हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
डा. तीर्थबहादुर श्रेष्ठ

आवरण/विश्लेषण

पुस्तान्तरका समस्या
दोष तपाईंको मात्र होइन !

सूचनाप्रविधिको विस्तारले पुस्ता-पुस्ता बीचको सोचाइ र व्यवहारमा एक्कासी ठूलो भिन्नता ल्याइदिएको छ । पुरानो पुस्ताले नयाँ प्रविधि स्वीकार गरेर अनि छोराछोरीले बाबुआमालाई कम्प्युटर-इन्टरनेट आदि चलाउन सिकाएर त्यस्तो खाडल पर्ुर्नुपर्छ । पुस्तान्तर आफैँमा समस्या होइन ।

अपने युगमें सवको अनुपम
ज्ञात हुई अपनी हाला,
अपने युगमें सवको अद्भुत
ज्ञात हुवा अपना प्याला

फिर भी वृद्धों से जव पूछा
एक यही उत्तर पाया-
अव न रहे वे पीनेवाले,
अब न रही वह मधुशाला !

पुस्तान्तरको वास्तविकतालाई ७० वर्षपहिले प्रकाशित कविता सङ्ग्रहमा कवि हरिवंश राय बच्चनले मधुशालाको मादमा पोखिदिएका थिए । जब युगयुगको कुरा हुन्छ, जमानाको चर्चा चल्छ- आफ्नै युग राम्रो, आफ्नै जमाना मधुमयी भन्ने तर्क अगाडि सार्नु स्वाभाविकै हुन्छ । तर नयाँ पुस्ताले पुराना पुस्ताका तर्क बुझन नसक्ने र पुराना पुस्ताले नयाँ पुस्ताका व्यवहार र कुरालाई आत्मसात् गर्न नसक्ने अवस्था सिर्जना हुँदा पुस्तान्तर अर्थात् पुस्ता-पुस्ताबीचको सोचाइ र व्यवहारगत भिन्नता- एक सामाजिक समस्याको रूपमा खडा हुन सक्छ । पुस्तान्तरको खाडल समय र परिस्थिति अनुसार ठूलो वा सानो हुन जान्छ । त्यस खाडललाई समयमा नै साँघुरो बनाउन सकिएन भने भविष्य सुनिश्चित हुन सक्दैन । संस्कार र संस्कृतिले रुप फेरेर विकृतिको बाटोतिर लम्कन बेर लाग्दैन ।

समाजमा छोरीबुहारीलाई उत्ताउलो देख्ने आँखा र सासूससुरालाई कर्कश सुन्ने कानको पनि कमी रहँदैन । बाबुलाई कञ्जुस भन्ने मुख र छोरालाई फजुलखर्ची भनी फट्कार्ने ज्रि्राहरू त घरघरमै पाइएलान् । तर, बाबुआमा तथा छोराछोरीले गर्ने संवादको भाषा र संचारका माध्यम समेतमा विभेदको खाल्डो स्थापना हुन जाँदा पुस्तान्तरको प्रभाव अझ चर्को पर्ने हुन्छ  । "हरे दैव" भन्ने-सुन्ने घरमा "ओह गड" भन्दै पर्ुर्पुरोमा हात राख्ने छोराछोरीसँग पारिवारिक संवाद स्थापना गर्न पुराना पुस्तालाई सजिलो हुँदैन । 'बूढा मरे भाका सरे' भन्ने मान्यता रहेको समाजमा भाका नै मर्न गयो भने त्यसले कस्तो प्रभाव ल्याउला, कुरो विचारणीय हुन्छ ।

