हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रिपोर्ट | माडी नरसंहार

क्याब्बात माडीबासी !

माओवादीले चितवनमा र्सार्वजनिक बसलाई धरापमा पारेपछि माडीका स्कूले विद्यार्थी र महिलाहरूले समयमै त्यहाँ पुगेर साहसपर्ूवक उद्धार नगरेका भए त्यहाँ ३८ वटाभन्दा बढी लाश गन्नुपथ्र्यो  ।

एकल सिलवाल/कृष्ण गिरी

२३ जेठ बिहान ८ः१० बजे स्कूल पढ्दै गरेका हरिनगर निम्न माध्यामिक विद्यालयका एक हुल विद्यार्थी बम पड्केको ठूलो आवाज र आकाशमा उठेको धुवाँको मुस्लो पछ्याउँदै दर्ुइ किलोमिटर दौडिएर बाँदरमूढे खोला पुगे । उनीहरू त्यहाँ पुग्दा बस कच्याककुचुक भएर पल्टिएको थियो । यात्रुका लाश जताततै छरिएका थिए । घाइतेहरूको रगत बगिरहेको थियो । तर सबैलाई स्तब्ध पार्ने यस्ता दृश्य देखेर पनि ती विद्यार्थीहरू अलमलिएनन् । बरु तत्काल आफ्नो काम थाले । "सबैभन्दा पहिले घाइतेका हातगोडा उचालेर उनीहरूको मुटुभन्दा माथि पुर्‍यायौँ । उनीहरूकै कपडा च्यातेर पट्टी बाँधी रगत बग्न रोक्यौँ", कक्षा ८ का विद्यार्थी तथा जुनियर रेडक्रस र्सकलका कोषाध्यक्ष अमृत गायक भन्छन् ।

१२ जना सैनिकमाथि हमला गर्न डेढसय यात्रुले खचाखच बसलाई माओवादीले कल्याणपुर गाविसको बाँदरमूढे खोलामा बमले उडाएपछि अमृतजस्ता २०-२५ जना स्कुले विद्यार्थीहरू उद्धारमा खटिएका थिए । "सबै मिलेर १०-१२ जना घाइतेलाई उचाली गोरुगाडा, टयाक्टर र एम्बुलेन्समा राखेर स्वास्थ्यकेन्द्र पठायौँ", उनका साथी रमेश घिमिरे भन्छन् ।
विद्यार्थीहरूले घटनास्थलको सुरक्षाको बन्दोबस्त पनि गरेका थिए । उनीहरू त्यहाँ पुग्नेबित्तिकै कोही घाइतेकोे उद्धार गर्नतिर लागे भने कसैले डोरी टाँगेर घटनास्थल वरपर घेरा बनाए । "घाइते र मृतकका पैसा, गरगहना र अरू सामान हराउन नपाओस् भनेर त्यस्तो घेरा बनाएका थियौँ", अमृत भन्छन् ।

त्यति नै बेला घटनास्थलभन्दा तीन किलोमिटर पश्चिमको माडी मावि, बसन्तपुरका विद्यार्थी पनि रेडक्रसको झण्डा बोकेर आइपुगे  । "नियन्त्रित रेखाभित्र रेडक्रसको झण्डा गाडेर मन दह्रो बनाउँदै हामी पनि घाइतेको उद्धारमा लाग्यौँ । अन्तका यस्ता घटना देख्दा त्यहीँ ढलिएला जस्तो लाग्थ्यो, तर यहाँ हामी कसैको पनि मन कमजोर भएन", जुनियर रेडक्रस र्सकलका अध्यक्ष हरिकृष्ण लामिछाने भन्छन् ।
घटनास्थलमा छरिएका बन्दुक, पेस्तोल र गोलीहरू देख्दा विद्यार्थीहरू शुरुमा डराएका थिए । तर ती सामान बसमा चढेका सैनिकका हुन् भन्ने थाहा पाएपछि उनीहरूले सबै सामान टिपटाप पारे र सय मिटर जति पर सिसौको फेदमा बसिरहेका पाँचजना सैनिकलाई बोलाएर जिम्मा लगाए । मरेका तीन जना र घाइते चारजना सिपाहीका हतियार बुझने ती सैनिक घटनामा सकुशल रहेका थिए ।
घाइतेहरूको उद्धार गरिसकेपछि पनि विद्यार्थीहरू चुपचाप बसेनन् । उनीहरूले बसन्तपुरको प्राथमिक स्वास्थ्यचौकीमा पुर्‍याइएका घाइतेहरूलाई ग्लुकोज पानी खुवाउने र मलहमपट्टी गर्ने काममा माडीका स्वास्थ्यकर्मी, औषधि व्यवसायी र गाउँले युवालाई सहयोग गरे ।
यी विद्यार्थीहरूले विगत चारवर्षेखि मानव तथा प्रकृतिजन्य प्रकोपका बेलामा के गर्ने भन्ने विषयमा तालिम लिएका थिए । बाँदरमूढेमा उनीहरूले त्यो तालिमको सदुपयोग गरे । "हरेक वर्षएक-एक दिन लिएको तालिमका भरमा विद्यार्थीहरूले विपत्तिको साह्रै राम्रो व्यवस्थापन गरे । यस्तो तालिम सबै ठाउँका विद्यार्थीलाई दिइराख्नुपर्ने रहेछ", स्थानीय शिक्षक तथा सो तालिमका प्रशिक्षक रामकृष्ण अधिकारी भन्छन् ।


