हिमाल खबरपत्रिका  
पूर्णाङ्क १५० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
किशोर नेपाल

डेटलाइन | कालीकोट

साँच्चै अँध्यारो, साँच्चै ठगिएको !

किशोर नेपाल

साँच्चै अँध्यारो छ कालीकोट । डाँडाहरूले घेरिएको एउटा अर्को डाँडामा रहेको कालीकोटको सदरमुकाम मान्मा पुगेपछि यस्तो लाग्दछ- हामी प्रकृतिद्वारा निर्मित एउटा अजङ्गको कारागारमा आइपुगेका छौँ, जहाँबाट उम्किने कुनै बाटो छैन । वास्तवमा वरपर त्यस्तो कुनै सहज बाटो पनि देखिँदैन । लगातार दर्ुइ दिन कर्ण्ाालीको तीरैतीर हिँडेर टुनीबगर पुग्न सकिन्छ र त्यहाँबाट बाङ्गेसिमल । तर, टुनीबगरसम्मको यात्रा सहज र सुगम छैन । अर्को बाटो, तिला नदीको किनारै किनार दर्ुइ दिन लगाएर जुम्ला पुग्न पनि सकिन्छ । कालीकोटको निकासबिन्दुका रूपमा जुम्ला सहज मानिन्छ ।
वषर्ा लागेपछि कालीकोटको सदरमुकामका लागि रासन र रसद लिएर आउने हेलिकोप्टरहरू पनि आउन सक्दैनन् । हेलिकोप्टर नआएका बेला आफूभन्दा ठूलो भारी बोक्न तम्सिने केटाकेटी र भारी समाउन हेलिप्याडमा तँछाडमछाड गर्ने आइमाईहरू बेरोजगार हुन्छन् । उसै पनि मान्मा महँगो छ । सरकारले एक किलो आयोडिन मिश्रति नून रु.९ मा उपलब्ध गराए पनि जनता रु.३२ तिरेर एक केजी ढिके नून नै किन्दछन् । ढिके नून फारो हुन्छ ।