विज्ञान र प्रविधिको विकासले सिर्जेका नयाँ सुविधाले वर्तमान जमानालाई विश्वव्यापी धरातलमा फैलन सजिलो बनाइदिएको छ । सुन्दरी प्रतियोगिताको होडबाजीमा हाम्रा छोरीबहिनी पनि स्वीमिङ कस्ट्युममा हिच्किचाएनन् । अमेरिकन 'आइडोल'को देखासिखी गर्न भारतलाई धेरै समय लागेन र 'नेपाल तारा'को अभियान पनि लगत्तै शुरु भयो । इलेक्ट्रोनिक्सका नयाँ साधनले जुराएका सुविधाले रञ्जन, मनोरञ्जन र अतिरञ्जनलाई क्रान्तिकारी परिवर्तनको संघारमा ल्याइपुर्‍याएको छ । शहरको नयाँ पुस्ता सितार हैन गितारको झङ्कारमा नाच्न रुचाउँदैछ । अनि, सितारको अलापमा झुम्ने अघिल्लो पुस्ताका आमाबाबुलाई रक सङ्गीत र पप नृत्यमा मग्नमस्त आफ्नै वंश र सन्तान नजिक भए पनि टाढा अनुभव हुन्छ । आधुनिक सञ्चार प्रविधिमा सरल पहुँच हुनेहरूका लागि आजभोलि भौगोलिक दूरी कुनै दूरी नै हैन । काठमाडौँमा बसेर क्यालिफोर्नियामा प्रेमीसँग प्रेमालाप गर्न पाइन्छ । तर यसरी इन्टरनेटमार्फ् सूचना सञ्चारको विश्व चहार्न सम्भव भइसकेको घडीमा आफ्नै छेउमा बसेका बुबाआमा र हजुरबुबा हजुर आमासँग संवाद गर्ने शब्द भने प्रत्येक क्षण कम हुँदैछन् । पछिल्लो र अघिल्लो पुस्ताहरूबीच कुराकानी, भलाकुसारी वा गफगाफका साझा विषयवस्तु पनि घट्दैछन् । वस्तुतः पुस्तान्तरको दूरी दिन परदिन तीब्रगतिमा बढ्दैछ ।

नेपाल जस्तो भौगोलिक विषमता भएको राष्ट्रमा सुगम शहरका युवा र दर्ुगम गाउँका वृद्धा बीचको पुस्तान्तर त अकल्पनीय नै हुन आउँछ  । एकपल्ट संखुवासभाको उत्तरी भेकको एक खोरियामा मुखले मकैको बीउ रोप्दै गरेको मान्छे देख्दा मलाई लाग्यो "यस्तो पनि मान्छे हुँदोरहेछ  ।" उनीसँग मैले प्रश्न गरेँ, "त्यो मकै कसरी उम्रन्छ, कहिले पाक्छ र कहिले टिपिन्छ -" अब छक्क पर्ने पालो उनको थियो । उनको बोलीबाट "यस्तो पनि मान्छे हुँदोरहेछ, मकै पनि नचिन्ने अज्ञानी" भनेर उनलाई आर्श्चर्य लागेको प्रस्टै अनुमान गर्न सकिन्थ्यो । त्यहाँनिर पुस्तान्तरभन्दा भौगोलिक अन्तरको प्रभाव धेरै थियो । नेपालको सर्न्दर्भमा कुरा गर्दा भुगोलान्तरले पुस्तान्तरको खाल्डोलाई अझ धेरै अभिवर्धन गरिरहेको हुन्छ । तर्सथ पुस्तान्तरका कुरा गर्दा भूगोलान्तरको प्रभावलाई पनि बिर्सनुहुँदैन । यसो भन्दैमा, खोरिया खन्ने बूढो बाबुको लाठे छोरा कोरिया पुगेर पुस्तान्तरको अर्को खाल्डो खडा नगरेको भने हैन ।

