गरेको
थियो ।
साह्रै खतरनाक र जोखिमपर्ूण्ा छ हिमाल चढ्ने काम, त्यसमा
पनि सगरमाथा । ज्यानै पनि जान सक्छ यस काममा । त्यसैले सुष्मिताको
सगरमाथा चढ्ने आँट र अठोट आफैँमा सराहनीय छ । उनको त्यो अठोट पर्ूण्ा
होस् भनेर शुभेच्छा, शुभकामना र आशर्ीवाद दिनु तथा सरसहयोग जुटाउनु
एउटा कुरा हो, अभिनन्दन नै गरिहाल्नु अर्को कुरा हो । अभिनन्दन भन्ने
कुरा त्यस्तो सम्मान हो जो कुनै कार्यको सफलतापछि कसैलाई दिइन्छ ।
कामै फत्ते नगरी दिइने सम्मानले त्यो पाउनेमाथि अतिरिक्त दबाब पर्छ
त्यसबाहेक त्यो काम छोरो पाउनअघि सिएको भोटोजस्तो पनि ठहरिन्छ । नजानेर
भने बेग्लै हो, नत्र यस्तो उल्टो काम गर्ने किन ?
|