हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
किशोर नेपाल

डेटलाइन अछाम

धन्य !! मालिका


प्रहरीले सजाय सुनाए, "ल, कुकुर मरेको ठाउँदेखि ऊ परसम्म कुहिनाले घ्रि्रेर हिँड ।" कुहिनो रगतपच्छे भयो । जोशी अहिले कुहिनामा व्याण्डेज बाँधेर बसेका छन्  । आजको अछामको आद्योपान्त अवस्था बताउन यो एउटै घटना पर्याप्त छ।

१७ जेठ २०६२ को बिहान सिलगडी-साँफेबगर मार्गको श्रीकोटमा भएको बस दर्ुघटनामा एउटा कुकुर मारियो । जातिले त्यो कुकुर सामान्य भएपनि लालनपालनका हिसाबले असामान्य थियो । साँफेका सशस्त्र प्रहरीहरूले पुल्पुल्याएर पालेको त्यो कुकुर उनीहरूसँगै तालमा ताल मिलाएर हिँड्ने गर्दथ्यो । कुकुर मारिएपछि प्रहरीहरू शोकमग्न भए । कुकुर किच्ने बसको खोजी भयो र ना २ च ११७१ नम्बरको बस फेला पर्यो । बसका चालकले बयान दिए, "कुकुरलाई बसको अगाडिको चक्काले त किचेको होइन, पछाडिको चक्काले किचेको भए मलाई थाहा हुने कुरा भएन ।"
त्यसपछि, प्रहरीले बसको खलासी सुरेश जोशीलाई समातेर प्रश्न गरे, "ड्राइभरले अगाडिको पाङ्ग्रा हर्ेर्ने भएपछि पछाडिको पाङ्ग्रा हर्ेर्ने तैँ होइनस् - किन मारिस् हाम्रो कुकुरलाई -" अनेक पटक प्रहरीको मार खाइसकेका जोशी केही बोलेनन् । त्यसपछि प्रहरीले खलासी जोशीलाई सजाय सुनाए, "ल, कुकुर मरेको ठाउँदेखि ऊ परसम्म कुहिनाले घ्रि्रेर हिँड ।" कलकलाउँदो उमेरका निरीह जोशी भर्खर पीच गरेर मसिना गिट्टी छरिएको सडकमा कुहिनाले टेकेर हिँड्न बाध्य भए । कुहिनो रगतपच्छे भयो । जोशी अहिले कुहिनामा व्याण्डेज बाँधेर बसेका छन् ।
आजको अछाम जिल्लामा मानवअधिकार र श्रमिकहरूको आद्योपान्त अवस्था बताउन यो एउटै घटना पर्याप्त छ । जिल्लाका प्रायःजसो सबै नागरिक एक न एक पटक राज्य र माओवादीबाट सताइएका छन् । गाउँका मानिस माओवादीका शिकार भएका छन् भने बजारतिर सरकारी हिंसा चम्किएको छ । तर, दुवै हिंसाविरुद्ध घृणा र निरपेक्षता बढ्दै गएको छ । अहिले; आतङ्कका विरुद्ध कसैको मनमा कुनै गुनासो छैन । मानिसहरू खुलेआम टिप्पणी गर्दछन्, "यस्तो पनि राज्य हुन्छ र - यस्तो राज्यसँग के गुनासो गर्नु "
"अछाम भन्नु वैकुण्ठ रे'छ धन्य मालिका !" भनेर लोकोक्ति बनेको सुदूरपश्चिमको यो सुन्दर जिल्ला अहिले हिंसाको ज्वालामुखीले घेरिएको छ । दैलेख, कालीकोट, बाजुरा, सर्ुर्खेत जस्ता जिल्लाहरूको मध्य बिन्दुमा रहेका कारणले मात्र अछाम पीडित भएको होइन । जाति, जनजाति, धर्म, संस्कृति र जनजीवनका हिसाबले पश्चिम नेपालको सबैभन्दा अग्रगण्य भूमि मान्न सकिन्छ अछामलाई । रामारोशन, विनायक, वयलपाटा, जयगढ र मङ्गलसेन जस्ता प्राकृतिक वातावरण र सभ्यताका दृष्टिले सम्पन्न वस्तीहरू छन् अछाममा । तर, उब्जाउ जमिनको अभाव र सिंचाई, मल, बीउबिजन आदिको सङ्कटले अछाममा सधैँ खाद्यान्न सङ्कट रहने गरेको छ । कृषक प्रसाद कुँवर भन्छन्, "हामी किसान साह्रै निमुखा भएकाले पनि कृषि विकास हुन नसकेको हो ।" यता आएर, तरकारीमा अछाम चालीस प्रतिशत आत्मनिर्भर भएको छ ।