शिक्षा र त्यो पनि औपचारिक शिक्षा आज सबैले चाहेको वस्तुविषय हो । घरपरिवार र समाजले पनि चाहेको वस्तु त्यही हो कि सबैका केटाकेटी पाठशाला जाउन् विद्यालय धाउन् र शिक्षाका उपाधि र प्रमाणपत्र भिरेर आउन् । तर यस्तो शिक्षा प्रणालीले हामीकहाँ नोकरशाहीका निम्ति कर्मचारी तयार गर्ने काम बढी भएको छ । आजको शिक्षा पद्धतिले तयार गरेका हाम्रा युवायुवतीहरू पेशामुखी नभई जागिर खाने प्रवृत्तिका र पाएमा विदेश पलायन हुने खालका छन् । नेपालका विभिन्न जातजाति र समुदायमा रहेको अमूल्य परम्परागत ज्ञान र सीप आजका दिनमा अर्को पुस्तामा हन्तान्तरण हुनसक्ने अवस्था तीब्र गतिमा घट्दो छ । कैयौँ वैद्य, धामी, झाँक्री तथा विभिन्न जातिका ज्ञान एवं परम्परा विशेष लोपै हुने चिन्ता दिनपरदिन बढ्दै छ  । पुस्तौँ पुस्तादेखि चलिआएका ज्यासल र ज्याबल बेकम्मा हुँदै जाने क्रम बढ्दो छ । बुुबा र हजुरबुबा ज्यासलमा बुद्ध र गणेशका मर्ूर्ति कुँद्ने तर छोरा-नातिहरू इन्टरनेटमा नग्न मर्ूर्तिहरूको दर्शन गर्ने जस्ता प्रवृत्ति सामान्य बन्दैछन् । किशोर र युवाहरू "मुगः र मुगचा" चिन्दैनन्, "करौँती र रेती" चिन्दैनन् भने सोही घरका जेठाबाठा "माउस र किबोर्ड" भनेपछि भागाभाग हुन्छन्  । "डिजिटल डिभाइड" ले सिर्जना गरेको यो नयाँ पुस्तान्तरको खाल्डोले समाजलाई र्सवाधिक प्रभाव पार्ने कुरामा दर्ुइमत नहोला । डिजिटल डिभाइडलाई "डिजिटल फ्यूजन" मा परिणत गर्नु युवा पुस्तालाई नौलो चुनौती खडा भएको छ । कम्प्युटर प्रविधिले अन्तरमहादेशीय फाटोलाई जोड्न सक्छ भने पुस्तान्तरको फाटोलाई पनि सम्याउन सक्छ भन्ने विश्वास लिएर अगाडि बढ्नर्ुपर्दछ ।

कम्प्युटर एशोसिएशन अफ नेपाल -क्यान) ले माघ, २०६१ मा आयोजना गरेको कम्प्युटर र सूचनाप्रविधि सम्बन्धी पर््रदर्शनीमा प्रतिदिन दशौँ हजार किशोरकिशोरीहरूको घुइँचो भयो । २,३०,००० दर्शकले उक्त पर््रदर्शनी हेरे । एकै दिनमा ७५,००० किशोरकिशोरीको भीड समेत थेग्नु पर्‍यो । यसरी कम्प्युटर प्रविध्रि्रति बढेको तीब्र आकर्षा र त्यसले ल्याएको क्रान्तिकारी परिवर्तनले नेपाली समाजमा पार्ने प्रभाव र त्यसको नकारात्मक पक्षबाट जोगिने उपायबारे यथासक्य छिटो चासो लिनुपर्ने अवस्था आइसकेको छ । आजको पिँढी नै इन्टरनेट र कम्प्युटर प्रविधि उपभोग गर्ने पहिलो पुस्ता हो  । यो पुस्तालाई सकारात्मक दिशातिर उन्मुख बनाउने तथा भाँडभैलो र विकृतिबाट जोगाउने कुरामा विकसित राष्ट्रहरूले सचेतता अपनाउन थालिसकेका छन् । यसमा हामी पनि पछिपर्नु हुँदैन ।

इन्टरनेट र कम्प्युटरको प्रयोगमार्फ् किशोरकिशोरीलाई बिगार्ने सामग्रीमध्ये अश्लील यौन क्रियाकलापका दृश्य, बीभत्स घटना, घृणा र उत्तेजना फैलाउने तस्बिर तथा सूचनाहरू प्रमुख हुन् । यदि इराकमा मारिएका नेपालीहरूको बीभत्स दृश्य इन्टरनेटबाट प्राप्त नहुँदो हो त शायद नेपालमा मस्जिदहरू जल्ने थिएनन्, भाइभाइ लड्ने थिएनन् । इन्टरनेटलाई छाडा छोड्दा यस्ता अरू धेरै उग्र घटनाहरू व्यहोरिनुपर्ने हुनसक्छ । तर्सथ आफ्ना बालबच्चाहरूका साथमा बसेर उनीहरूसँग तालमेल मिलाई कम्प्युटरको भाषा र इन्टरनेटको प्रयोगलाई अनुगमन गर्ने संस्कार पाको पुस्ताले तत्काल बसाउनु जरुरी छ । वर्तमान पुस्ताका जेठा नागरिकहरूको काँधमा यो नौलो चुनौती हो । अर्को पुस्तालाई यो अप्ठेरो नपर्न सक्छ ।