हेलिकोप्टर आउन छोडेपछिकोे कालीकोट बेलाबेलामा बिग्रिने टेलिफोनमा आश्रति हुन्छ । असारको दोस्रो साता कालीकोट टेलिफोन सर्म्पर्कबाट वञ्चित थियो । बुटवल नगरपालिकाको कार्यकारी प्रमुखबाट कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीमा सरुवा भएर सात दिन अघिमात्र मान्मा आइपुग्नुभएका खड्गबहादुर राना टेलिफोन सर्म्पर्क स्थापित गर्न युद्धस्तरमा खट्नुभएकोे थियो । प्रजातन्त्रको पुनःस्थापनापछि कालीकोटका १४ गाउँमा टेलिफोन सेवा पुगेको थियो । त्यो त अब दन्त्यकथा नै भएको छ । कुनै बेला मान्मामा बिजुली पनि बल्दथ्यो । मुम्रा गाविसको सन्नीगाडमा ५०० किलोवाट बिजुली उत्पादन गर्ने पावरहाउस थियो । राकुसम्म बिजुलीका खम्बाहरू पनि गाडिइसकेका थिए । चौध घरले बिजुली उपभोग गर्न पनि थालिसकेका थिए । तर, त्यो पावरहाउस माओवादीका अगाडि टिक्न सकेन । अहिले खाडाचक्र सोलार बत्तीले उज्यालो भएको छ ।
कालीकोट माओवादीहरूको किल्लाका रूपमा परिचित छ । त्यसबाहेक अहिलेका लागि यसको अर्को सहज परिचय छैन भने पनि हुन्छ । सर्ुर्खेत-जुम्ला राजमार्गले एउटा आकार लिइसकेपछि कालीकोटको भाग्यको ढोका खुल्ने कुरामा मान्मावासी विश्वस्त देखिन्छन् । शाही नेपाली सेनाले मान्मा वरपर सडकको नमूना पनि खडा गरिसकेका छन् । कालीकोटेहरू त्यहाँ छिटै मोटर दौडिने र आफ्नो जिल्लामा मोटर चढेर विकास आउने आशा लिएर बाँचेका छन् । तर, मोटर बाटोको निर्माण पनि सोचे जति सहज छैन । धेरै ढुङ्गा नपल्र्टाई, धेरै पहरा नफुटाली, धेरै पुल र पुलेसाहरू नबनाई यो बाटो बन्न सक्दैन । त्यसमाथि माओवादीहरूले बेलाबेलामा उत्पन्न गर्ने असहज परिस्थितिको सामना गर्नु त छँदैछ । कोटवाडामा अहिलेसम्म हवाई मैदान बन्न नसकेको अवस्थामा सजिलै सडक बन्न सक्ला भन्ने कल्पना थोरैले गरेका छन् ।
मान्माको खाडाचक्र २०४० सम्म काफल र लाली गुराँसको जङ्गल थियो । २०४० मा तल गाउँबाट सदरमुकाम माथि डाँडामा सर्‍यो । सदरमुकामको एकछेउमा थुप्रिएका कलात्मक ढुङ्गाहरूले कालीकोटे राजाहरूको इतिहास रेखाङ्कति गर्न खोजेका छन् । तर जुन ठाउँमा वर्षौँ वर्षलगाएर बनाइएको अस्पताल भवन डाक्टर र ओखतिको व्यवस्था हुनुभन्दा पहिल्यै खण्डहरमा परिणत हुन्छ, त्यहाँ इतिहासका अवशेषहरूको के नै अर्थ हुन्छ र -
कालीकोटका विभिन्न ठाउँमा बनेका २६ वटा झोलुङ्गे पुलले आवागमनमा निकै सुविधा पुर्‍याएको थियो । तर, जिल्ला सदरमुकामसम्म जनताको पहुँच रोक्न माओवादीहरूले चार वटा झोलुङ्गे पुल काटी दिएपछि मान्मा दर्ुगम जिल्ला भित्रैको दर्ुगम सदरमुकाम बन्न पुग्यो । जिल्लाका पर्ूव उपसभापति तुलाराज विष्टका शब्दमा कालीकोटका ३० गाविसका २६९ वडामध्ये सरकारको उपस्थिति मान्मा गाउँको एउटा वडा खाडाचक्रमा मात्र सीमित रहेको छ । बाँकी भागमा उनीहरूकै चलखेल छ । बजारको छेउमा रहेको हेलिप्याडबाट तल पहाडको फेदीमा हर्ेदा एकातिर देखिने तिला र अर्कोतिर देखिने कर्ण्ााली नदीहरूले कालीकोटलाई दर्ुगम बनाएका हुन् कि भन्ने आभास नहुने होइन । तर, ती नदीहरूलाई जीवनदायी शक्तिमा रुपान्तरित गर्न सकिने सम्भावनाहरूको खोजी गरिएकै छन् ।
झण्डै अठसट्ठी प्रतिशत जनता अशिक्षित छन् कालीकोटमा । यसको अर्थ कालीकोटमा चेतनाको उज्यालो छिरेकै छैन भन्ने होइन । हिंसात्मक आन्दोलन शुरु भएका प्रारम्भिक दिनहरूमा माओवादी जनताका बीचमा निकै लोकप्रिय थिए । तर अहिले त्यो अवस्था छैन । हिजोआज गाउँलेहरू सकेसम्म उनीहरूको आदेशको अवज्ञा गर्दछन् । आफै माना-मुठी जोडेर खानुपर्ने अवस्थामा पुगेका कालीकोटेहरू माओवादी पाल्नसक्ने अवस्थामा पनि छैनन् । "उनीहरू खेतीपाती गर्न पनि नदिने, काम गर्न पनि नदिने । सधैँ अभियानमा हिँड भन्ने । घरमा भएपनि नभएपनि ख्वाउनै पर्ने, अब तपाईँ नै भन्नुहोस् हामीले कामै गर्न नपाएपछि कहाँबाट ल्याएर कसरी खुवाउने -" भन्दछन् स्यूना गाविसका जयबहादुर शाही जो गाउँमा टिक्न नसकेपछि सदरमुकाम आएर बस्न थालेका छन्  । मान्मा गाविसका पर्ूव अध्यक्ष अजबहादुर शाही स्वयं खाडाचक्रमा विस्थापितका रूपमा छन् । धेरै विस्थापितहरू जिल्ला बाहिर पुगेपनि पीडितहरूको निकै ठूलो, बजारले धान्न नसक्ने, भीड देखिन्छ खाडाचक्रमा । शाहीका अनुसार, जिल्लाका एकलाख जनतामध्ये झण्डै पैँतीस प्रतिशत विस्थापित भइसकेका छन् । असहनीय अवस्था नपरेसम्म गाउँका मानिस मान्मा पनि आउंदैनन । किनभने, मान्मा आइसकेपछि गाउँ फर्किन सकिने वातावरण रहँदैन ।
माओवादीहरूले अहिलेसम्म पत्रकार नवराज शर्मा सहित कालीकोटका ६० जनाको ज्यान लिइसकेका छन् भने राज्यले तीन सय मानिस मारिसकेको छ । यीमध्ये कति माओवादी थिए र कति सामान्य जनता - तथ्याङ्क कसैसँग हुने कुरा भएन  । राज्यले मारेका जतिलार्इर्र्माओवादी र माओवादीले मारेका जति सबैलाई सरकारका सुराकीमा दर्ता गर्ने अमानवीय प्रवृत्ति बढ्दो छ । "यी त हामीले जानेका भए, नजानेका कति खोल्सामा मारिएका छन्, कति कर्ण्ाालीमा फ्याँकिएका छन्, कति ज्यूँदा छन् कि मरेका छन्- ती सबैको हिसाबकिताब कसैले राख्न सक्ने कुरो पनि भएन" भन्दछन् कालीबहादुर सहकारी । सबै हिसाबले ठगिएको अनुभव छ कालीकोटेहरूको । तुलाराज विष्ट भन्दछन्, "यहाँका मानिस चुनाव जित्छन् र आफ्नो राजनीतिक भविष्य बनेपछि फर्केर आउँदैनन् । यसैले होला जिल्लाको भविष्य बिग्रिएको छ ।"