बाँदरमूढे घटनाको लगत्तै घाइतेहरूको रगत पुछ्न पुगेका हरिनगर निमाविका विद्यार्थी अमृत गायक र उनका साथी ।

बाँदरमूढेमा स्कूले छात्रादेखि गृहिणी र वृद्धासम्मले अदम्य साहस देखाएका थिए । खेतालालाई खाजापानी लिएर त्यही बाटो खेततिर गइरहेकी ५५ वषर्ीया विष्णुमाया पौडेलले विपत्ति देखेपछि खेतालालाई लगेको पानी घाइतेहरूलाई खुवाइन् । बालुवामा लडिरहेका घाइतेको हुलमा आफ्नै छोरार् इश्वरी र बुहारी भुवनशान्तिलाई पनि देखेपछि उनी झस्किएकी थिइन् । तर दुवैलाई चोट नलागेको देखेर छोराबुहारीलाई घर पर्ठाई आफू चाहिँ घाइते बालबालिकाको उद्धार गर्नतिर लागिन् । "होशमा आएर उहाँले लगेको पानी खाएपछि हामी घर फर्कियौँ । आमा चाहिँ घाइते हुँदा दिशापिशाव निस्किएका बच्चाहरूको जीउ सफा गर्दै हुनुहुन्थ्यो । थुप्रैको स्याहारसुसार गरेर दिउँसो मात्र घर र्फकनुभयो", विष्णुमायाकी बुहारी भुवनशान्ति भन्छिन् ।
लाशहरूले पुरिएर बेहोश भएकी भुवनशान्ति आफैँले पनि होशमा र्फकनासाथ कृष्णनगरका एक बालक र बायाँतर्फो बालुवामा छट्पटाइरहेकी भाउजू सीता सुवेदीलाई पानी खुवाएकी थिइन् । दाजु आत्मारामलाई पानी खुवाउन खोजी गर्दा उनी भेटिएनन्् । आत्मारामको पहिल्यै ज्यान गइसकेको थियो ।
माडीका अरू मानिस पनि सबैथोक बिर्सिएर घाइतेको ज्यान बचाउन लागेका थिए । त्यस दिन प्राथमिक स्वास्थ्य चौकी बसन्तपुरको सबै औषधि सकिएको थियो । सामुदायिक औषधि कार्यक्रमअर्न्तर्गत बिक्रीका लागि राखिएको पाँच हजार रुपैयाँ बराबरको औषधि नसकियुञ्जेल प्रयोग भयो । यहाँको स्वास्थ्यकेन्द्रमा सुत्केरी महिला वा बेहोश भएका बिरामीलाई चाहिने डीएनएस स्लाइन र झाडापखालाका रोगीलाई आवश्यक पर्ने नर्मल स्लाइन अहिलेसम्म पनि छैन । "स्वास्थ्यकेन्द्रमा औषधि सकिएपछि नजिकको औषधि पसलबाट दश वटा पेनकिलर र्सर्ुइ र सिरिञ्जहरू किनेँ", राष्ट्रिय प्राथमिक विद्यालय स्रि्रौनी, गर्दीका शिक्षक शिव सापकोटा सुनाउँछन् । उनका अनुसार उद्धारका बेला अन्तिम अवस्थामा पुगेका घाइतेलाई पनि बराबर महत्त्वका साथ बचाउने प्रयास भएको थियो  । नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा माडीका सभापति छविलाल भट्टर्राई त्यस दिनको दृश्य सम्झँदै भन्छन्, "खाल्डैखाल्डा भएको कच्ची बाटोमा नौ वटा एम्बुलेन्स साइरन बजाउँदै दिनभर कुदे । खाँदाखाँदैको गाँस छाडेर उद्धारमा हिँडेकाहरू बेलुकासम्म खटिए । कसैले धर्ैय गुमाएनन् ।"
स्कूले विद्यार्थी, रेडक्रसकर्मी, स्थानीय क्लबका युवा, गृहिणी, बटुवा र वृद्धवृद्धा सबैको संयमले माडी नरसंहारका बेलामा मानवताको दियो जगायो  । माडीबासीले आपत्कालीन उद्धारमा देखाएको यो साहसलाई अन्तर्रर्ााट्रय रेडक्रस -आईसीआरसी) ले अनुकरणीय नमूना भनी प्रशंसा गरेको छ । "यति ठूलो विपत्तिमा पनि माडीका स्वयंसेवकहरूले धर्ैय नगुमाई गरेको सङ्गठित उद्धारबाट आईसीआरसी निकै प्रभावित भएको पाएका छौँ । सरसामान हराउन नदिन तत्काल घटनास्थल घेराबन्दी गर्ने र बीभत्स लाशहरू छोपेर स्वस्थ मनस्थिति खल्बलिन नदिने बालबालिका तथा महिलाहरूको परिपक्व कदम संयमका उदाहरणीय नमूनाहरू हुन्", नेपाल रेडक्रस सोसाइटीका सूचना अधिकृत खेम अर्याल भन्छन् ।
माडीवासीहरूले बाँदरमूढेको नरसंहार रोक्न सक्दैनथे । तर घटनाको लगत्तै उद्धारमा खटिएर उनीहरूले नरसंहारको आकारलाई बढ्न दिएनन् । माओवादीहरूले मानवता गुमाएका बेलामा उनीहरूले मानवीय धर्म निर्वाह गरेर देखाए ।