दैनिक जीवनमा कम्प्युटर, इलेक्ट्रोनिक्स र अन्य आधुनिक प्रविधिको बढ्दो प्रयोगले जेष्ठ नागरिकहरूलाई ब्याङ्कको कारोबार वा बजारमा खरिदबिक्री गर्दा अप्ठ्यारो अनुभव हुन थालेको छ । बैठक, गोष्ठीमा कार्यपत्र वा विचार प्रस्तुत गर्न तथा आफन्त र साथीहरूसँग संवाद र सूचना आदानप्रदान गर्न पनि अक्षम हुनथालेका छन् । अमेरिका बसेको छोराले ठमेल डट कम बाट पठाएको खसी साँच्चै हवाइजहाजै चढेर आयो होला भन्ने निष्कर्षकतिपयले मनमनै निकालेका हुनसक्छन् । यो अवस्थामा नयाँ पिँढीले आफ्ना आमाबाबु र जेठाबाठालाई आधुनिक प्रविधि- विशेष गरेर कम्प्युटर, इलेक्ट्रोनिक्स र इन्टरनेट चिनाउन र त्यसमा बानी बसाल्न विशेष सहयोग गर्नुपर्छ । अमेरिका, क्यानडा र युरोपमा किशोरकिशोरीहरूले जेष्ठ नागरिकहरूलाई कम्प्युटर र इन्टरनेट तालिमको व्यवस्था गरेर पुस्तान्तरको खाडल कम गर्ने प्रयासको थालनी गरेका छन् । यसो गर्दा प्रविधिको स्वाद दुवै पुस्ताले चाख्ने अवसर प्राप्त हुन्छ । एउटा शिल्पकारले आफ्नो नातिलाई ज्याबल समात्न सिकाउँदा प्राप्त हुने आनन्द र एउटा नातिले आफ्नो बाजेलाई कम्प्युटरको माउस चलाउन सिकाउँदा प्राप्त हुने आनन्दमा शायद अन्तर नहोला ।

प्रत्येक नयाँ पुस्ताले आफ्नो सामाजिक, आर्थिक, सांस्कृतिक एवं जीवनपद्धतिका अरू पक्षहरूलाई फराकिलो बनाउने प्रयास गरेकै हुन्छ  । मानिस मात्र हैन हरेक प्राणी र वनस्पति पनि आफ्नो जमाना अनुसारको परिस्थितिसँग मिल्दै, आत्मसात् गर्दै नयाँ क्षमताको विकासतिर लम्कन्छन्  । यथार्थमा यो संसार नै सङ्र्घष्ामय छ । आफ्नो अस्तित्वको लागि सबैले सङ्र्घष्ामा जुट्नर्ैपर्छ । त्यस्तो सङ्र्घष्ामा जो सक्षम ठहरिन्छ, त्यसैको अस्तित्व र वर्चस्व कायम हुन्छ । सङ्र्घष्ामा असफल हुनेहरू डायनोर्सस झैँ लोप हुन्छन् । मानव संसार पनि यस्तै सङ्र्घष्ाको रणभूमि हो । यो रणभूमिमा वैज्ञानिक प्रविधि, आर्थिक रणनीति, व्यवस्थापनका सीप र नयाँनयाँ दाउपेचका होडबाजीहरू सधैँ चलिनैरहन्छन् । मानिसका रहनसहन, भेषभूषा, भाषा, कला तथा सामाजिक मान्यतामा पुस्तैपिच्छे भिन्नता देखापर्नु त्यस्तै सङ्र्घष्ाको परिणाम हो ।