पछिल्लो समयमा, अछामको विकास प्रजातन्त्रको पुनःस्थापनासँग जोडिएको छ । प्रजातन्त्रको पुनःस्थापनापछि अछामीहरूले खुला समाजको भरपुर उपभोग गरे । मोटरबाटो, बिजुली, सामुदायिक तहमा गरिने सहकार्यहरू र र्सार्वजनिक निर्माणको लहर नै चल्यो । पचहत्तर गाउँ विकास समितिलाई धानिरहेका नौ वटा माध्यमिक विद्यालयको स्थानमा ३२ वटा मा.वि. र दर्ुइ वटा क्याम्पस खुले । मेघराज खड्काका शब्दमा "२०४६ पछि जनचेतनाको स्वतस्फर्ूत बाढी नै आयो भनेपनि हुन्छ । तर अहिले त्यो सबै रोकिएको छ । शासनमा राजाको सक्रियताले मुलुक द्वन्द्वको भासमा अझै गाडिने निश्चित छ ।"
४ फागुन २०५८ मा जिल्ला सदरमुकाम मङ्गलसेन र प्रमुख व्यापारिक केन्द्र साँफेबगर माओवादी आक्रमणमा परेर ध्वस्त हुँदा ओइलाएको अछामी नागरिकहरूको मन अहिलेसम्म ओइलाएकै छ । साँफेबगरले आक्रमणको पीडालाई एक हदसम्म सम्म्याइसकेको छ । तर, विकासको रहर पूरा गर्न २०२५ सालमा नै बोकेर, ठेलेर, घिसारेर मङ्गलसेन पुर्याइएको रसियन जीप जस्तै भग्नावशेषमा परिणत भएको सदरमुकाम पुनःनिर्माणको गति अत्यन्त मन्द छ । कैलाश खोलामा रहेको विद्युत् उत्पादन केन्द्रको मर्मत भए पनि त्यो पूरा क्षमतामा चल्न सकेको छैन । विकास प्रक्रियाहरूलाई सघाउन चाहने गैरसरकारी संस्थाहरू मङ्गलसेन र साँफेबगर वरपरका पन्ध्र वटा गाउँमा मात्र सीमित रहेका छन् । धेरै जसो गैर सरकारी संस्थाहरू एचआईभी एड्स निरोधको काममा सक्रिय रहेका छन् । कति अछामीहरू एड्स रोगले ग्रस्त छन् भन्ने तथ्याङ्क कसैसँग छैन । तर, बर्म्बईमा गएर काम गर्ने हुनाले त्यहाँबाट एड्सको आयात हुन्छ भन्ने त्रास सबैले बाँडेका छन् । जर्मन सहयोगमा बन्न लागेको कृषि सडक मङ्गलसेन छिचोलेर विनायक नजिक पुगेपनि साँफेबगरको छेउमा बहने बूढीगङ्गामा पुल नभएसम्म त्यो सडकको उपभोग सम्भव लाग्दैन । तर, साँफेमा छिट्टै पुल बन्ला भन्ने आशा राख्ने कुनै आधार तयार भएको छैन ।
अछामका बहुसङ्ख्यक बजार र बस्तीहरूमा माओवादीको एकतर्फी दबादबा छ । विद्यार्थी र शिक्षकहरू माओवादीका नीति र सिद्धान्त सुनेर बस्न बाध्य छन् । विद्यालयहरू बङ्करमा बदलिएका छन् । बस्तीहरू रित्तिँदै गएका छन् । साँफेले जसोतसो स्वतन्त्र बजारका रूपमा आफ्नो अस्तित्व धानको छ । तर, प्रति दिन न्यूनतम एक करोडको व्यापार गर्ने यो बजारमा ब्याङ्क छैन । बजार अव्यवस्थित भएकोले पाँच पटक आगलागी भइसकेको छ । सिलगढी-साँफे सडक नबन्दासम्म बूढीगङ्गा पारिको बजार गुलजार थियो भने मङ्गलसेन विनास पछि वारिको बजार धान्न नसकिने गरी विस्तार भएको छ ।
बजारको विकास जति भयो करको दायरा त्यति नै फराकिलो हुन्छ भन्ने कुरा राम्ररी बुझेका छन् अछामका माओवादीले । यातायात व्यवसायी लक्ष्मण खड्का भन्नुहुन्छ, "अचेल दोहोरो मारमा परेका छौँ भन्न पाइन्न क्यारे ! तर, हामी त दोहोरो मारमा परेका छौँ- दोहोरो कर, दोहोरो चेक प्वाइन्ट, दोहोरो प्रशासन । गाउँबाट साँफे आउन वा जिल्ला बाहिर निस्किन पास लिनर्ुपर्दछ । त्यसैले घुमफिर, आवत-जावत, भेटघाट सबै बन्द छ । अहिलेको अवस्थाले यातायातलाई रुग्ण व्यवसायमा परिणत गरिदिएको छ । जिल्लाको अवस्था यस्तै छ । विकास भनेको त त्यस्तै उस्तै हो, ज्यान जोगाएर बस्न पनि मुश्किल परिसकेको छ ।