एकोहोरो पानी पानी भनिरहेका थिए

बम पड्केको दर्ुइ मिनेटपछि नै घटनास्थल पुगेँ । हामीभन्दा पहिले पुगेका मान्छेले बसमा च्यापिएका तीन जना घाइतेलाई मात्र निकाल्न भ्याएका थिए । बसभित्र भएकाहरू कोही सिटले र कोही झोलाले च्यापिएका थिए । धरैजसो बेहोश थिए । बोल्नेले एकोहोरो 'पानी, पानी' भनिरहेका थिए । शुरुमा देख्दा के गरौँ, कसो गरौँ भयो । समूहमा बाँडिएर कसैले एम्बुलेन्सलाई खबर गर्ने र कसैले बसमा अड्किएका घाइतेहरूलाई तानेर निकाल्ने गर्न थाल्यौँ ।
शुरुमा उद्धारमा खटिने महिला म मात्रै थिएँ । १५ मिनेटपछि कल्याणपुरबाट शान्ति कोइराला र आधा घण्टापछि बसन्तपुरबाट सविता बराल थपिएपछि अझ बल मिल्यो । हामीले घाइतेहरूलाई उठाएर स्वास्थ्यकेन्द्रतिर पठायौँ, पानी खुवायौँ । अनि घाइते र उद्धारकर्मी बाहेक अरूलाई रोकेर सामानको सुरक्षा गर्‍यौँ । एक जनाले सैनिकको परिचय दिएर घटनास्थलमा फ्याँकिएको एउटा झोलाबाट प्वालैप्वाल भएको बन्दुक निकालेर लगेका थिए ।

सोमा दवाडी, शिक्षिका, दिव्यकालिका बोर्डिङ स्कूल, कल्याणपुर


पाँच-छ लाशमा हातखुट्टा नै थिएनन्

पहिले टायर पड्केजस्तो लाग्यो । पछि बाँदरमूढे खोलामा बस एम्बुसमा परेर थुप्रै मान्छे यत्रतत्र छरिएका छन् भन्ने खबर आयो । अनि उतै दगुरेँ । मसँगै गएका अरू कति दिदीबहिनीहरू हर्ेन नसकेर घटनास्थलभन्दा वरै बसे, मुख छोपेर रुन थाले । म चाहिँ सरासर ध्वस्त बस नजिक पुगेँ । सबैभन्दा पहिले ५०-५५ वर्षी घाइते महिलालाई उठाएर उपचारका लागि गाडामा राखी पठाएँ ।
थुप्रै लाशहरू लडिरहेका थिए । पाँच-छ वटा लाशका हातखुट्टा थिएनन् । तात्तातै लाश देख्नेको मनस्थिति ब्रि्रन्छ भन्ने ठानेर त्यस्ता लाशहरूलाई कपडाले छोपिदिएँ । अनि लाश चिन्नतिर नलागेर पहिले जीवित मान्छे खोज्नपट्ट िलागेँ  । एउटा बच्चा चालकको सिटभन्दा पछाडि दुवै खुट्टा च्यापिएर रोइरहेको रहेछ  । साथी खोजेर दर्ुइ-तीन जना भई उसलाई निकाल्यौँ । अर्को त्यस्तै बच्चालाई जीवित ठानेर उठाउँदा उसको हातखुट्टै रहेनछ ।
मैले गएको वैशाखमा मात्रै भक्तपुरमा नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको प्रकोप व्यवस्थापन तथा रोकथाममा महिला नेतृत्व विषयक तालिम लिएकी हुनाले कत्ति पनि विचलित नभइकन उद्धारको काम गर्न सकेँ । यस्ता घटना भएका ठाउँमा गोठाला, घाँसपानी र मेलापात गर्न हिँडेका महिलाहरू नै पहिले पुग्छन् । त्यसकारण हिंसाग्रस्त क्षेत्रका अरू महिलाहरूलाई पनि मैले लिएको जस्तो तालिम दिनर्ुपर्छ ।
सविता बराल, सदस्य, नेपाल रेडक्रस सोसाइटी सहयोग समिति बघौडा, माडी