नेपाली समाजमा छोरालाई आमाबुबाले स्वास्नी ल्याइदिने चलनको सट्टा विस्तारै छोराले पत्नी खोजेर आमाबुबालाई बुहारी ल्याइदिने चलन बढ्दो गतिमा छ । अन्तरजातीय विवाह, अन्तर प्रदेशीय विवाह र अन्तर्रर्ााट्रय विवाहमा पनि हाम्रो समाजले नयाँ फड्को मार्दैछ । यस्ता सामाजिक परिवर्तनले पुस्ता-पुस्ता बीचको सम्बन्ध र मान्यतालाई फराकिलो पारिरहेका हुन्छन्  । यस्तो पुस्तान्तरलाई दुवै पक्षको सहिष्णुताले पर्ुर्दै जानर्ुपर्छ  । यस्तै पुस्तान्तरले सिर्जेका नयाँ सोच र विचारका कारण छूत अछूतको अन्तरजातीय खाडल विस्तारै भए पनि साँघुरो हुँदैछ । गत वर्षअछामको साँफेबगरको एक कार्यालयमा छूत अछूत सबै जातिका किसानहरूसँग एउटै दरीमा बसेर स्टिलको गिलासभरि चिया र थालभरि बिस्कुट खायौँ । आजभन्दा २० वर्षपहिले त्यहाँ त्यो सम्भवै थिएन । यसैगरी विधवाको रहनसहन र भेषभूषामा देखिएका रुढिवादीलाई पनि नयाँ पुस्ताले पर्ुर्दै लगेको छ । पुस्तान्तरले ल्याएका यी परिवर्तनले निश्चय नै नयाँ नेपालको सिर्जनामा टेवा पुर्‍याउनेछ तर पुस्तान्तरका परिवर्तनले ल्याउने विभिन्न विकृतितर्फआँखा चिम्लन भने कदापि हुँदैन  । र्

वर्तमान नेपालमा विशेष गरेर शहरी क्षेत्रमा उपभोक्तावादी संस्कृति मौलाउँदै अरूलाई दान दिएर, गरीबगुरुवालाई ख्वाएर तथा ठूलाबडाबाट आशर्ीवाद थाप्दै र बत्ती बालेर मनाइने जन्म दिन आजकाल "हृयाप्पी वर्थ डे" का रूपमा अरूबाट उपहार थापेर अनि बलेको बत्ती निभाएर मनाइन थालेको छ । खासगरी शहरी क्षेत्रमा यो प्रथा संस्कारै बन्दैछ  । यसैगरी विवाह, ब्रतबन्धलगायत संस्कारहरूबाट हाम्रो परम्परा लोप हुँदैछ  । चार्डपर्व मनाउँदा पनि "हृयाप्पी होली" र "हृयाप्पी विजया" को आदानप्रदान हुन थालेबाट हाम्रो संस्कृतिमा विकृति थपिँदैछ  । विकृतिकै क्रममा, कैयौँ बालबालिकाहरू आफ्नो घरपरिवारलाई सघाउनुको साटो शहर पसेर बालश्रमिकका रूपमा सेवारत छन्, शोषित छन् । बाल अपराध, बालवेश्या, बालसैनिक आदि व्यवसाय गर्न वर्तमान बालबालिकाहरू बाध्य छन् । चिताएर वा नचिताएर भोग्नुपरेका यी समस्या र परिवर्तनहरूले गर्दा एक पुस्ता र अर्को पुस्ता बीच सोच र समझदारीको नयाँ खाडल निर्माण हुँदैछ  । त्यसैले पुस्तान्तरलाई सकारात्मक परिवर्तनको परिधिभित्र सीमाङ्कन गर्न एकातिर विश्वबजार र प्रविधिसँग आत्मसात् गर्ने क्षमताको वृद्धि गर्नु छ भने अर्कोतिर आफ्नो संस्कृतिलाई परिमार्जन गर्दै जगर्ेना पनि गर्नु परेको छ ।

अन्त्यमा, आफ्नो युगको नशा अहिले कहाँ पाइन्छ भन्दै वर्तमान युगबाट पन्छिन पुरानो पुस्तालाई सम्भव छैन भने आधुनिक युगमा पुराना संस्कारको के प्रयोजन भनी आफू बसेकै हाँगा काट्ने मर्ूखता पर््रदर्शन गर्ने छूट नयाँ पुस्तालाई छैन । पुस्तान्तर स्वाभाविक प्रक्रिया हो  । तर यसबाट पलाउने सम्भावित विकृतितर्फसमयमा नै सचेत हुनु मानव-समाजको धर्म एवं कर्तव्य हो । नयाँ वर्ष२०६२ ले हामी सबैमा नयाँ चेतना प्रदान गर्न सकोस्, शुभकामना !